Skip to main content

´सेकेन्ड इनिङ होम´


-भवसागर घिमिरेकाठमाडौं, पुस ३
विष्णुमती पुलमुनि बेवारिसे अवस्थामा मिल्क्याइएकी मीना महर्जन, ४५, ले बाँच्ने आशा शायदै राखेकी थिइन्। १० वर्षअघि उनलाई दिसापिसाबको दलदलबाट उठाएर अस्पताल पुर्याउन खोज्दा जीउ बेर्ने एकसरो कपडा जुटाउनधरी धौधौ परेको थियो ´आमा´लाई। ´आमा नआइपुगेकी भए म त्यहीँ सडेर मर्ने थिएँ,´ मीनाले भावुक हुँदै भनिन्।

भक्तपुरकी आशामाया शिल्पकार, ८०, पनि छोरीको घरमा बूढेसकाल काट्दै थिइन्। छोरीको मृत्युपछि उनको बिचल्ली भयो। गाउँलेले आमालाई सम्झे, आमाले आशामायालाई।

धेरै बिजोगहरूमा संजोग बनेर पुग्ने गरेकी छन् आमा, अर्थात् दिलशोभा श्रेष्ठ। १० वर्षदेखि राजधानीको रविभवनमा सञ्चालित उनको ´वृद्ध व्यवस्थापन तथा सामाजिक कल्याण गुठी´ २७ जना पाका (एक नाबालकसमेत) का लागि जीवनको दोस्रो अध्याय बिताउने ´घर´ (सेकेन्ड इनिङ होम) बनेको छ। कोही मीनाजस्तै सडकबाट उठाइएका छन्, कोही आशामायाजस्तै घरबाट निकालिएर ल्याइएका छन्।
******

रविभवनबाट दुई सय मिटर दक्षिणतर्फ पहेंलो रङको तीनतले पुरानो घरमा मूल सडकको हल्लाखल्ला खासै सुनिंदैन। भर्खरै फिनेल पानीले पुछिएको भुईँमा मेरो जुत्ताको टक्टक् आवाजमात्र घरभरि गुञ्जिरहेको थियो।

´बाबु गोर्खा जाने? म पनि जान्छु है,´ भर्याङ्का खुड्किला उक्लँदै गर्दा पछाडिबाट मलाई झ्याप्प छोपेर कुप्री परेकी बज्यैले भनिन्। म अक्क न बक्क परें।

´ए गोर्खाली बज्यै उहाँ त अर्कै मान्छे हो। छोड्नुस्,´ गुठीमा खाना पकाउन सघाउने सविना गोपालीले मलाई फुत्काउँदै भनिन्। उहाँलाई सबैले गोर्खाली बज्यै, ७५, भन्दा रहेछन्। बाटोमा भेटेर ल्याएको। आफ्नो भन्ने कोही रहनेछ।

´कहिलकाहिँ बेसुरमा हुँदा घर जान्छुमात्र भन्नुहुन्छ। कहाँ? के? न उहाँलाई थाहा छ न हामीलाई,´ मलाई पछि लाएर सविना भर्याङ चढ्दै थिइन्। म देखिरहेको थिएँ, हरेक कोठाका आधा खुलेका ढोकाबाट वृद्धाहरूका चाउरिएका र दृष्टि कमजोर भएर चिम्सिएका आँखा मैतिर सोझएका थिए। कोही आफन्त भेट्न आए कि भन्ने आशा तिनका आँखामा साफ झल्कन्थ्यो।

´छोराछोरी, नाति–नातिना भेट्न आइदिए हुन्थ्यो भन्ने मनमा हुँदो हो, नयाँ मान्छे देखे कि आफ्नै आफन्त सम्झेर झुम्मिन आइपुग्छन्,´ माथिल्लो खुड्किलोमा पुगेपछि उनले पछाडि फर्केर भनिन्, ´बरा.....।´

******

´माँ, बुलुँ–बुलुँ भब्यू (आमा, विस्तारै–विस्तारै खानु)´
´नानी छु हेउ? ल हेउ?´ (नानी के ल्याउँ? पानी ल्याउँ?)´
´मा, जा टेउ?´ (आमा भात थप्ने?)

