Skip to main content

भ्यालेन्टाइनमा ´द ग्रेट सर्कस्´



भवसागर घिमिरे, काठमाडौं, फागुन ३– ´तिमी फूल हौं गुलाबको, जून हौं आकाशको´ गालामा हात राखेर लोर्के केटोले तरूनी फकाइरहँदा एकहुल केटाकेटी झुम्मिहाले– ´तिमी तारा हौं, सुन्दर छौं...।´ अब त सबै आ–आफ्नै तालले एकै ठाउँमा बसेर कोकोहोलो गर्न थाले। गुजुमुज्ज परेका रङ्गीबिरङ्गी मुहारहरू अकस्मात बजेको संगीतको धुनसँगै छिरलिँदै नाँच्न र गाउन थाले, ´विदुषक (जोकर) को खेल हो साथी विदुषकको खेल, विदुषकको खेल हो साथी विदुषकको खेल।´
शहरका युवायुवती ´भ्यालेन्टाइन डे´ मा रमिरहेका बेला ´द ग्रेट सर्कस २००९´ मा एक्टर्स स्टुडियो काठमाडौंका कलाकारले अभिनय गरिरहेजस्तो पटक्कै लागिरहेको थिएन। हुन त प्रेमलाई कुनै नक्साले समेट्दैन, सीमाले छेक्दैन, भाषाले रोक्दैन। ´तैपनि भ्यालेन्टाइनको नाम लिँदा भानुभक्त बारे पनि जाने हुने नी´ कलाकारले यसो भन्दा दर्शक ताली बजाइरहेका थिए।
अनेक रङ्गले पोतिएका मुहार र पहिरन पनि त्यस्तै रङ्गीचङ्गी। अभिनय नगर्दै यी कलाकार देखिन्थे। दर्शकका माझबाट फुरूरू निस्कँदा त झन् गाइजात्रा आएझै लाग्दथ्यो। विक्रम परियारका हात हार्मोनियममा सलबलाउन थालेपछि कलाकारको नाँचगान सुरु भयो। ´सुर, ताल र लय भएन भने जीवन जीवन रहँदैन´ एकाएक संगीत रोकिएपछि रोकिएका कलाकार माझबाट विदुषक बोले– ´तपाई हामी सप्पैको सुरताल हराएको छ।´ हुन पनि हो, लाखौं शैक्षिक बेरोजगार हामी हर दिन सडकमा भौंतारिन्छौं। न्याय माग्न जाँदा थप अन्यायमा पिल्सने हामी कानुनका कठघरामा गएर पछारीन्छौं। ´ग्याँस खोज्न हिँड्यो ग्यास पाईदैन्´ विदुषकले मुख बिगार्दै भने– ´महंगीले सामान छुन सकिँदैन। हामी सुर हराएर बेसुरे भएका छौं।´
सबैलाई झक्झकाउँदै विदुषकका बीचबाट अर्का नेता निस्कन्छन्। ´अब आफ्नो सुरक्षा आफै गर्ने´ मन्त्रीको प्रतिनिधित्व गर्दै कुर्चीमाथि चढेका नेता ढुग्रेमाइकमा कुर्लन थाल्छन– ´सबैको हात हातमा हतियार बाँडिनेछ।´ जनताका हातमा हतियार आएपछि अब मारकाट सुरू हुन्छ, कोलहाल बढ्छ।
देशमा बढ्दो हत्या हिंसा र दण्डहीनता सम्झाउँछ नाटकले। ´मैले कलामा डिग्री पास गरेको छु´ एक महिला विदुषीका लोभ्याउने पारामा बोल्छिन्। उनीसँगै एक कार्यालयमा अन्य केटाकेटी अन्तर्वाताका लागि आउँछन्। ´मैले घिउ ल्याएको छु, पैसा पनि´ अर्का चटके देखा पर्छन्– ´म फलानोको साला।´ बाँकी जोकरहरू जिल्ल पर्दै टोलाउँदा संगीतले सुन्यमा फेरि रौनक थप्छ। ´अवसर छैन, सुरक्षा छैन, भविष्य छैन यहाँ, नभागेर विदेशतिर जाउन बरा कहाँ´ दर्शकलाई पेट मिचिमिची हँसाउन थाल्छन कलाकार– ´विदुषकको खेल हो साथी विदुषकको खेल, विदुषकको खेल हो साथी विदुषकको खेल।´
