Skip to main content

रङका अनेक रङ




भवसागर घिमिरे
´ऐया!´ ´मरेस्!´

बत्तीपुतलीकी बिनिता कार्की थापाथली क्याम्पसअगाडि लोलाको चोटमा परेपछि चिढिन थालिन्, ´को मुर्दार हो, लोला हान्ने?´

खै, को हो को? पत्तै पाइनन् उनले। कुर्ताको अघिल्लो भागै भिजाउनेगरी जिउ अँगाल्न आएको पानी टक्टकाउँदै सिंहदरबारतिर सोझिनुको विकल्प रहेन। उनी बाटो लागेपछि एक हुल केटाहरू हाँस्दै क्याम्पसबाहिर निस्किए।

होली आउनु कहिले हो कहिले, काठमाडौँ भने पहिल्यै निथ्रुक्क भिज्न सुरू गर्छ। खासगरी महिलाहरू यो भिजाइमा बढी पर्छन्। कार्कीलाई सायद यसको पत्तो थिएन, वा भएर पनि त्यसबाट जोगिने प्रयासमा उनी असफल भएकी हुन सक्छिन्। योबेला सफल हुन्छन् त केवल पिच्कारी बोक्ने, पानीका पोका, रङ खेलाउने केटाकेटी अनि तन्नेरीहरू। होलीलाई लोलाको पर्यायका रूपमा बुझ्ने उनीहरूलाई पर्वको महत्वबारे भने पत्तो हुन्न।



आपसी मेलमिलाप र सद्भाव बोकेर भित्रिने होलीलाई ठाउँअनुसार फागु पूर्णिमा, होली, फागुवा, होरी जस्ता नामले चिनिन्छ। पहाडी भेगमा होली एक दिनका लागि मात्र मनाइए पनि पूर्वी तराई जिल्लामा पूर्णिमाको भोलिपल्टसमेत धुमधामसँग मनाउने गरिन्छ। तराईतिर पूर्णिमाका दिन होलिका दहनपछि धेरैथरिका रङ मिलाएर फागु खेलिन्छ। झन् सुदूर पश्चिमेली होली त शिवरात्रिदेखि नै सुरु हुन्छ। पूर्णिमासम्मको अवधिमा त्यहाँका बासिन्दा भगवानको भक्तिभजन र वीरगाथा गाउँछन्।

धनगढी अत्तरियाकी सुनिता भण्डारीसँग मिठो सम्झना छ होलीको। ´डुप्पा (मासको दाल र गहत मिलाएर बनाइने एक खानेकुरा) खान्थ्यौँ, रङ खेल्न समूह बनेर घर–घर जान्थ्यौँ,´ भण्डारीले घर सम्झन थालिन्, ´नाचगान गरेर पैसा पनि उठाउँथ्यौँ।´

उनको गाउँमा होलीमा उठेको पैसाले वनभोज जाने वा समूह बनाएर सामाजिक काममा लगानी गर्ने प्रचलन छ। सेतो कुर्ता, पाइजामा लगाई अनेक रङमा रङ्गिएर नाच्दै–गाउँदै हिँड्ने उनको गाउँमा होलीको रन्को बेग्लै हुन्छ।

´गाउँ नै उठेर होलीमा रम्ने हुनाले खेल्न मन लाग्थ्यो,´ उनले निधार खुम्च्याइन्, ´यहाँ त काँ बाहिर निस्कन सक्नु नि, मोबिल दलेर कुरूपै बनाइदिन्छन्।´ काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन सकिएको भए अहिले उनी आफ्नै टोलमा होलीका रङ सुमसुम्याइरहेकी हुन्थिन्।

हुन पनि, अरूले मोबिलको कालो मुहारमा पोतिदिन्छन् कि भन्ने डर थियो उनलाई। यस्तै छ यहाँको चलन, कसैलाई मोबिल त कसैलाई हिलो, कसैलाई अण्डा त कसैलाई बालुवा/माटोको धुलो चखाउने टन्नै भेटिन्छन् होलीमा।

खासगरी निसाना युवतीतर्फ केन्द्रित हुन्छन्। स्कुल होस् या कलेज, अफिस होस् या बजार जता जान लागेको भए पनि गल्ली, सडक, पर्खाल, छतका कुनाकाप्चामा लुकेर बसेकाहरूबाट सास्ती भोग्नुपर्छ उनीहरूले।

होली आइपुग्नु अघिल्लो साताबाटै लोला प्रहारबाट आफूलाई पटक–पटक जोगाउन मन्दिरा भेटवाललाई गाह्रो पर्छ। छतबाट फालिने बाल्टीका बाल्टी पानीबाट विज्ञान संकाय ११ कक्षाका किताबकापी जोगाउनुको हैरानी पनि उनी सुनाउँछिन्।

