मासुमकी क्रुर आमा रमाइन् केटाकेटीसँग


भवसागर घिमिरे

काठमाडौं, पुस २२–
भारतीय अभिनेत्री शबाना आजमीको नाउँ लिनेबित्तिकै धेरैलाई क्रुर आमाको सम्झना आउँछ। त्यस्ती आमा, जसले एक अबोध बालकलाई रुवाएको सम्झेर आज पनि धेरैका आँखाबाट आँशु झर्छ। सौताको छोरालाई असीमित घृणा गर्दै कलिलै उमेरमा घर छाडेर ´होस्टल´ बस्न बाध्य तुल्याउने त्यस्ती आमा हुन् शबाना।


हो म कुरा गर्दैछु चचित निर्देशक शेखर कपुरको सम्वेदनशील सिनेमा ´मासुम´ को, जसमा आजमीको जीवन्त अभिनयले क्रुर सौतेनी आमाको भूमिकालाई अमर बनाएको छ। आजको युवा पुस्ता उनलाई ´फायर´, ´गडमदर´ वा विभिन्न वृत्तचित्रसँग जोडेर हेर्लान्, तर अलि पाकाहरूलाई सोध्ने हो भने शबाना भन्नेबित्तिकै दिमागमा ´मासुम´ फिल्मकै झल्को आउँछ।



मासुममात्र किन, विशाल भारद्वाजको ´मकडी´मा बोक्सीको भूमिका गरेर उनले क्रुरताको अर्को हद नाघेकी छन्। जीर्ण घरमा बसेर केटाकेटी तर्साउने ती बोक्सीलाई सम्झेर उनका सिनेमा हेर्न डराउनेहरू धेरै छन्।
शबानाका यी दुवै सिनेमामा एउटा कुरा समान छ, केटाकेटीलाई दुःख दिने उनको नकारात्मक चरित्र। ´रिल लाइफ´ की त्यस्ती क्रुर आमा र त्यस्ती डरलाग्दी बोक्सीले ´रियल लाइफ´ मा भने राजधानीको एक बाल पुनर्स्थापन केन्द्रमा एचआईभी संक्रमित बालबालिकासँग खुशीका केही पल बिताउन समय निकालिन् मंगलबार।
स्थान हो नारायणथानको ´नवकिरण प्लस´ संस्था। समय अपरान्ह २ बजे।
संस्था परिसरमा सुरक्षा निकै कडा पारिएको थियो। ´कोही विशेष पाहुना आउँदैछन्´ भन्ने चाल पाएका केटाकेटीहरू उत्सुकतासाथ घरिघरि भित्र–बाहिर गरिरहेका थिए। एकचोटि त ´साइरन´ बजाउँदै प्रहरीको गाडी आउँदा पनि तिनै पाहुना आइपुगे भन्ठानेर उनीहरू हातभरि पुष्पगुच्छा बोकेर गुर्रर्र प्रवेश द्वारबाहिर कुदे।
करिब आधा घन्टापछि प्रतीक्षा सकियो। संस्थाका शिक्षकहरूले बिहानदेखि भनेको पाहुना शबाना आजमी हँसिलो मुद्रामा गाडीबाट ओर्लिइन्।
´गुड आफ्टरनुन एभि्रबडी,´ प्रवेशद्वारअघि लामबद्ध एक–एक केटाकेटीको हातबाट पुष्पगुच्छा टिप्दै, सबैको गाला मुसार्दै उनले भनिन्– ´स्विट, लभ्ली चिल्ड्रेन।´
दक्षिण एसियाका लागि एचआईभी एड्ससम्बन्धी सद्भावना राजदूत आजमीले संक्रमित बालबालिकालाई नियमित उपचार गराउने यो संस्थामा बिताएका केही पल उनी र ती बालबालिकाका लागि अविश्मरणीय रहनेछन्। उनले संस्थाका एकएक कुनामात्र घुमिनन्, त्यहाँका बालबालिकासँग मनग्य कुरा गर्नसमेत भ्याइन्।
अछाम, डोटी, बाजुरा, दाङ, धनगढी, सुर्खेतजस्ता विपन्न जिल्लाबाट आएका चार वर्षमाथिका ३९ केटाकेटीले घरिघरि शबानालाई गम्भीर तुल्याउनेगरी आफ्नो कथा सुनाए। केटाकेटीसँग बढी नजिक हुन उनी आफूलाई बस्न तेर्स्याइएको कुर्सीसमेत इन्कार गर्दै बच्चाहरूकै बीचमा गएर अंगालो मार्दै बसिन्।
´हजुर यहाँ बस्नोस्,´ संस्थाका सञ्चालकले बस्न दिएको कुर्सी पन्छाउँदै उनले भनेकी थिइन्, ´होइन म यिनै केटाकेटीहरूसँग बस्छु।´
´माई नाम इज शबाना आजमी,´ केटाकेटीको भींडबाट उनले ठूलो स्वरमा भनिन्, ´अब सबैले आफ्नो नाम भन्ने?´
तर कोठाभित्र कसैको स्वर सुनिएन। उनले एकजनालाई इंगित गर्दै भनिन्, ´टेल मि योर नेम प्लिज (कृपया आफ्नो नाम भन त)।´
उनले आफ्नो नाम सुनाए। त्यसपछि त के चाहियो? सबैले पालैपालो उठेर आफ्नो नाम भन्न थाले। कोठाभित्र एकप्रकारको हल्लै भयो। तर नाम भन्ने क्रममा पनि सुरुमा केटाहरूमात्र थिए। त्यसपछि शबानाले आफैं उठेर भन्नुपर्‍यो, ´गर्ल्स आर नट सेइङ (केटीहरू केही बोलिरहेका छैनन्)।´
यति सुनेपछि केटीहरू पनि आफ्नो नाम भन्न हौसिए। नाम सोध्ने र भन्ने पालो सकिएपछि कोठाभित्र एउटा कुकुर छिर्‍यो। ´यो कुकुरको नाम के हो नि?,´ शबानाले यसो भन्दा सबै केटाकेटी एकै स्वरमा ´पुसी´ भन्दै गलल्ल हाँसे।
शबानाले ´मुसी´ भनेको सुनेछन् क्यारे, उनले सोधिन्, ´किन यो मुसा हो र?´
परिचय आदानप्रदान र सामूहिक तस्बिर लिने कार्यक्रमपछि पालो आयो नाच्ने। एउटी नामुद अभिनेत्रीका अगाडि नृत्यको कुरा। उनी पनि हौसिए। भलै शबानाले बढी कलात्मक सिनेमा गरिन् र गम्भीर प्रकृतिका भूमिकामा उनी बढी देखिइन्, तर ´अमर अकबर एन्थोनी´ जस्ता व्यावसायिक फिल्ममा हल्काफुल्का भूमिका पनि उनले गर्न भ्याएकी छन्, जसमा रूखको हाँगो समात्दै नायकसँग नाच्ने गाउने कामसमेत उनको भागमा परेको छ। त्यसैले, संगीत सुरु भएपछि उनी पनि केटाकेटीको हात समाएर नाच्न पछि परिनन्।
सानो सानो सुन्तलाको बिरुवा,
फलेर लपक्कै डाली झपक्कै,
बिहान–बिहान पानी लिन जाँदा,
मखमली फूलले बाटो छेकेको
सम्झीसम्झी नरोए आमा,
यो बाला वैंशमा मर्न लेखेको।

