Skip to main content

खाने तेल, ठूलो चलखेल

डेराको बसाई। नसक्किकन नुन त किनिदैन खाने तेलको के कुरा? अन्तिम थोपासम्म भान्छा धानिहाल्छ। सक्किएपछि कराई बसालेर पसल दौडने बानी अझै गएको छैन। हिजो भने घरबाटै फोन आयो, ‘आउँदा खाने तेल ल्याउनु नभए निख्लै होला।’

बाइकमा हाल्ने तेल नकिनेको धेरै भैसक्यो। चरम इन्धन अभावमा पनि चरम ट्राफिक जाम झेल्दै सार्वजनिक यातायातको यात्रा गर्न थालेको हप्तौं बित्यो। कालोबजारीको जयजयकार गर्दै कछुवा गतिमा हिँडेको सरकारको कान त तेलले नै भरिएको छ। सार्वजनिक यातायात भित्रको पेलान यात्रा यस्तो छ कि त्यहाँ मै हुँ भन्ने बलियाकोलाई पनि लुरे खलासीले पेलेर तेल निकाल्दिन्छ । 
यो तेलकै जालझेलमा मौलाएको भनेको कालोबजारीको खेल हो। राष्ट्रियताको खोल ओढेर कालोबजारीसँग चुप्चाचुप्पी खेल्न सरकारलाई लाजै छैन। बाणिज्य विभाग नामको शालिकलाई व्यापारीहरूले खादा त ओढाइराख्या छैनन् भन्ने प्रश्न आउनु स्वभाविक भैसक्यो। नभए बजार मुल्यको बिगबिगी यसरी नबढ्नु पर्नेहो। बिगबिगीको खरिएको उदाहरण भनेको खाने तेलको भाउ पनि हो जसमा आम उपभोक्ता मेथि झै पड्किराखेका छन् र अब पड्कने पालो मेरो थियो।
झमक्कै साँझपरेपछि। खाँदिएको सार्वजनीक गाडीबाट अंगअंग छुट्टाएर बल्ल तल्ल सग्लो ज्यान बाहिर निकालियो। अब सुरु भयो, पसल चाहर्ने काम। हिजो नै एक झलक बजार निस्कँदा धेरै पसलहरू खाने तेल बिहिन भएर बसेका थिए। हल्ला थियो, ‘महंगो भाछ, सर्टेजछ।’
आज त जस्सै बजारबाट उठाएर लानु थियो। देशमा अस्थिरता निम्त्याएको मानिने संविधान। अनि त्यही संविधान जारी गर्ने संविधानसभा भवनको बाटो भएर शान्तिनगर गेट झरेको थिएँ म। गेटभित्र पसेपछि बाटैमा भेटिने पसलमा पुगेँ ‘बिग मार्ट’। तेलका केही पोकाको वरपर पोको परेर दुईकेटाहरू कानेखुसी गर्दै थिए, ‘नजिकैको पसलमा दुईसय चालिसमा दिएको छ, याँ किन सत्तरी तिर्नु?’
कुरो के रच त भन्दाखेरि, एक लिटरको सनफ्लावर नामक तेलको प्याकमा लेखिएको रैछ, २ सय ९५। त्यहाँ त्यसैलाई होलसेल दाम भनेर २ सय ७० मा दिइँदो रैछ। त्यहाँबाट १ मिनेटको बाटोमा अर्को पसल थियो जहाँ २ सय ४० मा पाइन्छ भन्ने हल्ला गर्दैरैछन् ठिटाहरू। म पनि यसो दायाँ बायाँ हेरेजस्तो गरेर त्यहाँबाट फुत्त बाहिर निस्किएँ। खोज्दै गएँ सोझै त्यही भन्या पसलमा। केटाहरु एक लिटर तेल र एउटो मिट मसलो लिएर कुदिसकेछन्। एक लिटर तेल मागेको फ्याट्टै काम गर्ने केटोले भित्रपट्टी कता गएर ल्यायो ल्यायो, मुल्य लेखिएको थियो १ सय ९५। गत अक्टोबर महिनाको प्रिन्टमा लेखिएको मुल्य नभई मैले नयाँ मुल्य तिर्नु पर्ने भो, २ सय ५०। अघिको हल्ला भन्दा १० रुपैयाँ बढिसकेछ। ‘यहाँ लेखेको मुल्य त कम छ दाई,’ सुन्ने बित्तिकै पसलेले फ्याट्टै भने, ‘तपाईलाई त कममा देको छु, बाहिर गएर सोध्नुस् अरु पसलमा।’ अब त बोल्ने मुखमै उनले बुझो लगाइदिए।

आफ्नै कोठा आसपासको पसलमा २ सय ६५ मा चलिराखेको छ भन्ने एकदुई दिन अघिको हल्ला थियो। लु त भैरे,  मैले पनि १५–२० रुपैयाँ सस्तोमा पाइयो भनेर तेलको पोको उठाइहालेँ, खिस्स हाँस्दै। यो तेलको भाउ नाकाबन्दी चर्कनु अघिसम्म जम्मा १ सय ३५ मात्र थियो। मेरो १ सय १५ रुपैयाँ ढुस भयो। हुन त यसअघि आडैको पेट्रोलपम्पमा अनियमितता भयो भनेर एक साथीले प्रहरीलाई खबर गरेका थिए। केही सयममा उनले ‘खबर गरेबापत प्रहरीकै अघि पम्पवालाको तर्फबाट रामधुलाई खाएँ’ भनेर दुखेसो लेखेका थिए। यस्तो चिसो साँझमा घर गएर चा’ खान छाडेर दायाँ बायाँ सोच्ने दिमागको ढक्नी बन्द भैसकेको थियो मेरो। 

