Thursday, April 23, 2015

नमरिन्जेल कुमारै हुन्छस्

राजकुमार बस्नेत

रट्टेको रट्यई गर्नु पर्ने । भट्ट्याको भट्याइ गर्नु पर्ने । जाँच आउनु अघि मेरो पसिना छुट्थ्यो । पढ्न, अहँ रुचि लाग्दैन्थ्यो । ७ कक्षा पास गरेपछि भने मेरो विद्यालयको पढाइले पुर्ण बिराम लियो । काठमाडौंको फर्पिङ गाउँ । घरमा हुँदा खेतबारीको काममै रमाउँथेँ । मौसम अनुसार काउली, बन्दा, इस्कुश, सिमी गाँजर यस्तै त हो । बारीमा तरकारीको कमी हुन्थेन । मेहनत भने मज्जैले गर्नु पथ्र्यो । समस्या नपर्ने त कहाँ थियो र ? तरकारीमा रोग भने के के हुन के के लाग्नी । के गर्नु पर्छ पत्तो हुन्थेन । पढेर जानेका मानिसहरू कम थिए, परेर जानेका धेरै । वरपरका काका काकी दाइ दिदीलाई गुहार्न जानु पथ्र्यो । ‘मेरोमा केही समय काममा आइजा सिकिहाल्छस् नी’ उनीहरू सकेसम्म कुरा छोट्याउँथे । मलाई काम गराउँथे । लुरुलुरु उनका बारीमा सघाउन जान्थेँ, केही सिक्थेँ पनि । ‘लु यति औषधी हाल चट भैहाल्छ’ उनीहरूले भनेपछि भने म हनुमानले सञ्जिवनी बुटी भेट्टाएजस्तो फुरुँङ्ग हुन्थेँ । झोल, धुलो के के हुन के के, लगेर हाल्थेँ । केही सयममा तरकारी हलक्कै हुन्थे । म दंग । बा आमा, छक्क । तै पनि मन भने मान्थेन, ‘आफूले राम्ररी नबुझेपछि अरुको भर पर्नु पर्ने नै रैछ’ । विद्यालय छाडिसकेपछि भने बाहिरी किताब नै किन नहोस्, मलाई केहि पढ्नु पर्छ, बुझ्नु पर्छ भन्ने दिमाग पलाउन थाल्यो ।
मेरा गाउँमा केही मिल्तीका साथी थिए । २०६६ सालको कुरा । म १७ वर्षको अल्लारे थिएँ । ‘खेतीबारीमा मात्र कति काम गर्नु जाइर गर्नु पर्छ’ जाडोमा आगो ताप्दै गर्दा सुन्दर लगायतका साथीहरूले कुरो निकाले । ‘जाइर खायो भने अरुले हेर्ने नजरै बेग्लै नी’ सुजनले भन्यो । ‘फलानोको छोरो ले जाइर खाछ भनेर चार गाममा नाम हुन्छ’ अर्कोले सुदिपले थप्यो । ‘मुला, केटी दिँदा, जाइर के गर्छ भनेर सोध्छन्, तँ त मरिन्जेल कुमारै हुन्छस्,’ तेस्रो गफाडी हरिशरणले हो नै जस्तो गरि भन्यो । आफू त दाउरा घचेट्यो । आगो दन्कायो । आलु पोल्यो । गफ सुन्यो । बाहिर भन्दा मन भित्र धेरै दन्कँदो रैछ यस्तो बेलाँ आगो त । मलाई पनि जान्न मन लाग्यो, ‘के जागिर गर्दैमा ठूलै भइन्च र ?’
