Skip to main content

Posts

Showing posts from March, 2009

बाल अधिकार महासन्धिः समीक्षा आवश्यक

विश्वभर नै विकासका कुराहुँदा बालबालिकाका विषयपनि अनिवार्य रूपमा उठ्ने गर्छन् आजकाल। मानव अधिकारको बृहत्तर छाताभित्र मात्र हालेर नपुगेर नै बाल अधिकार महासन्धि, १९८९ जारी भयो। त्यसपछि बालबालिकापनि वयस्क सरह नागरिक अधिकार राख्ने व्यक्तिका रूपमा पहिचान बनाउने क्रममा छन्। अहिले दक्षिण अमेरिकादेखि एसियासम्म र अफ्रिकादेखि अष्ट्रेलियासम्म बालअधिकारको कुरा प्रष्टसँग सुन्न र अनुभूतगर्न सकिन्छ। यो अवस्था सजिलै आएको चाँहि पक्कै होइन। सबैभन्दा बढी मुलुकले अनुमोदन गरेको र सबैभन्दा प्रगतिशील महासन्धि भनिएतापनि यो कता कता आलङ्कारिक मात्रै हुन पुगेजस्तो देखिन्छ। राज्य पक्षले अनुमोदनमा निकै उत्साह देखाएता पनि कार्यान्वयन कमजोर हुनुको कारण सायद बालबालिकाले राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने नहुनु पनि हुन सक्दछ। अतः १८ वर्षे यूवक भइसकेको यस महासन्धिलाई थप प्रभावकारी र समय सापेक्ष बनाउन र यस अवधिमा देखिएका नयाँ समस्यालाई समेत सम्बोधन गर्नका लागि यसको गम्भीर समीक्षा गर्ने बेला आइसकेको छ। ...

भ्यालेन्टाइनमा ´द ग्रेट सर्कस्´

भवसागर घिमिरे, काठमाडौं, फागुन ३ – ´तिमी फूल हौं गुलाबको, जून हौं आकाशको´ गालामा हात राखेर लोर्के केटोले तरूनी फकाइरहँदा एकहुल केटाकेटी झुम्मिहाले– ´तिमी तारा हौं, सुन्दर छौं...।´ अब त सबै आ–आफ्नै तालले एकै ठाउँमा बसेर कोकोहोलो गर्न थाले। गुजुमुज्ज परेका रङ्गीबिरङ्गी मुहारहरू अकस्मात बजेको संगीतको धुनसँगै छिरलिँदै नाँच्न र गाउन थाले, ´विदुषक (जोकर) को खेल हो साथी विदुषकको खेल, विदुषकको खेल हो साथी विदुषकको खेल।´ शहरका युवायुवती ´भ्यालेन्टाइन डे´ मा रमिरहेका बेला ´द ग्रेट सर्कस २००९´ मा एक्टर्स स्टुडियो काठमाडौंका कलाकारले अभिनय गरिरहेजस्तो पटक्कै लागिरहेको थिएन। हुन त प्रेमलाई कुनै नक्साले समेट्दैन, सीमाले छेक्दैन, भाषाले रोक्दैन। ´तैपनि भ्यालेन्टाइनको नाम लिँदा भानुभक्त बारे पनि जाने हुने नी´ कलाकारले यसो भन्दा दर्शक ताली बजाइरहेका थिए। अनेक रङ्गले पोतिएका मुहार र पहिरन पनि त्यस्तै रङ्गीचङ्गी। अभिनय नगर्दै यी कलाकार देखिन्थे। दर्शकका माझबाट फुरूरू निस्कँदा त झन् गाइजात्रा आएझै लाग्दथ्यो। विक्रम परियारका हात हार्मोन...

सल्काइदेऊ सर्टिफिकेट

राखेर पो के हुन्छ? यिनीहरू अझै थेच्चिएर बसे मार्कसिटमा उक्लेका नम्बरले जुलुस गर्नेछन्। पूर्णाङ्क चुम्न तल्लिन यी अक्षर संग्रहले विद्रोहको शंख फुक्नेछन्, टु...। शंख बज्न थालेपछि बेरोजगार हामी रोजगारको मलामी हिँड्नुपर्छ। कुरो कारखानाको हो। ´बेरोजगार उत्पादन कारखाना´ अर्थात सरकारी विश्वविद्यालय। जहाँबाट बाँडिने ´खोस्टो´ ले हामीलाई ´रोजगार बजार´ मा हैन ´बेरोजगार बगर´ मा लगेर मिल्काइदिएको छ, खोटो सिक्काझैँ। ´खोटो´ बाट ´खाट्टी´ बन्न हामी घनघस्याको´ उकालो चढ्नुपर्छ। यस्तै छ, सरकारी विश्वविद्यालय पढ्नेको हविगत। हुन त गन्नेझारझैँ उम्रेका प्राइभेट कलेजका पनि आफ्नै पीडा होलान्। तर, सरकारी विश्वविद्यालयका उत्पादनको खस्कँदो गुणस्तर चिन्ताको विषय बनेको छ।

राउटे फर्कदै आफ्नै गाउँ

2009-01-02 20:09:55 भवसागर घिमिरे, काठमाडौं, पुस १८ ´कुरा बुझ्यो पत्रकारज्यूहरू, पैसा भइयो भने चामल आइपुग्यो, खसी आइपुग्यो, जनता (आफ्ना समुदाय) को पेट भर्न भइयो´, अछामबाट ५ जनाको समुहमा राजधानी आइपुगेका राउटेका सह–मुखिया ऐनबहादुर शाहीले शुक्रबार निन्याउरो पारामा भने– ´जाने दिनमा पनि जनताका लागि केही हाता आइपुगिन भने नअइया नेपाल भनेर के न के?´ शिक्षा पत्रकार समूह, अनामनगरको सभाहलमा आयोजित ´राउटेका माझ पत्रकार´ नामक सम्मेलनमा राउटेहरू त्यति खुशी देखिएनन्। देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, स्थानीय विकास मन्त्री भेट्न भ्याएका उनीहरूलाई काठमाडौंले धेरै थकाइसकेको थियो।