´शिवरात्रिपछि छिटपुट लोला हान्न सुरु भैसकेको थियो,´ ललितपुर कलेजकी भेटवालले हैरानी सुनाउँदै गर्दा उनकी साथी सुस्मिता राईका ओठ पनि चल्न थाले, ´हेर्नुस् न आज त मेरो अर्को साथी बाटैबाट फर्की।´

उनीहरूलाई हप्तैभरि होली चलेको पटक्कै मन परेको छैन। त्यसमाथि यो लोला संस्कृतिले दिक्कै पारेको बताउँछन् उनीहरू। ´एक दिनमात्र मनाए बाटो हिँड्नेलाई पनि सहज हुन्थ्यो, महत्व पनि हुन्थ्यो। यहाँ त हप्तौँअघिदेखि मनाएर हैरान बनाउँछन्,´ राईले दुखेसो पोखिन्।
जति नहान्नु भन्यो उति ताकेर फोहर पानी छ्याप्ने गरेकोमा निर्मला मरासिनी पनि दुःखी छिन्। बाबु विधा मन्दिर ललितपुर, कक्षा ८ मा अध्ययनरत उनलाई साँझबिहान कसरी सुरक्षित विद्यालय पुग्ने र फर्कने भन्ने पिरलो भइरहन्छ यस बखत। कानुन कडा नभएको र मान्छे छाडा भएकोमा युवतीहरूको गुनासो छ।


बाजे–बज्यैका पालामा पनि यस्तै थियो त?

´अहँ!´

छाउनी घर भएका सन्तबहादुर खड्काले मुन्टो हल्लाए। होलीसँग जोडिएका उनका मिठा अतित अहिलेका तन्नेरीको भन्दा फरक छ। ६४ वर्षे खड्कालाई पनि पाटनको कृष्ण मन्दिर र बसन्तपुर दरबार स्क्वायरमा चिर गाढेपछि होलीको रन्कोले १४/१५ वर्षैमा चुम्थ्यो। काटेर सुकाएको आलु ओखलमा कुटेपछि त्यसमा अत्तर मिसाएर सुगन्धित रङ बनाउँथे उनी।

´दल्नेबित्तिकै हररर बास्ना आउने, लगाउनेहरू खुसी हुन्थे,´ घरनेरको पसलमा सुस्ताएका उनले पुराना दाँत देखाए, ´अहिलेको अबिरमा त माटैमाटो, टाउको दुखाउँछ त्यसले।´

´छोरीहरूलाई कौसीमा नबस् भन्नुपर्छ, नत्र घरै रङ्गिनेगरी लोला बजाइदिन्छन्,´ उनले दुःख पोखे।

उनलाई लाग्छ, विद्यालय, क्याम्पसले अनुशासनको पाठ पढाउन छाडेका छन्। केटाकेटी टिभी च्यानल हेरेर झन् गलत कुराको सिको गर्दैछन्। ठिटाहरू होलीको निहुँमा रक्सी, भाङले चुर भएको पटक्कै मन पर्दैन उनलाई।

´पोहोर एउटा केटो मोटरसाइकल पल्टाएर यहीँ सेल्टियो,´ उनले अगाडिको सडक देखाउँदै भने, ´होली भन्दै चिच्याउँदै गाँजा खाएर कुद्नेको दुर्दशा नै हुन्छ।´

दुर्दशा छतमा बसेर पानीका पोका बर्साउनेको पनि भएको छ। धेरै जना छतबाटै खसेका पनि छन् अरूलाई लोला बर्साउँदा। के लोला नभए होली नै हुन्थेन त?

´किन नहुनु? लोला खेल्थेनौँ, साथीभाइ भेला भएर रङ खेल्थ्यौँ, खसी काट्थ्यौँ,´ नुवाकोटका प्रेमबहादुर बस्नेत, ६३ ले युवावस्थाका रङ्गिन दिन सम्झिए, ´रातभर नाचगान पनि हुन्थ्यो।´

फागुने गर्मीको तिर्खा मेट्न कुपण्डोलस्थित एक पसलमा बसेर दहीको मज्जा लिँदै गरेका बस्नेतले बैंसमा होली खेल्दा गाएका गीत सम्झिए–

निधारैमा अबिरे टीका छ, तिमी नभए जिन्दगी फिक्का छ
आज राति देखेको सपनी, सपनीमा तिम्रै नाम जपनी

आजै अबिर भोलिको सिन्दुर, राखेँ कुरा छ–छैन मन्जुर
बाटो अब हरियो वन भयो, जाउँ कि नजाउँ दोधारे मन भयो


Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...