Skip to main content

रमाइलो छ राइम




–भवसागर घिमिरे

´असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने?´ तीन वर्षे सुश्रीन रजकले गीत बीचैमा रोके, ´भो याँ भन्दा त गाउँदिन्, लाज लाग्छ।´
उनको कुरा सकिन नपाउँदै ´राइम´ (बाल गीत) गाउन अघि सरिन् खुशी सरफ।
´टुइङ्कल टुइङ्कल लिटिल स्टार, हाव आइ वन्डर ह्वाट यु आर,
अप एबोभ द वर्ल्ड सो हाइ, लाइक अ डाइमन्ड इन द स्काइ´
राइम सकियो, सबैले ताली बजाए।
´मेरी पपिन्स् प्रिस्कूल´ थापाथलीको प्लेग्रुपमा पढ्ने सुश्रीन र खुशी दुवैलाई स्कूल रमाइलो लाग्छ। बिहान साढे नौ बजे स्कूल छिर्ने उनीहरू साढे दुईसम्म त्यहीँ रमाउँछन्।
´हामी पढ्छौं, नाच्छौं, खेल्छौं, चित्रमा रङ्ग भर्छौं, मीठो खाजा पनि खान्छौं,´ सुश्रीनले आफ्नो दिनचर्या बताउँदै गर्दा खुशीले थपिन्– ´हामी सबैको ´सिल्पिङ्ग टाइम´ (सुत्ने समय) पनि हुन्छ।´
यति धेरै काम कुन/कुन बेला गर्ने त?
´पहिला नाइन थर्टी (९ बजेर ३० मिनेट) मा आउने है, अनि प्रेपछि ब्रेकफाष्ट गर्ने,´ सानिब्य पराजुली आफ्नो बोल्ने पालो आएजस्तै गरी अघि सरे, ´त्यसपछि सर्कल टाइममा नर्सरीका दादादिदीसँग खेल्ने।´
सर्कल टाइमको ग्रुप एक्टिभिटीपछि उनीहरूलाई थकाइ लाग्छ रे। ´थकाइ लाग्ने भएर त हामी त्यसपछि क्लासमा गएर चित्रमा कलर गर्छौं, खेल्छौं, क्यासेटले जस्तै राइम गाउँछौं,´ सौर्य श्रेष्ठले आत्मविश्वाससाथ भने– ´एबीसीडी इएफजी, एचआइजेके एलएमएनओपी, एलएमएनओपीक्यु आरएसटी, युभीडब्लू एक्सवाइजेड।´
ए देखि जेड सम्म कन्ठस्थ सुनाउन सकेकोमा उनी गमक्क परे। सबैले उनको मुख हेर्न थालेपछि भने लाज मान्दै हातले मुख छोपेर मरीमरी हाँसे।
सौर्य बोल्न लजाएपछि अबको कुरा कसले भन्छ त? अर्पणा श्रेष्ठ बोल्न आतुर देखिइन्, ´क्लास टाइमपछि आउटडोरमा जान्छौं अनि लन्च खान्छौं।´
पछाडिबाट खुशी चिच्याइन्, ´हो त्यसपछि हामी सिल्पिङ्ग रूममा गएर वन आवर मज्जाले सुत्छौं। सिल्पिङ्ग टाइममा सप्पै चुप्प लाग्नुपर्छ,´ उनले चोर औंला ओठमा लाँदै भनिन्। त्यसपछि उनीहरूको फेरि क्लासवर्क गर्ने समय आउँछ। अनि, साढे दुईमा घर फर्कन हतार भइहाल्छ।
खुशीले घर जाने हतारको कुरा गरिरहँदा आर्सिया श्रेष्ठलाई भने आफूले रङ्ग भरेका चित्र देखाउनको हतार थियो। ´यी यो फिस, अक्टुपस, ह्वेलमा मैले रङ्ग भरेको,´ भित्ताको अर्को तस्विर देखाउँदै उनले भनिन्– ´यो छाता, फ्रक, टोपी छ नि, हो त्यसमा त तृष्णाले रङ्ग भरेकी।´
तृष्णा डंगोल मख्ख परिन्। कसरी हो नि कलर गर्ने? ´सजिलो छ,´ तृष्णालाई बोल्ने आँट आएछ, ´फिसमाथि ब्रसलाई लेफ्ट राइट, लेफ्ट राइट गरेर चलाए भैहाल्छ नि।´
ब्रसले मात्र हुन्छ? ´हैन, कलरमा पनि भिजाउनुपर्छ,´ उनले थपिन्। उनलाई नाच्न पनि राम्रो आउँछ रे, उनी आफैंले सुनाएकी।
अनुष्का सिजापती भने मीठो गीत गाउँछिन्। सर्जिन श्रेष्ठलाई कथा सुन्न मनपर्छ रे। ओजस्वी श्रेष्ठले कुनाबाट भनिन्, ´मलाइ त कार्टुन मनपर्छ।´ सुश्रीनले बीचैमा कुरो काटिहाले, ´त्यो त सबैलाई मन पर्छ नि।´ सबै गाइँगुइँ गर्न थाले, ´टम ए48ड जेरी, मिक्की माउस, पोकेम्यान्।´
´मलाई त बल खेल्न मन पर्छ।´ सर्जिनले भने, ´मेरो त घरमा पनि बल छ।´ सौर्य श्रेष्ठ कराए, ´मेरो घरमा पनि छ नि।´
घरमा गएर बल मात्र खेल्छौ कि क्या हो? मेरो यो प्रश्नमा उनले थपे, ´घरमा मामुले मीठो हाप्पु (खाना) ख्वाउनुहुन्छ अनि, अनि होमवर्क सिकाउनुहुन्छ। त्यसपछि बल्ल खेल्ने हो।´
सर्जिनका बाबाले स्पाइडर किनिदिनु भो रे। यो सुनेर सानिब्यले आफ्नो बाबाको तारिफ सुनाउन थाले, ´हाम्रो बाबाले त मलाई बोबाइल, घरी, क्याम्रा, लुगा के/के किन्दिनुहुन्छ के/के।´ सबैले आ–आफ्नो बाबाआमाको तारिफ गर्न थालेपछि हल्ला पो हुन थाल्यो।
त्यत्तिकैमा शिक्षिकाले सबैलाई लाम बस्न लगाइन्। लञ्च टाइम भएछ। ओजस्वी मख्ख परिन्, ´आज त बुधबार, फ्राइडराइस खाने। मलाइ मनपर्छ के।´ त्यसो भए सर्जिनलाई आइतबार र सुश्रीनलाई चाहिँ मंगलबार मनपर्छ रे। आइतबार भेज मःमः अनि मंगलबार आलु र सब्जीको तरकारी पाक्दो रै´छ। लन्च खाएपछि एकैछिन आराम अनि खेल्न पाइने। चिप्लेटी, पिङ्ग खेल्दा साह्रै रमाइलो हुने खुशीले बताइन्।
ल अब लञ्चमा जानुअघि एउटा राइम सुन्न पाए हुन्थ्यो नि कसले गाउने? अहिले भने कोहीभन्दा कोही कम निस्केनन्। मेरो प्रश्न भुइ झर्न नपाउँदै ताली बजाएर सबैले गाउन सुरु गरिहाले–
रो रो, रो योर बोट, रो रो, रो योर बोट, जेन्टल्ली डाउन द स्ट्रिम,
मेर्रिली मेर्रिली मेर्रिली मेर्रिली, लाइफ इज लाइक अ ड्रिम।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...