सुकुम्बासी सपना


लस्करै लाम लागेका टहरा । केही बाँस तथा काठका साटाले बारिएका केही भर्खर इट्टा जोडेर उकासिएका । कहीँ टिन कहीँ प्लास्टिक ओढेर खोलाका तिरमा बसेका । बीचबाट सिउँदो काटिएको साँघुरो धुलौटे बाटो । आवरण सुन्दा लाग्नसक्छ हामी कुनै गाउँमा पुगेका छौं । तर हैन यो राजधानीको व्यस्त रहने सडक थापाथली पुलबाट पूर्वतर्फ देखिने दृश्य हो । यही दृश्यभित्र कैद थिए एक तामाङ बूढा बिरबहादुर ।

बस्ती छेवैको बाग्मतीजस्तै उनको जीवन पनि धमिलिएको थियो । जीवनसँगै पुराना याद पनि धमिलिएका । तीन बीस उमेर काटेका तामाङलाई जीवनमा एउटै कुराको सुर्ता थियो 'कहिल्यै सुखको सास फेर्न पाइएन ।'

अस्तव्यस्त छाप्रोका चार भित्ताभित्र आफ्नी सँगीनीसँग जीवनका अन्तिम उमेर काट्दै थिए उनी । बूढ्यौलीले उनलाई मात्र हैन उनको झुपडीलाई पनि छोएको थियो । जाडोमा चिसो सिरेटो छेक्न नस्कने कोठाका चारबार । पानी परेकाबेला ओत दिन नसक्ने ढुंगा¬-दाउरामा चेपिएका प्लाष्टिकका छाना । त्यसभित्रको सानो संसारमा बितेका वर्ष उनका सिरानीहरु धेरै भिजे केही आँशुले केही वर्षाको पानीले । 'चुहिन्छ के गर्नु' छानो अड्याउन दाउरा बनाउँदै गरेका तामाङले यस संवाददातासँग सुस्ताउँदै भने 'राम्रो बनाउन सकिँदैन काम चलाउने न हो ।'


सानैमा उनका आमाबा नबितेका भए बिते पनि उनीहरुले धेरै सम्पत्ती छाडेर गएका भए आज तामाङ धनका धनीले भन्ने 'सुकुम्बासी बस्ती' मा हुन्थेनन् होला ।

'खै दक्षिणकाली भन्छन् बाउको बस्ती यहीँ चिर थियो भन्ने चाई पत्तो छैन ।'

पुरानो घर कता पर् यो त

प्रश्नको त्यस्तो उत्तर फर्काउँदा उनी छाप्रो मर्मतमा व्यस्त थिए । झरी मौसम आउन लागेकाले उनलाई बास चुहिने चिन्ता थियो । चुहिने एउटा चिन्ता बाग्मती बढेर बास नै बगाउने थप अर्को चिन्ता । चिन्तैचिन्ताबीचको उनको जीवनमा कहिल्यै पूरा हुन नसकेको एउटा सपनाको तुष बाँकी थियो स्थायी बास बनाउने ।

दुई छोरी एक छोराका माउ उनी न आफू पढ्नसके न सन्तानलाई राम्ररी पढाउन नै । सानै दर्जा किन नहोस् पाँच वर्ष त खानेपानी संस्थानको अस्थायी जागिरे पनि भए । सानैमा आमाबाले माया मारेका उनलाई सुरु गरेको पाँच वर्षपछि जागिरले पनि माया मार् यो ।

'नपढेकालाई काँ जागिर मिल्छ र हजुर' उनले दुखेसो गरे 'जागिर छइन्जेल भाडामा बसेको थिएँ जागिर गयो सबै कुरो गयो नी ।'

चालिस सालताका आठ रुपैयाँ मासिक भाडा तिरेर कोठामा बसेको याद छ उनलाई । चिम्सा आँखा ठूलो पार्दै तामाङ भन्छन् 'बाबै अहिले त छोइसक्नु छैन । यो चर्को महँगीमा हामी जस्ताले क्यारी सक्न'