´पिलेन टिकटको पैसा दिम, भात खान हुन्छ´

2009-01-01 23:26:35 भवसागर घिमिरे, काठमाडौं, पुस १७ ´लौनुस यो तपाईलाई,´ राउटेका सहायक मुखिया ऐनबहादुरले काठको भाँडा प्रधानमन्त्रीको टाउकोमा राख्दै भने, ´प्रधानमन्त्रीलाई भनेर ल्याएका हुँम।´ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हातले शीरको भाँडा अड्याउँदै भने, ´यो टोपी हो? ल ल धन्यवाद।´ समूहमा हाँसोको फोहरा छुट्यो। अछामको बगरबाट दुई दिनअघि राजधानी पसेका ६ जना राउटेको समूह गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई बिहीबार साँझ भेट्न पाउँदा निक्कै खुसी देखिन्थे। दाहालले कुरा भन्न आग्रह गर्दा ऐनले भने, ´भनुँ भने नअइयाँ नेपालको राष्ट्रपतिसँग डर पनि लाग्यो, नभनुँ भने घाँटीमा आइसक्यो कसो?´ उनको कुरा भुँइमा झर्न नपाउँदै प्रधानमन्त्रीले हाँसोको फोहरा छुटाउँदै भने, ´भन्नुस् न किन डर मान्नुहुन्छ?´ ´मेरो नाम ऐनबहादुर शाही हो, उसको सुर्जेनारायण शाही, ऊ प्रकाश, दिलबहादुर, कृष्णबहादुर, अनि वीरबहादुर शाही, आफू र आफ्ना साथीहरूको परिचय दिँदै सहायक मुखियाले थपे, ´आज प्रधानमनत्रीज्यूसँग कुरा गरिर भोलि वई सवार हुने कुरो छ। वई...

संक्रान्तिमा झल्को ´गाँवै´ को...

कल्ले भन्च हरि, मनमा पीर नपरी, बरबर आँसु नझरी ´अपुर (अरू) त बिर्सें क्या। गाउँमा भा´का भे´ सम्झीसम्झी गाउँते,´ पुसको मिठो घाम ताप्न कौसीमा निक्लेकी सावित्रा कार्की, ६०, मुख छोपेर हाँस्न थालिन्। माघे संक्रान्तिमा गाउँमा गाइने भजनबारे बताउँदै गर्दा काठमाडौंमा रहेकी गुल्मेली आमैले भावुक हुँदै भनिन्, ´यो पाला त म यहाँ छु उत्तिको रमाइलो काँ पाम्नी?´ ´किन काठमाडौं?´ ´अब यहाँ छोरीले बोलाई, आउनु परिगो नि,´ दुई सातादेखि बानेश्वर अल्झेकी उनी अझै त्यति नै समय यतै बस्दैछन्। उनका अनुसार चाडबाडका बेला सहरतिर भन्दा गाउँमा धेरै रमाइलो हुन्छ। सबैले आ–आफ्ना छोरीचेली डाक्छन्। पुस मसान्तका दिन खेतबारी, वन गएर तरुल, सखरखण्ड खोजेर ल्याउँछन्, अनि त्यसै रात उसिन्छन्। गाउँमा संक्रान्तिका बेला उसिनेका फल बासी बनाएर खाने चलन छ। चाकु, तिलको लड्डु, चिउरा, मासुजस्ता सकेसम्मका धेरै परिकार बनाएर खाइने हुँदा संक्रान्ति रमाइलो मान्छिन् कार्की। माघ एक गते जेठी संक्रान्ति, दुईमा माइली र तीनमा कान्छी गरेर तीन दिनसम्म रमाइलो गर...

मलाई 'म' मन पर्दैन

भवसागर घिमिरे म मनबाट चलेको छु मस्तिष्कबाट चलेको छैन त्यसैले मलाई म मन पर्दैन पहिला पहिला मेरा मनहरु नसा नसाबाट बग्दै मस्तिष्कमा पुगेर छानीने गर्थे शुद्ध हुन्थे मनहरु अनि म त्यसलाई व्यवहारमा उतार्थे तर आज मनहरु मस्तिष्कमा पुग्न नपाउँदै व्यवहारबाट पोखिने गर्छन् म सँधै मनको कुरा मान्छु मस्तिष्क सदा लाचार भै रहन्छ धिक्कारी रहन्छु म अनि मनहरुलाई किनकी मेरा मनहरु मलाई स्वयं दमन गर्दैछन् लज्जास्पद बनाइरहेका छन् तरपनि म प्रतिकार गर्न सक्दिन मनहरुलाई म हार्दोयुद्ध लडिरहेको छु त्यसैले मलाई म मन पर्दैन ! (२०६१-०१-३१, पोखरा) sagarbhaba@gmail.com

