कहिले आउँलान् फर्केर


भवसागर घिमिरे
'आमा बा खै -' पाँच वर्षे छोरी संजिता दराइले यो प्रश्न सोध्दा आमा मिठूमायाको मनमा काँडो बिझ्छ । देउराली गाविस गोप्लीङ्ग गोरखाकी मिठुमाया, ३५ मन कुँड्याउँदै भन्छिन्, 'बिदेश ग'छन, चाँडै आउँछन् ।'
आमाका कुरा सुनेपछि १ कक्षामा पढ्ने छोरी फुरूङ्ग भएर खेल्न दौडिन्छे । मिठूमाया भने कुना फर्केर रुन थाल्छिन् । नरुन पनि कसरी, संजिता पेटमा छँदा उनका बा सन्तबहादुर मुग्लान पसे तर कहिल्यै फर्केनन् ।

सन्तबहादुरको सहित देउराली गाविसमा ७ दराइ परिवार छन् । लोपउन्मुख यी जातीको मुख्य पेश कृषि हो । अरूखेत कमाएर खाने र आफ्नो जग्गा जमिन नभएकाले उनीहरूको आर्थिक अवस्था निक्कै कमजोर छ । निरक्षर सन्तबहादुर र उनका जाहानले राम्रो जागिर पाउने कुरै थिएन । दिनभरको ज्याला मजदुरीले छाक र्टार्न पाँच जनाको परिवारलाइ मुस्किल थियो । सन्तबहादुरको रक्सी खाने बानी मिठूमायाको पिरको कारण बन्थ्यो ।
दर्ुइ छोरा मित्रबहादुर र महेन्द्रलाई कसरी पढाउने र खुवाउने पिरलोले पनि उनलाई छाड्थेन । रक्सिले मातेर आएका सन्तबहादुरको हरदिन कुटाइ सहनु पथ्र्यो उनले । 'एक दिन बिहान हर्दा ढोका खुल्लै थियो,' मिठूमाया भन्छिन्, 'जान्छु पनि भनेनन् र फर्किएर पनि आएनन् ।'
श्रीमान् हिडेपछि घरको सारा जिम्मेवारी मिठूमायामा आइपर्‍यो । चार परिवारको छाप्रोमा चारा जुटाउन उनी हर दिन खेताला जान थालिन् । जेठो छोरा मित्रबहादुर, ११ वर्षौ देखि काममा जान थाले । 'हलो जोत्ने, काल्ना खन्ने, ढुंगा बोक्ने यस्तै गर्थेँ' मित्रबहादुरले भने, 'स्कुल जान पाइन, पढाइ पनि बीचैमा बिग्रियो ।'
साथीभाइ झोला बोकेर स्कुल लाग्दा उनी हलो बोकेर खेत हिड्थे । भाइ महेन्द्र, १५ पनि उनको पछि लाउँथ्यो । तर आफ्नो पढाइ बीचैमा रोकिएपनि उनले भाइलाई भने स्कुल पठाए । 'पछि त काम सकेरै भएपनि म स्कुल जान थालेँ' मीत्रबहादुरले भने, 'नपढेर काम छैन के गर्नु र?'

मीत्रबहादुर अहिले मित्रता उच्चमावि तनहुँको कक्षा ९ पढ्छन् । भाई कक्षा दशमा । गाविसमा नजिकै स्कुल छैन । टाढाको स्कुल । हरेक दिन आउजाउ गाडीभाडा र खाजा खर्चको हिसाबगरि साध्यै छैन । मासिक एक हजारको खर्चले पनि दर्ुइ भाइको पढाइ धान्न मुस्किल छ । 'पढ्न गाह्रो छ' महेन्द्र भन्छन्, 'एसएलसीको वर्ष छोड्न पनि गाह्रो छ ।'
घर छाडेका १/२ वर्षसन्तबहादुरले स्कुलमा फोन गर्थे । 'रक्सी खाएर बोलेको सुनिन्थ्यो, घर के छ कसो छ सोध्दैनथे' मित्रबहादुर भन्छन्, 'आफ्नै सुरमा बोल्थे र फोन काट्थे ।'
गएबाट उनले न पैसा पठाए न कहाँ छु भनेर खबर नै गरे । मुग्लानबाट फर्केका केहीले गुज्रातमा उनलाई देखेको बताएका थिए । 'गएदेखि एक बचन बोल्न पनि पाएको छैन,' मिठूमायाका आँखा एक्कासि रसाए, 'अब त आउँछन भन्ने आश पनि मरिसक्यो ।'
बाहिरी मन मारेपनि उनलाई श्रीमानको सम्झनाले बिझाइ रहन्छ । मित्रबहादुरलाई पनि बाबा आइदिए सघाइदिए हुन्थ्यो झै लाग्छ । 'बैनीले बा खै भनेर सोध्दा मन अमिलो हुन्छ,' मित्रबहादुर भन्छन्, 'उसलाई त सम्झाउँछु तर आफैलाई सम्झाउन सक्दीन् ।'
दशैतिहार आउँदा बाबाको धेरै याद आउँने महेन्द्र बताउँछन् । सबैको घरमा मिठो पाक्दा उनीहरूको छाप्रोमा पिठो जोड्न मुस्कील हुन्छ । धेरै खोजिनिती गर्दा पनि ज्वाइँ सन्तबहादुरको पत्तो नलागेको बुद्धी दराइ बताउँछन् । 'के गर्नु पिछडिएको जाति परियो, आफूलाइ केही आउँदैन' बुद्धी भन्छन्, 'बहिनीको बिजोग देख्दा मन कुँडिन्छ ।'
घरमा खान लाउन गाह्रो भएपनि तीन भाइबहिनी स्कुल जान छाडेका छैनन् । एसएलसी सम्म त दर्ुइ छोराले जेनतेन पढ्दैछन् । 'अब क्याम्पस पो क्यारी पढ्ने हो' महेन्द्र भन्छन्, 'उस्तै परे पढ्नै नपाइएला जस्तो छ ।'
कसैको सहयोग पाए आफूले छोराछोरीलाई राम्रो पढाउँने मिठूमाया बताउँछिन् । यिनीहरूले पढ्न पाएभने मेरो जस्तो दुःख पाउँदैनथे' मिठूमाया भन्छिन्, 'के गर्नु, मुखले भनेर हुँदो रहेनछ, पैसै चाइँदो रहेछ ।'

Comments

  1. touchable....i like it

    ReplyDelete
  2. Really toucable real story.. and real pain of the life.... even many families have like this situation in our country..... nice article

    ReplyDelete

Post a Comment