Skip to main content

पुस्तकतिर सोझिएका आँखा



भवसागर घिमिरे, काठमाडौं, फागुन १-

´पुरानो कोट लगाउ नयाँ पुस्तक किन´

हुलका हुल मान्छे ओइरेको देख्दा हेनरी डेभिड थोरोको यो सन्देश धेरैले सुनेझैँ लाग्छ। स्थान, काठमाडौंको राष्ट्रिय सभागृह। साँझको समय। प्रवेश गर्नेबित्तिकै बाँयापट्टिको भुईभरि ´गरिमा´ मासिकका पुराना अंक छरिएका देखिए। गरिमावरिपरि मान्छे पनि छरिएका। घारमा माहुरी जस्तै। हातमा सयका दुई, दसका तीन र पाँचका एक नोटसहित खुजुरा डलर समातेका आत्माराम घिमिरे मख्ख छन्, पुराना गरिमामा सोझएका तन्नेरी आँखा देखेर। मोल सोध्दै गरेका एक युवतीतर्फ फर्केर उनले भने, ´एक लगे पाँच, तीन लगे दस रुपैयाँ।´

सन्दर्भ हो, साझा प्रकाशनले आयोजना गरेको ´बृहत् पुस्तक प्रदर्शनी–२०६५´ को। मुल प्रवेशद्वारमा झोला राखेर भित्र गएपछि मान्छेको ठेलमठेलमा तपाई पनि एक हिस्सा बन्नुहुनेछ। थुप्रै पुस्तकप्रेमी भेटिने प्रदर्शनीबाट रुकुमका महेन्द्र खड्का भने बाहिरिने तर्खरमा थिए।


क–कसका किताब किन्नुभयो त?

´जिउँदो लाश–विजय मल्ल, योगसाधना तथा योगचिकित्सा रहस्य–रामदेव´, भिएस निकेतनबाट भर्खर विज्ञानमा प्लस टु सकेका उनले हातको पुस्तक र लेखकबारे बताउँदै थपे– ´पल्पसा क्याफे–नारायण वाग्ले, प्यासभित्रको विद्रोह–तसलिमा नसरिन, महात्मा गान्धीको आत्मकथा, यत्ति हो।´ एमबिबिएस प्रवेश परीक्षाको तयारीमा जुट्दाको दिक्दारीबीच यी पुस्तक पढिसक्ने उनको योजना छ।

प्रदर्शनी काठमाडौंमा बसोबास गर्ने मात्र हैनन् बाहिरी जिल्लाबाट कामको सिलसिलामा राजधानी छिरेकाका लागि पनि अवसर भएको छ। सुर्खेतकी चन्द्रा आचार्य आधा घण्टादेखि लोकसेवा परीक्षासम्बन्धी पुस्तकको खोजीमा थिइन्। ´अफिसको कामले काठमाडौं आएको थिएँ, मनपरेको पुस्तक लैजाउँ भनेर पसेको´ उनी हाँसिन्।

सिरहाका रामएकवाल यादव भने ´विश्वका बादशाहहरू´ भन्ने पुस्तकको खोजीमा रहेछन्। श्रीमतीसँगै काठमाडौं घुम्न आएका उनले महान व्यक्ति प्रेरक प्रसंग, साम्यवाद नै किन, आमा उपन्यास आदि लैजान ठिक्क पारिसकेका थिए।

तपाईको नाम?