बिरामी काठमाडौंको बयान

बा । आरामै हुनुहोला । रुघाखोकीबाहेक मलाई अरू ठीकै छ । बरु आमाको ग्यास्टि्रक कस्तो भो कुन्नि - जनैपुर्नेमा, छोरो घराँ'मुख देखाउन आएन भनेर दुःख नमान्नु होला । के गर्नु, ह्याँ कामको माचामाच, ऐले साल पनि पोहरकै झै न घर आउन पाइयो न जनै लाउन । बिहान बेलुकी दाल-भात खाइयो सक्किगो चाड । आज गाईजात्रा । तपाईं त्यहाँ भोक, झोक, रोग र शोकले मरेकाहरूको सम्झनामा निकाल्ने गाईजात्रा हेर्दै हुनु होला । म त ह्याँ सरकार बनाउनका लागि भइरा' राजनीतिक गाईजात्रा हेर्दैछु । कैले कस्को धोती फुस्कन्छ, कैले कस्को टोपी फुस्कन्छ, भरै नहुँदो रै'छ । कैले माओवादीले हावा खाने, कैले कांग्रेसले कावा खाने । जे भा'नी, चेपुवामा तपाईं हामी । भन्न त, डाडुले कुटेको श्रीमान् तरकारी थप्दा तर्सन्छ भन्छन् । तर खै यहाँ त कहिल्यै त्यस्तो भएन । जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटब...

जनकारबाही !

उनीहरूले केही सोध्नु छ, आऊ भने मैले पनि लौ त जाउँ भनेँ के था’ मलाई सोध्न हैन गोद्न बोला’रैछन् रीसको झोकमा उनीहरूले मानवीय व्यवहार भुले अँध्यारो गल्ली गल्ली हुँदै सुनसान कारखानाभित्र हुले एउटाले खुब लेख्छस् भन्यो अर्कोले अब देख्छस् भन्यो हत्त न पत्त नाम्लाले बाँधे दर्जनौं मिलेर लात्ताले खाँदे मलाई गोद्नु गोदे, सोध्दै नसोधी गोदे बोल्नै नपाई गोदे पाता फर्का’र गोदे बेजोड हिर्का’र गोदे बुटले गोदे, बेल्टले गोदे गोद्दा गोद्दा मेरो होस गुम हुने बेला बल्ल तिनीहरूले पहिलोचोटि सोधे तैं हैनस् जीवनसागर ? मैले चुटाइले थिल्थिलिएको जीउ चलमलाएँ रगतले पोतिएका आँखा पुलुक्क उठाएँ मधुरो बोलीका लागि सास जुटाएर भने म भवसागर पो त ! भवसागर घिमिरे पोखरा- ३, नदीपुर, हालः त्रिवि, कीर्तिपुर यो कान्तिपुर दैनिकको पाठक मन्च स्तम्भमा  २०६४ -७ -१५ प्रकाशित भएको हो ।

कीर्तिपुरेलाई सास्ती

सर्न्दर्भ कीर्तिपुर यातायातको । बस कम, यात्रु धेरै, त्यसमाथि कर्ीर्तिपुर यातायात व्यवसायी संघको मनोमानी । इन्धन प्रशस्त पाइने विगतमा पनि सिटमा बसेर यात्रा गर्न थोरै भाग्यमानीले मात्रै पाएका थिए । ठेलमठेल गर्दै एउटा मात्र खुट्टा टेकेर, एक हातले डन्डी समाएर, ढोकाबाहिर झुन्डिएर यात्रा गर्नु त छँदैछ, झन् कन्डक्टरको रुखो व्यवहारले नमीठो अनुभव हुन्छ । रत्नपार्कसम्म पुगेर फर्कनुपर्ने केही गाडी साँझपख बल्खु तथा कालीमाटीबाटै फर्किन्छन् । यस्तो मिचाहा प्रवृत्तिले सुन्धारा तथा रत्नपार्क छेउछाउमै धेरै यात्रु बिचल्लीमा पर्छन् । यातायात सेवामा अरू व्यवसायीलाई पनि प्रवेश दिएर प्रतिस्पर्धात्मक यातायात सञ्चालन गरियोस् । जसरी हुन्छ हामीले भाडा तिरेअनुरूप सन्तुष्टि पाउनर्ुपर्छ । - भवसागर घिमिरे त्रि।वि, कीर्तिपुर Kantipur

खेलौना !

भवसागर घिमिरे Saturday, August 2, 2008 दूधभात सेलाउन लाग्या बेलामा, केटा'टीले जिद्दी गर्दै बिलौना गर्‍या बेलामा, हामी तिनलाई भुलाउन खेलौना देखाउने गर्छौं। कुनै अमेरिकन खेलौना, कुनै ब्रिटीस खेलौना, कुनै चाइनिज, भारतीय, जापानीज यस्तै यस्तै खेलौनाहरु देखाएपछि त केटा'टी शान्त हुन्छन्। खेलौनासँग रङ्गिदै दंग पर्छन् अनि सेलाइसक्या दुध भात पनि खप्लाक-खुप्लुक्क खान्छन्। केटा'टीलाई खेलौनासँगै खेलाउने बानी परेका हामी, आफू पनि अरुका हातले खेलाइने गरेको सायदै पत्तो पाइरहेका छौं। हामी हर पाइलामा अरुद्वारा खेलाइने गर्छौँ, हर पल दोस्रो पक्षद्वारा पेलिने र ठेलिने गर्छौँ। लाछारिन्छौं, पछारिन्छौं अनि माथि उक्लने नाममा बजारिन्छौँ पनि। यो गरिब मुलुकका अति गरिब जनता हामी साँच्चै नै अरुका खेलौना भएका छौं। कठपुतली, भाँडाकुटी यी सब हाम्रा पर्यायवाची नाम भैसकेका छन्। हामी धेरै त नेताहरुबाट खेलिने गर्छौं। हामी बीचकै नेताहरु जसका हामी गुडिया हौं। हाम्रा काँधहरुका सिँढी बनाएर उनीहरु चढ्‍ने गर्छन् सत्तासम्म। हाम्रा आवाजहरुका शक्ति बोकेर उनीहरु कुर्लिने गर्छन् सदनमा। हाम्रा पाइलाहरु घरि धकेल्ने गर...

