Skip to main content

हामी सक्छौँ !

दुई उत्तीर्ण भएपछि कति कक्षा पुगिन्छ ? सायद तिम्रो उत्तर तीन हुन्छ । तर यो शैक्षिक सत्रमा उनी दुईबाट सोझै चार कक्षा उक्ले । डडेल्धुराको भाटागाउँमा १५ वर्षअघि जन्मेका नरेशराज भट्टराईको कुरा गर्दैछु म । उनी जन्मेको बाईस दिनमा बलिरहेको टुकी उनीमाथि पल्टियो । आगोले दाइने हातको अधाभाग मात्र हैन अनुहारपनि जल्यो । ‘त्यतिबेला मैले जीवनमा केही गर्न सक्दिन भनेर सबैले हार खाइसकेका थिए’ भक्तपुर महेश्वरी स्थानको स्वर्ग बालगृह आइपुगेका भट्टराईले भने, ‘अब म केही गरेर देखाउने छु ।’

खेलकुदमा विशेष चाख राख्ने भट्राई पढाईमा पनि तगडा छन् । उनको विद्यालय भक्तपुरकै कम्युनीकेटीभ इंग्लिस स्कुल हो । ‘गणित र विज्ञान विषय मन पर्छ’ उनले खुशीहुँदै भने,‘मैले टप पनि गरेको छु ।’
सबैको झै उनको जीवनमा पनि धेरै अफ्ठ्यारो परिस्थिति आए । जती अफ्ठ्यारा आइपरेपनि उनले हरेश भने खाएनन् । भट्राई आठवर्षको छँदा उनका बाबा बित्नु भयो । दुईभाइ, दुईदिदी र एक बहिनी बिचका माहिला सन्तान उनी एकै हातले भएपनि गाउँमा हलो जोत्ने गर्थे ।  दुईवर्ष पहिलेको कुरो । जलेको हात, मुहार जँचाउन मामासँग उनी बनेपा अस्पताल आएका थिए । त्यसैबेला उनको सम्पर्क कृष्ण खैटुसँग भयो । खैटुको सहयोगमा उनी भक्तपुर आइपुगे ।

सोही गृहमा बस्दै आएकी बहिनी सीर्जना भण्डारीको घर भोजपुर हो । पाँच वर्षे सीर्जनाका दुवै खुट्टाका पैताला आगोले डढेका छन् । पहिला त उनी राम्ररी हिड्न सक्दैनथिईन् । तर जुक्ता लगाएर अडिने बानी पारेपछि उनी हिडडुल गर्न सक्ने भएकी छिन् । भण्डारी धेरै राम्रो विद्यार्थी भएकी कम्युनुकेटिभका प्रिन्सिपल जनी कुमार राई बताउँछन् । ‘चित्र बनाउन, मेमेरी गेम खेल्न, गीत सुन्न र गाउँन मन पर्छ’ एक दाई र एक बहिनीबिचकी भण्डारीले खुसी हुँदै भनिन् ।
सीर्जना जस्तै आफू पनि पढ्छु र बढ्छु भन्ने दश वर्षे तारङ् लामाले सायदै सोचेका थिए । रूपक मेमोरियल ईन्टरनेशनल हाईयर सेकेण्डरी स्कुल, कुपण्डोल पढ्न पाउँदा उनी दङ्ग छन् ।



कानले सुन्न नसकेपनि उनको मनले सबको कुरा सुन्छ । राजधानीका सडकमा माग्दै हिड्नु पर्ने दैनिकी उनको यसै बदलिएको भने हैन । एक विदेशीले उनलाई सांकेतीक भाषामा पनि पढाइहुने रूपक मेमोरियलमा पु¥याए पछिमात्र यो सम्भव भयो । विद्यालय पुगेको चार महिनामै उनले नर्सरी, एलकेजी र युकेजीमा पढाईहुने सांकेतिक भाषा सिकीहाले । अनि त यो छोटो समयमै एक कक्षा पुग्न उनलाई गाह्रो भएन् । उनले यति छिटै प्रगती गरेको देख्दा उनका शिक्षक-शिक्षिका दंग हुनुहुन्छ ।

सबैको झै काभ्रेकी दश वर्षे रोशनी लामाको पनि आफ्नै कथा रहेछ । कक्षा १ कि प्रथम लामाका दुवै खुट्टा नचले पनि दिमाग भने निक्कै चाँडो चल्छ ।  हँसिली र लजालु स्वभावकी लामाका बाबा साउदी अरबमा हुनुहुन्छ । आमा भने गाउँमै । हरेक वर्ष दशैका बेला भक्तपुरबाट काभ्रे घर पुग्दा भाइबहिनीले उनलाई कुरिरहेका  हुन्छन् । आमाले पनि निक्कै माया गर्नुहुन्छ । ‘कस्तो पढिचस् छोरी भनेर सोध्नु हुन्च’ लामा लाजले भुतुक्कै भइन््, ‘राम्रो छ भन्चु ।’

साँच्चीकै राम्रो रहेछ उनको पढाई । एक कोठाबाट अर्को कोठामा जाँदा घिस्रेर हिड्छीन उनी । अल्लि टाढै जानु पर्यो भने ह्वील चियर उनको साथी बन्छ । पढाईमा उनी निक्कै मेहनत गर्छिन् । प्रिन्सिपल राई भन्छन्, ‘लामाको मेहनत देखेर हामी छक्क पर्छौ ।’

