Skip to main content

बा, म स्कुल छाड्दिन


–जानुका बस्नेत

कोठा छ, दिउँसै बत्ती बाले मात्र उज्यालो हुन्छ । घरको सम्झना केही भाँडाकुँडा छन् । तपाइको सम्झना, सिरानीमा फोटो एल्बम छ । तपाई बोल्नुहुन्न, फोटो हेरेर म मात्र एकोहोरो बोल्छु । तीज आथ्यो, नछोइ गयो । दशैं, तिहार आउँदैछन, नछोइ जान्छन । परिवार नभएपछि चाडपर्व आए गएको थाहै नहुँदोरै’छ । जती बुझ्नी हुँदै गएँ दुःखी हुँदै गइदो रै’छ । बा, तपाइ बितेपछि बिस्तारै घर उजाडियो । परिवार उजाडियो । हामी सबै छिन्नभिन्न भयौं ।

***
१७ वर्ष अघि । मेलम्चीको बबुवा । म जन्मेपछि कसैले बाँच्छे भन्ने आश राखेनन् रे । अघिल्ला वर्षहरूमा जन्मेका दुई भाई र एक दिदी जन्मेको केहि दिनमै बितेछन् । आमा कपाल मुसार्दै भन्नुहुन्थ्यो, ‘सप्पैले मर्छ भन्थे तर तँ बाँचिस् ।’ त्यसको दुई र चार वर्षको फरकमा जन्मेका बहिनीहरू रिता र गीता पनि बाँचे । बाआमा निसन्तान हुनबाट बच्नु भो, हामीले संसार देख्न पायौं ।



माटोले लिपेको घर । रमाइलो बालापन । बाको ढाडमा बसेर घोडाचढी खेल्थेँ । खेल्छे मात्र, पछि दुख पाउलीस भन्दै आमा गुनासो गर्नुहुन्थ्यो । बाबा हाँसेर सम्झाउनु हुन्थ्यो, ‘दुःख जति परे पनि पढ्न चाही छाड्नु हुन्न ।’ म बुझे झै गर्दिन्थेँ । उहाँ ठट्टा गरेझै कुरो उप्काउनु हुन्थ्योे, ‘तँलाई डाक्टर, माइलीलाई इञ्जिनियर र कान्छीलाई पाइलट बनाउने हो ।’ यो ठट्टामा चाहना लुकेको छ भन्ने बुझ्न गाह्रो हुन्थेन । म साथीहरूसँगै स्कुल जान्थेँ । सँगै स्कुल जाने गाउँका दिदीहरू बिस्तारै जान छाडेका थिए । कक्षाहरू जति माथि हे¥यो उती पातलो देखिन्थ्यो । म सोच्थेँ, ‘आखिर साथीहरू स्कुल किन छाड्छन् ?’

***

माइली बैनी एक वर्षको छँदा नै मामा घर पाल्न लगे । कान्छि बहिनी जन्मी । आमाले आफूलाई सुत्केरी स्याहार्न बहिनी नाता पर्नेलाई ल्याउनु भो । पछि उनी नै बाबाको कान्छि श्रीमतीको भएर भित्रिइन । मन पर्ने बा कताकता मन बिझाउने हुनुभो । ‘बा कोसँग बस्ने ?’ यो कुराले दुई आमा बीच सधैं लुछालुछ हुन्थ्यो । छुट्टाउन नसकेपछि रुँदै पिँढीको कुनामा डल्लो पर्थेँ म ।

म आठ वर्षकी हुँदा । मेरा ३० वर्षे बा एक्कासी बिरामीले गल्नु भो । उपचारका लागि काठमाडौं ल्याइयो । क्षयरोग लागेछ । धेरै खर्च भो । थला परेर पिढीँमा धेरै दिन सम्म लड्नु भो । बिस्तारै बाको मायाले मेरो केटाकेटी मन फर्कियो । २०६० साल, असोज । रातको दश बजेतीर । केही छिमेकीहरू कुरुवा बस्दैथिए । म माथिल्लो तल्ला भान्छामा पल्टेकी थिएँ । पानी दर्कन, आकाश कराउँदै थियो । एक्कासी मान्छेहरू रोएको आवाज सुनेर ब्युँझिएँ । मन निक्कै आत्तियो । तल झर्न दिएनन् । आँटीको झ्याल खोलेँर चिहाएँ । पिढीँ टिनले छाएको थियो । भित्तामा जोडिन नसकेको टिनको चरबाट मैले मधुरो उज्यालोमा लम्पसार परेर सुत्नुभएको बा देखेँ, उहाँ बित्नु भएछ । झ्यालमै बसेर खुब रोएँ । मेरो सानो रुवाइँ दर्केको पानीको ठूलो आवाजसँगै हरायो, कसैले पत्तो पाएन ।

***
बाको उपचारको ऋण तिर्न घरको सुन, टिभी, गाउरी ताउला बेचेर सक्किए । बा बितेको केहि महिनामै आमामाथि अर्कै केटासँग लागेको आरोप लाग्यो । हातपात सुरु भयो, ठूल्बाबाट । उनी रक्सिले मातेर आमालाई कुट्थे । बलेको आगो ताप्नेहरू, निभेको खरानी के खोस्रन्थे ? मैले बुझेँ, बिधुवा भएर बाँच्नु निक्कै गाह्रो रैछ । एक रात, ज्यान जोगाउँदै आमा बारी बारी भाग्नु भो । फर्कनु भएन । सौतेनी आमाको साथ । स्कुल भन्दा बढी घरको काम ध्यान दिनु पर्ने । घर स्याहार्देमा स्कुल जान भ्याइएन । मैले बल्ल बुझेँ, ‘साथीहरू स्कुल किन छाड्छन् ।’