पाठकपत्रको प्रभाव

झापाकी पत्रकार कविता शर्माले स्थानीय एक गरिब तथा दलित परिवारको पीडा गत वैशाख २४ को पाठकमञ्चमार्फ पोखिन् । उनको पत्र पढेपछि स्वदेशबाट मात्र नभई विदेशबाट समेत त्यो परिवारले सहयोग पायो भने कविताले स्याबासी । यो खुसीलाई उनले गत जेठ २६ मा पत्रमार्फ पोखिन् । यस्तै जापानकी टुर कन्डक्टर अकिको तानाकाले नेपाल भित्रिनेबित्तिकै विमानस्थल हाताभित्र आफू यौन शोषणमा परेको दुःखेसो ०६४ पुस ६ को पाठकपत्रमार्फ पोखेपछि प्रहरीले उक्त अपराधको आरोपमा ११ जनालाई पक्राउ गर्‍यो र विमानस्थलको सुरक्षामा कडाइ गरियो ।

अलपत्र बालिका उद्धारको खोजीमा

-भवसागर घिमिरे काठमाडौं, मंसिर २७ एघार दिनअघि यहाँ ल्याउँदा गालामा हात राखेर पाइया, पाइया भन्दै रोएकी थिइ´, दिलशोभा श्रेष्ठले काखकी छ वर्षे ममतालाई देखाउँदै भनिन्– ´फकाउँदै हामी पनि धेरै रोयौं।´ बाउको पत्तो छैन। एक वर्षकी ममतालाई ठूलीआमाको घरमा छाडेर उनकी आमा पनि बेपत्ता भइन्। अर्काको घरका भाँडा माझेरै भए पनि पाँच वर्षसम्म हुर्काइन्। समस्या तब थपियो ,जब ठूलाबाले अर्की श्रीमती भित्राए। ठूलीआमासँगै उनले पनि ठूलाबाको हरदिन गाली र पिटाइ सहनुपर्‍यो। ´जाँड खाएर आउँछ, मलाइ मार्छु भन्छ, यसलाई पनि।´ उनकी ठूलीआमाले रुदैँ आफूलाई भनेको दिलशोभा सम्झन्छिन्– मैले कसैगरी सकिन, तपाईं नै हेर्दिनुस् भनेर छाडिन्। उनी भन्दै थिइन्– अहिले त ठूलीआमाको पनि पत्तो छैन। दिलशोभाले रविभवनस्थित आफ्नै निवासमा ´वृद्धा व्यवस्थापन तथा सामाजिक कल्याण गुठी´ एकल पहलमा चलाएकी छिन। पौष्टिक आहारको अभाव र मानसिक तथा शारीरिक तनावले थलिएकी ममता गुठीमा आउँदा खिरिली देखिन्थिन्।

´सेकेन्ड इनिङ होम´

-भवसागर घिमिरे काठमाडौं, पुस ३ विष्णुमती पुलमुनि बेवारिसे अवस्थामा मिल्क्याइएकी मीना महर्जन, ४५, ले बाँच्ने आशा शायदै राखेकी थिइन्। १० वर्षअघि उनलाई दिसापिसाबको दलदलबाट उठाएर अस्पताल पुर्याउन खोज्दा जीउ बेर्ने एकसरो कपडा जुटाउनधरी धौधौ परेको थियो ´आमा´लाई। ´आमा नआइपुगेकी भए म त्यहीँ सडेर मर्ने थिएँ,´ मीनाले भावुक हुँदै भनिन्। भक्तपुरकी आशामाया शिल्पकार, ८०, पनि छोरीको घरमा बूढेसकाल काट्दै थिइन्। छोरीको मृत्युपछि उनको बिचल्ली भयो। गाउँलेले आमालाई सम्झे, आमाले आशामायालाई। धेरै बिजोगहरूमा संजोग बनेर पुग्ने गरेकी छन् आमा, अर्थात् दिलशोभा श्रेष्ठ। १० वर्षदेखि राजधानीको रविभवनमा सञ्चालित उनको ´वृद्ध व्यवस्थापन तथा सामाजिक कल्याण गुठी´ २७ जना पाका (एक नाबालकसमेत) का लागि जीवनको दोस्रो अध्याय बिताउने ´घर´ (सेकेन्ड इनिङ होम) बनेको छ। कोही मीनाजस्तै सडकबाट उठाइएका छन्, कोही आशामायाजस्तै घरबाट निकालिएर ल्याइएका छन्। ******

समस्याको जालोमा वृद्धाश्रम

भवसागर घिमिरे काठमाडौं, मंसिर १९ कोठा अँध्यारा छन्, साँघुरा छन्। व्यवस्थितरूपमा सामान मिलाएर राख्ने ठाउँ नभएर खाटमुनि कोचिएको छ। सामान त के, मान्छे अट्ने कोठासमेत नभएर कोही प्लाइले पिँढी बारेर बसेका छन्, कोही भर्‍याङछेउ खाट राखेर ढल्किएका छन्। पशुपति वृद्धाश्रमको यो दृश्य हेर्दा लाग्छ, यहाँ बस्ने मात्र होइन, यो ठाउँ नै वृद्ध छ, रोगी छ। यही अवस्थामा जीवनको अन्तिम क्षण बिताइरहेका छन् २ सय ३९ वृद्ध–वृद्धा। अस्ताउ147दो उमेरमा परिवारबाट अपहेलित भएर वा बेघर भएर आश्रम आइपुगेका यी वृद्ध–वृद्धाका लागि यहा147को जीवन पनि सहज छैन। भौतिक पूर्वाधारको कमी र भएको पनि रूग्ण अवस्थामा पुगेकाले ´बाँच्नै गाह्रो भएको´ उनीहरूको अनुभव छ।

