संक्रान्तिमा झल्को ´गाँवै´ को...

कल्ले भन्च हरि, मनमा पीर नपरी, बरबर आँसु नझरी

´अपुर (अरू) त बिर्सें क्या। गाउँमा भा´का भे´ सम्झीसम्झी गाउँते,´ पुसको मिठो घाम ताप्न कौसीमा निक्लेकी सावित्रा कार्की, ६०, मुख छोपेर हाँस्न थालिन्। माघे संक्रान्तिमा गाउँमा गाइने भजनबारे बताउँदै गर्दा काठमाडौंमा रहेकी गुल्मेली आमैले भावुक हुँदै भनिन्, ´यो पाला त म यहाँ छु उत्तिको रमाइलो काँ पाम्नी?´

´किन काठमाडौं?´

´अब यहाँ छोरीले बोलाई, आउनु परिगो नि,´ दुई सातादेखि बानेश्वर अल्झेकी उनी अझै त्यति नै समय यतै बस्दैछन्। उनका अनुसार चाडबाडका बेला सहरतिर भन्दा गाउँमा धेरै रमाइलो हुन्छ। सबैले आ–आफ्ना छोरीचेली डाक्छन्। पुस मसान्तका दिन खेतबारी, वन गएर तरुल, सखरखण्ड खोजेर ल्याउँछन्, अनि त्यसै रात उसिन्छन्।

गाउँमा संक्रान्तिका बेला उसिनेका फल बासी बनाएर खाने चलन छ। चाकु, तिलको लड्डु, चिउरा, मासुजस्ता सकेसम्मका धेरै परिकार बनाएर खाइने हुँदा संक्रान्ति रमाइलो मान्छिन् कार्की। माघ एक गते जेठी संक्रान्ति, दुईमा माइली र तीनमा कान्छी गरेर तीन दिनसम्म रमाइलो गर्ने, मिठो खाने र सबैसँग भेटघाट गर्ने चलन छ उनका गुल्मीतिर।

पहाडतिर माघे संक्रान्ति भनेर मनाइने यो चाडलाई तराईका थारू समुदायमा माघी त कतै ´लड्डु तथा घिउचाकु´ पर्व पनि भन्ने गरिन्छ। नेवार समुदायमा ´घ्यो चाकु सँल्हु´ का नामले मनाइन्छ। यस पर्वमा चितवनको देवघाट, सुनसरीको वराहाक्षेत्र, गुल्मीको रिडी, काभ्रेको पनौती र दोलालघाट, झापाको कन्काई, कास्कीको ढुङ्गेसाँघु आदि स्थानमा मेला भर्नेको घुँइचो लाग्छ। ´सबैले वर्षभरि मनको कल्पना गर्दा जे थपना (भाकल) गर्छन्, त्यही सम्झँदै पुज्न जान्छन्,´ कार्कीले प्रष्ट्याइन्।

छोराछोरीको मन राख्नै भए पनि

चाडबाडमा मिठा कुरा जोड्नुपर्ने उनको भनाइ छ। ´पल्ला घराँ के पाक्यो, आफ्ना घराँ पनि त्यही खोज्छन्,´ सेतै फुलेका कपाल केलाउँदै उनले भनिन्, ´नजोडे टुँडिन्छन् (रिसाउँछन्)। जसरी नि जोड्नुपर्‍यो नि, पर्‍योइन त?´

गाउँमा बस्दा रमाइलोसँग मनाउने संक्रान्ति यो साल भने त्यति रमाइलो हुने भएन। ´घराँ´ट माना चारै चामल ल्याएकी छु, छोरीज्वाइँलाई संक्रान्तिमा यही पकाएर ख्वाउँछु, अरू क्यारूँ?,´ उनले भनिन्।

सावित्रा त चाडबाडका बेला छोरीको घरसम्म भए पनि आइपुगेकी छन्। तर माओवादी जनयुद्धले बेघर भएका रामेछाप, गेलुका भोला बुढाथोकी, ४५, लाई चाडबाड आएगएको पत्तो हुँदैन। उनी २०५६ सालदेखि नै तीन छोराछोरी, श्रीमति र आमासँग काठमाडौंका सडकपेटी नापिरहेका छन्।

´२०–२५ रोपनी खेत छ, के गर्नु माओवादीले अझै फिर्ता गर्‍या छैनन्,´ शिरको ढाकाटोपी फर्काउँदै बुढाथोकीले भने, ´यो दोबाटाँ बसेर केको चाड मनाउनु नि?´ कब्जा गरिएका सम्पूर्ण घरजग्गा फिर्ता गर्ने प्रतिबद्धता माओवादीले पटक–पटक दोहोर्‍याए पनि उनी त्यति आश्वस्त देखिएनन्। ´फर्काए त राम्रै हो तर आज एउटो कुरो गर्छन्, भोलि अर्को। के ठेगान छ र?,´ उनले दुःखेसो पोखे।

चाडबाडको प्रसंग उप्काउन खोज्दा उनले मनको बहसमेत फुकाए। ´गाउँमा चाड मनाउँदाको झल्को त निक्कै आउँछ नि सर। खसी काट्ने, धेरै खानेकुरा जोड्ने, सबै भेटेर अचाक्ली रमाइलो गरिन्थ्यो,´ धेरै ठाउँ चहारेर अन्तमा पशुपतिको वनकाली धर्मशालामा बास बस्न आइपुगेका उनले भने, ´नागरिक समाजले ब्यानबेल्की भात खान दिन्छ। अब चाड यत्ति रै´छ भन्दै बस्नुपर्ला नि। के गर्नु?´