***
कुरो गर्दा कुलो सोझिएर आए जस्तो । २०६९ सालको कुरा ।
हामीलाई ‘जागिर खाने हो ?’ भन्दै काकाले सोध्न आउनु भो । जागिर त भातै खाएरपछि आइप¥यो भने पनि थपेर खाइन्छ । मेरो चटपटे कुरोले काका हाँस्नु भो । कुरो मात्र होला भनेको लौं साँच्चिको रैछ, एक दिन काकाले आफ्नो छोरो र मेरो लागि जागिर खोजेर आउनु भो । ग्याँस कम्पनीमा, काठमाडौं बजार । मैले घरमा कुरा गर्नु पर्ने भो । आमा त मेरो बीचार सुन्ने बित्तिकै तर्की हाल्नु भो, ‘याँ काम अर्ने मुन्छे छैनन् । घराँ, खेताँ म एउटैले क्यारी भ्याउनु ? बाको ताल उहि हो, जुनै काममा नी सुस्ते ।’

हुन पनि जंगलबाट स्याउला ल्याउनु, गोठेधन्दा भ्याउनु । बाख्राको मुखमा घाँसको बुझो लगाउनु । खेतका माटाका डल्ला फुटाल्नु । घरमै जागिरको लागि भेकेन्सी खोल्नु पर्ने भाथ्योे । मलाई भने घर बाहिरको जागिर खाउँ खाउँ लागेर आयो । आमालाई बल गरिगरि सम्झाएँ । ‘बालाई सोध, अब म के भनुँ त ?’ आमाले बल्ल तल्ल यतिका कुरा गर्नु भो । उफ्, धेरै सयम लाग्यो बुझाउन पनि । ‘जाने भे जा’ बाले त एक पालीमै फुत्त कुरो टुंङ्गाए । मलाई हाइसञ्चो । भोलिपल्टैबाट जाागिरमा दुकुरँे ।
***

ललितपुरको सानेप । जागिरमा ठाँटिएर गइयाथ्यो । ग्यास कम्पनी । काम उहि त हो, सिलिन्डर उचाल्ने र थेचार्ने । दोस्रो दिनमै हात किच्यो, बुढी औंलाको नङ्ग कप्लक्कै । मैले ब्यान्डेज लगाएर केहि दिन आराम गर्नुपर्ने भो । नयाँ जागिर, कि गर कि बाटो लाग । एक दुई दिनमै फेरि पनि हात बढाउन सुरु गरेँ । ८ महिना सम्म दौडियो काठमाडौं सररऽऽ । गाडी टाटाको, चप्पल बाटाको भन्ने । ड्राइभरदाइ थिए, अचम्मका । एक श्रीमती, ६ छोराछोरी । तै पनि सधैं फिलिलि । यसो स्टेरिङ घुमाउन देउन हामी पनि सिक्छौं भन्यो ‘राती गिलास भर्छस ?’ भन्दै सोध्थे । आफू चुप्प । उनलाई बेलुका पिलाउने हो भने दिउसो स्टेरिङ मिलाउन पाइने । कस्तो अचम्म । भनुम न ड्राइभर दाजु त, ‘नखाइन्जेल ढल्न नसक्ने, ढलेपछि चल्न नसक्ने ।’
साँझ प¥यो कि जाम भनिहाल्थेँ । म भैगो भनेर मुन्टो हल्लाउँथे । मेरो एउटो साथे भने पछि लाग्यो । म झण्डै रक्सिको पछि लागिन् । कसो कसो, यस बीचमा गाडी भने सिकियो । ट्याक्क ट्राल पनि दिइयो । फ्याट्ट फेल पनि भइयो । पहिलो जागिरबाटै थकाइ लाग्न थाल्यो, मेरो पालो अब यो बमको सिलिन्डर गुल्टाउने काम चाइ गर्दिन भन्ने भो । कुन दिन ड्याम्म ग¥यो भने, खेल खत्तम ।