डाँफेको सफल उडान

2008-12-07 16:20:34 भवसागर घिमिरे काठमाडौं, मंसिर २२ पुल्चोक इञ्जिनियरिङ कलेजका विद्यार्थीद्वारा निर्मित सानो आकारको जहाज ´ डाँफे´ ले शनिबार पोखरामा सफल उडान गरेको छ। स्वदेशमै निर्मित पहिलो जहाज हेर्न पोखरा विमानस्थलमा लागेको उत्सुक दर्शकको भींडलाई रोमाञ्चित पार्दै रसियाली पाइलट अलेक्जेन्डर म्याक्सिमोभले चारपटक उडान भरेका थिए। दुई सिट क्षमताको उक्त तीन पाङ्ग्रे जहाज हरेक उडानमा डेढ किलोमिटर दूरी पार गर्दै झन्डै एक मिनेट आकाशमा रहेको प्रत्यक्षदर्शी समुन्द्रले पौडेलले बताए। उनका अनुसार हरेकपटक जहाजले भुँइ छाड्दा विमानस्थलभित्र र बाहिर बसेका दर्शकले ताली पिटेका थिए। टोली प्रमुख विकास पराजुलीले डाँफे निर्माणका लागि दुई वर्ष लागेको बताए। ´ उडानको स्वीकृति लिन झन् धेरै दौडधुप गर्नुपर् यो ,´ उनले टेलिफोन सम्पर्कमा दैनिकीसँग भने , ´ आज उडाइ छाड्यौं।´ ´डाँफे´ निर्माणको अनुसन्धानमा उनीस...

राष्ट्रपतिले हँसाए बालिकालाई

राष्ट्रपति लाई भेट्न पुगेका वालिकाहरुको अनुभव भवसागर घिमिरे, काठमाडौं पुस ११ ´राष्ट्रपति त साह्रै रमाइलो पो हुनुहुँदोरहेछ´, उनलाई भेट्न शीतल निवास पुगेकी कैलाली राजिपुरकी सोना केसी १७ ले भनिन्- भेटका क्रममा हामीलाई त्यस्तै अनुभव भयो। राष्ट्रपति डा. रामवरण यादव सबैलाई नमस्कार गर्दै भर्याङ्ग ओर्लेपछि हरेक बालिकाका आँखा उनीतिर तानिए। कसैले त कानेखुसी गर्न पनि भ्याए। उनलाई हेर्न होचो कदकी सोना त कुर्चीबाट जुरुक्क उठ्नै पर्यो। उनीसँगै तेह्र जिल्लाका ५० भन्दा बढी बालिकाले राष्ट्रपतिलाई आफ्ना कुरा सुनाए र उनका पनि सुने। ´पाँचौं राष्ट्रिय बालिका शान्ति शिविर (पुस ८ देखि १२)´ मा भाग लिन काठमाडौं पसेका यीमध्ये नेपालगंजकी सोकिया खान, १७ पनि आज दङ्ग थिइन्। ´मैले त भवन छिर्नुअघि घरमा आमालाइ एसएमएस गरें´, उनले हौसिँदै भनिन्- ´राष्ट्रपतिलाई भेट्दैछु भनेर लेखेको त उताबाट फोनै आयो।´ उनिले थपिन्- ´खुसी व्यक्त गर्ने शब्दै छैन।´ रविना श्रेष्ठ, १५ ले त राष्ट्रपतिमाझ साथीहरु मिलेर चार दिनमा तयार पारेको ज्ञाप...

नानीबाबुकी सुरक्षा

–भवसागर घिमिरे ´भर्खर प्लेग्रुपमा भर्ना भएका बच्चालाई मनाउन धौं धौं हुन्छ,´ साना केटाकेटी भुलाउन सिपालु मेरी पपिन्सकी सुरक्षा रजक, २४, ले भनिन्– ´मनाउँदै गए विस्तारै उनीहरू खुसी हुन थाल्छन् र हामी पनि।´ उनले प्रिस्कूलमा पढाउन थालेको एक वर्षमात्र पुगेको छ। त्यसअघि यसमा न उनको कुनै अभ्यास थियो, न सोच। सबैले तालिम लिए काम पाइन्छ भनेपछि उनी यसमा हौसिएकी थिइन्। मन्टेश्वरी टिचिङ्गको तालिम लिइन् र काम पनि पाइहालिन्। ´अहिले त यिनीहरूसँगै दिन जान्छ,´ पछाडिबाट ग्याप्प समाउन आइपुगेकी आर्सिया श्रेष्ठ, ३, लाई देखाउँदै उनले भनिन्। प्लेग्रुप पढ्ने १८ महिनादेखि ३ वर्षसम्मका यी केटाकेटी सुरुसुरुमा त रोएर कराएर हैरान गर्थे रे। ´कपाल तान्दिथे, कोपर्थे, चिच्याएर रिसै उठाउँथे,´ उनले आर्सियाको गाला मुसार्दै भनिन्– ´तर आफ्नो रिस आफैंमा लुकाएर यिनीहरूलाइ हँसाउँदै फकाउँथें। त्यही भएर पो अहिले मैले भनेको मान्छन्, पछ्याइरहन्छन्।´ फरकफरक वातावरणबाट हुर्केर आएका सानासाना बालबालिकाले बोलेको बुझ्न धेरैलाइ हम्मे पर्नसक्छ। तर सुरक्षा भन्छिन्, ´उनीहरूस...

