| भवसागर घिमिरे -
घरमा उनको मोबाइल खोसियो। ल्यान्डलाइन लक गरियो। चार भित्ता उनका निम्ति चार पहरा भए। गाउँमा दुईको प्रेमसम्बन्ध एक कान, दुई कान, मैदान भयो।
´न घाम लागेको पत्तो हुन्थ्यो, न जुन आएको,´ देवी पराजुली, २१, ले सुस्ताउँदै भनिन्– ´पन्ध्र दिन त तगारोबाट एक पाइला बाहिर टेकिन।´
उनको घर हो नवलपरासी, प्रगतिनगर। दुई भाइ र चार दिदी–बहिनी बीचकी माइली छोरी। वीरेन्द्र स्मृति बाल क्लबमा २०५८ ताका उनले बालापन थाल्दा टोलमै अर्को बाल क्लब खुल्यो। नाम, अमर बाल क्लब। त्यसमै रम्दै थिए उनका जीवनसाथी भोजराज विश्वकर्मा (भोजु)।
२०६० को कुरो हो। अमरमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा भोजुको आग्रहअनुरूप देवी र उनका बहिनीले भाग लिए। ´हामीलाई अर्को क्लबमा गएको भन्दै वीरेन्द्र स्मृतिका साथीले बैठकमा बोलाउन छाडे,´ देवीले भनिन्– ´त्यसपछि हामी अमरमै काम गर्न थाल्यौं।´
गाउँमा क्लबले राम्रो छवि बनाउन थाल्यो। क्लबसँगै देवी र भोजुको नेतृत्वमा पनि निखार आउन थाल्यो।
यस क्रममा भोजुका केही साथी गएर देवीलाई दिनदिनै भन्दारहेछन्, ´भोजुले तिमीलाई मन पराउँछ नि।´ उनले पनि विस्तारै पत्याउन थालिन्। ´मैले भन्दै नभनेको कुरा उनीसम्म पुग्छ भन्ने के थाहा?,´ आफ्नो प्रेम सम्बन्धबारे गफिंदै भोजुले भने।
यता भोजु साथीहरूको कर्तुतबाट अञ्जान थिए, उता उनीप्रति देवीको नजर बदलिन थालेको थियो। उनी भोजुका हर काममा चाख दिन थालिन्। यसले भोजुको मनमा पनि अनेका प्रकारका प्रश्न उठ्न थाले। ´यो केटी यस्तरी मेरो काममा चाख दिन्छिन्?´, ´किन मसँग बढी नजिकिन खोज्छ?´ आदि इत्यादि।
उनको शंका सही रहेछ, २०६० पुसमा देवीले नै प्रेम प्रस्ताव राखिन्। ´उनले मलाई एउटा कुरो भन्नु छ भनेर ´त्यही´ कुरा भनिन्´, भोजुले लजाउँदै भने– ´म त अत्तालिँदै पछि भनुँला भनेर घरतिर हानिएँ।´
देवीलाई कुनै उत्तरै नदिई भोजु उच्च शिक्षा अध्ययनका लागि २०६० मै नवलपरासीबाट पोखरा लागे। देवी भने १० कक्षाको पढाइमा व्यस्त हुनुपर्यो। तर मन कहाँ मान्थ्यो र? देवीलाई एउटै प्रश्नले पछ्याइरह्यो, ´के भोजुले साँच्चै मलाई प्रेम गर्छ?´
आगो दुवैतर्फ बराबर थियो। इन्जिनियरिङको अध्ययनमा व्यस्त हुनु त छँदै थियो, भोजुलाई विस्तारै देवीको सम्झनाले पनि सताउन थाल्यो। धेरै सोचेपछि उनले आफ्नो मायालाई कागजमा लिपिबद्ध गरेर हुलाकको रजिस्ट्रीमार्फत पठाए। त्यतिले नपुगेर साथीहरूलाई पनि भनी पठाए।
चिठ्ठी पहिला पुग्यो कि साथी? ´काँ चिठ्ठी पुग्नु?,´ भोजुले देवीलाई हेर्दै भने– ´आजसम्म त्यो चिठ्ठी न यिनले भेटेकी छिन्, न मैले।´ ओहो, चिठ्ठीकै भर परेको एउटा प्रेमकथा त्यसै तुहिन्थ्यो सायद।
पत्र हराए पनि साथीसँग पठाएको खबर भने देवीको कानसम्म पुगेछ। त्यसपछि उनको मनै फुरुंग भएर आयो। कलकलाउँदो उमेर, अनि मिठो वैंशमा प्रेमको अनुपम अनुभूतिले उनको मन च्वाप्पै चुमेको थियो।
