Skip to main content

´पिलेन टिकटको पैसा दिम, भात खान हुन्छ´

2009-01-01 23:26:35


भवसागर घिमिरे, काठमाडौं, पुस १७
´लौनुस यो तपाईलाई,´ राउटेका सहायक मुखिया ऐनबहादुरले काठको भाँडा प्रधानमन्त्रीको टाउकोमा राख्दै भने, ´प्रधानमन्त्रीलाई भनेर ल्याएका हुँम।´
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हातले शीरको भाँडा अड्याउँदै भने, ´यो टोपी हो? ल ल धन्यवाद।´ समूहमा हाँसोको फोहरा छुट्यो।
अछामको बगरबाट दुई दिनअघि राजधानी पसेका ६ जना राउटेको समूह गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई बिहीबार साँझ भेट्न पाउँदा निक्कै खुसी देखिन्थे।
दाहालले कुरा भन्न आग्रह गर्दा ऐनले भने, ´भनुँ भने नअइयाँ नेपालको राष्ट्रपतिसँग डर पनि लाग्यो, नभनुँ भने घाँटीमा आइसक्यो कसो?´
उनको कुरा भुँइमा झर्न नपाउँदै प्रधानमन्त्रीले हाँसोको फोहरा छुटाउँदै भने, ´भन्नुस् न किन डर मान्नुहुन्छ?´
´मेरो नाम ऐनबहादुर शाही हो, उसको सुर्जेनारायण शाही, ऊ प्रकाश, दिलबहादुर, कृष्णबहादुर, अनि वीरबहादुर शाही, आफू र आफ्ना साथीहरूको परिचय दिँदै सहायक मुखियाले थपे, ´आज प्रधानमनत्रीज्यूसँग कुरा गरिर भोलि वई सवार हुने कुरो छ। वई भन्नाले जंगल।´
´तपाईहरू अब एक्कै ठाउँमा बस्नुपर्‍यो। छोराछोरी पढाउनुपर्‍यो। सरकारले जागिर दिन्छ, गर्नुपर्‍यो,´ प्रधानमन्त्रीले उनीहरूको मनोभाव बुझ्न प्रश्न राख्दा ऐनले निधार खुम्चाउँदै भने, ´नोकरी टोकरी हामी नगर्ने। हामीले पढ्न नि पढ्दैन।´
बुधबार राति सुन्धाराको धरहरा, बिहान आफूले ल्याएको भाँडाकुँडा मिलाउने, दिउँसो स्थानीय विकास मन्त्री रामचन्द्र झा र पर्यटन बोर्डमा आयोजित अन्तर्क्रिया कार्यक्रम र साँझ प्रधानमन्त्री कार्यालय आइपुगेका राउटेहरूलाई व्यस्तताले निक्कै थकाएको थियो।
´काडमाडौं बस्ने?,´ प्रधानमन्त्रीको प्रश्नमा उनीहरूको उत्तर थियो, ´मन्त्रीज्यूको बसाई त राम्रो लाग्यो, तर हामीलाई दिनभुरको बसाईले शीर दुख्याई छ, सधैं बस्यो भने के होला?´
आफूहरू जंगलमै रमाउन चाहेको र सरकारले यसका लागि उचित वातावरण मिलाओस् भन्ने चाहना उनीहरूले प्रधानमन्त्रीसामू व्यक्त गरे।
´सामुदायिक वनका उपभोक्ताले बन मासियो भन्दै राउटेहरूलाई वनमा रोकतोक लगाउन थालेको´ उनीहरूको दुःखेसो थियो।
गाउँमा प्लाष्टिकका भाँडा भित्रिएकाले उनीहरूले बनाउने काठका भाँडा बिक्न छाडेका छन्। आफ्नो दुखेसो सुनाउँदै ऐनले भने, ´हाम्रा जनता (राउटे जातिका मुखिया, सह–मुखियाले आफ्ना खलकलाई जनता भन्छन्) भोक्कै हुन्छन्। सरकारले खसीवसी, चामल पठाउनुपरो।´ अझ अगाडि थप्दै उनले भने, ´जंगलको कागजपत्र लेखितियो भने हामीलाई राम्रो हुन्थ्यो।´
प्रधानमन्त्रीले लडाईँका बेला जाजरकोटमा उनीहरूलाई भेटेको र कुराकानी गरेको संस्मरणसम्म सुनाउन भ्याए।
´के भो?,´ आफ्नो भनाइका बीच गुनगुन गरिरहेका ऐनले दाहालको प्रश्नमा भने, ´सूर्ती खोजेको काँ भेटिइन।´
प्रधानमन्त्रीले पनि उनीहरूको बारेमा मन्त्रिपरिषदमा कुराकानी हुने बताए। ´तपाईहरूले जे/जे चाहनुहुन्छ, जबर्जस्ती नगरी हामी पूरा गर्दिनेछौं,´ उनले ढाडस दिंदै भने।
जाँदाजाँदै उनीहरूलाई घर फर्कने व्यस्ताबारे बताउँदै दाहालले भने, ´तपाईहरू उडेर जानुहुन्छ? म प्लेन टिकटको व्यवस्था गर्दिनेछु।´
खुशी मुद्रामा ऐनले प्रधानमन्त्रीका हात सुम्सुम्याउँदै भने, ´बरू पिलेन टिकटको पैसा दिनुस् हामीहरूलाई भात खान हुन्छ।´
´भात धेरै चपाईको मिठो हुन्नँ। कुरा धेरै गरेको मिठो हुन्नँ,´ उनले कुरा छोंट्याए।


Dainikee - Breaking News, politics, sports and blogs from Nepal राउटे,
-->
Dainikee - Breaking News, politics, sports and blogs from Nepal राउटे,
# सम्बन्धित सामग्री
प्लेन टिकटको पैसाले खसी
राउटे फर्कदै आफ्नै गाउँ
राउटे हिँडे राष्ट्रपति भेट्न


यसमा तपाईंको प्रतिक्रिया#
प्रधानमन्त्रीले राउटेहरुको मनोभावना बुझे जस्तो लागेन। उनीहरुको माग वा इच्छाबमोजिमका काम कुरा गरिसके पछि जाने बन्दोबस्तको लागि प्लेनको कुरा गरेको भए छुट्ठै हुनेथियो । नत्र जसलाई आफ्नो दैनिकी, जीवन पप्द्धति, आफ्नो परम्परा र संस्कृतिको चिन्ता छ उसलाई प्लेनको टिकेट मिलाइदिन्छु भन्नुले उनीहरुलाई सहयोग गर्नुभन्दा पनि दया देखाएजस्तो लाग्यो।
Thaneshwar kandelts@hotmail.com
गणतन्त्र नेपालको पहिला प्रधानमन्त्रीलाई भेटेर राउटे निकै खुशी भएछन् भन्ने चाहि लेख्नका लागि लेखेको जस्तो लाग्यो । राउटेलाई के सरोकार होला पहिला हुन् कि द्रोस्रा? गणतन्त्रका हुन् कि राजतन्त्रका । विचारा पिलेन चढ्ने पैसाले भात खाने सपना देख्दैछन् । जुनसुकै सन्दर्भमा पनि गणतन्त्र नेपालको पहिलो कम्ती दैनिकीले नजोडोस् ।
राज केसी raj_kc@yahoo.com

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...