दशैंमा घर गएर फर्केपछि । गएको वर्ष कार्तिक तिर । मैले रविभवनको एक सिक्योरिटि कम्पनीमा जागिर पाएँ । लु अब भने बसेरै खान पाइने भो भन्ने भो । धनकुटाको एकजना साथी थियो, निर्मल । उसैले मिलाइद्या । बीचरोसँगै बस्दा एक फेर मार्निको बिरामी प¥यो उ । खोले बनाएरै एक हप्तासम्म सेवा गर्ने मौंका मिल्यो, तंग्रियो पनि । उसले पनि नयाँ जागिरमा बोलाउने गुन लाको थियो, थोरै भएपनि तिर्न पाइयो । जिन्दगीको किताब यस्तैबाट पढ्ने होला भन्ने मनमा सोच आयो । ‘हैन पढ्न पर्छ यार, स्कुल नपढेनी बाहिरी किताब त हेर्न पर्छ’ उ मलाई हौंस्याउँथ्यो । आफ्नो भने जाँगर, पाकेको मेवा झै, फतक्कै । तै पनि एक दिन थापाथलीमा पुगेर एउटा किताब किनियो, आफ्नै खल्तिको पैसो हालेर । सानामा भगवान भनेपछि खुबै बलिया हुन्छन भनेर हुरुक्कै हुने म । भगवान सम्बन्धी कै किताब किनेँ । पढ्छु भन्दा भन्दै एक पटक घर लगेथेँ । किताबले उतै आराम ग¥यो, मैले यतै आराम गरेँ ।
गार्डको काम गर्दा नाइट ड्युटि हुन्थ्यो । त्यसै शिलशिलामा अर्को साथीको सँग भयो, बिमल । उ पनि रातीकै ड्युटि गथ्र्यो । निन्द्रा भगाउन भएपनि पढ्न पर्छ भन्थ्यो । मलाई भने ठिक उल्टो, किताब देखेपछि निन्द्रा लाग्ने । तै पनि उसले मेरो हातमा जबरजस्ती एउटा किताब थमाइदियो, हृदयचन्द्रसिंह प्रधानले लेख्नु भएको ‘एक चिहान ।’ कस्तो पढ्ने कामको सुरुवात पनि चिहानबाट गर्नु पर्ने भो भन्दै हाँसे । सुरक्षा गार्डको ड्युटी । दिउँसो भने दिउँसै राती भने राती नै । जागिर भन्ने कुरो, थोरै नै किन नहोस् पैसा छाप्ने मेसिन झै लाग्थ्यो । जति खिइयो, उति तलब खप्टिने । हातमा दुई चार पैसा पर्न थालेपछि मैले निन्द्राको तालिकालाई पनि गोलमटोल गर्दिएँ । समय मिलाएर एक चिहान पुस्तकका पान्ना पनि पल्टाएँ । बिस्तारै रस बस्दै गयो । किताब भनेपछि स्कुलको सम्झाना आउँथ्यो । बुझे नि नबुझेनी रट्टेको छ रट्टेको छ । तर उपन्यास कथा पढ्न थालेपछि छुट्टै आनन्द आउँदो रैछ । गरिब परिवारको दुःख । मानिसको कर्तव्य । जिन्दगीको परिभाषा, यस्तै धेरै कुरा बुझ्न पाएँ । रस बसेपछि पढ्ने भन्ने कुरो पनि लागुऔषध जस्तै रैछ, एउटा सकिएपछि अर्को किताबको खोजी हुन थाल्यो ।
तर ढ्याक्कै पैसा तिर्न आँट अझै आएन । सुरक्षा गार्डको काम न हो । कहिले काही समयमा तलब हुँदैन्थ्यो । केहि फटाहाले काठमाडौंका किराना पसलमा उधारोको पहाड उठाएर फरार भएका रहेछन् । हामीले पछि तिर्छु भन्दा पनि उधारो पाउन मुस्किल हुन्थ्यो । घरमा पैसो पठाउनै प¥यो । एक पटक खर्च गर्दा चार पटक सोच्नु पर्ने । तेस्रो पटक सोच्दैमा भैगो पछि किनौंला भन्ने हुन्थ्यो ।
