बिहान ७ बजिसक्दा पनि हुस्सुले आकाश छोड्न मानेको छैन । वातावरण चिस्सिएकाले बल्ल तल्ल सिरक छोडेर वैठक कोठा सम्म उनीहरु आए । उमेरले बैषलाइ धेरै अगाडि छोडिसकेको थियो । तैपनि यी जोडीलाइ बूढेसकाल आएको पत्तो भने छैन । 'एउटो लौंरो काली काठको एउटो काठ पैंयुँ जेठीमाथि कान्छी थप्ने झिल्के ठिटो मैहुँ । ' भन्दै बोदनाथ अधिकारी ८७ ले गुन्गुनाउदा उनकी जिवन सँगिनी दिलकुमारी ७७ मरिमरि हाँस्न थालिन् । बूढालाइ के चाइयो उनी पनि अझ्झै हौसिएर टुक्का थप्न थाले । चिया ल्याउदै गरेकी नातिनी सुस्मितालाइ देखेपछि बल्ल आफ्नो उमेर ढल्किएको पत्तो पाएछन् । 'मन बूढो छैन उमेर गएर के गर्नु 'भारतिय पल्टनमा युवाअवस्थाका चार वर्ष बिताएका बोदनाथले चियाको चुस्की तान्दै थपे-एकबारको जुनी हाँसखेल गरेरै बिताउनु पर् यो नी । गोर्खा पुख्र्यौली घर भएका अधिकारी जोडी कलंकी काठमाडौं स्थित जेठो छोराको परिवारसँगै बस्दै आएका छन् । पुजापाठसँगै उनीहरुको बिहानी सुरु हुन्छ । 'म त चिया पिएपछि घामलाग्यो भने यसो टोलमा टहलिन्छु ।' बोदनाथ भन्छन्- आफुजस्तै बूढाखाडा भेटेँ भने बुढेसकालको मीठो गफ पनि हुन्छ । ...
...A Blog By Bhabasagar