Skip to main content

अलपत्र बालिका उद्धारको खोजीमा



-भवसागर घिमिरे
काठमाडौं, मंसिर २७

एघार दिनअघि यहाँ ल्याउँदा गालामा हात राखेर पाइया, पाइया भन्दै रोएकी थिइ´, दिलशोभा श्रेष्ठले काखकी छ वर्षे ममतालाई देखाउँदै भनिन्– ´फकाउँदै हामी पनि धेरै रोयौं।´ बाउको पत्तो छैन। एक वर्षकी ममतालाई ठूलीआमाको घरमा छाडेर उनकी आमा पनि बेपत्ता भइन्। अर्काको घरका भाँडा माझेरै भए पनि पाँच वर्षसम्म हुर्काइन्। समस्या तब थपियो ,जब ठूलाबाले अर्की श्रीमती भित्राए।
ठूलीआमासँगै उनले पनि ठूलाबाको हरदिन गाली र पिटाइ सहनुपर्‍यो। ´जाँड खाएर आउँछ, मलाइ मार्छु भन्छ, यसलाई पनि।´ उनकी ठूलीआमाले रुदैँ आफूलाई भनेको दिलशोभा सम्झन्छिन्– मैले कसैगरी सकिन, तपाईं नै हेर्दिनुस् भनेर छाडिन्। उनी भन्दै थिइन्– अहिले त ठूलीआमाको पनि पत्तो छैन।
दिलशोभाले रविभवनस्थित आफ्नै निवासमा ´वृद्धा व्यवस्थापन तथा सामाजिक कल्याण गुठी´ एकल पहलमा चलाएकी छिन। पौष्टिक आहारको अभाव र मानसिक तथा शारीरिक तनावले थलिएकी ममता गुठीमा आउँदा खिरिली देखिन्थिन्।

दिलशोभाको मन पग्लिहाल्यो। ´मैले न नाम सोधें, न त घर´, उनले त्यो क्षण सम्झँदै भनिन्– तुरुन्तै कोठामा ल्याएर सफासुग्घर बनाइदिएँ, फलफूल, दुध, जाउलो बनाएर खुवाउन थालेँ।
ममताले कुपुकुपु खाएको देखेर उनका मात्र हैनन्, उनको एकल रेखदेखमा बसेका २७ वृद्धवृद्धाका आँखा रसाए। धेरै दिन बिमार र भोको रहेकी ममतालाई ल्याएको आठ दिनपछि मात्र दिसा खुलेको वृद्धा लक्ष्मी मगरले बताइन्। उनका अनुसार सुरुमा त्यत्ति बोली नखुलेकी ममताको अहिले अली खुल्न थालेको छ। उनी टुकुटुकु हिँड्न र नाच्न पनि थालेकी छन्।

´सुरुमा केटा मान्छे देख्यो कि तर्सेर गाला देखाउँदै पाइय पाइय भन्दै रुन्थी´, अर्की वृद्धा कान्छी महर्जन भन्दै थिइन्– ´यिनका ठूलाबा भनाउँदोले धेरै कुट्या रै´छ तर अहिले त दाद्दा, माम्मा, आम्मा भन्दै हामीसँग जिस्किएर रमाइलो गर्छे।´ सबैले माया र ममता गर्ने भएकाले ´ममता´ नाम आफूहरुले नै जुराइदिएको वृद्धा सुन्तली थापाले बताइन्।

दिलशोभाको स्याहारले एघार दिनमा ममताको रुपै फेरिएको छ। दिलशोभा भन्छिन्– आज यिनको रुप फेरिएर के गर्नु? भविष्यको साह्रै चिन्ता लाग्छ।´ नौ वर्षदेखि दुई दर्जनभन्दा बढी असहाय वृद्धवृद्धालाई निशुल्क पालनपोषण गर्दै आएकी छन् दिलशोभाले। भेट्न आउनेहरु खाली हात आएनन् भने मात्र उनको चुह्लो बल्छ। धन्न दाल, चामल, तरकारी, बिस्कुट आदि उनको घरमा जम्मा हुने गरेको छ। उनले उदाहरणीय काम गरे पनि आर्थिक अभावले सधैं पिरोलिरहन्छ। ´मैले ममतालाई दुई छाक खाना मात्र पुर्‍याउन सकेको छु´, दिलशोभाले आश गर्दै भनिन्– कसैले सहयोग गरिदिए राम्रो उपचारसँगै पढ्न पनि पाउने थिइ।

2008-12-11 22:55:21

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?