सल्काइदेऊ सर्टिफिकेट

राखेर पो के हुन्छ?

यिनीहरू अझै थेच्चिएर बसे मार्कसिटमा उक्लेका नम्बरले जुलुस गर्नेछन्। पूर्णाङ्क चुम्न तल्लिन यी अक्षर संग्रहले विद्रोहको शंख फुक्नेछन्, टु...। शंख बज्न थालेपछि बेरोजगार हामी रोजगारको मलामी हिँड्नुपर्छ।

कुरो कारखानाको हो। ´बेरोजगार उत्पादन कारखाना´ अर्थात सरकारी विश्वविद्यालय। जहाँबाट बाँडिने ´खोस्टो´ ले हामीलाई ´रोजगार बजार´ मा हैन ´बेरोजगार बगर´ मा लगेर मिल्काइदिएको छ, खोटो सिक्काझैँ। ´खोटो´ बाट ´खाट्टी´ बन्न हामी घनघस्याको´ उकालो चढ्नुपर्छ।

यस्तै छ, सरकारी विश्वविद्यालय पढ्नेको हविगत। हुन त गन्नेझारझैँ उम्रेका प्राइभेट कलेजका पनि आफ्नै पीडा होलान्। तर, सरकारी विश्वविद्यालयका उत्पादनको खस्कँदो गुणस्तर चिन्ताको विषय बनेको छ।

पढाइभन्दा राजनीतिक लडाइँले धमिल्याउने विश्वविद्यालयको वातावरणबीच धेरै विद्यार्थी ढुल्मुलिएका छन्। भर्खरै केही स्थानमा प्रदर्शन सकिएको र बाँकी स्थानमा ´हाउसफुल´ का साथ सुरु हुन लागिरहेको ´स्ववियु चुनाव´ नाटकको ´रिहर्सल´ मै धेरैका ढाड लच्किसकेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसको झडप होस् या कैलाली बहुमुखी क्याम्पसमा भएको हानाहान। विद्यार्थीबीचको तनावले प्रशासन हैरान भएको थियो। महेन्द्रनगरको जनज्योति र नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस त स्ववियु निर्वाचनका किचलोमा जले पनि। कैलालीकै रघुनाथ बहुमुखी क्याम्पसका प्रमुख स्ववियु निर्वाचनकै सिलसिला चलिरहँदा अपहरणमा परे। त्यही स्ववियु, जो कहिल्यै राजनीतिबाट ´स्वतन्त्र´ हुन सकेन, ´विद्यार्थी´ का पक्षमा वकालत गर्न नचुके पनि ´युनिटी´ अर्थात् एकता भने कायम गर्न असफल भएको थियो।

स्ववियु, ´स्वतन्त्र विद्यार्थी युनियन´ हो कि ´स्वर्गीय विद्यार्थी युनियन´? जहाँ विद्यार्थी जीवनबाट स्वर्गबास भएर प्रायः नेतागिरी, दादागिरी वा चम्चागिरी जीवनमा प्रवेश गरेकाले प्रवेशाज्ञा पाउने गरेका छन्। राजनीतिक खिचातानीको तापले पोल्दापोल्दै उछिट्टिएर चुनावी टिकट कुम्ल्याएका उनीहरू नै शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त बनाउने प्रमुख अजेन्डा बोक्छन्। सफा शौचालय, स्वच्छ खानेपानी, व्यवस्थित पुस्तकालय, नियमित पढाइका पक्षमा आश्वासन दिन हरेक पटक पछि पर्दैनन्।

विगतमा छरेका धेरै आश्वासन असफल भए पनि निर्वाचनको नाटक सफल पार्न यसपालि पनि बडाबडा साहु, नेताका पाउसँगै अनेक दाउबाट खर्च जोरजाम गरे यिनले। थालका थाल भात लपेटे, चिया सुर्क्याए, कार्यकर्ता पोसे र भोट खोसे। नाटक ´प्रदर्शनी´ का दिन चलेको रडाकोका कारण कसैका टाउका चोइटिए, कसैका खाला उत्रिए त कसैका दाँत उछिट्टिए। उज्यालैमा मच्चाइएका ताण्डव नृत्यका कारण हरेक समाचारमा यिनले माउपार्टीलाई पनि पाखा लगाइदिए।
प्रश्नैप्रश्न बोकेर नजिकिने परीक्षाले हाम्रो दिमागको ´क्वायल´ तताउँछ। अनि ´चिचिला´ हामी कोर्स सकिएको भानमा क्याम्पस जान छाड्छौँ। अध्ययन कोठाको ढोका ढेप्छौँ, छिनछिनमा आँखामा पानी छ्याप्छौँ अनि पुराण रट्छौँ। पढ्ने पनि एउटै ´फर्मुला´– ´एनी हाउ, नम्बर ल्याउ ।´

