Skip to main content

रङसँगको प्रेम




-भवसागर घिमिरे
ठाउँअनुसार फागु पूर्णिमा, होली, फागुवा, होरी जे नाम दिए पनि होली निकै प्रचलित पर्व हो। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने यो पर्व फागुन शुक्ल पूर्णिमामा मनाइन्छ।

होलीबारे हिन्दुशास्त्र
- सत्ययुगमा दैत्य हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी हुन्छिन्। दाजुको आज्ञाअनुरूप विष्णुभक्त भदाहा प्रह्लादलाई मार्ने उद्देश्यले दन्किरहेको आगोमा पस्छिन् होलिका। प्रह्लादलाई आगोले कुनै असर पार्दैन तर त्यस आगोबाट होलिका स्वयं भष्म हुन्छिन्। यसरी शक्तिको दुरुपयोग गर्ने होलिका भष्म भएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको मानिन्छ।
– द्वापर युगमा कंशले बालक कृष्ण भगवानको वध गर्न राक्षसनी पुतनालाई पठाएका हुन्छन्। कृष्णलाई आफ्नो विषाक्त स्तनपान गराउन लाग्दा भगवानको शक्तिका कारण पुतनाले आफैं प्राण त्याग गर्नुपरेको घटना हिन्दुशास्त्रमा पढ्न पाइन्छ। त्यसै मृत शरीरलाई जलाएर त्यति बेलाका गाउँलेहरूले खुसीमा फागु उत्सव मनाउन सुरु गरेको धार्मिक मान्यता छ।

रङको पर्व

हिन्दु बाहुल्य नेपाल र भारतमा मात्र नभएर अमेरिका, स्लोभाकिया, अफ्रिका, चीनलगायत विश्वका अन्य देशमा पनि रङको पर्व मनाउने गरिन्छ। म्यानमारमा टिगुला, फ्रान्समा गाचो, चीनमा च्वेज, अफ्रिकामा बोया, अमेरिकामा होवो, स्लोभाकियामा बेलियाकोनेन्से, जर्मनीमा कार्निवाल, पोल्यान्डमा असिना, जापानमा दे मोन्जी ओकुरिबी, इटलीमा रेडिका पर्वका नामले रङ खेलिन्छ। यो परम्पराले रङसँगको मानव प्रेम प्रस्तुत गर्ने विश्वास गरिन्छ।




द्वापर युगमा राधाकृष्णले खेलेको होली सम्झाउन मथुरा वृन्दावनमा खेलिने होलीमा महिला र पुरूषबीच लाठी नाच गर्ने परम्परा छ।

कामको सिलसिलामा साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, कोरिया, हङकङ पुगेका नेपालीमाझ पनि होली विशेष रूपले मनाइन्छ। त्यस्तै नेपालमा रहने विदेशी पनि यो पर्वमा उत्तिकै रमाउने गर्छन्।

२००७ सालअघि नारायणहिटी राजदरबार र सिंहदरबारमा देशका उच्चपदस्थ कर्मचारी, सैनिक, राज खानदानका उच्च व्यक्ति तथा राजपरिवारसँगै तिनका नातेदारबीच होली जम्ने गर्थ्यो। यसका लागि दरबारबाट उर्दी नै जारी हुन्थ्यो।

यसै अवसरमा जनकपुरमा औंसीको दिनबाटै १५ दिने मिथिला परिक्रमा यात्रा सुरु हुने र फागु पूर्णिमामा जनकपुरमै आएर सम्पन्न हुने गर्छ।

सञ्चार माध्यमको विकासले पछिल्लो समय होलीलाई टोलटोलमा पुर्‍याएको छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट आदिमा होलीको झल्को दिने गीतसंगीत, लेखरचना, फोटो, चलचित्र आदि प्रसारित तथा प्रकाशित हुने गर्छन्। यसैबेला सहरी क्षेत्रमा आयोजना हुने सांगीतिक कार्यक्रम, डान्स पार्टीजस्ता जमघटले होलीको गर्मी झन् बढाउने गर्छ।

होलीमा आयात गरिएका पिचकारी, लोला, रासायनिक पदार्थ तथा हानिकारक तत्व मिश्रित विभिन्न रङका नाममा देशको ठूलो रकम विदेशिएको छ। यस्ता सामग्री विशेषतः छिमेकी मुलुक भारत तथा चीनबाट बढी मात्रामा आयात हुने व्यापारीहरू बताउँछन्।

संस्कृति आफैंमा नराम्रो हैन। यसलाई मनाउने गलत तरिकाले मान्छेमा संस्कृतिप्रति वितृष्णा जगाएको छ। एकआपसमा चिनजान हुने, सम्बन्ध विस्तार हुने यो अवसरलाई सकारात्मक रूपले उपयोग गरौँ। सबैलाई होलीको शुभकामना!


रङसँगको प्रेम

सम्बन्धित सामग्री

यसमा तपाईंको प्रतिक्रिया
कार्टुन राम्रो लाग्यो।
ramhari thapa ramhari_thapa@yahoo.com


होली गीत
― गङ्गाराम गड्तौला
रमाइलो त गर्नैपर्छ एकबारको चोला
बाटो हिँड्ने बटुवालाई नहान है लोला।

आफू―आफैँ खेल्नुपर्छ खेल्ने भए होली
राम्रा–राम्रा तरुनीका नभिजाऊ चोली।

अर्कालाई रुवाएर आफू हाँस्नु हुन्न
तिमीलाई त्यसो गरे तिम्रो मन रुन्न?

विकृति र विसङ्गति कति चाँडो सिक्या
हेर–हेर खल्तीबाट किन बेलुन झिक्या?

कहाँ जाने, कति काम गर्नुपर्ने होला
रुँदै छ कि मनभित्र कति पीर होला।

बाटो छेकी युवतीका मुख किन ताक्या
के गरेको तिमीलाई छैन लाज लाग्या?

बेसोमत, नकचरो, अलच्छिनी मोरो
आफ्नै दिदीबहिनीलाई हिर्काउनु नि बरु।

भन्न थालिन् मुख छोपेर रुँदै धुरुधुरु
के बोलेकी होली मैयाँ जाऊ न खुरुखुरु

महिला र केटीहरू बाहिरै ननिस्कनू
अपरिचितसँग कोही पनि नजिस्कनू।

होली खेल्ने स्वतन्त्रता सबैलाई छ है
अर्काको स्वतन्त्रता हनन नगर है ।
Ganga Ram Gadtoula n.gadtoula@yahoo.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...