Skip to main content

नानीबाबुकी सुरक्षा

–भवसागर घिमिरे

´भर्खर प्लेग्रुपमा भर्ना भएका बच्चालाई मनाउन धौं धौं हुन्छ,´ साना केटाकेटी भुलाउन सिपालु मेरी पपिन्सकी सुरक्षा रजक, २४, ले भनिन्– ´मनाउँदै गए विस्तारै उनीहरू खुसी हुन थाल्छन् र हामी पनि।´
उनले प्रिस्कूलमा पढाउन थालेको एक वर्षमात्र पुगेको छ। त्यसअघि यसमा न उनको कुनै अभ्यास थियो, न सोच। सबैले तालिम लिए काम पाइन्छ भनेपछि उनी यसमा हौसिएकी थिइन्। मन्टेश्वरी टिचिङ्गको तालिम लिइन् र काम पनि पाइहालिन्।

´अहिले त यिनीहरूसँगै दिन जान्छ,´ पछाडिबाट ग्याप्प समाउन आइपुगेकी आर्सिया श्रेष्ठ, ३, लाई देखाउँदै उनले भनिन्।

प्लेग्रुप पढ्ने १८ महिनादेखि ३ वर्षसम्मका यी केटाकेटी सुरुसुरुमा त रोएर कराएर हैरान गर्थे रे। ´कपाल तान्दिथे, कोपर्थे, चिच्याएर रिसै उठाउँथे,´ उनले आर्सियाको गाला मुसार्दै भनिन्– ´तर आफ्नो रिस आफैंमा लुकाएर यिनीहरूलाइ हँसाउँदै फकाउँथें। त्यही भएर पो अहिले मैले भनेको मान्छन्, पछ्याइरहन्छन्।´

फरकफरक वातावरणबाट हुर्केर आएका सानासाना बालबालिकाले बोलेको बुझ्न धेरैलाइ हम्मे पर्नसक्छ। तर सुरक्षा भन्छिन्, ´उनीहरूसँग भिज्दै गएपछि विस्तारै बुझ्दै गइन्छ। कसैले पानीलाई पापा भन्छन्, कसैले खानालाई। अब कोही भने पापा जाने भन्दै रोइदिन्छन्। अब पापा भनेको के हो, उनकै बोलीबाट बुझ्नुपर्छ,´ सुरक्षाले हाँस्दै भनिन्।


नभन्दै सानिब्य पराजुली ´टिचर धर (घर) जाने´ भन्दै टुप्लुक्क आइपुगे। सुरक्षाले ´पापा आएपछि जाने ल´ भन्दै सम्झाइन्।

दिनमा धेरै खेल्न पाइयो भने बच्चाहरू घर जाने कुरा पनि भुल्छन् रे। खेल्दै सिक्न पाइने अक्षरमा पनि उनीहरूको उत्तिकै चाख छ। पढ्न सिकाउने तरिका पनि रमाइलो। सुरक्षाको भनाइमा भर्ना हुनेबित्तिकै एबीसीडी घोकाउनु भनेको बच्चामाथि बोझ थोपर्नु हो। यसले नानीबाबुमा पढाइप्रति वितृष्णा बढाउँछ।

´पहिला उनीहरूको कुरा सुन्नुपर्छ। मनोभाव बुझ्नुपर्छ,´ सर्जिन श्रेष्ठको हातमा बल थमाउँदै सुरक्षाले थपिन्, ´खेल्न, नाच्न जे गर्न मन पर्छ त्यही तरिकाले सिकाउँदै लाने हो।´

कलम समाउन सक्ने बनाउन बच्चालाई हातका औंलाहरूको विभिन्न अभ्यास गराइन्छ। यसका लागि रमाइला विधि छन्। ´विभिन्न रङ्गका कागज डल्लो बनाउने, लाम्चो बनाउने गर्दै उनीहरू औंला चलाउनमात्र सिक्दैनन् कि ती कागजलाई चित्र रङ्गाउन पनि प्रयोग गर्छन्,´ सुरक्षाले भनिन्, ´यसमा उनीहरूले कुन रङ्गको नाम के भन्ने पनि जान्छन्।´

यसरी रमाइला क्रियाकलापसँगै लेख्न तथा पढ्न जानेका अक्षरहरू नानीबाबुले धेरै सम्झन्छन्। सुरक्षा भन्छिन्, ´घोकन्ते तरिकाले पढेकोभन्दा यस्तोबाट उनीहरू टाठो भएर देखा पर्छन्।´

सधैं मायामात्र गर्दा मात्तिंदैनन् त? ´नाई, उनीहरूलाई मायाले नै सिकाउनुपर्छ।´ रमाइलो प्रसंग निकाल्दै सुरक्षाले भनिन्– ´कहिलेकाहीँ नमानेको बेला ग्रिन चिल्ली (हरियो खुर्सानी) ल्याउँछु भन्यो भने सबै ज्ञानी बन्छन्।´

नानीबाबुसँग भुल्दा उनलाई दिन बितेको पत्तो हुँदैन। भोलिका दिनमा बालबालिकालाई संसार चिनाउने अक्षर चिनाउन पाउँदा सुरक्षालाई गर्व लाग्छ। ´उनीहरू पनि मलाई धेरै माया गर्छन्। कसैले दिदी भनेर बोलाउँछन् त कसैले टिचर,´ खुशी हुँदै सुरक्षाले थपिन्– ´म कामप्रति धेरै सन्तुष्ट छु।´

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...