कौसीमा बिहानको घाम ताप्दै केही वृद्धालाई लस्करै बसाएर खाना ख्वाइरहेकी दिलशोभा घरि यता कुना, घरि उता कुना दुगुरिरहेकी थिइन्। एकजनालाई अंखराबाट पानी ख्वाउन भ्याएको हुन्थेन, अर्कोलाई भात थप्न अबेर भइसक्थ्यो। उसलाई भात थप्यो, अर्कोलाई दाल चाहिन्थ्यो। म उनको पुण्यकर्ममा खलल् नपुगोस् भनी एउटा कुनामा उभिएर चुपचाप हेरिरहेको थिएँ, उनी हरेकको आवश्यकतालाई बराबर ख्याल राखिरहेकी थिइन्। साथमा उनकै छोरी र अघि मलाई कौसीसम्म ल्याइपुर्याउने सविना पनि हात बटाउँदै थिए।

यी वृद्धाहरूलाई खाना ख्वाएरमात्र पुग्थेन, धेरैको त मुखै चुठाइदिनुपर्थ्यो। बूढेसकाल बाल्यावस्थाको पुनरावृत्ति हो भनेर त्यसै भनिएको होइन। फरक यत्ति हो, बाल्यावस्थामा मायाले सुम्सुम्याउने धेरै हुन्छन्, बूढेसकालमा आफन्तले पनि साथ छोड्छन्।

दिलशोभाको पूरा दिन यिनको स्याहारसुसारमा बित्छ। ´उठ्नेबित्तिकै घर सफा गर्यो। सबैलाई दिसापिसाब गराइदियो। कसैले सुतेकै ठाउँमा शौंच छोड्छन्, तन्ना फेर्दियो, सफासुग्घर बनाइदियो। त्यति गर्दागर्दै चिया बनाउन हतार भइहाल्छ,´ १० बजेतिर कौशीमा खाना ख्वाउन आउनुअघि उनले बिहानका कामको फेहरिस्त सुनाइन्।

´सबैलाई ख्वाउँदावर्दा १२ बजिसक्छ। त्यसपछि कसैलाई औषधि ख्वाउनुपर्छ, कोही घाममै पल्टन्छन्। कोही बत्ति कातेर समय काट्छन्। यसोउसो गर्दा बेलुकी भइहाल्छ।´

´जिम्मेवारी लिएपछि अल्छी गरेर हुन्नँ,´ दाहिने अञ्जुलीमा पानी भरेर एकजना वृद्धाको मुख चुठाउँदै उनले भनिन्।

´तपाईले निकै राम्रो गरिरहनुभएको छ,´ मैले उनको तारिफ गरें, ´आफूभन्दा बढी उमेरका यी सबैको आमा बन्नु चानचुने कुरा होइन।´

दिलशोभा मुसुक्क हाँसिन् मात्र, उनलाई जवाफ दिनुभन्दा लस्करकै अर्की वृद्धालाई तरकारी थप्न हतारो भइसकेको थियो।

******

जीवनको उत्तरार्द्धमा आफ्नै लोग्ने र छोराछोरीबाट निकालिएर वा अरू कारणले परिवारसँग छुटेर ´आमा´को काखमा सहारा पाइरहेका यहाँका सबै असहायहरूको आफ्नै दुःखद् कथा छ।

´मेरो नाउँ सुन्तली थापा हो,´ म दिलशोभाको आश्रयमा बसिरहेका वृद्धाहरूसँग बात् मार्न थालें, ´उमेरचाहिँ ८० (वर्ष) पुगें हुँला। ख्वै कुन्नि हेक्का छैन।´ सुन्तली यति भनेर बेस्सरी हाँसिन्। उनको कपालमात्र फुलेको होइन, दाँत पनि झरिसकेछन्।

बानेश्वर घर बताउने यी आमै गत वर्ष फागुनमा यहाँ आएकी हुन्। श्रीमान् र सौता मिलेर सबै घरबार झुक्याएर आफ्नो नाममा पास गरे। त्यसपछि ज्यामी काम गर्दै उनले जीवनका झन्डै ३० वर्ष काटिन्।

