देवकोटाका कृतिमाथि चौतारीमा चर्चा



भवसागर घिमिरे, काठमाडौं, पुस ६

के देवकोटाका कविता प्रदर्शनकारी चेतनाबाट प्रभावित भएका छन्? उनले नेपाली साहित्यमा कस्तो संस्कृति अघि सारे? उनी र उनका कृतिलाई वर्तमान परिप्रेक्ष्यमा नयाँ पुस्ताले कसरी हेर्ने?
´हरेक विषयलाई फरक प्रस्तुति र शैलीमा कवितामा उतार्ने क्षमता देवकोटामा थियो,´ मार्टिन चौतरीद्वारा आइतबार साँझ आयोजित ´पुस्तकमा युवा सरोकार´ विषयक छलफलमा यसको उत्तर खोज्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अंग्रेजी विभागका शिव रिजालले भने।
´पाठकलाई पट्यार हुन नदिन उनले प्रायः कविताका हरफैपिच्छे अनेक मोडहरू दिएका छन्। क्यामराले भ्याउन नसक्ने दृश्य बोकेर उनका कविता प्रस्तुत हुन्छन्।´

रिजालका अनुसार प्रचुर मात्रामा प्रदर्शनकारी चेतना बोकेका उनका कविता शरिरको संवेगमा कम्पन उत्पन्न गराउने खालका छन्। ´पागल´, ´एक सुन्दरी वेश्या´, ´चमार´, ´यात्री´, ´गधा बोल्छ´ आदि कवितामा उनले प्रदर्शनकारी विचारलाई स्थान दिएका छन्।
विभागका पुष्पराज आचार्यले ´देवकोटा भन्नेबित्तिकै पहिला अगाडि आउने´ बताए। ´पछिल्लो समय देवकोटा मानवतावाद, प्रगति तथा उदारवाद र अन्त्यमा आध्यात्मवादबाट प्रेरित भएर रचनामा तल्लीन भएको पाइन्छ,´ उनले भने।
कृतिहरूमा विभिन्न जातजाति तथा धर्म समेट्दै उनले सीमान्त समूहका मान्छेका पक्षमा पनि कलम सार्न भ्याएका छन्। देवकोटालाई वर्तमान परिप्रेक्ष्यमा नियाल्दा तत्कालीन समयको आँखाबाट पनि चियाउनुपर्नेमा जोड दिँदै आचार्यले देवकोटा सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षलाई फरक ढङ्गबाट व्यक्त गर्न माहिर रहेको बताए।
आचार्यका अनुसार जीवनको पछिल्लो समय देवकोटाले एकतन्त्रीय शासनको विरोधमा पनि कलम चलाएका थिए। उनका रचनामा भारतीय स्वतन्त्रताको आन्दोलनका पक्ष पनि झल्किन्थ्यो। नेपाललाई बाहिरी विश्वसँग परिचित गराउन उनले अंग्रेजीमा पनि लेख्न सुरु गरेका थिए।
लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीका सन्दर्भमा आयोजित उक्त छलफलमा अभि सुवेदीले केही साहित्यकारले देवकोटालाई नेपालका शेक्सपियरको संज्ञा दिएको बताए। उनका अनुसार ´देवकोटालाई बुझ्न मुनामदनमात्र पढेर हुँदैन, उनका सबै कृतिमा आँखा डुलाउनुपर्छ।
भाषा मिलोस् नमिलोस् देवकोटा नेपाली, हिन्दी, अंग्रेजी, संस्कृत सबै मिसाएर आँधीजस्तै तीव्र गतिमा कविता लेख्थे। उनको त्यो गतिलाई भाषाको परिधिले थेग्न सक्दैन्थ्यो।´
देवकोटाले अढाइ महिनामा शाकुन्तल महाकाव्य, चार दिनमा मुनामदन, रातभरमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए।
- 2009-01-14 18:16:31

Comments