Skip to main content

यहाँ मुत्ने कुकुर हो...


–भवसागर घिमिरे

शुद्ध भैसी
गेटैमा सूचना झुण्डाइएको थियो, ‘यहाँ शुद्ध भैसीको दूध पाइन्छ’ । गोठमा पुगेर हेर्दा एक जनादार्ई त्यहाँ बसेर केरा खाँदै थिए । आफूलाई दूध चाहिएको थियो, महिनावारी लैजान । ‘दाजु खैत भैसी ?’ प्रश्न सुन्ने बित्तिकै उनले घर तिर देखाए । घर गएर ढोका ढक्ढकाएको पाडीले ढोका खोली । हेरेको त भैसी भर्खरै नुहाएर शुद्ध भएर कपाल कोर्न लागेकी रैछे । पाडी टिभीमा कार्टुन हेर्दै थिई । मलाई देखेर भैसी खिस्स हाँसी । गोठका दाई पनि घर भित्र आए । ‘दाई मलाई दूध चाहियो,’ मैले भने, ‘शुद्ध होला नी ?’
‘शुद्ध भैसीको दूध पाइन्छ भनेर लेखेको हेरिहाल्नु भो । त्यहाँ लेखेको अनुसार, भैसी शुद्ध छ त्यसको ग्यारेन्टी लिन्छु, दूध शुद्ध लेखेको छैन, ग्यारेन्टी दिन सकिन्न ।’

सत्य कुरा
‘यहाँ मुत्ने कुकुर हो’ एउटा यस्तै सूचना बोर्डको अघि एक मान्छे मस्त पिसाब फेर्दै थियो । राजधानीको व्यस्त बजारको छेवैमा । कुनो परेकाले हड्प्न बाँकी रहेको सानो सरकारी जग्गा । दुईचार सिस्नोका बोट । गन्यका घाँसले हुर्कने ठाउँ पाएका थिए । केही फोहोरका पोकापोकी अघिल्तिरको भित्तोमा यो सूचना पोतिएको थियो । आफूलाई सहज बनाइसकेपछि बडो आनन्द मान्दै उ फर्केर आयो ।
सोधेँ, ‘दाई तपाई कुकुर हो ?’ प्रश्न सुन्ने बित्तिकै झोक्किँदै उसले उल्टै सोध्यो, ‘मैले भुकेँ ?’
मैले छैन भनेर मुन्टो हल्लाएँ ।
‘मैले टोके ?’ उसले झोक्किँदै भन्यो ।
त्यस्तो केही भएन भनेर डराउँदै मैले फेरि मुन्टो हल्लाएँ । उ खिस्स हाँस्यो, ‘हो, न मैले भुकेँ । न मैले टोकेँ । तर म कुकुरै हो, आपद परेको बेलामा यति गर्न पाएपछि म गधा पनि हो । खच्चड पनि हो ।’ उ स्वाँठ पल्टेर बाटो लाग्यो । सार्वजनिक शौंचालय खोज्दै अघि देखि व्यस्त बजारमा हक्कानिएको मैले पनि उसले जस्तै गरेँ । मपछि मात्र बल्ल एउटा कुकुर त्यही ठाउँमा आएर मुतेर गयो ।

फोहोर कसलाई (मलाई) ?
राजनितीक नियुक्ति चरम सिमामा पुगेको थियो । न–गरपालिका झन् दलको भर्तिकेन्द्र नै बन्यो ।
चाहिएभन्दा बढी कर्मचारी भर्ति गरेको न–गरपालिकामा फोहोर उठाउने कर्मचारी आन्दोलनमा थिए, ‘स्थाइको मागसहित ।’ सरकारले बजारबाट फोहोर नउठ्याएको आज १९ औं दिन भएको छ । फोहोर गन्हाएर घरमा बसिखानु थिएन । शनिबारको दिन । उसले पनि घरको दबाब खेप्न सकेन । फोहोरको पोको बोकेर एकाविहानै हिड्यो । हरेक ठाउँमा कि त मान्छे पहरेदार बसेका थिए कि त बोर्ड झुण्डाइएको थियो, ‘यहाँ फोहोर फाल्न मनाही छ ।’ हिड्दा हिड्दै उ न–गरपालिका अघि नै पुग्यो । त्यहाँ पनि उहि बोर्ड थियो, ‘यहाँ फोहोर फाल्न मनाही छ ।’ उसले त्यहीँ गएर फोहोर फाल्यो र बोर्ड फर्काएर लेख्यो, ‘मैले फालेको हैन ।’

परिचय
पान खाएर हिड्दै गरेको एउटो मान्छे एउटा सूचनाको अघि ठिंङ्ग उभिएको थियो । लेखिएको थियो, ‘ यहाँ पान गुड्खा, सुर्ति खैनी खाएर नथुकि सभ्य नागरिकको परिचय दिनुहोला ।’ पान खाएपछि नथुकिकन परिचय गर्नु पर्ने भएकाले उसलाई  बडो फसाद प¥यो । अफ्ठ्यारो मान्दै, पान चपाउँदै आफ्नो परिचय खुलायो ।

मेरो नाम बिरेन्द्र सुवेदी हो । घर कास्की । बिराटनगरमा काम गर्छु । परिवारमा दुई आमा, एक बा छन् । श्रीमती छोराछोरी पोखरामा बस्छन् । म गलफ्रेन्डसँगै बिराटनगरमा बस्छु । यो केटी मेरो तेस्रो श्रीमती हुने छाँट छ । पहिलोले छाडेपछि फ्रष्टु भएर दोस्रो विहे गरेँ । त्यो पनि पहिलो श्रीमती जस्तै बाउआमाको रोजाइमा नै । कुरो फिटिक्कै मिल्दैन । उसलाई घरै राखेर ढाटा बस्न प¥यो । ऐले तेस्रो चल्दैछ, आफ्नै रोजाईमा । म निक्कै सभ्य मान्छे हुँ । दुःख गरेर पढेँ... 
यति भन्दा नभन्दै उ सिगान निकाल्दै घुक्क घुक्क रुन थाल्यो । रुँदा रुँदै खोकि आयो । उसले घ्वाक्क खोक्ने बित्तिकै बोर्ड राखेको भित्तै भरि प्याच्यात्तै मुखको पान छिरल्लियो । ‘सरी’ जाँदाजाँदै उसले भन्यो, ‘मेरो परिचय आजलाई यत्तिनै ।’

sagarbhaba@gmail.com

Comments

Post a Comment

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...