Skip to main content

बन्द, अब नहोस् !



ठूलो सभामा ‘पररर ताली बज्यो !’

यी ताली कुनै ठूला नेताले भाषण सुनेर बजाईएका भने हैनन् । सानी नानी पारूल राईले बोलेको साह्रै छोटो र मिठो मन्तव्य सुनेर तीनसय बढी दर्शकले बजाएका थिए । तिमीहरूलाई कौतुहल लाग्ला राईले के भनिन ?

‘हामीले पढ्न, लेख्न, खेल्न पाउनु पर्यो । विद्यालय बन्द हुनु भएन, दिक्क लाग्छ । सरमीसले पिट्नु भएन, दुख्छ । बस् यत्ति ।’

कार्यक्रम राजधानीमा चैत महिना भएको थियो । त्यहाँ देशका मन्त्री र अन्य ठूलाठूला व्यक्तिसँगै राई पनि मञ्चमा उक्लेकी थिईन् । राईले बोलेका यी थोरैकुरामा उनको धेरै भोगाइ र सन्देश लुकेको थियो ।

सिन्धुलीकी उनी चावहिल काठमाडौंको एक घर काम सघाउँछीन् । साथै समय मिलाएर अनौपचारिक शिक्षा पनि लिँदैछिन् । अनौपचारिक शिक्षा भनेको विद्यालय जान नसक्नेले लिने छुट्टै कक्षा हो ।


यहि कक्षा पढ्न जाने क्रममा पनि कहिलेकाही भइरहने बन्द, हड्ताल र चक्काजामले उनलाई दिक्क पारेको रहेछ । हुनत बेलाबेलामा हाम्रो देशमा हुने यस्तै बन्द, हड्ताल र चक्काजामबाट उनीमात्र हैन धेरै भाईबैनी हैरान रहेछन् ।

‘बिचबाटोमा तीन घण्टा विद्यालय–बसमै पनि बसेका छौं’ कलंकी, काठमाडौंकी सृष्टी खनालले बन्द सम्झन थालिन्, ‘बल्खु बन्द रहेछ, क्या दिक्क लागेथ्यो ।’ सेन्टमेरीज उच्च मावी जाउलाखेल पढ्दै गरेकी उनलाई बन्द मन पर्दो रहेनछ ।

किन ?

‘जुलुस, लडाई हुन्छ, टाएर बाल्छन्, विद्यालय बन्द हुन्छ, बाटोमा हिड्न सकिँदैन’ सृष्टीको यो उत्तरसँग सहमत शंकर राईले भने,‘यस्तो भएपछि हामीलाई डर लागिहाल्छ नी ।’

हो , धेरै भाइबैनीलाई डर र दिक्क लाग्दो रहेछ बन्दमा । धोवीघाट काठमाडौं बस्ने साना भाई शंकरका कुरामा महोत्तरीका रोशन चौधरी पनि सहमत थिए ।
गएका वर्ष विभिन्न बाहानामा पटक पटक तराई बन्द भयो । महोत्तरीमै पनि धेरै पटक हड्ताल, बन्द भएको पनि सुनेका र भोगेका छन् उनले । नयाँ बानेश्वको लालीगुराँश बाटीका विद्यालय पढ्दै गरेका चौधरीले काठमाडौंमै पनि धेरै बन्द भोगिसके ।

बन्द, हड्तालका बखत विद्यालयपनि खुल्दैनन् । विद्यालय बन्द भयो भने राम्ररी पढ्न पनि पाईदैन् । ‘अनि कसरी ठूलो मान्छे बन्ने ?’ चौधरीले उठाएको यो प्रश्नको उत्तर कसले दिन्छ उनलाई थाहै छैन ।

हुनत बेलाबेला हुने आन्दोलनले भाइबैनीलाई केहि रमाइलो भने बनाएको रहेछ । हर दिन विद्यालयका किताब रट्नु पर्ने उनीहरूलाई बन्दमा केही आराम मिल्दो रहेछ । सडकमा निस्केर खेल खेल्न पाइने । लोडसेडिङ छैन भने, घरमा बसेर टिभी हेर्न पाईने । यदाकदा जुलुस हेर्न पाईने, यस्तै ।