पुसमा प्रस्ताव, माघमा स्वीकृत, फागुनमा भ्यालेन्टाइन्स डे परिगो। ´एसएलसीको तयारीका लागि होस्टल बसेको थिएँ, भ्यालेन्टाइन्समा फोन गर्नुपर्छ भनेर साथीले भन्यो,´ विगत सुनाउँदै देवीले भनिन्– ´रातको ९ बजे होस्टलको पर्खाल नाघेर बुथमा फोन गरें।´ त्यतिखेर ९ मिनेट कुरा गरेको उनी अझै सम्झन्छन्। भोजु भन्छन्, ´माया त अंक गणितभन्दा ज्यामितीय आधारमा बढ्दो रहेछ।´ उनी पोखरा लामो समय भनेको त्यस्तै दुई महिना बस्थे होलान, फेरि घर आइहाल्थे। ´पढाइ सकेको होस् क्या, आइरहन्छस्,´ भनेर धेरैले भोजुलाई नसोधेका हैनन्। उनी अनेक बहाना बनाएर टार्थे।
प्रेममा नजानिँदो तवरले सामिप्य बढ्छ। ´कहिलेकाँही क्लबमा निर्णय गर्दा पनि ´बायसनेस´ आउँदोरहेछ,´ क्लबमा देवीप्रतिको झुकावबारे भोजुले रहस्य खोले, ´जानेर हैन नजानेर क्या।´
के सधैं मायामात्र लाग्छ त? मायामा रिस पनि हुन्छ भन्छन्।
´हुन्छ नि´, देवीले भनिन्– ´कहिलेकाँही नगइदिए हुन्थ्यो, नबोले हुन्थ्यो भन्ने कुरा गर्दिंदा र बोल्दिँदा मनमुटाव हुने गर्थ्यो। भोजुले त ´विछोडको अन्तिम पत्र´ भन्दै धेरैपटक चिठ्ठीसमेत पठाए।
पाँच वर्षको निरन्तर प्रेममा धेरै अविस्मरणीय पलले उनीहरूलाई चुमे। उनीहरूबीचको बढ्दो सामीप्यबारे देवीलाई सानीआमाको घर लगेर सोधियो। समय र परिस्थिति बुझेर उनले यो कुरा टारिन्।
एकदिन भोजु पोखरा कलेजबाट दार्जिलिङ भ्रमणमा गएका थिए। देवीको जन्मदिनमा आउन नपाउने भन्दै एक साताअघि उनकै हातमा उपहार थमाइदिएका थिए। तर मन मान्दै मानेन। भोजुले भ्रमणको दिन छोट्याउन सबै साथीलाई उक्साउन थाले। उनी यसमा सफलमात्र भएनन्, जन्मदिनमा साँझ ७ बजे देवीको घर टेक्नसमेत भ्याए। साथीभाई जम्मा गरेर जन्मदिन मनाउन सौखिन देवीलाई भोजुको उपस्थिति ठूलै उपहार भयो।
´मलाई त ठूलै सर्प्राइज भयो नि तर साथीहरूले कुरा काट्ने मौका पाए,´ देवीले भनिन्।
भोजु पोखराको कलेज नपुगी हप्तादिनमै घर फर्केको देखेर उनका बा पनि तीनछक परे। ´जाँचको फारम भर्न तपाईको नागरिकता लानुपर्ने भो भनेर आ´को,´ आपतमा फस्न लाएका बेला भोजुले यसै भनेर बालाई झुक्काएछन्।
भोजु गाउँ आउँदा उनीहरूबीच बेलाबेला भेटघाट हुन्थ्यो। क्लबमा सबैलाई शंका भए पनि सोध्ने आँट कसैले गरेनन्। भोजुले देवीका सबै चिठ्ठी बाकसमा चाबी ठोकेर राखेका थिए। भएका दुई दिदीको बिहे भइसकेको थियो। घरमा आमा र बामात्र। त्यो ताल्चा फोडेर कसैले रहस्य चियाउलान् भन्ने उनले सोचेकै थिएनन्।
उनको ठम्याइ गलत सावित भयो। २०६५ को कात्तिक अन्तिम साता उनी काठमाडौंमै थिए। त्यतिखेरै उनले सुरक्षित ठानेका पत्र एकाएक घरबाट गाएब भएछन्। भोजुको मनमा जे शंका थिएन त्यही भयो। उनकी दिदीले सबै पत्र देवीको परिवारका हातमा पुर्याइदिइन्।
´दुवै परिवारबीच हामीलाई छुटाउने सहमति भएछ क्यारे,´ भोजुले भने– ´मलाई तुरून्त घर बोलाइयो।´
