Skip to main content

गाँज्ला है गाँजाले!


बसन्तराज कुँवर

शिवरात्रिले वातावरणलाई छपक्कै छोपिसकेको छ। बाबा र सन्तहरूसँगै थुप्रै युवायुवती यतिखेर गाँजामा रमिरहेका होलान्। तर गाँजा चाख्ने सुरमा लत नै बस्न गयो भने?

लागूऔषधमध्ये उपल्लो श्रेणीअन्तर्गत पर्छ गाँजा। यो उत्तेजना ल्याउने खालको नभएर लठ्याउने लागूऔषध हो। मुख्यतः दुखाइ कम गर्ने औषधिका रूपमा विश्वमा यसको प्रयोग करिब ५००० वर्षअघि सुरु भएको मानिन्छ। तर यसले साँच्चीकै दुखाई कम गर्ने भन्दा पनि शरीरका तन्तुहरूलाई दुखेको अनुभूति गर्न नसक्ने बनाइदिन्छ।

पुराना पुस्ताका मानिस खेतबारी गोड्ने, भारी बोक्ने, पर्खाल लगाउने जस्ता शारीरिक बल पर्ने काममा दिनभर व्यस्त हुन्थे। उनीहरूले जिउको दुखाइ बिर्सन साँझमा सुत्नुअघि गाँजा सेवन गर्ने गर्थे। जोगी तथा सन्तहरू चिसो वा खुला क्षेत्रमा सहजै बस्न, एकान्तमा समय बिताउन र पारिवारिक तथा अन्य झन्झट भुल्न शिवजीको प्रसादका नाममा गाँजा सेवन गर्छन्। जी, ग्रास, हर्ब, पट, बलन्ट आदि नामले पनि गाँजा सेवनकर्तामाझ चर्चित छ। पछिल्लो समयमा नेपालमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी बढी मात्रामा यसको शिकार भएका छन्।


गाँजामा करिब ४०० घातक रसायन हुन्छन्। जसमध्ये ६० ले सोझै क्यान्सर निम्त्याउन सक्छन्। टिएचसी नामक न्युरो टक्सिन भनिने खतरनाक विष पनि यसमा हुन्छ। यो रसायनले गाँजा सेवनपछि व्यक्तिको चेतनामा विस्तारै नकारात्मक असर पार्छ। गाँजाको लगातार सेवनले संवेदनहिन हुने, टोलाउने, अल्छी लागेर सुतिरहने, हाँस्ने, मानवभीडको प्रत्यक्ष सामना गर्न नसक्ने र आंशिक वा पूर्ण रूपमा मानसिक सन्तुलन पनि गुमाउन सक्छ मान्छे।

लागूपदार्थको व्यापार गर्नेहरू नवयुवालाई गाँजा सेवनमा उक्साउने र उपलब्ध गराउन उल्लेख्यरूपमा सक्रिय रहेको विश्वका विभिन्न अध्ययनले देखाएको छ। गाँजा प्रतिकुल वातावरणमा पनि सजिलै उम्रन्छ, बढ्छ र तुलनात्मक रूपमा सजिलै उपलब्ध पनि हुन्छ। अन्य लागूऔषधको तुलनामा सस्तो पनि भएकाले अनेक गिरोहहरू यसमा युवालाई फसाउन तत्पर देखिन्छन् र यसका लागि लगानी पनि गर्दछन्। खैरो हेरोइन, कोकिन जस्ता अन्य घातक तथा महँगा लागूऔषधसम्म अम्मलीलाई पुर्‍याउन गाँजाले डोर्‍याउँछ। नेपालमा लागूऔषध सुरु गर्ने ९० प्रतिशत हाराहारीका प्रयोगकर्ताले गाँजाबाट नै यो गलत यात्रा सुरु गरेको भेटिएको छ। गाँजाले शरीरमा प्रारम्भिक रूपमा सामान्य तर दीर्घकालीनरूपमा जटिल असर पार्छ।

प्रारम्भिक असर :