‘छोइखेल, लुकामारी, फुटबल, क्रिकेट, चुङ्गी खेल्ने हो’ बन्दका दैनिकी सुनाउँदै देवेन्द्र महर्जनले भने, ‘तर, खेलेरमात्र के गर्नु, पढ्न पाईएन भने के काम ?’ बन्द एकदिनका लागि रमाइलो भएपनि भविश्यका लागि नराम्रो हुने कुरामा युनिक मोडल एकेडेमी कुमारीपाटी ललितपुरका महर्जन सहमत देखिन्थे ।

कक्षा सातमा टेकेका महर्जनलाई बन्दमा दिक्क बनाउने अर्को कुरा पनि रहेछ, ‘सडकमा पोलिने टायरको नमिठो गन्ध’ । बन्द गर्नेले सडकमा टाएर बालेको युनिक इंग्लिस स्कुल हरिहर भवन, पुल्चोककी सिवानी थापालाई पनि मन पर्दो रहेनछ् । ‘आँखा पोल्छ, बाटोमा हिड्नै सकिँदैन’ तीन कक्षा उक्लनै लागेकी थापाले दुखेसो पोखिन्, ‘त्यस्तो गन्हाउने कुरा नपोले हुने नी ।’

यो कुराले उनका साथी राजकुमार पौडेल हाँस्न थाले । ‘बाटोमा टायर नपोल्यो भने त बन्दै हुन्न रे के’ लामटार ललितपुरका दश वर्षे पौडेलले कलिला दाँत देखाउँदै भने,‘ जुलुस ग¥यो, टायर बाल्यो अनि पो बल्ल बन्द हुन्छ ।’

विद्यापुञ्ज इंग्लिस सेकेण्डरी स्कुलका पौडेलले पनि जानी सकेछन् यी कुरा । भोलि ठूलो भएपछि यस्तै गरि बन्द गर्छौं त ? ‘नाई, बन्द गर्दा सबैलाई दुःख हुन्छ नी’ टाठा पौंडेलले छोटा उत्तर फर्काउँदै हँसाए, ‘बन्द नहोस् भनेर भन्चु म ।’

यसरी सधै मिठो हाँस्न कमै बैनिभाइले पाएका रहेछन् । हड्तालका बिच धेरै बैनीभाइको बिचल्लि पनि भएको रहेछ । कति त सडकमा ढुङ्गा हानाहानका बिच पनि हिडेका रहेछन् । धेरै पटक विद्यालय पुगेर पनि बन्दका कारण फर्कनु परेको गुनासो गर्दैथिए केहीले ।  लिटीलएन्जेल्स् स्कुल हात्तीवनको ६ कक्षामा पढ्दै गरेका समन श्रेष्ठपनि बेलाबेला भइरहेन बन्दले दुखी देखिन्थे । कोटेश्वरबस्ने उनी बन्दहुँदा साथीभाईसँग भेटघाट हुन नपाईने र घरमा बसिरहन अल्छि लाग्ने कुरा उप्काउँदै थिए । बन्द, हड्तालमा ‘केही नराम्रो घटना घट्छ की’ भन्दै मनमा डर लाग्ने कुरा पनि गरे केहीले ।

नयाँ वर्ष लागेको छ । बन्द गर्नेलाई के भन्छौं त ?

‘अब देखि कहिल्यै बन्द नहोस भन्छु’ त्रिपद् विद्याश्रम उच्च मावी, पुल्चोक कि सानी बैनी रशना महर्जनले निधार खुम्च्याईन, ‘के गर्नु हामी सानाका कुरा कसैले सुन्दैनन् ।’

(-भवसागर घिमिरे, नागरिक दैनिकको दोस्रो अ‌‌‍कमा प्रकाशित,२००९ जुलाइ)






Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...