घर पुगेपछि आफ्नोमात्र होइन, देवीका परिवारबाट पनि भोजुमाथि दबाब आउन सुरु भयो। देवीका परिवारका मान्छे आउँदै रूँदै सम्झाउन थाले। ´मलाई कहिले ´इमोसनल ब्ल्याकमेल´ गर्थे, कहिले धम्क्याउने शैलीमा कुरा गर्थे,´ भोजुले भने।
यता भोजुलाई देवीसँगको नाता टुटाउन बाध्य बनाइन्थ्यो, उता देवीलाई ´त्यसले लान्छ भने जा´ भनिन्थ्यो। ´मलाई त ´भोजुले लैजान्छु भन्ने बना, जा´ भनेर घरकाले भन्थे,´ देवीले मलिन हुँदै भनिन्– ´के थाहा उता उनको मुख बन्द गर्द्या´रैछन्।´
भोजुले परिस्थितिको गम्भीरता बुझेर तत्काललाई छुट्टिन र समय मिलाएर प्रेमकै पक्षमा निर्णय लिन उचित लाग्यो। दुवै परिवारले गराएको भेटमा भोजुले देवीलाई ´तत्काललाई बिहे सम्भव नभएको´ बताउन बाध्य भए। ´तर मैले ´पछि आउँछु´ भन्ने मौका पाइन,´ भोजुले निन्याउरो हुँदै भने, ´त्यसले मलाई धेरै पछिसम्म पोलिरह्यो।´
भोजुबाट छुट्टिने कुरा सुनेपछि देवी आफैलाई बिर्सेसरह भइन्। भोजु पनि घाइते मन लिएर काठमाडौं फिरे। लामो प्रेमपछि कालरात्रि सुरु भयो।
घरमा उनको मोबाइल खोसियो। ल्यान्डलाइन लक गरियो। चार भित्ता उनका निम्ति चार पहरा भए। गाउँमा उनी र उनको प्रेमसम्बन्ध एक कान, दुई कान, मैदान भयो। विद्यालय पढाउन, पढ्न जाने अवस्था रहेन। ´पर दुईजना उभिएर कुरा गरेको देखे पनि मेरै कुरा काटेछन् जस्तो लाग्थ्यो,´ देवीले भनिन्, ´कसैले हेर्यो भने पनि पुरानै कुरा सोचेर हेर्या होला भन्ने हुन्थ्यो।´
देवी अचम्मैकी थिइन्। आमा हरेक बिहान देवता पुज्थिन्। आमा फर्केपछि भोजुको नाम लिंदै उनी देवतालाई फूल चढाउन पुग्थिन्। देखिने परिवारले रुवाए, नदेखिने भगवानसामु गिड्गिडाउनु सामान्य थियो।
´रुन त कति रोएँ कति, भनीसाध्यै छैन,´ उनी भन्दै थिइन्, ´आँखा झमिक्कै नगरी छ्यांगै रात कट्थ्यो।´
सुकेर हाड छालामात्र बाँकी थिए। पिरैपिरले थिलथिलिएकी थिइन्। उनको मनले घर अडिन फिटिक्कै मानेन। मर्ने सोच पनि नआएको हैन। १५ दिनपछि मौका छोपेर घरबाट निस्कने आँट गरिन्। कहाँ जाने थाहा थिएन। बाटैमा एकजना दिदी पर्नेले भेटेर ´भोजुलाई एकपटक जसै फोन गर्न´ भनिन्।
भोजुको हालत पनि दिनानुदिन खराब हुँदै थियो। ´प्रेम के हो भन्ने मैले पहिलोपटक अनुभव गरें,´ भोजुले ती दिन सम्भि्कए, ´यति पिडा हुँदोरैछ कि खै...´ यति भनेपछि उनको बोली फुटेन। लामो सास फेरेर वाक्य अघि बढाए, ´जुन दिदीले उनलाई खबर पुर्याइन्, म हरेक दिन त्यही दिदीसँग आफ्नो पिडा सुनाउँथें।´
देवीले फोनमा आफ्नो हाल कहिन्। यही फोन अन्तिम भएको बताउँदा भोजुलाई अब केही निर्णय लिनुपर्छ भन्ने लागेछ क्यार, १५ दिनको समय मागे। दुवैबीच एक सातामा दुवैले सँगै निर्णय लिने कुरा भो। बिछोडको बेचैनीले गलेको मन के अडिन सक्थ्यो र। भोलिपल्ट बिहानै ४ बजे भोजुको मोबाइलमा देवी काठमाडौं हिंडिन् भन्ने खबर आएछ।