रमाइलो छ राइम

–भवसागर घिमिरे ´असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने?´ तीन वर्षे सुश्रीन रजकले गीत बीचैमा रोके, ´भो याँ भन्दा त गाउँदिन्, लाज लाग्छ।´ उनको कुरा सकिन नपाउँदै ´राइम´ (बाल गीत) गाउन अघि सरिन् खुशी सरफ। ´टुइङ्कल टुइङ्कल लिटिल स्टार, हाव आइ वन्डर ह्वाट यु आर, अप एबोभ द वर्ल्ड सो हाइ, लाइक अ डाइमन्ड इन द स्काइ´ राइम सकियो, सबैले ताली बजाए। ´मेरी पपिन्स् प्रिस्कूल´ थापाथलीको प्लेग्रुपमा पढ्ने सुश्रीन र खुशी दुवैलाई स्कूल रमाइलो लाग्छ। बिहान साढे नौ बजे स्कूल छिर्ने उनीहरू साढे दुईसम्म त्यहीँ रमाउँछन्। ´हामी पढ्छौं, नाच्छौं, खेल्छौं, चित्रमा रङ्ग भर्छौं, मीठो खाजा पनि खान्छौं,´ सुश्रीनले आफ्नो दिनचर्या बताउँदै गर्दा खुशीले थपिन्– ´हामी सबैको ´सिल्पिङ्ग टाइम´ (सुत्ने समय) पनि हुन्छ।´ यति धेरै काम कुन/कुन बेला गर्ने त? ´पहिला नाइन थर्टी (९ बजेर ३० मिनेट) मा आउने है, अनि प्रेपछि ब्रेकफाष्ट गर्ने,´ सानिब्य पराजुली आफ्नो बोल्ने पालो आएजस्तै गरी अघि सरे, ´त्यसपछि सर्कल टाइममा नर्सरीका द...

मासुमकी क्रुर आमा रमाइन् केटाकेटीसँग

भवसागर घिमिरे काठमाडौं, पुस २२– भारतीय अभिनेत्री शबाना आजमीको नाउँ लिनेबित्तिकै धेरैलाई क्रुर आमाको सम्झना आउँछ। त्यस्ती आमा, जसले एक अबोध बालकलाई रुवाएको सम्झेर आज पनि धेरैका आँखाबाट आँशु झर्छ। सौताको छोरालाई असीमित घृणा गर्दै कलिलै उमेरमा घर छाडेर ´होस्टल´ बस्न बाध्य तुल्याउने त्यस्ती आमा हुन् शबाना। हो म कुरा गर्दैछु चचित निर्देशक शेखर कपुरको सम्वेदनशील सिनेमा ´मासुम´ को, जसमा आजमीको जीवन्त अभिनयले क्रुर सौतेनी आमाको भूमिकालाई अमर बनाएको छ। आजको युवा पुस्ता उनलाई ´फायर´, ´गडमदर´ वा विभिन्न वृत्तचित्रसँग जोडेर हेर्लान्, तर अलि पाकाहरूलाई सोध्ने हो भने शबाना भन्नेबित्तिकै दिमागमा ´मासुम´ फिल्मकै झल्को आउँछ।

किन्न नपाइने पुस्तक प्रदर्शनी

भवसागर घिमिरे काठमाडौं, मंसिर २४ तपाईं मजदुर आन्दोलनसँग जोडिएका पुस्तकको खोजीमा हुनुहुन्छ वा वातावरणीय न्यायबारे प्रकाशित सामग्री? कि मानव अधिकारसम्बन्धी जान्न खोजिरहनुभएको छ? पुस्तकका निम्ति पसल र संघसंस्थापिच्छे धाउँदा दिक्क लागेको हुन सक्छ। त्यसो हो भने एउटा मौका आउँदैछ। विभिन्न गैरसरकारी संस्थाले प्रकाशित गरेका पुस्तकको प्रदर्शनी मंसिर २६ देखि ३० सम्म राष्ट्रिय सभागृह, काठमाडौंमा हुँदैछ। हिमाल एसोसियसन र मार्टिन चौतारीले आयोजना गर्ने ´वैकल्पिक पुस्तक प्रदर्शनी´ मा २८ प्रकाशकले भाग लिनेछन्।

´राज्य पुनर्संरचना´ माथि बहस

भवसागर घिमिरे, काठमाडौं, पुस २१ नेपालको भावी राजनीतिक व्यवस्था कस्तो बनाउने? अर्थतन्त्रको स्वरूपमा के के परिवर्तन ल्याउने? नयाँ राज्य व्यवस्थामा देशको बहुल संस्कृति कसरी समेट्ने? समग्रमा, नयाँ नेपालको ढाँचा कस्तो हुने? सत्ताको जोडघटाउमा व्यस्त राजनीतिक दलले यस्ता प्रश्नको जोडघटाउमा कमै चासो दिएका छन्। तर हिजो (आइतबार) को चिसो मौंसममा नयाँ नेपालको खाकाबारे बौद्धिक जगत तातो बहस गर्न चुकेन। कार्यक्रम थियो– ´राज्य पुनर्संरचना´ माथि छलफल। कार्यक्रममा राजनीतिशास्त्री कृष्ण खनाल, अर्थशास्त्री झलक सुवेदी र मानवशास्त्री मुक्तसिंह तामाङद्वारा संयुक्तरूपमा लिखित पुस्तक ´राज्य पुनर्संरचना : राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिकोण´ माथि समालोचक सिके लालले टिप्पणी गरेका थिए।