बाबाले भन्नुभाको कुरा मनमा थियो, ‘स्कुल छाड्नु हुन्न ।’ घर छाडेर भाग्ने सोच आयो । कहाँ जाने ? मामाघर सम्झेँ । लुकाइलुकाइ झोलाहरूमा केही बाबाका सम्झना, केही आमाका सम्झना कोचारेँ । तीन झोला भयो । एक दिन ९ वर्षे म । ५ वर्षे कान्छि बैनीलाई अघि लगाउँदै । हातेपाते झोला बोकेर सुटुक्क घर छाडेँं । मिल्थ्यो भने घर पनि बोकेर लैजान मन थियो, मेरो प्यारो घर । म हुर्केको घर ।

मामाको घर, हजुरआमाको साथ । घरगोठ पनि भ्याउनु थियो । काम गर्दै पढन थाल्यौं । एकाएक हजुरबा बित्नु भो । खबर पुगेछ क्यारे, आमा आइपुग्नु भो । आमाले बा गुमाउनु भथ्यो । हामीले पनि बा गुमाइसकेका थियौं । आमाले आफ्नी आमालाई भेट्टाउनु भो । हामी तीन छोरीले पनि आफ्नी आमालाई भेट्यौं । फेरि माउ भेटेको चल्ला झै भयो घर ।

दुई वर्ष पछि । एक दिन काठमाडौं घुम्न जाऊँ भन्दै आमाले म र माइलीलाई यहाँ ल्याउनु भो । माइली ठमेलको एक घरमा काम गर्दै पढ्न थाली । म आमासँगै बस्न थालेँ । गाउँमा ५ पढेर के गर्नु, यहाँ ३ मा भर्ना हुन पाएँ । पढ्दै र बुझ्दै पनि गएँ, ‘आमाको पनि अर्को बिहे भैसकेको रै’छ ।’ कान्छी आमा देखेको थिएँ । कान्छा बाउ पनि भोगेँ । उनी मलाई देखि सहँदैनथेँ । म परिवार बिग्रनुको कारण बन्न थालेँ । घरमा नयाँ भाइ जन्मेको थियो । आमा, भाइ र म केही समय उनीसँग छुट्टीएर बस्यौं । फेरि आमालाई उनी लिन आए । जानु अघि आमाले मलाई एउटा आन्टीको घरमा काम लगाइदिनु भयो, सिनामंगलमा । एक्लै डेरामा बस्नु । आन्टीको घरमा सघाइदिनु । कहिलेकाही क्याटरिङको काममा हिड्नु । नजिकैको शारदा उच्च माविमा पढ्न जानु मेरो दैनिकी भयो ।

***

१७ वर्षे म ऐले कक्षा १० मा पढ्छु । हरेक विहान ५ बजे उठ्नु । आन्टिको घरमा सघाउन जानु । बिहान साढे ६ बजे कोचिङ । साढे नौ बजे फेरि कोठामा पुग्छु । सके पकाउँछु नसके आन्टीको घरमा खान जान्छु । दिनभरी स्कुल हुन्छ । सकेसम्म खाजा नखाइ बस्छु । साँझ आन्टीकहाँ फेरी सघाउन जान्छु । महिनाको १५ सय पाउँछु । यतिले खर्च धानिँदो रहेनछ । स्कुल फि त लाग्दैन तर, कोठा भाडा, लुगाफाटो, खानाखाजा, ट्युसन खर्च । यति धेरै खर्च भने जुटाउनु पर्छ । भर्खरै अर्को ठाउँमा लुगा धुने काम पनि सुरु गरेँ । थोरै जुर्छ । न खर्च पु¥याउन सक्छु, न राम्ररी पढ्ने समय । तै पनि साँझ समय मिलाएर पढ्दैछु । बा, तपाईको सपना, म डाक्टर बन्न सक्छु सक्दिन थाहा छैन । तर, नर्सिङ पढ्ने इच्छा छ । जसले हामीलाई बेघर बनायो । उनीहरूको अघि केहि बनेर देखाउने इच्छा छ । बरु रातदिन अरुकहाँ काम गर्छु, बिहान जस्सै किताब समाउँछु । तपाई ढुक्क हुनुस बा ‘म स्कुल छाड्दिन् ।’

मसँग पढेका धेरैले स्कुल छाडे । मैले छाडिन्, बरु भोगेर जानेँ, ‘साथीहरू किन बीचैमा स्कुल छाड्छन भन्ने ।’
बरु रातदिन अरुकहाँ काम गर्छु तर बिहान जस्सै किताब कापी बोक्छु । तपाई ढुक्क हुनुस बा ‘म स्कुल छाड्दिन् ।’

(भवसागर घिमिरेसँगको कुराकानीमा आधारित)
(Published in Nagarik, 14 Sep 2013)
sagarbhaba@gmail.com



Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?