हुन पनि हो चुलिँदो महँगीले उनलाई मात्र गालेको हैन सोलुखुम्बु चम्लाखर्ककी केशरी बस्नेतलाई पनि दुखाउँदै थियो । सानै उमेरमा उनले जन्मघरलाई माइती भनी चिन्न पर् यो । ससुराले परलोक पुग्नुअघि बाँकी रहेका पाखोबारी पनि रित्याए । अनि त पापी पेट भर्न उनले पनि बूढासँगै राजधानी नझरी सुख पाइनन् ।

'दश वर्ष ज्यामी काम गरेँ पाँच वर्ष गलैँचा कारखाना बाह्र वर्ष स्कुलमा' उनले आफ्नो कठिन अतित कोट्याइन् 'उमेर घर्कियो जीउका बल मासिए अनि ऐले के काम पाउनु र खै साह्रै गाह्रो पो हुँदो रहेछ ।'

गाह्रै गाह्रोबीचको जीवनमा उनले भत्काउन नसकेको ठूलो गाह्रो गरिबी थियो । उनका हरेक सपनालाई यही गरिबीले छायामा धकेल्दिन्थ्यो । चार छोरा र दुई छोरीलाई अक्षर चिनाउने एउटो बास बनाउने आरामले खान पुग्ने गाँस जोड्ने यस्तै सपनालाई बिपनामा बदल्न उनले धेरै दौडधुप गरिन् । तर उनलाई छोएर जाने समयले भाग्यमा खरानी धस्यो । अनि त तामाङ बस्ने पौरखी बस्तीकै तीन सय हाराहारीको घरधुरीबीच बस्नेत पनि १८ महिनाअघि मिसिन आइपुगिन् ।

यहाँ आएपछि पनि उनले सन्तोकको सास फेर्न पाएकी छैनन् । घरमा खानु केही नभएपछि काम खोज्न राजधानीको बजार चाहार्नैपर् यो । केही महिनाअघि ज्यामी काम गर्न गएकी उनलाई फर्कनेबेला १ सय ६० ज्याला दिँदै ठेकेदारले ुअब नआउनु भनेछन् ।

'म बूढीले काम गरेको देखेर टिठ लाग्या हुँदो हो' बस्नेतले ठेक्दारका कुरा सम्झँदै भनिन् 'तपाई बूढी आमाजस्तो मान्छे काममा लगाउँदा पनि पाप हुन्छ । बरु घरमै आराम गर्नुस् ।'
यस्तो घटनाले उनलाई 'गरेर खान पनि नसक्ने भएछु भन्दै धेरै रुवाएछ ।

'काममा नजाउँ पेट भोकै जाउँ उमेर देखेर काम दिन अकमकमाउँछन्' उनी यस्तै दोधारमा परिन् । 'ओच्छ्यान परेका बूढालाई खोले काँडो साग सिस्नु भए पनि खुवाउनैपरो आफू खानैपरो । परेन भन्नुस् त' बस्नेतका गह चुलिए 'काम कसरी पाउने पाए पनि बूढो बलले कसरी गर्ने साह्रै उराठ लाग्छ ।'

उराठलाग्दा बेथा धेरैका सुनिए । पिरैपिरबीच मिठा सपना पालेकाहरुका आश भने मरेको थिएन । आफूले आफ्नो पिर बुझे पनि ुबुझ्नुपर्नेहरु ले आजसम्म नबुझिदिएकोमा उनीहरुको ठूलो दुखेसो थियो ।

****
देशमा एक दशक माओवादी जनयुद्ध चल्यो । युद्धका बेला राज्यको पकड गाउँमा खुकुलो थियो । यसले अराजकता असुरक्षा निम्त्याएकाले मान्छेहरु शहरतर्फ विस्थापित हुने क्रम ह्वात्त बढ्यो । शहरी वातावरणसँग घुलमिल भैसकेकाहरु फर्कनेतर्फ कम चासो राख्न थाले । द्वन्द्वपछिको समयमा पनि रोजगार र रोजीरोटीको खोजीमा सहर पस्नेका संख्या बढेको देखिन्छ । बढ्दो जनसंख्याकालाई बासको आवश्यकता शहरले पूरा गर्न सक्ने कुरा भएन । परिणाम धेरै नयाँ झुपडबस्ती बन्दै गएका छन् ।

