Skip to main content

बिरामी काठमाडौंको बयान

बा । आरामै हुनुहोला । रुघाखोकीबाहेक मलाई अरू ठीकै छ । बरु आमाको ग्यास्टि्रक कस्तो भो कुन्नि - जनैपुर्नेमा, छोरो घराँ'मुख देखाउन आएन भनेर दुःख नमान्नु होला । के गर्नु, ह्याँ कामको माचामाच, ऐले साल पनि पोहरकै झै न घर आउन पाइयो न जनै लाउन । बिहान बेलुकी दाल-भात खाइयो सक्किगो चाड ।

आज गाईजात्रा । तपाईं त्यहाँ भोक, झोक, रोग र शोकले मरेकाहरूको सम्झनामा निकाल्ने गाईजात्रा हेर्दै हुनु होला । म त ह्याँ सरकार बनाउनका लागि भइरा' राजनीतिक गाईजात्रा हेर्दैछु । कैले कस्को धोती फुस्कन्छ, कैले कस्को टोपी फुस्कन्छ, भरै नहुँदो रै'छ । कैले माओवादीले हावा खाने, कैले कांग्रेसले कावा खाने । जे भा'नी, चेपुवामा तपाईं हामी । भन्न त, डाडुले कुटेको श्रीमान् तरकारी थप्दा तर्सन्छ भन्छन् । तर खै यहाँ त कहिल्यै त्यस्तो भएन । जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर राजनीतिक टुँडिखेलमा पेनाल्टी हिर्काउँदा, जनताकै आँगना आएर पछ्छारिएका थे । लखतरान परेका तिनलाई हामीले जुस पेलेर तङ्ग्रायौं, सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसँग टेढिए, बाङ्गिए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गिए । अब त पूरै नाङ्गिनमात्र बाँकी छ ।


बा, तपाईंलाई सात साल, छ्यालीस साल र छपन्न सालमा ज्ञान भएझैँ मलाई पनि ऐले आएर र्छलङ्ग भो । जति चिप्ला कुरा गर्छन्, उति काला चिल्ला कार चढ्छन् । कार पनि काला, मन पनि काला । तपाईं हामी सधैँ तल, माथि उक्लने कोही उनका भतिजा कोही उनैका साला । विरुद्धमा बोल्यो कि ज्यान जाला भन्ना डर । यस्तै अचम्मको छ यहाँको कानुन र शासन पनि । अब हेर्नुस् न, जसको शक्ति छ उसलाई कानुन लाग्दैन । तपाईं हामीलाई भने ठाउँ-ठाउँमा कानुन लाग्छ । मेहनत मजदुरी गरेर खाँदादेखि खाएको जाँदासम्म कानुनले समात्छ हाम्लाई । कसैले यहाँ फोनबाट धम्काएर रकम असुले पनि भएकै छ, सित्तैमा मागेर हसुरे नि भएकै छ । रड भाला चलाएर छाला तार्दे नि भा'कै छ, गनी गनी बङ्गरा झार्दे नि भा'कै छ । ह्याँ त, न कर्मचारी न पत्रकार, न ड्राइभर न कलाकार, जसलाई पनि बल हुनेले कुट्न पाइन्छ, कुटेपछि पनि कारबाहीमा नपरी छुट्न पाइन्छ । काठमाडौंको बयान गरीसाध्य छैन बा, साँच्चै बिरामी भा'छ यो ।