´बूढेसकालमा हाड कमजोर भएपछि काम गर्न सकिएन, खान दिने पनि कोही भएन, दुःख पा´को देखेर आमाहरूले यहाँ ल्याउनुभो,´ उनले दिलशोभातिर हेर्दै भनिन्, ´अहिले सञ्चो छ।´

´सन्तान नभएकोमा दुःख लाग्दैन? यस्तो आश्रममा बस्नुपर्थेन कि?´

´उस् देखें मैले सन्तान भएकाहरूलाई पनि,´ सुन्तलीले हात झट्कार्दै भनिन्, ´यहिँ कति छन् परिवार भएकाहरू, सोध्नुस् न कसो भयो तिनलाई।´

हुन पनि घरमा स्याहार गर्ने कोही नभएरमात्र कसैले आफ्नो बूढेसकाल यस्तो वृद्धाश्रममा बिताउनुपर्ने होइन। कान्छी तामाङ, ६२, का दुई छोरा र एक छोरी छन्। उनीहरू कता के गर्छन् उनलाई पत्तो छैन। सन्तानको सहारा नपाएर उनले मकै पोल्ने, तरकारी बेच्नेजस्ता काम गरेर धेरै वर्ष गुजारा गरिन्। आज जीवनको अन्तिम कालमा उनी यहीँ आश्रित हुन आइपुगेकी छन्।

´सडकमा अलपत्र परेको देखेर एकजना वृद्ध महिलाले म कहाँ ल्याइपुर्याइदिए,´ दिलशोभाले भनिन्।

कलंकी सुनारगाउँकी शान्ति मगरका देवरका छोरा अमेरिकामा छन्। १५ वर्षअघि लोग्नेको मृत्यु भएपछि उनलाई पानी पिलाउनेधरी कोही भएन। मधुमेह र उच्च रक्तचापले थलिएकी यी वृद्धा वैशाखमा देब्रे हात काट्नुपरेपछि हलचल गर्न नसक्ने अवस्थामा यहाँ ल्याइएकी थिइन्।

´बूढेसकालमा जसले खान दियो, न्यानो पारेर राख्यो, उनै देउता हुन्,´ उनले भनिन्।

धनलक्ष्मी शाही, ६०, पनि ´कालिमाटी विष्णुमतिमा आफन्त छन्´ भन्छिन्। तर छ वर्षदेखि उनको जीवन यहीँ आश्रममा बितिरहेको छ। ´बहिनीहरूले झुक्याएर यहाँ ल्याए। आँखा देख्दिनँ, अरू त सबै ठीकै छ,´ उनले आफ्नो व्यथा सुनाइन्, ´आमाले धेरै राम्रोगरी राख्नुभा´छ। साथीहरू रमाइला छन्।´

उता माया तामाङ्ग, ७०, को कथा पनि कम ह्रदयविदारक छैन। गुठीका केही असहाय बिरामी परेर वीर अस्पताल लैजाँदा मर्यो भनेर फ्यालिएको अवस्थामा फेला परेकी हुन् उनी।

´अस्पतालमा भींडभाड थियो। मर्यो भनेर फ्यालिएको लाशले आँखा चलायो भन्ने हल्ला आयो। हामी सबै हेर्न गयौं,´ आश्रितमध्येकै हसिना अधिकारीले मायाको पुनर्जन्मको कथा सुनाइन्, ´डाक्टरहरूलाई किन यसरी भुईँमा मिल्काएको भनेर सोध्दा मर्न लागेकाले राखेको भन्ने जवाफ पाइयो।´

त्यतिखेर मायाको जीउमा हाडाछालाभन्दा केही थिएन। गुठीका सबै मिलेर उनलाई अस्पतालकै गाडीमा रविभवन ल्याइपुर्याए। सडकबाट बोकेर भित्र लगे।