यी सबै साथीका आ–आफ्नै सपना छन् । तारङ् राम्रो मान्छे बन्न चाहन्छन् । रोशनी र भट्टराई धेरै पढेर भविष्यमा राम्रो काम गर्ने बताउँछन् । कस्तो काम ? ‘हामी जस्तै दुःख पाएका भाइबैनीलाई पढाउने’ भट्टराइको यो कुरामा सहमति थप्दै लामा भन्छिन्, ‘मलाई पनि यस्तै काम मन पर्छ ।’

बहिनी भण्डारी भने नर्स बन्ने रे । ‘दुख पाएकालाई औंषधी गर्ने के’ भण्डारी कलिला दाँत देखाउँदै हाँसिन् । उनीहरू चारै जनालाई अपाङ्ग भन्दै अरूले जिस्काएको मन पर्दैन् । जिस्कायो भने के भन्छौं ? ‘अहिले केही भन्दिन्’ लामाले कलिला ओठ चलाईन्, ‘भोली पढेर, जीतेर देखाउँछु ।’

मिठो स्वरकी धनी लामाको कुरामा निक्कै दम थियो । ‘गीत गाउन आउँछ रे, गाएर सुनाउन’ संवाददाताको अनुरोध सुन्ने वित्तिकै उनले ओठबाट पुलुक्क जिब्रो निकालिन् ,‘आम्मै, गाउँने र ?’
‘पत्रिकामा नाम आउँछ क्या !’ अब भने उनी कपालमा बाँधेको निलो रिबनको फुर्का मिलाउँदै गुनगुनाउन थालिन्–
अपाङ्गलाई नबोलाउ हेपेर, हिड्छु म त वाकरमा टेकेर
आँशु झार्दिन, अपाङ्ग भए’नि हिम्मत हार्दिन
पानी प¥यो, पिँधैमा थिग्रीयो, के गर्नु त हात खुट्टा बिग्रीयो
आँशु झार्दिन...

बिजेशको मेहनत  

उनी ठूला भैसके । कसैको साहारा बिनानै घरबाट दश मिनेटको टाढा रहेको भक्तपुर क्याम्पस पुग्छन् । २४ वर्षे बिजेश बज्रचार्यले स्नातक तह प्रथम वर्ष पुग्दा उनका साथीहरू पनि दंग छन् । किन थाहा छ ? किनकी उनी अरूले झै हातले हैन खुट्टाले लेख्छन् ।
‘आजको दिन आउँछ भन्ने हामीलाई त उबेला विश्वासै थिएन’ उनकी दिदी सानुमाया बज्राचार्य भन्छिन्, ‘आजभाइले यत्रो प्रगति गरेको देख्दा खुशीले आँखा भरिन्छ ।’
यो खुसी सजिलै आएको भने हैन । जन्मदा नै उनका दुवैहात सन्तुलित रूपमा चलाउन मिल्दैन थियो । राम्ररी बोल्दैनथे पनि । धेरै उपचार गर्दा पनि उनको दुबै हातले राम्ररी काम गरेन । बोली झन खुल्दै खुलेन । ‘पछि खुट्टाले नै लेख्न सिकाउन थाल्यौंं’ समुदायमा आधारित पुनस्र्थापना संस्था भक्तपुरका रमेश श्रेष्ठ भन्छन्, ‘थेरापी (एक प्रकाररको शारिरीक अभ्यास) गराउन थालेपछि उनले बिस्तारै खुट्टाले लेख्न थाले ।’
बज्राचार्य नर्सरी कक्षामा पुग्दा ९ वर्षका थिए । आठ कक्षा सम्म ‘द राइजिङ् इंग्लिस स्कुल पढे । मेहनती भएकाले नौ र दश पढ्न उनलाई जेसीज स्कुलमा छात्रवृत्ती मिल्यो । विद्यालयका अन्तिम वर्षहरूमा स्वास्थ्यले त्यत्ती साथ दिएन । तैपनि पुनः सोही कक्षा दोहोर्याएर पढे । दिमागका निक्कै टाठा बज्राचार्य विद्यालय पढ्दाका बेला पुस्तकालय दैनिक पुग्थे ।
‘हिड्न राम्ररी सक्थेन । सानो छँदा हात समातेर विद्यालय पुर्याइदिनु पथ्र्यो’ बिजेशलाई हेर्दै दिदी सानुमाया  हाँस्न थालिन्, ‘अहिले त भक्तपुरका गल्लि गल्लि एक्लै चाहार्ने भैसकेको छ ।’ परिवारको सहयोग, समाजको हौसला र आफ्नै उत्साहले नै उनलाई अगाडि बढायो । पद्यम हाइस्कुल भक्तपुरबाट १२ कक्षा पास गरेपछि उनी भक्तपुर क्याम्पस पुगेका छन् । उपन्यास पढ्ने, टिभी हेर्ने, चित्रकला, खेलकुद आदिमा उनको विशेष रूचि छ ।
बिजेशको अपत्यारिलो सफलता देखेर समाजका मान्छे दंग छन् । अपाङ्गता भएका जो कोहीलाई दया हैन अवसर र हौसला दिनु पर्छ । यो पाठ हिम्मत नहारी परिश्रम गर्ने बिजेशको जीवनले दिएको छ ।
(भवसागर घिमिरे-नागरिक दैनिकीको पहिलो वर्ष बैषाख १९ को अ‌कमा प्रकाशित)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...