देशमा लोडसेडीङ्ग बढ्छ। मजदुर र मालिकको झगडा बढ्छ। मालिक सरकार हेरेर मुख बिगार्छन्। ´लौ अप्रेसन सकेर टाँका लगाउँदा लगाउँदै झयाप्पै बत्ती गयो´ डाक्टर बिरामीका अभिभावकलाई खबर पुर्‍याउँछन्– ´अब बत्ती आएपछि।´ देशमा जे भोगियो नाटकले त्यही देखायो। ´बाह्र महिने लोडसेडिङ्ग, जलस्रोतको धनी देश, यस्तो बत्ती हुनु भन्दा अन्धकारै वेश´ गीतसँगको संगीतमा सबै मख्ख देखिन्थे।
´खुम्बुवान, मगराँत, किराँत, मधेश, पहाड, हिमाल भन्दै हामीलाई आफु आफैमा लडाइएको छ´ एक विदुषक बोले। ´नहान्नु, नमार्नु नबोल्न सक्नेलाई, नमार्नु दुध पिउने र खेल्ने स–साना बालकलाई´ कलाकारले मार्टिन चौतारीको प्रागंणमा नाटक सकिनु अघि एकै आवाज बोलेका थिए।
एक्टर्स स्टुडियोका पाँचौं सत्रका विद्यार्थीहरूले पछिल्लो दश दिने अभ्यासका क्रममा तयार पारेको यो नाटक माघ २८ मा काठमाडौं विश्वविद्यालयमा पहिलोपटक मञ्चन गरिएको थियो। ´पाटन दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर र संसद भवन अघि पनि देखाउने छौं´ गायक तथा संगीत संयोजक विक्रम परियारले भने।
प्रवेश गिरी, हिराबिजुली नेपाली, हेमा श्रेष्ठ, प्रमोद भारद्वाज, निता पोख्रेल, प्रदिप भण्डारीले अभिनय गरेको सो नाटकमा कमल भट्ट, बसन्त पौंड्याल, विनिता बराल, दिपेन्द्र अधिकारी, अर्जुन सुब्बा र आशान्त शर्माले पनि भूमिका निभाएका थिए। ´हामीले विनास्त्रि्कप्टको नाटकमा अभिनय गर्‍यौं´ कलाकार भारद्वाजले भने– ´हामीबीच जन्मेको विचारलाई परिस्कृत गर्दै जाँदा आफै तयार भयो।´
पहिलो पटक नाटक खेलेकी विनिता बराल आफ्नो अभिनयबाट सन्तुष्ट देखिइन्। ´टेलिभिजनमा भन्दा त टोटल्ली डिफ्रेन्ट´ थुपै्र म्युजिक भिडीयोमा खेलेकी बरालले ओठ चलाइन्–´बट आइ एम मच सेटिस्फाइड।´ नाटक ´कर्नाली दख्खिन बग्दो छ´ का ´कुन्टेक्ट´ हिराबिजुली पनि खुशी देखिन्थे। ´हाँस्य शैलीमा सबैले छिटो बुझ्छन् र मन पराउँछन्´ बिजुली हाँस्नथाले–´सबैले बुझे र मनन गरे भने हामीलाई भै गो नी!´
अलगअलग शैलिलाई कसरी प्रस्तुत गर्ने भन्ने सोचको क्रममा यो नाटकको अवधारण आएको परिकल्पनाकार तथा निर्देशक अनुप बरालले बताए। ´मान्छेको बीचमा संवेदना मर्दै गएको छ´ बरालले भने– ´त्यही संवेदनालाई ब्युताउनु नाटकको उद्देश्य हो।´

यसमा तपाईंको प्रतिक्रिया#
राम्रो विचार। म प्रभावित भएँ।
animesh animeshthapa@yahoo.com
मलाई राम्रो लाग्यो। नेपालको कठिन अवस्था एउटा नाटकमा देखाउन खोजिएको छ।



Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...