जागिरको अस्थाइ पोष्टिङ, नयाँ मान्छे म । अफिस पनि बदली रहन थाल्यो । म लाजिम्पाट स्थित एक अफिसमा पुगेँ । २०७०को अन्तिम तिरको कुरा हो यो । एक दिनको कुरा बाटोमा भेटेर ल्याको हो पढ भनेर एक कर्मचारीदाईले कागजको खोष्टो थमाइदिनु भो । त्यसमा ज्ञान सागर र धर्तिमा अवतार भन्ने पुस्तकका बारेमा लेखिएको रहेछ, सायद उनैलाई पत्तो थिएन । मनमा शान्ती दिने पुस्तक । फोन नम्बर पनि रहेछ । फोन गरेपछि पुस्तक भनेकै ठाउँमा ल्याइदिने, सित्तैमा । अफिसको घण्टि पनि फ्रि नै थियो । बुझौंन भनेर फोन थिचिहालेँ । ट्याक्क, पुस्तक हात प¥यो । साँझ बिहान त यसै खाली । ड्युटिको समय पनि बेलाबेलामा खाली हुन्थेँ । पुस्तक पढ्न थालेँ । मानिसलाई निराशाबाट कसरी आशा जगाउने भन्ने खालका कुरा लेखिएका थिए । मेरा लागि रात दिनसँगै बस्ने साथी पनि भए तिनीहरू । पढ्दै गएँ हराउँदै गएँ । उसै त रक्सी कहिल्यै खाँदैन्थेँ । अब भने माछा, मासु पनि खाने बीचार छाडेँ । मैले दोहो¥याएर पढेँ । किताब भित्र यतिका धेरै मन बहलाउने कुरा हुन्छन भन्ने सोचेको पनि थिइन । ज्ञानको खोजी गर्न थालेपछि मान्छे निक्कै भोको हुँदो रहेछ । खानाको भोको भन्दा अझ गहिरो । मैले बाइबल पढेँ । ओम शान्ती पढेँ । मन शान्ती पारेँ ।
काममा पालो लाग्दा, फुर्सद हुन्थ्यो कि बजार निस्कन्थेँ । बाटोमा फिजाइँएका पुस्तक हेर्न थालेँ । कृषिका बारेमा धेरै सिक्नु पर्छ भन्ने मेरो मनमा थियो । बाख्रा, माहुरी, काउली, गोलभेडा बन्दा आदिको खेतीबारेमा किताब ल्याएरै पढेँ । बल्ल बुझेँ, ति काकाले किन र कसरी तरकारीमा औषधी हाल्ने कुरा ठिक पार्थे भन्ने । यस्तै मेरो हातमा परेको अर्को पुस्तक थियो, बबिता बस्नेतले लेख्नु भएको ‘सम्बन्ध हिन सम्बन्ध’ थियो । यसले महिला पुरुष बीचको सम्बन्ध यसमा आउने उतारचढावको कुराहरू पस्केको छ । प्रेम बिनाको सम्बन्ध दिगो हुँदैन भन्ने मैले बुझेको यो पुस्तकमा दुःख नपरी मान्छेले सिक्दैन भन्ने तथ्य गहिरोसँग लुकेको थियो । पढ्दै जाँदा झन झन भोको र अज्ञानी भैदो रहेछ । मैले बल्ल मेरा दुई आँखाहरूको अर्थ लगाउन थालेँ । एउटा आँखा ज्ञान थियो । अर्को आँखा परिश्रम । सहि के हो ? गलत के हो ? यस्ता कुराको लेखाजोखा पनि गर्न थालेको छु । लाग्छ, सम्पत्ती त मुखमा हालेको चिनिको फ्वाँक जस्तो हो, एकैछिन पछि बिलाएर जान्छ । ज्ञान भनेको चराको प्वाँख जस्तो हो, जसले हामीलाई उडाएर दश दुनियाँ देखाउँछ ।