यसो नजर डुलाउँदा धारा नामक तोरीको तेलको भाउ पनि एकाएक ३ सय २० रुपैयाँ प्रतिलिटर प्रिन्ट भएर आएको पनि देख्न पाइयो। यसले दह्रो मुटु चाहिन्छ भन्ने बिज्ञापन खुब ठेलेको थियो क्यारे। ऐले त किन्न पनि दह्रै मुटु चाहिने रैछ। पहिला यसैको भाउ १ सय ८० हाराहारीमा थियो भन्ने कुरा पसलेहरूले सुनाए। धेरै सामान गुटमुटाएर ल्याउने भएकाले पहिला पसल पुग्दा भाउ सोध्ने चलन कम थियो आफ्नो। ऐले भाउ नसोधी र खल्ति नछामी किन्ने चलन हरायो। बजार कसरी चलेको छ भन्ने चासो भने ऐलेको जाडो भन्दा धेरै बढेको थियो मेरो मनमा। मोबाइलले चुट्टचुट्ट फोटो खिच्दै पसल चाहर्ने बिचार आयो। कोठामा आउँदै गर्दा म धेरै किराना पसलहरूमा सोधखोजकोलागि पसेँ। होलसेल खाद्य पसल देखि साना खुद्रा पसलसम्म। धेरैमा खानेतेल थिएनन्। नयाँ वानेश्वर खरिवट आडैको पसलमा त्यही दुईसय ९५ प्रिन्ट भएको सनफ्लावर तेललाई २ सय ७० मा दिन सक्ने पसल्नी दिदीले बताईन्। 
‘किन लेखेको भन्दा घटाएर बेच्न लाग्नु भो त ?’ खिस्याउने प्रश्न सुन्ने बित्तिकै उनको उत्तर थियो, ‘अब दिने भए दिनुस् न त २ सय ९५ नै, हाम्ले होलसेल भएर पो कममा दिएको त।’ 
यो होलसेल भन्ने रेडिमेड उत्तर बिक्रेतालाई डिलरले नै सुनाएको हुनुपर्छ। हरेक ठाउँमा हामी होलसेलमा भएकाले थोरै घटाएको हो भन्ने दाबी आउथ्यो। पान पसलेलेले चर्को मुल्यमा पेट्रोल बेचेर ‘होलसेलमा हो’ भन्ने दिन आएको बेलामा किराना पसलको बोलबाल सानो हुने कुरै भएन। मैले झोला देखाउँदै फुयाट्टै पसल्नी दिदीलाई भन्दिएँ, ‘२ सय ५० मा ल्याएछु हेर्नुहुन्छ?’
उनले जिब्रो टोक्दै भनिन्, ‘हैन होला ढाँट्नु भो।’ आफूले केही अघिल्तिरको पसलबाट ल्याएको सुनाएपछि उनले अझै पत्याइनन्। उनलाई धेरै बुझाइरहन ठिक नलागेपछि म डेरा पुग्ने बाटो तिरै केही उत्तर लागेँ। बाटैको अर्को पसलमा धारा नामक तोरीको तेललाई २ सय २८ मा बेचिँदै थियो। ‘यो पुरानो स्टक हो, तपाईलाई प्रिन्टकै दाममा दिँदैछु,’ व्यापारीले भने। हुन पनि सोही तेल अघि भर्खरै जम्मा मुल्य ३ सय २० प्रिन्ट भएर बजारमा बेच्नको लागि राखिएको मैले देखेरै आएको थिएँ। अब उहि कम्पनीबाट उत्पादित यि दुईको उत्पादन मितिमा जम्मा एक महिनाको अन्तर थियो। एक महिनामै मुल्य अन्तर सय हाराहारीले बढेको छ। अझ त्यो भन्दा पहिलाको वास्तविक मुल्य १ सय ७५ हाराहारीलाई आधार मान्य हो भने त झण्डै पैतालिस प्रतिशत बढेको छ, आन्दोलनका नाममा। अक्टोबरमा एक सय पन्चानब्बे भएको सुर्यमुखी तेल नोभेम्बरमै दुईसय ९५ कसरी भयो ? एक महिनामै तोरीको तेलमा पनि सय रुपैयाँ कसरी बढ्यो ? एक आम उपभोक्ताको यो मनमा अनेकौं प्रश्न आए। मनको प्रश्नसँगै झप्लक्कै साँझ परेकाले फोनमा घरको प्रश्न पनि आयो, ‘तेल पाइयो त ?’
‘तेल पनि पाइयो अब घर पनि आइयो,’ मैले कुरो छोट्टाएर फोन काटेँ। आज त महंगै तेलले भएपनि तरकारीको स्वाद मिठो बनाउँला। तर व्यापारीले सरकारलाई कहिलेसम्म तेल घसिरहने हो ? हामीले व्यापारीलाई कहिलेसम्म पोसिरहनु पर्नेहो ? सरकारलाई एक आम उपभोक्ताको प्रश्न हो यो, ‘कानमा तेल कहिलेसम्म ?’ 

प्रकाशित मिति: बिहीबार, मंसिर १७, २०७२ १५:४३:०७

http://setopati.com/blog/37397/

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