  • शरीर र वातावरणको तालमेल बिगार्ने
  • आँखा रातो बनाउने, निन्द्रा लागेजस्तो भान गराउने
  • भोक जागेजस्तो हुने
  • मांशपेशीलाई खुकुलो बनाइदिने
  • सम्झना शक्ति र आत्मविश्वास घटाइदिने
  • मुटुको धड्कन बढाउने मात्र हैन केहीमा हृदयघात पनि हुन सक्छ
दीर्घकालिन असर :

  • दुब्लाउँदै जाने
  • मान्छेले मानसिक सन्तुलन आंशिक वा पुरै गुमाउने
  • शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने
  • सामाजिक तथा पारिवारिक अपहेलनामा पर्ने
  • आर्थिक अवस्था खस्काउँछ
  • फोक्सो र स्नायुमा नकारात्मक असर पार्छ र ज्यानै लिन सक्छ

नेपाल मात्र नभएर युरोपेली मुलुकका युवा पनि लागूऔषधको चंगुलमा फसेका छन्। तर युरोपेली युवाहरू प्रायः आफैले कमाएको पैसा लागूऔषधमा रित्याउने गर्छन्। त्यहाँका केही युवा बेरोजगार भए भने पनि सरकारबाट पाउने बेरोजगारी भत्ताबाट लागूऔषध सेवन गर्छन्। तर नेपालका युवा दुर्व्यसनमा फसे भने पुरै परिवार नै अस्तव्यस्त हुने गरेको छ।

दुर्व्यसन छुटाउने धेरै तरिका नेपालमा अवलम्बन गरिएको छ। लागूऔषध सेवनबाट उन्मुक्त भएकाले भर्खर लतमा फसेकालाई सम्झाउने (स्वयं सेवा समूह), आध्यात्मिक, चिकित्सकिय, नार्कोनन आदि लागूऔषधको लत छुटाउने प्रभावकारी विधि हुन्। नेपालका पुनर्स्थापना केन्द्रमा गाँजाको लत छुटाउन आउनेको उत्तिकै घुइँचो लाग्ने गरेको छ।

शिवरात्रि चाडका धेरै राम्रा पक्ष छन्। तर चाडको नाममा गाँजा सेवनको संस्कृतिलाई उक्साउनुले जीवनलाई नकारात्मक बाटोतिर लैजान्छ। लागूऔषधको लतमा डुबेपछि बाहिर निस्कन अत्यन्तै कठिन हुन्छ। त्यसैले चाडपर्वका यस्ता नकारात्मक पक्षलाई त्याग्नु नै उचित हुन्छ।

(नार्कोनन नेपालका राष्ट्रिय निर्देशक तथा पूर्व प्रहरी वरिष्ठ उपरिक्षक कुँवरसँग भवसागर घिमिरेले गरेको कुराकानीमा आधारित)
- 2009-02-20 18:49:33




यसमा तपाईंको प्रतिक्रिया#
म तीस वर्षदेखि धुँवा उडाइरहेको छु तर कहिल्यै ज्वरो अएको थाहा छैन। रक्सी प्रतिबन्ध लगाए हुन्छ बरू...त्यो चाहिँ सबै अपराधको कडि हो....भगवानले गाँजा बनाए, मान्छेले रक्सी....कसलाइ विश्वास गर्नुहुन्छ?
गाँजामा करिब चार घातक रसायन हुन्छन् जसमध्ये ६० ले सोझै क्यान्सर निम्त्याउन सक्छन्। टिएचसी नामक न्युरो टक्सिन भनिने खतरनाक विष पनि यसमा हुन्छ भनिएको छ यस लेखमा। कहाँबाट पाउनुभयो तपाईँले यस्तो तथ्य? स्रोत के हो? यस्तो गम्भीर विषयमा वैज्ञानिक स्रोत खुलाएर पाठकलाई सूचित गर्ने गर्नुहोस्। यस लेखमा यस्तो तथ्य भ्रामक छ।
पश्चिमका थुप्रै ठाउँमा गाँजालाई बैध बनाउनुपर्ने माग जारी छ। उनीहरूको हेराई गाँजाप्रति सकारात्मक छ।
हेरोइन र कोकेनजस्तो गरी गाँजालाई लेखिदिनु भएन। लेख्नुअघि अनुसन्धान गर्ने गर्नुहोस्।
prakash budhaprakash@hotmail.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?