यो खबर कलंकी बस्ने देवीकी दिदी–भिनाजुसम्म पनि पुग्यो। उनीहरू भोजुको डेरा खोज्दै आइपुगे। भोजुले आफूलाई थाहा नभएको बताए। बिहान ११ बजे कलंकी आइपुगेकी देवीलाई दिदी–भिनाजु यतै भएकाले कलंकीमै लुक्न खबर गरियो। उनी तीन घण्टा कलंकीको चिया पसलमा बसिन्। देवीका दिदी–भिनाजुले भोजुको कोठा छाडेपछि देवी भोजुको डेरामा आइपुगिन्। एक सातामा बिहे गर्ने कुरो भयो।
कसरी सुर आयो त? ´अब मागेर दिन्नथे, एउटा उपाए त गर्नैपरो केरे, कि हैन?´ देवीले उल्टै प्रश्न गरिन्।
आफन्त खोज्न आउने डरले देवीलाई भोजुले केटी साथीको डेरामा लगेर राखेका थिए। उता देवीको परिवार उनको खोजीमा तल्लीन थियो। हरेक दिन काठमाडौंमा भोजुमाथि निगरानी हुन्थ्यो। भोजुले ६ दिन देवीलाई न भेट्न पाए, न देख्न।
पाँचौं दिन भोजुले रिपोर्टर्स क्लब काठमाडौंको सभाहलमा बिहे गर्ने निर्णय गरे। तर मान्छेको चाप हुने भएकाले बिहे एमाले पार्टी कार्यालयमा सारियो।
´हामी दुवै एमालेमा राजनीतिक आस्था राख्थ्यौं,´ भोजुले भने– ´हाम्रो प्रस्ताव पार्टीले मान्यो र हामीले निर्णय गर्यौं।´
बिहेको खबर एकाएक देवीका परिवारसम्म पुग्यो। ´मलाई मान्छेहरू लगाएर कोठैमा धम्क्याइयो,´ भोजुले गम्भीर हुँदै भने, ´जति दबाब दिन्थे उति आत्मविश्वास जागेर आउँथ्यो।´
बिहे पुस १६ गते दिउँसो १ बजे बल्खुमा हुँदै थियो। ´जुन महिना प्रेम प्रस्ताव राखें, त्यही महिना बिहे भयो,´ देवीले हाँस्दै भनिन्।
बिहे त्यति सहज भने थिएन। ´एकातिरबाट बधाई आउँथ्यो, अर्कातिरबाट धम्की,´ भोजुले मन फुकाए, ´ती दिन हाम्रा निम्ति धेरै चुनौतीपूर्ण रहे।´
´म´ बाट सुरु भएको यात्रा ´हामी´मा पुगेर समाहित हुँदै थियो। ´साथमा न मेरो परिवारका कोही थिए, न उनका,´ देवीले भोजुलाई चियाँउँदै भनिन्– ´तर हामी एकसाथ थियौं।´
भोजुले काम गर्ने संस्था एन्टेना फाउन्डेसन नेपालले उनको सहयोगमा रकम संकलनमात्र गरेन, बिहेको दिन कार्यालय बिदा पनि गर्यो। ´त्यो दिन दुईवटा अचम्म कुरा भयो,´ भोजुले हाँस्दै भने– ´सबैलाई एक बजे बोलाएका हामी आफै आधा घण्टा ढिला पुग्यौं।´
यस्तो पनि गर्न हुन्छ त? ´बिहेको दिन बिहान खाना खाइवरी तयार हुँदा त्यसै पनि ढिला हुँदोरहेछ,´ देवी मुस्कुराइन्।
´अनि दोस्रो अचम्मको कुरा?´
´मेरो बुवा र काका बल्खुमै आउनुभयो,´ भोजुले भने– ´बिहे रोक्न हैन, आशीर्वाद दिन।´ पहिला सम्बन्ध रोक्न खोज्ने बुवा बिहेमै सरिक हुन आउँदा भोजु र देवी दुवैका आँखा भिजे।
बिहे सुरु भो। सञ्चालकले कार्यक्रम थाले। दुवैले एकअर्कालाई माला र टिका लगाइदिए। जन्ती भनेका साथी थिए। पाँच सय हाराहारीको उपस्थितिमा सनई र ट्याम्कुलो बजेन। सयौं ताली बजे।
´पाहुनाका निम्ति भोजचाहिँ?´
´भोज त मै भएँ नि,´ भोजुले आफ्नो पूरा नाम इंगित गर्दै ठट्टा गरे। कार्यक्रमको सुरुवातमा बालेका मैनबत्ती एकठाउँ जोडियो। ती दिपमात्र एक भएनन्, दुवैको जीवन एक भएको घोषणा भयो। ´यसरी हामीले बिहे गर्यौं,´ देवी र भोजु दुवै एकअर्कालाई हेरेर हाँस्न थाले। लाग्थ्यो, उनीहरूको हाँसोले वर्षौदेखि पिल्सिएको पिडा पखालिरहेको छ। |
|
|
|
|
|
Comments
Post a Comment