Skip to main content

अधिकारी जोडी

 बिहान ७ बजिसक्दा पनि हुस्सुले आकाश छोड्न मानेको छैन । वातावरण चिस्सिएकाले बल्ल तल्ल सिरक छोडेर वैठक कोठा सम्म उनीहरु आए । उमेरले बैषलाइ धेरै अगाडि छोडिसकेको थियो । तैपनि यी जोडीलाइ बूढेसकाल आएको पत्तो भने छैन । 'एउटो लौंरो काली काठको एउटो काठ पैंयुँ जेठीमाथि कान्छी थप्ने झिल्के ठिटो मैहुँ । ' भन्दै बोदनाथ अधिकारी ८७ ले गुन्गुनाउदा उनकी जिवन सँगिनी दिलकुमारी ७७ मरिमरि हाँस्न थालिन् । बूढालाइ के चाइयो उनी पनि अझ्झै हौसिएर टुक्का थप्न थाले ।
चिया ल्याउदै गरेकी नातिनी सुस्मितालाइ देखेपछि बल्ल आफ्नो उमेर ढल्किएको पत्तो पाएछन् । 'मन बूढो छैन उमेर गएर के गर्नु 'भारतिय पल्टनमा युवाअवस्थाका चार वर्ष बिताएका बोदनाथले चियाको चुस्की तान्दै थपे-एकबारको जुनी हाँसखेल गरेरै बिताउनु पर् यो नी ।
गोर्खा पुख्र्यौली घर भएका अधिकारी जोडी कलंकी काठमाडौं स्थित जेठो छोराको परिवारसँगै बस्दै आएका छन् । पुजापाठसँगै उनीहरुको बिहानी सुरु हुन्छ । 'म त चिया पिएपछि घामलाग्यो भने यसो टोलमा टहलिन्छु ।' बोदनाथ भन्छन्- आफुजस्तै बूढाखाडा भेटेँ भने बुढेसकालको मीठो गफ पनि हुन्छ । 'राम्री ठिटाठीटी देख्नु भो भने अब नानीबाबुको बिहे गर्ने उमेर भएन भनेर जिस्काइदिनु हुँदो रै'छ । लाजले मरिमरी हाँस्छन रे,'  दिलकुमारीले यहिबेला हो भन्दै बूढालाइ पेलिन् ।

