Skip to main content

प्यारी बिजुली, चाँडै आऊ

मोबाइलमा तार अघि नै जोडिसकेँ। बुढो ल्यापटप पनि चार्जरको टुसो चुसेर टोलाउँदै छ । इमर्जेन्सी टर्चलाइटका दाँतहरूले मल्टिप्लगका बाँकी प्वालहरू थुनिसक्यो। मेरा आँखाहरू तिम्रा स्विच आडैको धिपधिपे बल्बमा अडिइ राखेका छन्। तिमी आउने बेला हुँदै गर्दा, तामाका तारभरि मनका तारहरू बिच्छाएर म बसिरहेको छु। प्यारी बिजुली चाँडै आऊ, म तिमीलाई कुरिरहेको छु।


तिम्रो स्वागतमा दशौं लाख मान्छेहरू बसेका छन्। तिमीलाई औंधी माया गर्ने हजारौं मान्छेहरू छन्। ति हजारौं मान्छेहरू बिचको एउटो मान्छे म। तिमीलाई अरुले भन्दा एकै एम्पिएर भए पनि बढी माया गर्छु।
सायद तिमीलाई हेक्का नहुँदो हो। यो मनभित्र कति धेरै चाहनाहरू छन मायाका। दिनमा तिमीसँगै बसेर टिभी हेर्न मन थियो। कम्प्युटरका फाइलहरूमा पौडी खेल्न हुन्थ्यो। साँझसँगै बसेर हिटर ताप्न मन थियो। मर्करीलाइटमा झुम्मीने पुतली जस्तै। तिम्रो उज्यालोमा म पनि फुरुङ्ग पर्दै कोठाका चार कुना चाहार्थे।
प्रवेशीका परीक्षाका विद्यार्थी बनेर, किताबका अक्षरहरूमा तिमीसँगै लुकामारी खेल्थेँ। तिम्रो एक मुस्कानमा मेरो संसार छर्लङ्गै उज्यालो हुन्थ्यो। 