´यहाँ ल्याएपछि विस्तारै खान सुरु गरी। अहिले त धेरै ठीक छ। हातखुट्टा भने अलि लुलो छ। घर चरिकोट भन्छे,´ हसिनाले आफ्नोबारेमा कुरा गर्दा धेरै बोलचाल नगर्ने माया भने हामीलाई हेर्दै टोलाइरहेकी थिइन्।

त्यतिञ्जेल धेरैले खाना खान सकिसकेको थियो। लक्ष्मी मगर, मिठ्याई श्रेष्ठ, माया र आशामाया घाममा सुस्ताउन थालेका थिए भने कोही कोठामा फर्किसकेका थिए।

´ए बाबु, तिमी गोरखा जाने भए यो सामान लग्देउ है,´ अघि भर्याङमा भेटिएकी गोर्खाली बज्यै आफ्नो कोठाबाट सकी–नसकी सामानको पोका बोकेर आइपुगिन्। मैले केही जवाफ फर्काइनँ। हुन्छ भनुँ कि हुन्नँ भनुँ, अफ्ठयारोमा परें। बरू त्यो पोको फेरि उनैका कोठासम्म पुर्याइदिएँ।

******

असहायको स्याहारमा हरदिन संघर्षरत् दिलशोभाको आफ्नै जीवन पनि कम संघर्षपूर्ण छैन। २००९ मा थानकोटमा जन्मेकी उनले २०२८ मा प्रेमविवाह गरिन्। चोट त्यतिबेला पर्यो जब छोरा नपाएको निहुँमा लोग्नेले छाडेर गए।

´निकै कष्ट गरेर छोरी हुर्काएँ,´ उनले अतित सम्झँदै भनिन्, ´२०५२ सालमा छोरीको बिहे भएपछि मलाई एक्लो महसुस भयो। त्यतिखेर चाहिँ लाग्यो छोरा हुनैपर्ने रहेछ।´

तर उनको यो छोराप्रतिको मोह धेरै समय रहेन। धेरै धनी–धनी छोरा भएका आमा पनि बूढेसकालमा सडकमा रूँदै हिंडेको देखेपछि उनको मनलाई सान्त्वना भयो। ´त्यस्ता छोरा हुनुभन्दा त नहुनु बेस्,´ उनले भनिन्, ´बूढेसकालमा परिवारबाट एक्लिएर दुःख पाएका असहाय आमा र बाबुहरूलाई देखेपछि मैले जीवनको लक्ष्य फेला पारें।´

वृद्धवृद्धाको सेवा गर्ने अठोट लिएर उनले झन्डै दुई वर्ष राजधानीका सडक, पाटी चाहारिन्। कहिले खाना पकाएर खुवाउन पुग्थिन्, कहिले लुगा बाँड्न जान्थिन्। सबैतिर पुग्न गाह्रो भएपछि सकेजतिका वृद्धवृद्धालाई आफ्नै घरमा ल्याउने सोंच आयो। उनले थपिन्, ´खोज्दै जाँदा मैले यस्तायस्ता असहाय आमाहरू भेटें, जसको अवस्था सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ,।´

आफैंलाई खानलाउन गाह्रो परेकाबेला अन्य असहायहरूको जिम्मा लिएर उनीहरूको समेत पालनपोषण गर्नु सजिलो काम थिएन। सबैलाई घरमा थुपारेर राम्रो देखरेख गर्न नसके जगहँसाइमात्र हुने डर थियो। त्यसैले, जब वृद्धा बिरामी पर्थे, उनलाई पीर पर्न थाल्थ्यो औषधि उपचारमा पैसाको कमी होला कि भनेर। रोगले थलिएका वृद्धाको औषधिउपचारमा अलिकति पनि तलमाथि भए त्यसबाट सबै गाल उनैको थाप्लोमा पर्थ्यो।

´ती दिनहरू सम्झँदा कहाली लागेर आउँछ। धेरैले नदुख्ने टाउको दाम्लो बाँधेर दुखाएको भन्दै मेरो खिस्सी गरे। सहयोगको हात फैलाउन जाँदा ´ल्याउने बेलामा जो पायो त्यही उठाएर ल्याउने, अहिले पैसा खोजेर कहाँ पाइन्छ?´ जस्ता बचन पनि सुन्नुपर्यो,´ उनले संघर्षका दिनहरू सम्झँदै भनिन्।