पुस्तकमा बाल आँखा

भवसागर घिमिरे, काठमाड ौं , माघ २९- दिनको १४ घण्टे लोडसेडिङमा बालबालिकाले टिभीमा कार्टुन हेर्न पाउने कुरै भएन। यही मौका हो पुस्तक पढ्न बानी बसाल्ने। यसका लागि पुस्तक खोज्न उपयुक्त अवसर दिएको छ राष्ट्रिय सभा गृहमा चलिरहेको साझा प्रकाशनको पुस्तक प्रदर्शनीले। एलाएन्स एकेडेमीका प्रदीप घिमिरे यो मौका चुकाएनन्। उनी आइतबार र सोमबार लगातार पुस्तक प्रदर्शनीमा भेटिए नयाँ बाल पुस्तक खोज्दै। ´म बस्ने नजिकै हो, हिजो पनि आएको थिएँ,´ कक्षा ६ पढ्ने घिमिरेले काखीमा बाल पुस्तक च्याप्दै भने, ´भोलि पनि आउँछु।´ उनी अमित खड्का र अमिता खड्कालाई साथ लिएर आएका रहेछन्। ८ वर्षे अमिताले विजय चालिसेको ´हराएको मूर्ती´ बालकथा संग्रह समाउदै भनिन्, ´आज यो पढेर सक्छु।´ कोही भाइबहिनी एक्लै आएका थिए, कोही अभिभावकसँग। ´मैले त भकुल्लेको साथी किनें,´ सानी बैनी आनासुया राई आमातिर फर्केर हाँसिन। स्विस विकास नियोग, काठमाडौंमा कार्यरत उनकी आमा विमलाले छोरीलाई मुसार्दै भनिन्, ´नानीले आफैं रोजेकी हो यो कथाको किताब।´

एक सफल प्रेम

भवसागर घिमिरे - घरमा उनको मोबाइल खोसियो। ल्यान्डलाइन लक गरियो। चार भित्ता उनका निम्ति चार पहरा भए। गाउँमा दुईको प्रेमसम्बन्ध एक कान, दुई कान, मैदान भयो। ´न घाम लागेको पत्तो हुन्थ्यो, न जुन आएको,´ देवी पराजुली, २१, ले सुस्ताउँदै भनिन्– ´पन्ध्र दिन त तगारोबाट एक पाइला बाहिर टेकिन।´ उनको घर हो नवलपरासी, प्रगतिनगर। दुई भाइ र चार दिदी–बहिनी बीचकी माइली छोरी। वीरेन्द्र स्मृति बाल क्लबमा २०५८ ताका उनले बालापन थाल्दा टोलमै अर्को बाल क्लब खुल्यो। नाम, अमर बाल क्लब। त्यसमै रम्दै थिए उनका जीवनसाथी भोजराज विश्वकर्मा (भोजु)। २०६० को कुरो हो। अमरमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा भोजुको आग्रहअनुरूप देवी र उनका बहिनीले भाग लिए। ´हामीलाई अर्को क्लबमा गएको भन्दै वीरेन्द्र स्मृतिका साथीले बैठकमा बोलाउन छाडे,´ देवीले भनिन्– ´त्यसपछि हामी अमरमै काम गर्न थाल्यौं।´ गाउँमा क्लबले राम्रो छवि बनाउन थाल्यो। क्लबसँगै देवी र भोजुको नेतृत्वमा पनि निखार आउन थाल्यो। यस क्रममा भोजुका केही साथी गएर देवीलाई दिनदिनै भन्दारहेछन्, ´भोजुले तिमीलाई मन पराउँछ नि।´ उनले पनि...

देवकोटाका कृतिमाथि चौतारीमा चर्चा

भवसागर घिमिरे, काठमाडौं, पुस ६ के देवकोटाका कविता प्रदर्शनकारी चेतनाबाट प्रभावित भएका छन्? उनले नेपाली साहित्यमा कस्तो संस्कृति अघि सारे? उनी र उनका कृतिलाई वर्तमान परिप्रेक्ष्यमा नयाँ पुस्ताले कसरी हेर्ने? ´हरेक विषयलाई फरक प्रस्तुति र शैलीमा कवितामा उतार्ने क्षमता देवकोटामा थियो,´ मार्टिन चौतरीद्वारा आइतबार साँझ आयोजित ´पुस्तकमा युवा सरोकार´ विषयक छलफलमा यसको उत्तर खोज्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अंग्रेजी विभागका शिव रिजालले भने। ´पाठकलाई पट्यार हुन नदिन उनले प्रायः कविताका हरफैपिच्छे अनेक मोडहरू दिएका छन्। क्यामराले भ्याउन नसक्ने दृश्य बोकेर उनका कविता प्रस्तुत हुन्छन्।´

