Skip to main content

खेलौना !

भवसागर घिमिरे
Saturday, August 2, 2008
दूधभात सेलाउन लाग्या बेलामा, केटा'टीले जिद्दी गर्दै बिलौना गर्‍या बेलामा, हामी तिनलाई भुलाउन खेलौना देखाउने गर्छौं। कुनै अमेरिकन खेलौना, कुनै ब्रिटीस खेलौना, कुनै चाइनिज, भारतीय, जापानीज यस्तै यस्तै खेलौनाहरु देखाएपछि त केटा'टी शान्त हुन्छन्। खेलौनासँग रङ्गिदै दंग पर्छन् अनि सेलाइसक्या दुध भात पनि खप्लाक-खुप्लुक्क खान्छन्।

केटा'टीलाई खेलौनासँगै खेलाउने बानी परेका हामी, आफू पनि अरुका हातले खेलाइने गरेको सायदै पत्तो पाइरहेका छौं। हामी हर पाइलामा अरुद्वारा खेलाइने गर्छौँ, हर पल दोस्रो पक्षद्वारा पेलिने र ठेलिने गर्छौँ। लाछारिन्छौं, पछारिन्छौं अनि माथि उक्लने नाममा बजारिन्छौँ पनि। यो गरिब मुलुकका अति गरिब जनता हामी साँच्चै नै अरुका खेलौना भएका छौं। कठपुतली, भाँडाकुटी यी सब हाम्रा पर्यायवाची नाम भैसकेका छन्।

हामी धेरै त नेताहरुबाट खेलिने गर्छौं। हामी बीचकै नेताहरु जसका हामी गुडिया हौं। हाम्रा काँधहरुका सिँढी बनाएर उनीहरु चढ्‍ने गर्छन् सत्तासम्म। हाम्रा आवाजहरुका शक्ति बोकेर उनीहरु कुर्लिने गर्छन् सदनमा। हाम्रा पाइलाहरु घरि धकेल्ने गर्छन् त घरि बाँध्ने गर्छन् उनै। हामी मात्र कठपुतली हौं, धकेलिने, बाँधिने, टुट्‍ने र फुट्‍ने कामका लागि बनाइएका अरुका निम्ति। घरि फलानो र ढिस्कानो पार्टी भन्दै कुर्लिन्छौँ हामी, घरि निण्र्ाायक आन्दोलन भन्दै सडक ओर्लने गर्छौँ हामी। स्वतन्त्रताका नाममा छुट्टै राज्यको माग गर्दै संघर्षमा होमिन्छौं, गोलीले भुट्टिन्छौं, कुट्टिन्छौं र छुट्टिन्छौं हामी। हामीलाई तिमीहरु सिंह हौं गर्ज भनेर फुर्काइन्छ, हामी मख्ख पर्दै सडक ओर्लेर गजक्क फुलेर गर्जने गर्छौँ। हाम्रो गर्जाइसँगै नेताहरुको गर्जो टर्ने गर्छ। पुन: तिमीहरु बिरालाहरु हौं भनेर हाम्रो कान फुकिन्छ। हामी म्याउँ म्याउँ गर्दै सडकबाट फर्कने गर्छौँ। आफ्नै अँध्यारा खोपीहरुमा। खेलौना न हौं हामी।

कानुन पनि हामीलाई मात्र लाग्छ। जसको नाम बैंकको कालो सूचिमा हुन्छ, उनै काला काला गाडीहरु चढ्‍छन्। जो चिप्ला चिप्ला कुरा गर्छन् उनैले चिल्ला चिल्ला कार चढ्‍छन्। हाम्रा काम कुरा खस्रा छन्‍, खानपिन खस्रै छ। त्यसैले हाम्रा निम्ति मात्र खस्रा कानुन बनेका छन्। कृषि विकास बैंकको सानो ऋणमा साँवाको व्याज, व्याजको स्याज र स्याजको प्याज थुप्रिदा हाम्रा घर खेत लिलाम हुन्छन्। हाम्रा साना साना अपराधहरुमा हामीलाई दण्डित गर्न अग्ला अग्ला जेलहरु बनाइएका छन्। तर ठूला ठूला अपराधीहरु, देशद्रोहीहरु, हामीमाथि गोली बर्साउनेहरु, हामीलार्इ हर दिन तर्साउनेहरुका निम्ति न कुनै जेल बनेको छ, न कुनै नेल बनेको छ। यिनका अघि मल्लिक, रायमाझी जस्ता आयोगले त घुँडा टेके भने हाम्रो के नै लाग्छ र? ती कानुनभन्दा माथि छन्। राजा हटे पनि यिनै रजौटाहरुले राज्य गर्ने छन् यो देशमा, हामीलाई खेलौना बनाएर।

यो देशै यस्तै छ। कोही यहाँ हिरो हिरोइन बन्ने नाममा नाङ्गिन्छन्। कोही यहाँ विदेशिने नाममा नाङ्गिन्छन्। कोही मूल्य वृद्धि खप्न नसकेर ढाडैसँग बाङ्गिन्छन्। सर्टिफिकेटका खातहरु जम्मा गरेर बेरोजगारीको सञ्जालसँगै झाङ्गिन्छन् यहाँ कोही। सबै खेलौना बनेका छन्, बनाइएका छन्। खेलौना पनि साइज साइजका छन्। टाइप टाइपका छन्। रङ्ग रङ्गका छन्। विभिन्न पक्षहरुबाट खेलाइने गर्छन्। विदेशी रिमोट कन्ट्रोलरबाट चल्ने खेलौनाहरु यी कहिले स्वदेशमा चटक देखाउँछन् त कहिले विदेशमा। मध्यम शिक्षित खेलौनाहरु यिनै ठूला खेलौनाहरुबाट खेलिने गर्दछन्। यिनीहरु पनि अशिक्षित खेलौनाहरुलाई प्रशिक्षित गर्न तल्लीन देखिन्छन्। मानौं यहाँ खेलौना बनेर खेलिने र खेलौना बनेर खेलाइनेहरुको ठूलो सञ्जाल बनेको छ। लहरो तान्दा पहरो गर्जिन सक्छ, पहरो गर्जिदा टहरो भत्कन सक्छ। यस्तै छ यहाँ खेलौना जिन्दगीहरु।

तपाई यी कुरा पढ्‍दा ङिच्च हाँस्न सक्नुहुन्छ। नाक खुम्च्याउँदै ओठ लेप्य्राउँन सक्नुहुन्छ। ठाडो आक्षेप भन्दै दिक्क मान्न सक्नुहुन्छ। पत्यार लागेझै गरी ठीक्क पार्न सक्नुहुन्छ। खेलौना न हौँ हामी। म यो लेख लेख्ने खेलौना। तपाई यो लेख पढ्‍ने खेलौना।

पोखरा ३, नदीपुर
हाल: त्रिवि कीर्तिपुर
sagarbhaba@gmail.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...