एकछिनको चोपिलो हाँसो पछि कुरो परिवार तिरै मोडियो । छोरा हर बिहान डेरि पसल खोल्न कालीमाटी पुग्छन् । बुहारीलाइ खाना तयार पार्न सधै हतारो । 'खाना खाने पालो दिन जानु पर् यो नी पसलमा' दिलकुमारीले तरकारी केलाउदै भनिन्- कान्छो छोरोको परिवार पनि काठमाडौं मै छ । तिनटी छोरीहरुको बिहे भैसक्यो । बूढेसकालमा हामीलाइ सन्तोक मिलेको छ ।
उनले तरकारी केलाउन सक्नै आँट्दा बुहारी सरिता आइपुगिन् । तरकारीको ढकनी लिएर भान्छा छिर्नु अगि उनिले भनिन् 'सानैबाटको सबै कुरो सोध्नुस है । रमाइलोसँग भन्नहुन्छ ।', बूढाबुढीले पालैपालो आफ्नो बाल्यकाल अनि गाउँको कुरो सुरु गर्न थाले । सानैमा बिहेहुँदाको किस्सा रसिलो सँग सुनाए । पल्टनको यात्रासँगै छोराछोरीको हुर्काइबढाइ पनि समेटिदै गयो । 'पछि त उमेर घर्किहाल्यो नी ।' दिलकुमारीले भावुकहुँदै भनिन्- हेर्नुस गाउँछँदा साह्रै दुःख । बूढेसकालमा बिरामी हुँदा उपचारका निम्ति बजार सम्म धाउदा पनि सुःख पाइन्थेन ।
२०४९मा छोरासँग काठमाडौं नै आएरबस्न थाले उनीहरु । बूढेसकालमा परिवारसँगको बसाइ साह्रै सहज भएको छ उनिहरुलाइ । 'दुखबिमार पर्दा सबैले चासो दिन्छन् । हिड्न नसक्दा यता उता गर्न छोरा बुहारी नातीनी कोहिन कोहि भै रहन्छन् ।' बोदनाथले भने, 'अब बूढाबूढीमात्र भा' भे त काँ सक्नु । औंषधिका खानलाइ पानी गरम गर्न मात्र पनि साह्रै गाह्रो पो हुन्छ त ।'
दिलकुमारीले बाउन्न ताका आफु नराम्ररी थला परेको कुरो सम्झीन् । उनको जिउ राम्ररी चल्न सक्दैनथ्यो । धेरैले प्यारालाइसिस भुको भन्थे । 'उबेला त अब मेरो लेखा यतिनै रैछ भनेर धेरै रोएँ' उनले भनिन् 'सकिनसकि भएनि छोराछोरीले राम्रो उपचार गरे । अहिले हल्कै भएपनि हिडडुल गर्न सक्छु । धेरै राम्रो भुछ ।'
धेरै वृद्धवृद्धाको बिजोग देखेकी दिलकुमारीले आफुहरुको बाँकी जिवन राम्रोसँग बित्नेमा आशावादी छिन् । दुःखगरेर छोराछोरीलाइ राम्रो बाटो देखाएका उनिहरु ऐले आफ्नो सन्ततीमा गर्व गर्न पाएका छन् । छोराछोरी मात्र हैन आफ्नै काखमा उनीहरुले नातीनातीना पनि हुर्काए । 'यहीका नाती त दुइटा छन् । अहिले त्यो कुन देश रे,' बुहारीलाइ सोध्धा नसोध्धै दिलकुमारीलाइ ख्याल आइहाल्यो 'ए अँ अँ अष्ट्रेलिया पुग्याछन् । देख्न नपाउदा साह्रै न्यास्रो लाग्दो रै'छ । 'उनीहरु साह्रै रमाइलो गर्थे मलाइ त डोर् यारै टोल घुमाउथे । हाम्रो खानपानमा पनि धेरै ख्याल राख्थे' नातीहरुको कुरो उठ्दा बोदनाथ अगि सरे- ऐले तिनका फोटा हेरेर बस्छु । छिटो आउ बिहे गर्नु पर् यो पनि भन्या छु ।
आमा बा साथ भएकोमा अविभावकको कमि महसुस नभएको सुस्मिता बताउछिन् । 'पाका मान्छे भएपछि घर व्यवहार पनि परिपक्क हुन्छ । उहाँहरु भएर घरनै उज्यालो भएको छ । 'उनीले खुसीहुँदै भनिन् । 'सबै भन्दा ठूलो भगवान त बाउ आमा नै हो । उहाँहरुको सेवागरे तिर्थयात्रा जानै पर्दैन् ।'  उनका छोरा सुस्मिताका श्रीमान् ऋषिले अगाडि थपे-गणेश भगवानले बिचार पुर् याएरै पृथ्वीको सट्टा बाउआमाको परिक्रममा गर् या हुन् ।
बोदनाथ भन्छन् बूढेसकालमा मिठो बचन तातो खाना र न्यानो माया भए पुग्छ । हामीले पाएका छौं यसमा धेरै खुसी लाग्छ । 'हातगोडा फिटीक्कै नचल्दा पनि आफ्नो स्तर अनुसार परिवारले हेरचाहा औंषधिमूलो गर्नुपर्छ । बूढाबूढीको आशिक जुगौंसम्म लाग्छ ।' दिलकुमारीले पनि मनको कु्रा भनिन्- सबै कुरो राम्रो खोजेर मात्र चाहि हुँदैन नी । 'सन्तोषी सधै खुसी असन्तोषी सधै दुखी ।' उनी हाँसिन् ।
अब बा आमाको भान्छा गर्ने बेला भो रे । राम्रो स्वाथ्य र खुसी जिवनको कामना गर्दै मैले कुरो टुङ्गाएँ । 'हैन बाबुको बिहे गर्ने उमेर भएन भन्या,' जाँदाजाँदै बूढाले मलाइ पनि छोडेनन् ।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?