पुस्तकतिर सोझिएका आँखा

भवसागर घिमिरे, काठमाडौं, फागुन १- ´पुरानो कोट लगाउ नयाँ पुस्तक किन´ हुलका हुल मान्छे ओइरेको देख्दा हेनरी डेभिड थोरोको यो सन्देश धेरैले सुनेझैँ लाग्छ। स्थान, काठमाडौंको राष्ट्रिय सभागृह। साँझको समय। प्रवेश गर्नेबित्तिकै बाँयापट्टिको भुईभरि ´गरिमा´ मासिकका पुराना अंक छरिएका देखिए। गरिमावरिपरि मान्छे पनि छरिएका। घारमा माहुरी जस्तै। हातमा सयका दुई, दसका तीन र पाँचका एक नोटसहित खुजुरा डलर समातेका आत्माराम घिमिरे मख्ख छन्, पुराना गरिमामा सोझएका तन्नेरी आँखा देखेर। मोल सोध्दै गरेका एक युवतीतर्फ फर्केर उनले भने, ´एक लगे पाँच, तीन लगे दस रुपैयाँ।´ सन्दर्भ हो, साझा प्रकाशनले आयोजना गरेको ´बृहत् पुस्तक प्रदर्शनी–२०६५´ को। मुल प्रवेशद्वारमा झोला राखेर भित्र गएपछि मान्छेको ठेलमठेलमा तपाई पनि एक हिस्सा बन्नुहुनेछ। थुप्रै पुस्तकप्रेमी भेटिने प्रदर्शनीबाट रुकुमका महेन्द्र खड्का भने बाहिरिने तर्खरमा थिए।

रङका अनेक रङ

भवसागर घिमिरे ´ऐया!´ ´मरेस्!´ बत्तीपुतलीकी बिनिता कार्की थापाथली क्याम्पसअगाडि लोलाको चोटमा परेपछि चिढिन थालिन्, ´को मुर्दार हो, लोला हान्ने?´ खै, को हो को? पत्तै पाइनन् उनले। कुर्ताको अघिल्लो भागै भिजाउनेगरी जिउ अँगाल्न आएको पानी टक्टकाउँदै सिंहदरबारतिर सोझिनुको विकल्प रहेन। उनी बाटो लागेपछि एक हुल केटाहरू हाँस्दै क्याम्पसबाहिर निस्किए। होली आउनु कहिले हो कहिले, काठमाडौँ भने पहिल्यै निथ्रुक्क भिज्न सुरू गर्छ। खासगरी महिलाहरू यो भिजाइमा बढी पर्छन्। कार्कीलाई सायद यसको पत्तो थिएन, वा भएर पनि त्यसबाट जोगिने प्रयासमा उनी असफल भएकी हुन सक्छिन्। योबेला सफल हुन्छन् त केवल पिच्कारी बोक्ने, पानीका पोका, रङ खेलाउने केटाकेटी अनि तन्नेरीहरू। होलीलाई लोलाको पर्यायका रूपमा बुझ्ने उनीहरूलाई पर्वको महत्वबारे भने पत्तो हुन्न।

रङसँगको प्रेम

-भवसागर घिमिरे ठाउँअनुसार फागु पूर्णिमा, होली, फागुवा, होरी जे नाम दिए पनि होली निकै प्रचलित पर्व हो। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने यो पर्व फागुन शुक्ल पूर्णिमामा मनाइन्छ। होलीबारे हिन्दुशास्त्र - सत्ययुगमा दैत्य हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी हुन्छिन्। दाजुको आज्ञाअनुरूप विष्णुभक्त भदाहा प्रह्लादलाई मार्ने उद्देश्यले दन्किरहेको आगोमा पस्छिन् होलिका। प्रह्लादलाई आगोले कुनै असर पार्दैन तर त्यस आगोबाट होलिका स्वयं भष्म हुन्छिन्। यसरी शक्तिको दुरुपयोग गर्ने होलिका भष्म भएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको मानिन्छ। – द्वापर युगमा कंशले बालक कृष्ण भगवानको वध गर्न राक्षसनी पुतनालाई पठाएका हुन्छन्। कृष्णलाई आफ्नो विषाक्त स्तनपान गराउन लाग्दा भगवानको शक्तिका कारण पुतनाले आफैं प्राण त्याग गर्नुपरेको घटना हिन्दुशास्त्रमा पढ्न पाइन्छ। त्यसै मृत शरीरलाई जलाएर त्यति बेलाका गाउँलेहरूले खुसीमा फागु उत्सव मनाउन सुरु गरेको धार्मिक मान्यता छ। ...

गाँज्ला है गाँजाले!

बसन्तराज कुँवर शिवरात्रिले वातावरणलाई छपक्कै छोपिसकेको छ। बाबा र सन्तहरूसँगै थुप्रै युवायुवती यतिखेर गाँजामा रमिरहेका होलान्। तर गाँजा चाख्ने सुरमा लत नै बस्न गयो भने? लागूऔषधमध्ये उपल्लो श्रेणीअन्तर्गत पर्छ गाँजा। यो उत्तेजना ल्याउने खालको नभएर लठ्याउने लागूऔषध हो। मुख्यतः दुखाइ कम गर्ने औषधिका रूपमा विश्वमा यसको प्रयोग करिब ५००० वर्षअघि सुरु भएको मानिन्छ। तर यसले साँच्चीकै दुखाई कम गर्ने भन्दा पनि शरीरका तन्तुहरूलाई दुखेको अनुभूति गर्न नसक्ने बनाइदिन्छ। पुराना पुस्ताका मानिस खेतबारी गोड्ने, भारी बोक्ने, पर्खाल लगाउने जस्ता शारीरिक बल पर्ने काममा दिनभर व्यस्त हुन्थे। उनीहरूले जिउको दुखाइ बिर्सन साँझमा सुत्नुअघि गाँजा सेवन गर्ने गर्थे। जोगी तथा सन्तहरू चिसो वा खुला क्षेत्रमा सहजै बस्न, एकान्तमा समय बिताउन र पारिवारिक तथा अन्य झन्झट भुल्न शिवजीको प्रसादका नाममा गाँजा सेवन गर्छन्। जी, ग्रास, हर्ब, पट, बलन्ट आदि नामले पनि गाँजा सेवनकर्तामाझ चर्चित छ। पछिल्लो समयमा नेपालमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी बढी मात्रामा यसको...