शहरमा यस्तो बस्ती बसाल्नु पनि सहज छैन । पौरखी गाउँ बनाउन धेरै लडाइँ लड्नु परेको मुकुन्द ढुङ्गाना बताउँछन् । भुमिहीनहरुले गाँसबासको माग गर्दै केही वर्ष अघि साइकल र् याली गरेका थिए । चलननै भैसकेको चक्का जाम पनि गरे उनीहरुले राजधानीमा । लामो समय देखि आन्दोलित उनीहरुले बासका लागि धेरै ठाउँ चाहारे । बास नभएर उठिबास भएकाहरुको नाम पनि टिपाउने काम भयो । सबैका लागि बास बस्न पुग्ने जमिन देखेर उनीहरुले थापाथली बागमती किनारको सरसफाई गरे । बास बस्ने बेलामा राष्ट्रसंघको नेपाल कार्यलय र उनीहरु बीच पनि द्वन्द्व चर्केको थियो । '८ पटक सम्म टहरा भत्काईए र दुईपटक सम्म जलाई ए तर हामी हटेनौं' बस्तीका ढुङ्गानाले भने । गएको पुस महिनामा एक वर्ष भएको खुसियाली पनि मनाए उनीहरुले ।

जग्गामा बस्ती सुरु गरेपनि उनीहरुको बास पुर्ण रुपले सुरक्षित भने छैन । कुनैपनि बेला आपद आउन सक्नेहुनाले पक्की कोठा बनाउन नसकेको कुरा धेरैले उप्काए । 'साथाँ पैसा त छैन तैपनि ऋणै गरेर भएनी पक्की बनाउन हुन्थ्यो' धेरै मध्येका एक बिरबहादुर भन्छन् जग्गाको लालपुर्जा नै नभाबेलाँ आपद आइहाल्न के बेर ।'

बेलाबेलामा बस्तीले आयोजना गर्ने कार्यक्रममा सभासदपनि आउने गरेका छन् । टहरा भत्काईने छैन भनेर आश्वासन दिन पनि सभासद चुक्दैनन् त्यसबेला । तर आजका दिन सम्म ती आश्वासन 'आश्वासनु मात्र भए । नयाँ नेपालको नारा चलिरहेका बखत नयाँ संविधान निर्माणका लागि सुझाव संकलन गर्ने टोलि पनि आएको थियो गएको चैतमा । तर उनीहरुले 'फारम भरेर राख पछि लिन आउँला' भन्दै छाडेर गएकाले बस्तीमा त्यो ढड्डा कसरीभर्ने भन्ने अन्योल छाएको थियो । 'धेरैलॆ भर्देउ भनेर म कहाँ ल्याएका थिए' बस्तीका ढुङ्गाना भन्छन् ुकेही प्रश्न त भरिदिएँ धेरै त आफैलाई बुझ्न गाह्रो भोकसरी भर्ने।'

स्नातक अध्ययनरत ढुङ्गानालाई बुझ्न गाह्रो भएको कुरो धेरै कम पढेका वा अक्षरै नचिनेकाले बुझ्ने त कुरै भएन । 'बुझाउँदै भरिदिनु पर्ने फारम 'भरेर राख लिन आउँला' भन्ने नेताले हाम्रो समस्या बुझ्न आउँलान भन्ने के भर, ढुङ्गानाले गुनासो गरे ।