यस्तो परिपाटीले माउपार्टीलाई मात्र हैन विश्वविद्यालयको शैक्षिक स्तरलाई पनि पाखा लगाइदिएको छ। शैक्षिक स्तरसँगै विद्यार्थीका भविष्यलाई पनि। हुन त यस्तै शैक्षिक माहोलबीच पनि केही विद्यार्थीले आफूलाई दख्खल साबित नगरेका हैनन्। तर, यी नगण्यबीच बाँकी धेरैजना यहाँको बिग्रँदो स्थितिबाट अछुतो बन्न सकिरहेका छैनन्।

विद्यार्थीका मात्र के कुरा, मास्टर पनि कम छैनन् विश्वविद्यालयमा। निधारमा छाप लगाएका मास्टरहरू। हँसिया हथौडा चिह्न ठोकेका, सूर्यअंकिते झण्डा बोकेका वा चारतारा दर्ज्यानी चिह्न पाएका मास्टरहरू। राजनीतिको टेकोमा टेकिएर उचालिएका यिनै खाली टाउकाहरू विश्वविद्यालयका विभाग तेर्सिंदा दुर्भाग्यवश हामीले आफ्ना टाउका निहुर्‍याउँदै भन्नुपर्छ,

´नमस्ते सर!´

यसैगरी हरपटक हाम्रा जुम्लीहातका श्रद्धा बालुवामा पानी भइरहेका छन्। तर, यिनले कहिल्यै त्यस्तो महसुस गरेनन्। अध्यापनमा निकै फितलो प्रदर्शन रहने यिनीहरू कक्षाकोठामा ठूलै गर्जनका साथ कुर्लन्छन्,

´यो माने यो, त्यो माने त्यो´, सक्कियो।

नबुझे कोचिङमा, अझै नबुझे ट्युसनमा। झनै नबुझे अर्को वर्ष यही कक्षामा भेट्ने बाचा गर्दै बिदा भैहाल्छन् यिनीहरू।

विश्वविद्यालयको यो खिचातानीमा पछाडि छाडिने भनेका त्यही मास्टर छन् जसले कहिल्यै झण्डा बोकेनन्। राजनीति, घोचपेचनीति र विश्वविद्यालयले दान दिने कमसल अर्थनीतिका कारण ती राम्रा पाठ सिकाउन कहलिएका पनि सधैँका निम्ति भित्तेपात्रो बनेका छन्।
पढाउन तम्सिएका तर राजनीतिले डुम्सिएका एकखाले मास्टर। राजनीतिले पुष्टिएका तर बौद्धिकताका आधारमा ख्याउटिएका अर्काखाले मास्टर। यस्ता दुई ढुंगाबीचका तरूल हामी कहिल्यै तंग्रिन सकेनौँ।

यसैगरी ठिम्रिएका हामी शैक्षिक जीवनलाई सफलतापूर्वक तह लाउने प्रयासमा बेलाबेलामा अड्किने गर्छौं, असान्दर्भिक पर्वको तगारोले। हडताल, बन्द, राजनीतिक कार्यक्रम, तालाबन्दी जस्ता असान्दर्भिक पर्वले हाम्रा धेरै शैक्षिक दिनहरूको पुत्ला जलाइदिन्छ।

एवंरीतले बित्ने ´क्याम्पसे दिन´ का बीच प्रश्नैप्रश्न बोकेर नजिकिने परीक्षाले हाम्रो दिमागको ´क्वायल´ तताउँछ। अनि ´चिचिला´ हामी कोर्स सकिएको भानमा क्याम्पस जान छाड्छौँ। अध्ययन कोठाको ढोका ढेप्छौँ, छिनछिनमा आँखामा पानी छ्याप्छौँ अनि पुराण रट्छौँ। कसैले त मर्करी लाइटलाई नै पढ्ने जिम्मा लगाएर रातभर टेबलअगाडि मौनधारण पनि गर्दिन्छन् यो पर्वमा। वा, लोडसेडिङका बेला मैनबत्तीलाई नै किताब कुर्न लगाएर कुर्चीआसनमै आफूमाथि निद्राको शासन स्वीकार्छन् केहीले। यस्ता बेला चिम्लेका आँखाले सायद सपनामा पनि पढेकै देख्दा हुन्। पढ्ने पनि एउटै ´फर्मुला´–