वर्षौंदेखि बाध्यताले काठमाडौं बसिरहेका बुढाथोकीलाई झैँ केही दिनअघि मात्र यहाँ पसेका मीमप्रसाद श्रेष्ठ, ४९, लाई पनि गाउँको यादले अत्याएको छ। आफ्नो स्वास्थ्य उपचारसँगै जेठो छोरालाई कतार उडाउन आएका उनी आफन्तको घर बसेका छन्। गुल्मेली श्रेष्ठका अनुसार उनको गाउँमा एक हप्ता अघिदेखि नै संक्रान्ति मनाउनेको चहलपहल सुरु हुन्छ।

´हुनेका लागि चाड, नहुनेको लागि काल,´ उखानै बन्न आँटेका बखत श्रेष्ठ भने प्रशस्त धनसम्पत्ति हुनेलाई भन्दा नहुनेका लागि चाड प्यारो हुने बताउँछन्।

संक्रान्तिमा उनको बस्तीमा झ्याउरी गाउने चलन छ। गुल्मीमा झ्याउरी र पर्वतमा रोधी भनेर चिनिने भाका गाउँदा टोलभरिका मान्छे एकै ठाउँ जम्मा हुन्छन्। एक दशक अघिसम्म संक्रान्तिमा झ्याउरी गाएर रात छ्याङै कटाएको सम्झना छ उनलाई। रात छिप्पिन लागेपछि मात्र गोठमा, टौवामुनि, पाटीमा, पिँढीमा तरुणतन्नेरीको ´झ्याउरी´ खाल जम्थ्यो।

´झ्याउरी गाउँदा–गाउँदै केटाकेटीको मन मिलेर कति त भागे पनि,´ मगर गाउँमा बस्ने श्रेष्ठले विगत सम्झँदै भने, ´पछिपछि त रात छाडेर दिनमा मात्र गाउन थाले।´ उनका अनुसार साउने संक्रान्ति मरिन्छ कि भनेर खाने हो, माघे संक्रान्ति लौं बाँचियो भनेर मनाउने।

गाउँमा चाडको महत्व बढी हुनेमा भोजपुरे शिवलक्ष्मी राई, ७०, पनि सहमत छिन्। उनलाई ´काठमाडौं´ देखेर टिठ लागेर आउँदो रहेछ। ´पल्ला घर को छ, वल्ला घर को, पत्तै हुँदैन,´ शान्तिनगरस्थित घरको छतमा बसेर बत्ती कात्दै गरेकी राईले भनिन्, ´यस्तो ठाउँमा चाड भन्या के न के।´

बैंसका बेला पुस मसान्तको झसमिसे बिहानीमा उनी गाउँको ढिकीमा भेटिन्थिन्। ´फूल फुल्यो टुटुला, सुइरेबाजा बजाउँदै गोठाला,´ लामो भाका तान्दै उनले भनिन्, ´पातको सुइरो बनाएर बजाउँदै हिँड्ने गोठाला सम्झेर ऊबेला हामीले ढिकी चलाउँदै गाउँथ्यौं।´

अघिल्लो रात भिजाएको मासको बोक्रा फालेर कुटेपछि मस्यौराका लागि पिठो तयार हुँदोरहेछ। ´पिठो मुछेर मस्यौरा पार्‍यो, वनतिर गएकाले तरूल खोजेर ल्याउँथे, सक्नेले राँगा–खसी, नसक्नेले कुख्रै भए´नि काट्थे,´ राईले पुराना दिन सम्झिइन्।

चाडबाडलाई बीचका पुस्ताले कमै चासो दिने गरेका छन्। मदन भण्डारी मेमोरियल कलेज, काठमाडौंमा बीबीएस तेस्रो वर्ष पढ्ने चण्डिका मैनाली, २१, ले भनिन्, ´माघे संक्रान्तिमा विशेष त त्यस्तो केही ´प्लान´ छैन।´ सानेपाको एउटा क्याफेमा साथीसँग चिया पिउँदै गरेकी दोलखाली मैनालीले हँसिलो पारामा थपिन्, ´कोठामा तरुल ल्याउने, उसिन्ने र खाने।´


स्याङ्जा पुख्र्यौली घर भएका कान्ता रीमाल, ६३ र उनका श्रीमन् प्रेम, ६६ लाई नयाँ पुस्ताले चाडवाडको मर्म भुल्दै गएकोमा चिन्ता छ । ‘हाम्रा पालामा त रातभर जागा बसेर मिठामिठा परिकार बनाउथ्यौं’ शंखमुलमा रहेकी कान्ताले भनिन्– आफु पनि खान्थ्यौं र टोलछिमेकमा पनि प्रसादको रूपमा बाड्थ्यौं । दुई छोरी विदेश रहेकी उनले अगाडि थपिन्, ‘बूढाबूढीमात्र, यहाँ त के रमाईलो हुन्छ र खै ?’


आफुलाई घिउ, चाकु, खिचडीको पारखी भन्न रूचाउने प्रेमले यो चाडमा खाईने घिउ, चाकु, लड्डु, तरूल आदिले जाडोको मौंसममा ज्यानलाई तातो बनाइ राख्ने बताए । उनका भनाईमा चाडबाडमा आफुमात्र खाने हैनकी खान नपुग्नेका हातमा पनि खानेकुरा बाँड्नु राम्रो हुन्छ । ‘सबै मिलेर खाँदा नै चाड रमाईलो हुन्छ । चाडपर्वले सिकाउने नै यही हो’ उनले भने । 



( भवसागर घिमिरे,नागरिकमा प्रकाशित । सन् २००९)

Comments