मनको रहर। घाम पनि तिमीसँगै हेर्न पाए, जून पनि सँगै देख्न पाए, कति जाती हुन्थ्यो होला? तर तिमीले बाटो बिराउँदा। मनले नचाहँदा नचाहँदै पनि। मैनबत्तीहरूसँग खुसुखुसु डेटिङ सुरु गर्नु परेको छ। उनीहरूसँग टाढा बस्न। तिमीसँगको सम्बन्ध गाढा बनाउन। तिम्रो उपस्थितिको निक्कै महत्व छ। प्यारी बिजुली, हामीले माथिल्लो तामाकोशी, त्रिशुली थ्रि 'ए', बुढीगण्डकी अनि पश्चिम सेतीमा बसेर खाएको कसम। हामी बीचको स्वच्छन्द प्रेम। के सफल होला?
हाम्रो प्रेमले असफलताको सिढीँ चढ्दै गर्दा। ऐले व्यापारीहरूलाई भाउ बढाउने ठूलो बहाना मिलेको छ। कामदारहरूलाई काम ढिलो सक्ने उपाए मिलेको छ। डिजेलको कुँडो खाएर जेनेरेटरहरूबाट निस्केको धूँवा आकासिँदै गर्दा दैनिक उपभोग्य सामानका बजार मूल्यहरू पनि आकाशिँदै छन्। अँध्यारो माहोलका बीच कालो धनको खेती गर्ने। चोरहरू पनि बढेका छन्। चिसो मौंसमका, छोटा दिनहरू। घाम ढल्ने बित्तिकै ओच्छ्यानमा ढल्न पुग्नेहरूले जनसंख्या पनि बढाएका छन् भन्ने बजार हल्ला छ। 
यसरी बजार भाउ, जनसंख्या अनि लोडसेडिङ बढ्दो छ। घटेको छ त केबल धारामा पानी आउने समय। खानेपानी अफिसको कार्यभार। मोबाइलको नेटवर्क। भन्न सजिलो भएको छ उनीहरूलाई, 'बिजुली आइनन् त्यसैले म पनि आइन।' 
तिमी पनि उस्तै छौ। यसरी आउँछौं कि 'हाइ' भन्न नपाइ 'बाइ' भन्नु पर्छ। सुतेपछि आउँछौं र उठ्नै नपाइ जान्छौं। यसरी तिमीले छुस्स छुस्स मिसकल मात्र दिएको भने मलाई कत्ति चित्त बुझेको छैन। तिमीसँग ब्यालेन्स छैन भने मिटरको युनिट हेरेर प्रति युनिट चलेकै रेटमा रिचार्ज गर्दिन सक्थेँ। भर्खरै बैषले पक्रेका युगल जोडीका झै। फूल चार्ज भएपछि फोनमा झुण्डिएर लामो बात मार्न मिल्थ्यो। प्यारी बिजुली, साँच्चै तिमी कहिले आउँछौं? सधैं सँगै बस्ने गरि। कहिल्यै नफर्कने गरि। 
हेर, फागुनको यो महिना। तिम्रो अनुपस्थिति मान्छेहरूलाई कुरा काट्ने बाहाना।  'आज देखि १२ घण्टा लोडसेडिङ बढ्यो रे,' उनीहरू खुइयाँ गर्दै तिम्रो उछितो काढ्छन्। 'लोडसेडिङ' तिम्रो नामसँग जोडिएको कलंकको कुरा। मलाई यो फिटिक्कै मन पर्दैन। रत्नपार्कमा बसेर बदम चपाउँदै गर्दा। सरकारको नाम लिएर मुख छाड्नेहरू। विदेश जाने चक्करमा त्रिभुवन विमानस्थलमा लाम लाग्नेहरू। सबैले एउटै कुरा भन्छन्, 'तिमी छैनौं। देश अँध्यारो छ। विदेश रोजाइ हैन, बाध्यता हो।'
मेरी बिजुली, के तिम्रो बढ्दो आवश्यकता नै देश छोड्नेहरूको बाध्यता भएको हो?
धेरैले नबुझेको सत्य। तिम्रा पनि  त आफ्नै बाध्यताहरू होलान्। झोलामा खोला राख्नेहरूले तिमीलाई फाइलमा बाँधेर राखेका छन्। ठूल–ठूला आयोजनाका ठेकेदारहरू तिम्रो नाम बेचेर मोटाइराखेका छन्। चल्तीका केही स्थानीय दलालहरू तिमी आउने बाटो छेकेर आयोजनाहरूसँग दूध माग्दै डोको थापिरहेका छन्।
मलाई थाहा छ, मात्र एक चोटी। माथिल्लो तामाकोशी जस्ता आयोजनाका टरबाइनहरू घुम्न सुरु भयो भने। डब्बल सर्किट प्रशारण टावरका टुप्पा टुप्पामा उफ्रिँदै, अल्मुनियम तारहरूमा तरंगीत हुँदै आउँथ्यौं होला तिमी मलाई अंगाल्न। अनि बल्ल मेरा नशानशामा प्रेमको करेन्ट बग्थ्यो। म पनि तिमीसँगै ठूलाठूला कारखानाहरूको भ्रमणमा निस्कन्थे। सिपले भरिएका हातहरू तिमीसँगै इलम बनेर निस्कन्थे। त्यती बेला 'लोडसेडिङ' नामको तिम्रो निधारको कलंक, मेट्नुको मज्जै बेग्लै हुने थियो।  
हुनत टेलिभिजनमा झुम्मिनेहरू। कम्प्युटरमा झुण्डिनेहरू। तिमी नभएको मौंका पारेर। मैनको उज्यालोमा। भान्छा कोठामा परिवार सबैसँगै बसेर। दुःखसुःख बाँड्न पाउँदा खुसी पनि भएका होलान। झरीको मौसमका बीच। अँगेना छेउ, आगो ताप्दै केही गाउँलेहरू खेतीपातीका कुरा गर्दै होलान।
साँझ सिरकमा गुम्सिराखेकाहरू। विद्युत अफिसबाटै स्विच निभाइ दिने भएपछि। बत्ती निभाउन उठ्न परेन भनेर खुसी पनि भइराखेका होलान। इन्भर्टर आयात गरेर लाखौंलाखको व्यापार गर्नेहरू। सडकमा चार्जीङ लाइट बेच्नेहरू। मैन उद्योग चलाउनेहरू। केहीको जागिर पनि थपियो होला। टिभी, फ्रिज थन्केकाले। बिल कम आयो भनेर मुसुक्क हाँस्ने मान्छेहरू पनि होलान। तर ती निक्कै थोरै छन्। तिम्रो आगमनको खुसीले, यी झिनामसिना बीचारहरूलाई सर्लक्कै पखालेर ठूला उद्यमी बीचारहरू ल्याउनेछ, बिजुली। 
धेरैका नहुनेका घरमा तिमी नभएका बेला। हुनेखानेहरूले पैसाको डोरीले बाँधेर तिमीलाई तानेको पनि मैले देखेको छु। ठूला जेनेरेटरका तारहरूबाट। लाखौं पर्ने इन्भर्टरहरूबाट। तिमी निस्कँदै गर्दा। धनमा मात्र माया पलायो भन्दै केहीले तिम्रो प्रेममा शंका पनि गरे होलान। अरुले जेसुकै भनेपनि मलाई तिम्रो प्रेममा कुनै शंका छैन। साना–जलविद्युत बनेर धेरै कुनाका गाउँहरूसँग तिमीले मिठो सम्बन्ध गाँसिरहेकी छौं भन्ने मलाई थाहा छ। सुपथ बिजुली बनेर चौबीसै घण्टा ती मेहनतीका घरघरमा तिमी बास बसेकी छौं। 
त्यसैले, मेरा कपाल फूलेर, फलेर झरे झरोस्। मेरो निधारको क्षेत्रफल बढेर टुप्पीइसम्म छुन किन नपुगोस्। दाह्री झुलेर भुइँ बढार्दै हिड्ला। मेरो उमेर मसिना रेशाहरू बनेर मेरा अनुहारमा देखिन थाल्ला। गिजामात्रैको मुस्कानै किन नहोस्।
खिस्स हाँसेरै भए पनि म तिमीलाई कुर्नेछु। हामी बीचको दूरी घटाउन। म धेरै प्रयास गर्नेछु। प्यारी बिजुली, चाँडै सधैं मसँगै बस्ने गरि आउनु। म तिम्रो बाटो हेरि रहनेछु। 

प्रकाशित मिति: शनिबार, फाल्गुण १०, २०७० १५:२८:०५

http://setopati.com/samaj/8748/?fb_comment_id=1427484510826813_158687#f36aa90edc

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...