´एनी हाउ, नम्बर ल्याउ ।´

यसरी दिमागमा कोच्चिने र प्रतिस्पर्धाका बेला होच्चिने पढाइले हामीलाई अंकका आधारमा धेरै अगाडि धकेल्दिए पनि बौद्धिकताको मामलामा सयौँ मिल पछाडि धकेल्दिन्छ। जसको सुईंको हामी बजार झरेपछि मात्र पाउँछौँ, बेरोजगारको मेला भएको रोजगार बजार। त्यस्तो बजार जहाँ दस कक्षा नपढेकाले मन्त्रालयको जागिर पड्काउनेका माझ हजारौँ बेरोजगार ´डिग्रीहोल्डर´ हल्लने गर्छन्। हाम्रो सर्टिफिकेट? ´सेकेन्ड हेन्ड´ मा पनि लिलाम हुँदैन।

लिलामका लागि सलाम ठोक्दै जुत्ताका सोल उप्कँदासम्म, पसिनाका झोल तप्कादासम्म सयौँ अफिस धाएका हामी काकाकुल बनेका छौँ। यस्तो अवस्थामा ´पढाइ सकिसकेका´ छोरीछोराले कमाउलान् र खाउँला भनेर बसेका बाउआमाका सपनामा तुँवालो पोत्नबाहेक के नै गर्न सकिन्छ र? खुबै नयाँ सोच आयो भने घरखेत फालेर विदेशको बाटो नाप्न गैएला, त्यत्ति न हो। जहाँ हाम्रो सर्टिफिकेट ´चटपटे कागज´ को दाममा पनि बिक्दैन।

धेरै हामी यस्तै परिस्थितिले लपेटिएका छौँ। यही घेराबाट निस्कने असफल प्रयासमा छौँ। यहाँको शिक्षाले हामीलाई ´सभ्य´ बनाएको छ। काम पनि ठूलो र सानो भन्ने सिकाएको छ। नेपालीका महाकाव्य लडाउँदासम्म निवेदन लेख्न सिकाउँदैन। विज्ञानका ठेली पल्टाउँदासम्म बिजुलीका तार जोड्न सिकाउँदैन। अक्षरमा सीमित शिक्षाले हामीलाई पेट भर्न सिकाएको छैन। अनि एसएलसी, इन्टर, ब्याच्लर, डिग्री, टोफल, आइएल्ट्स, जिआरी, जिम्याट, कम्प्युटर/ल्याङ्वेज ट्रेनिङका अनेक सर्टिफिकेटका खात आगो ताप्नका लागि खोसमेरा हुने गर्छन्। जसलाई सल्काउनु र नसल्काउनुको कुनै अर्थ हुँदैन। (नागरिक अनलाइनमा लेखेको लेख-भवसागर घिमिरे) sagarbhaba@gmail.com

यसमा तपाईंको प्रतिक्रिया#
हो व्यावहारिक शिक्षाको अभावले हाम्रो उन्नति नभएको हो। घोकन्ति विद्याको कुनै अर्थ छैन। व्यवहारमा दक्ष बनाउन सके औपचारिक शिक्षाको आवश्यकता नै पर्दैन।
Biwash Nawaraj nbibash@gmail.com
यो शिक्षा प्रणाली मा कसरी चेन्ज गर्ने त ?
आकार aakar@aakarpost.com
हाम्रो शिक्षा प्रणालीको यथार्थकी राम्रो चित्रण। यसले परमपरागत शिक्षणको धारणामा परवर्तन हुने आशा गरौँ।
ramlaxman rlmachine@yahoo.com
लेखकले नेपालको शिक्षा प्रणालीको वास्तविक समस्या उठाएका छन्। हाम्रो शिक्षा पद्धति व्यावहारिक छैन। नयाँ नेपालमा शिक्षा प्रणाली पढेपछि सबैले स्वरोजगारमा लाग्नसक्ने व्यावहारिक हुनुपर्छ।
kiran from korea kiran_41531@yahoo.com

Comments

  1. Tejnath Lamichhane, USA : Bhabasagar ji you r right.Hamro sikchha parnali ramro ta chhaina nai tara bhayako ramro ma pani almost Nepali ko pahuch pugdaina. Kura academic quality ko matra hoina avilability ko pani uthnu parchha. Malai lagdaina ti student neta bhanauda haru le khelne thau ma jati sukai quality le padhaya pani yaha bhanda ramro manpower tayar hunchha. Yaha ta pranali nai change gari yi sabai ghokaune thau haru banda garera naya abdharana saht ko universities haru chaincha.
    Yesterday at 12:18am · Like

    ReplyDelete

Post a Comment