त्यतिखेर चितवनको सानो खेतबाट आउने केही धान र आफ्नो घरको बहालबाट आउने केही रकमले आश्रितहरूका लागि जेनतेन गाँस जुट्थ्यो। उनले विस्तारै मसला पोको पारेर बेच्ने कामबाट पैसा जोहो गर्न थालिन्। आश्रममा भेट्न आउनेले ल्याइदिने दाल, चामल, तरकारी, बिस्कुटले पनि धेरै गर्जो टर्थ्यो। कुनै बेला हातको औंठी धितो राखेर पसलबाट उधारो सामान ल्याउनुपर्ने समय पनि आएको उनी सम्झन्छिन्।

२०५४ मा पाँचजना असहाय वृद्धाहरूका लागि खानेलाउने र बस्ने चाँजोपाँजो मिलाउँदै उनले सुरु गरेको गुठीमा अहिलेसम्म ५० भन्दा बढीले आश्रय पाइसकेका छन्। अहिले त उनकै छोरी सबनम श्रेष्ठ पनि आमालाई सघाउन आइपुगेकी छन्।

यहाँ आउने असहायहरूले अन्य परोपकारी संस्थामा जस्तो नागरिकता देखाउने, सिफारिस ल्याउने वा फारम भर्ने झञ्झट बेहोर्नुपर्दैन। असहाय भन्नेबित्तिकै बास पाइहालिन्छ।

´उमा ताम्राकारलाई हामीले स्वयम्भूबाट बोकेर ल्याउँदा उनको मानसिक अवस्था ठीक थिएन। आउँदा त सबै ठाउँमा आची गर्थिन्, अहिले धेरै ठीक भएकी छन्। कपाल लट्टा परेको थियो। हामीले काटिदियौं, नुहाइदियौं,´ उनले भनिन्। यस्ता धेरै रोगी, बिरामीहरूलाई सडक वा अस्पतालको अलपत्र अवस्थाबाट टिपेर आश्रित बनाएकी छन् दिलशोभाले।

´जति ठक्कर खाएँ, उति डटेर लागें,´ उनका आँखामा सफलताको चमक स्पष्ट छल्कँदै थियो, ´आज यहाँसम्म आएकी छु। भएको दिन मिठो ख्वाउँछु नभएका दिन पीठो। सबै खुसी छन्। यसैमा सन्तुष्ट छु।´ यहाँसम्म कि आफूलाई अलपत्र पारेर जाने श्रीमान्प्रति पनि निकै सकारात्मक देखिन्छिन्, ´उहाँले छाडेर नगएका भए अहिले धेरै आमाको आमा हुन पाउने थिइनँ।´

दिलशोभाले एकल प्रयासबाट वृद्धाश्रमको अभियान थाले पनि अहिले आएर सहयोगका हातहरू फैलिरहेका छन्। ´आनी छोइङ डोल्माले सोलार किनिदिनुभयो। हरिभजन मण्डलले तल्लापिच्छे धारा, ट्याङ्की राख्न सहयोग गर्नुभयो,´संस्थालाई सहयोग गर्नेहरूको फेहरिस्त लामै छ।

त्यही समय कालिमाटीका नानीछोरी मानन्धर र नुच्छेमान मानन्धर परिवारसहित आश्रितहरूलाई खाना ख्वाउन आएका थिए। तिनलाई हेर्दै दिलशोभाले भनिन् ´अबचाहिँ म मरे पनि यो संस्था मर्दैन भन्ने मलाई विश्वास छ।´


यसमा तपाईंको प्रतिक्रिया
सलाम दिलशोभा आमा! तिम्रो बारेमा पढेपछि मलाई फेरि एकचोटि आफू नेपाली भएकोमा गर्व लागेको छ।
बसन्त basantakg@gmail.com
क्याबात्, काम गर्नु त यस्तो पो । पशुपतिमा ३ किलोको सुन चढाएर कुन स्वर्गमा जान चाहन्छन् मान्छे हँ ?
kali csmr_kr@yahoo.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...