नेपाल घायल निगम, आयल निगम बन्न नसक्दा हरेक पटकको डायलमा टेलिकमको नेर्टवर्क जस्तो पेट्रोल पम्पमा तेलको स्वीच अफ गरिएको जानकारीमात्र पाइन्छ । आयल बाँड्न तयार भएका दुइ/चार पम्पमा पनि साउने सोमबार पशुपतिको दर्शनमा लागेका भक्तजनको लाइनजस्तै भीड हुने गर्छ । मानौं सबै साथमा पूजाको थाली हैन पेट्रोलको टेङ्की खाली लिएर पम्प पुज्ने पालो कुरिरहेका छन् । बीच-बीचैमा प्रहरीका लाइन, सैनिकका लाइन, नेताका लाइन, जनताका लाइन धेरै लाइन लाग्ने गरेको छ । दादागिरी देखाउनेका एउटा लाइन, ग्यालिन बोक्नेका अर्का लाइन, सोझा मान्छेका सोझा लाइन बाङ्गा मान्छेका बाङ्गा लाइन, कोही 'पल्सर' कोही 'साइन' । हर रात हर दिन मेलै लाग्ने गर्छ । यो बिरामी काठमाडौंका रोगी मान्छे हामी, प्रचण्ड घाम र ट्राफिक जामको चपेटामा र्सार्वजनिक यातायातमा यात्रा गर्दा ब्वाइलर कुखुराझैं भएका छौं । मानौं हामीलाई साइकलको डन्डीमा उधोमुन्टो झुन्ड्याएर मृत्युदण्डका लागि लगिदैँछ वा हामीलाई होलसेलका सामानझैं गोदामतर्फलगिदैँछ । जहाँ पाता कसेर बाँधिन्छ, अनि बाकसभित्र खाँदिन्छ । असह्यै भइसक्यो अब त ।

बा, यो काठमाडौं हरबिहान चियाको चुस्की र धूवाँको ठूस्कीसँगै देश बिरामी भएको समाचार पढ्ने, सुन्ने र हेर्ने गर्छ । कर्णालीको बाटो पहिरोको ढुङ्गा र माटोले रोकियो, पूर्वको सडकमा बन्दको गन्ध बढ्यो, तर्राईमा बाढी, पहाडमा भोकमरी, सीमामा लुटपाट र चन्दा आतंकले सास्ती, सोफी खाँदा धोती न टोपी, मिस -रिस) नेपाल प्रतियोगिताको विरोधमा जुलुस, यस्तै-यस्तै समाचार हरदिन हुरीका पात पतिङ्गरझैं हुर्रेआउँछन् यहाँ । तर देशभरिका समाचार चाख मान्दै हेर्ने यो काठमाडौं आफैंभित्र पौडी खेलिरहेकी ढलमतीको कथाका बारे अनभिज्ञ बन्न खोज्छ । सास फेर्ने निर्जीवहरूको यो बस्तीमा भोक भएका झोक बोकेका तर भोजनविहीनहरूको कथा थाहा नपा'झैँ गर्छ । र्सर्टिफिकेटका खात बोकेर दर्ुइ हात जोड्दै दिनरात सहरमा टहलिनेका कथा, विदेश जानलाई एजुकेसन कन्सल्टेन्सी र म्यानपावर एजेन्सीमा लाम लाग्नेका कथा, थुप्रै कथा छन् । थुपै रोग छन् यहाँ । ती सबैबारे काठमाडौं बेखबर बन्न खोजिरा'छ ।

बा, ह्याँ त सबै असुरक्षित छन् । सब त्रसित छन् । अस्तिमात्रै घरमै छिरेर डाक्टरकी छोरीको अपहरण गरे रे । तपाईं हामीले जिताएका नेतारुले संविधान हैन काठमाडौंमा घर बनाउने सुरसार कस्याछन् भन्ने पनि सुनियो । यही घर भएकाले पनि कोठाभाडाको भत्ता बुझे रे । एकातिर भत्ता बुझनेहरू छन्, अर्कातिर बुझाउनेहरू छन् । मिर्गौला फेल भो, मुटुमा ब्याक लाग्यो भनेर आँखा रुझाउनेहरू छन् । धेरै नयाँ-नयाँ खबर छन् बा । उपराष्ट्रपतिले हिन्दीमा बोले, विद्यार्थीले सडकमा टाएर पोले । तै पनि आफैँ ठीक भन्दै झाले मुख खोले । क्या काइदाको कुरो हैन त बा - म्याद सकिएका मन्त्री पनि श्रीमती बोकेर ओलम्पिकतिर कुलेलम ठोके । यता ओलम्पिकमा कुस्ती खेल्न जानेहरू एर्पोटमै कुस्ती खेले, जान खोज्नेलाई रोक्न खोज्नेहरूले पेले, अन्तिममा प्रहरी गएर ठेले । थुप्रै विषय छन् यस्ता बा, जुन तपाईंलाई न भनेर साध्य छ, न सुनाएर सकिन्छ । बस यत्ति बुझनुस् काठमाडौं साँच्चै बिरामी भएको छ ।

-भवसागर घिमिरे

गाईजात्रा :

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...