दश दुनियाँ खोजि हुँदै गर्दा मैले सुनेको किताब थियो, ‘जिवन काँडा कि फूल ।’ मैले त्यो किताब बजार गएर आफैले खोजेर ल्याएँ । कति हेपाइ, दुखाइ भएपनि संघर्ष गरेर माथि उठेकी झमक घिमिरेको कथाले मलाई निक्कै मन छोयो । झमकले त यतिका दुःख हुँदा केही गरेर देखाइन भने हामीले आफ्नो जीवन यस्तो भो भनेर गुनासो गर्नुको कुनै तुक छैन । पढ्दा लाग्यो जीवन फूल रहेछ, हामी काँडा बनाइराखेका छौं ।
मैले बल्ल नजिकबाट बुझ्न थालेँ जीवनलाई । बाटो देखाउने पुस्तकको खोजी गर्दै जाँदा मलाई पत्रिका पढ्ने पनि रुचि हुन थाल्यो । पत्रिकामा पनि किताबका कुरा हुन्थे । साथीभाई, सरहरूसँग कुन किताब पढ्ने भन्ने रुचि राख्न थालेँ । पत्रिका पल्टाउँदा कृषिका कुरा लेखेको छ कि आँखा तन्काइ तन्काइ हेर्छु । सफलताका कथाले मन छुन्छ, आजै जाउँ । काम सुरु गरौं भन्ने हुन्छ । हैन केही रकम जम्मा गरेर मात्र सुरु गर्छु भन्ने कुराले मन बाँध्छु र बस्छु । दिक्क भएको बेलामा पासपोर्टमा विदेशी भिषाको टिको लगाएर उडिहालुँ झै पनि हुन्छ । तर हैन यहिँ गर्नु पर्छ भन्ने कुरोले जित्छ । अनि खिस्स हाँस्छु, ‘धेर थोरै मैले पनि पढेको छु, बुझेको छु । त्यही भएर पो मन सम्हालिन्छ ।’
यस्तै यस्तैमा मलाई एक जना सोर्णिम दिदीले पुस्तक दिनु भो, ‘माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म’ । जोन ऊडले लेखेको यो पुस्तक जति पढ्दै जान्थेँ उती हराउँदै जान्थे । निराशालाई पाइताला मुनि राखेर आशहरूलाई शिरमा राखेर अघि बढ्न उनी सिकाउँथे । माइक्रोसफ्ट कम्पनीको जागिर छाडेर गरिब बालबालिकालाई पढाइमा सघाउन अघि हिडेका उनको सफलताको कथाले कम्ता मन छोएन । ज्ञानले गरिबहरूको दुःख मेट्न सकिन्छ भन्ने कुरा यसमा उल्लेख गरेको छ । स्कुलमा थोत्रिन्छ भनेर किताब बाकसमा थन्काएर राख्ने चलन पनि छ हामी कहाँ । तर पुस्तक जति खेलायो उति नयाँ हुन्छ भन्ने मैले बुझेँ । जोन उडले आफ्नो खुसी छाडेर गरिबको खुसी खोज्दै हिडे । उनलाई पढ्दा लाग्यो भगवान पक्कै छन्, तर कर्मले पुज्नु पर्छ । कर्मकै कुरो । मेरो अस्थाई घुमन्ते जागिरले पनि केहि दिनमै विश्राम लिँदैछ । मैलै अझ धेरै पढ्न, बुझ्न बाँकी छ, जुन कहिल्यै सकिँदैन । कर्मकै शिलशिलामा, जागिर खोज्दै हिड्दा मैले पुस्तक भेटेँ । पुस्तक खोतल्दै जाँदा जिन्दगी भेटेको छु । त्यसैले लाग्छ, मनलाई दह्रो बनाउने यस्ता पुस्तकहरू बारम्बार लेखिनु पर्छ । धेरै बुझेर, खोजेर, भोगेर लेखिनु पर्छ । सत्य हुनु पर्छ । ताकी म जस्ता धेरै अल्लारेले जिन्दगीको सहि बाटो समातुन ।
(भवसागर घिमिरेसँगको कुराकानीमा आधारित) 
http://setopati.com/samaj/27059/

No comments:

Post a Comment