´रश्मिला,´ रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक पढ्दै गरेकी उनले भनिन्, ´थरचाहिँ नभनौं है।´ उनलाई खोजमूलक तथा इतिहासका पुस्तकमा बढी चासो लाग्दोरहेछ। हातमा हिटलरको बायोग्राफी च्यापेकी उनले भनिन्– ´यस्तो प्रदर्शनी बराबर भइरहनुपर्छ।´

समाजमा पठन संस्कृतिको विकास, प्रकाशन संस्थाबारे पाठकलाई जानकारी तथा पुस्तकलाई सहज, सुलभ र सुपथ मोलमा पाठकसम्म पुर्‍याउने उद्देश्यले साझा प्रकाशनले प्रदर्शनी आयोजना गरेको हो।

´२५ देखि ८० प्रतिशतसम्म छुटमा हामीले पुस्तक बेचिरहेका छौं´ साझा प्रकाशनका रूद्रप्रसाद न्यौपानेले भने। दसौं दिनसम्म आइपुग्दा पुस्तक बिक्रीबाट ३५ लाख रुपैया संकलन भएको उनले जानकारी दिए।

प्रदर्शनीमा १६ प्रकाशन संस्था सहभागी छन्। पाँच सयभन्दा बढी लेखकले आफैले प्रकाशन गरेका पुस्तक पनि बिक्रीका लागि उपलब्ध गराएका छन्। साझा प्रकाशनका अनुसार मुनामदन, गौरी, बसाइँ, शिरीषको फूल, अन्तर्मनको यात्रा, हिमालपारि पुगेपछि, सेती पनि काली पनि, सुम्निमा, श्वेतभैरवी आदि किताबको बिक्री बढेको छ।

´छापामारको छोरो, सुम्निमा, तरुणतपशी, ऋतुविचार, नयाँ सडकको गीत आदिको स्टक क्लिएर भइसकेको छ´ न्यौपानेले भने– ´थप छाप्न पठाइसकेका छौं।´ उनका अनुसार केही महिनाअघि दिवंगत रमेश विकलका पुस्तकप्रति पनि पाठकहरूले विशेष चासो राखेका छन्।

पुस्तक किनेपछि पनि रकमको रसिद काट्दा पालै कुर्न पर्न सक्छ। भक्तपुरकी अनिता राजपालको पालो चार जनाको पछि मात्र आउँदै थियो। ´कुर्नै पर्‍यो नि´ हातमा कथा र गजलका किताब बोकेकी राजपाल मुख छोपेर हासिन्। रसिद काट्नेलाई पनि भ्याइनभ्याई थियो।

´भर्खर त्रिवि पढ्ने विद्यार्थीले १९ सयमा एक ठेली किताब बोकेर गए,´ रसिद काट्न व्यस्त धुव्र कार्कीले भने– ´हिजो एकजनाले एक भारी पुस्तक किनेर आठ हजार बुझाए।´

दर्शन, द्वन्द्वसँगै विदेशी लेखकका नेपालीमा अनुदित पुस्तकमा पनि धेरै आगन्तुकका आँखा परेका थिए। ´पाइरेटेड बुक्स (अनुवाद अधिकार नलिइकन प्रकाशित पुस्तक) को पनि बिगबिगी छ´ एक प्रकाशकले भने– ´नियम नमान्नेलाई कारबाही गर्ने परिपाटी फितलो भएर यस्तो भएको हो।´

साझाका न्यौपाने भने हाम्रो जस्तो अर्थतन्त्रमा पाइरेटेड बुक्स बढ्नु स्वाभाविक हो भन्छन्। अर्का एक प्रकाशकले भने पाइरेटेड बुक्सको बिगबिगीले आफूहरू मारमा परेको गुनासो गरे।

जे भए पनि प्रदर्शनीमा युवासँगै केटाकेटी र बूढाबुढीको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ। कोटेश्वरका ६६ वर्षे माधव पराजुलीको चाख भने धार्मिक पुस्तकतिर देखियो। ´खप्तडबाबाको विचारविज्ञान, गीता भर्खर पढेर सकेँ, अरू धर्मदर्शनसम्बन्धी किताब खोज्दैछु´ पराजुलीले चस्मा अल्लि माथि सार्दै भने। माघ २० बाट सुरु भएको प्रदर्शनी फागुन २ सम्म चल्नेछ।


पुस्तकतिर सोझिएका आँखा

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...