समयले सिन्धुलीबाट पौरखीबस्ती पुर् याएकी कान्छीमाया तामाङका पनि धेरै सपना छन् । काखे बाल्खा देखि टुकटुकु घरनजिकैको विद्यालय पुग्ने छोरोलाई धेरै पढाउने । चिन्ता पनि छ यो अस्थाई बास उजाडिन्छकी भन्ने । उमेरले चार दशकाट्दा उनको ज्यान खिरिलो बनाएको छ । 'यो ९ महिने केटो हुन्थेन भने ज्यमीकाममा दौडिहाल्थे' काखे छोरोको कपाल मुसार्दै उनले भनिन् 'के गर्नु एउटोको कमाईले ज्यान धान्न पुग्दो रहेनछ ।'

विश्वकै सबैभन्दा ठूलो झुपडबस्तीमा २२ लाख मान्छेहरु बस्छन् । किबेरा नामक त्यो बस्ती केन्याको नाइरोबीमा छ । विश्वका गरिब मुलुकमा मात्र हैन सम्पन्न मुलुकमा पनि यस्ता बस्तीहरु बनेका छन् । युरोपीयन मुलुकतिर यस्ताबस्तिमा आवश्यक शिक्षा स्वास्थ्य सरसफाइ तथा अन्य सुविधा पुर् याउन सामाजिक कार्यकर्ता परिचालन गरिने चलन रहेको जिन जर्माटेन बताउँछन् । राष्ट्रसंघिय बाल महासन्धीका उपाध्यक्ष जर्माटेनका अनुसार ग्रामीण भेगमा स्वास्थ्य शिक्षा र रोजगारीका अवसर नपुगेसम्म शहरमा झुपडबस्ती बढ्ने समस्या रहिरहन्छ । उनी भन्छन् 'युरोपियन मुलुकका झुपडी बस्ती बालबालिकाको स्वास्थ्य शिक्षा र अधिकारका लागि कार्यकर्ताहरुले विशेष ख्याल गर्छन ।'

तर पौरखी बस्तीका कमै मात्र बालबालिकाले गुणस्तरीय शिक्षा पाउन सकेका छन् । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी जेनो आचार्यले अमेरिकन विश्वविद्यालयका साथीबीच उठाएको चन्दाले यहाँको बस्तीमा एउटा विद्यालय बनेको छ । दुइकक्षा सम्म पढाइहुने 'मेची महाकाली प्राथमीक विद्यायमा' अध्ययन गर्ने साना नानीहरुले हातमा किताब कापी बोक्न पाएका भने छैनन् । 'अन्य क्षेत्रमा पुस्तकका लागि सहयोग खोज्दै छौं' जेनोका बाबा देवीराम भन्छन् 'रकम अभावले दुई कोठामा चार वटा कक्षा अटाउनु परेको छ ।'

यो सानो स्कुलमा भएपनि निशुल्क पढ्न पाएकोमा भाइबहिनी भने खुसी देखिन्छन् । साना विद्यालयमा पढ्ने भाइबहिनीका सपना भने साना छैनन् । 'जीवनमा ठूला उद्देश्य नुहनु पनि अपराध हो' भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामका कुरा यहाँका भाइबहिनीले सुने झै लाग्थ्यो ।

हरेकका सपना आ-आफ्नै पिर आ-आफ्नै । तर सबै पिरलाई भुलेर मस्त रमाउने केटाकेटीको स्वभावनै हो । उनीहरु पनि यहाँ रम्न अभ्यस्त भैसकेका थिए । उनका उद्देश्यपनि कलामका गुणगानभन्दा ठूला थिए । डाक्टर ईन्जिनियर पाइलटका कुरा गर्ने मात्र हैन प्रहरी शिक्षक फुटबलर र गाएक बन्ने सपना साँचेका धेरै भेटिए बस्तिमा ।

'आशा र आशावाद शिरमाथि दुर्भाग्य र निराशा पैतालामुनी' जोन उडले 'माइक्रोसफ्ट देखि बाहुन डाँडा' पुस्तकमा यसै भनेका छन् । आश गरौं एउटा दिन आउने छ । जहिले उनका अभिभावकका झै यी सानाका सपनामा तुवाँलो पोतिने छैन ।
(Story of slum area of Thapathali of Kathamandu-2066 by Bhabasagar Ghimire, Nagarik Daily)

Comments