गीतको तालमा केटाकेटी दुई पाइला अघि सरेर सलाम गर्दा उनी पनि सलाम फर्काउँथिन्।
शबाना नृत्यभन्दा जीवन्त अभिनयका लागि चिनिन्छन्। त्यसैले नाटकको कार्यक्रम छुट्ने कुरै भएन। एकजनाले भिखारी बुढाको अभिनय देखाए, जसलाई शबानाले निकै प्रशंसा गरिन्।
´कस्तो दिसा आइरहेको छ,´ ती माग्ने बुढाले यसो भन्दा शबाना कम्ता हाँसेकी थिइनन्। अभिनयकै क्रममा ती बुढा कोठाबाहिर निस्केपछि उनले जिस्कँदै अन्य पात्रलाई भनिन्, ´ढोका बन्द गरिदेउ, आउन नपाओस्।´
केटाकेटीको नृत्य र अभिनयबाट प्रभावित शबानाले कोठाभित्रको टेलिभिजनतिर ईशारा गर्दै सोधिन्, ´यिनलाई मेरो फिल्म पनि देखाउनुहुन्छ होइन?´ उनको यस्तो प्रश्न आएपछि बुधबार केटाकेटीलाई ´मकडी´ देखाउने कुरा उठ्यो। त्यही मकडी, जसमा उनले बोक्सीको भूमिका खेलेकी छन्, जुन सम्झँदा केटाकेटीहरू शबानादेखि तर्सने गर्छन्।
शायद त्यसैले होला आधा घन्टा बिताएर गाडीमा चढ्दा उनले भनिन्, ´यिनलाई मकडी देखाएपछि जो आन्टी आएकी थिइन्, ती चुडैल (बोक्सी) होइन भन्नु है।´




(2009, Dainikee)
शबाना आजमी र स्वास्थ्य मन्त्रीबीच छलफल


यसमा तपाईंको प्रतिक्रिया#
राम्रो प्रस्तुति। अझै राम्रो गर्नुस् शुभकामना।
राम्रो आरम्भ र प्रस्तुति शैली। तपाईँको आगामी लेखनलाई शुभकामना ।

Rajendra Aryal rajendraaryal@yahoo.com
बच्चाहरुको अनुहार लुकादिएकोमा धन्यवाद। एउटा असल पत्रकारिताको उदाहरण।
राजिव rajiv@ownmail.com
सुन्दर रिपोर्टिङ ।

Comments