Skip to main content

बालबालिकाका पुस्तक प्रकाशन र डिजिटलाइजेसन दुवैमा ध्यान दिन जरुरी छ

भवसागर घिमिरे बाल साहित्य सिर्जनामा लामोसमयदेखि लागिरहेका छन् । हालसम्म उनका बाल साहित्यमा कथा र कविताका ११ वटा पुस्तक प्रकाशित छन् । सन् २००९ ताका नागरिक दैनिकको सुरुवातमा शनिबारीय बाल पृष्ठ ‘जूनकिरी’को संयोजन गरेका घिमिरेले बीबीसी मिडिया एक्सनमा कथा मीठो सारंगीको, कथामालालगायतका रेडियो नाटक लेखन तथा निर्देशनमा लामो समय काम गरेका थिए । नेपालमा बालबालिकाको सिकाइ अभ्यास र बालसाहित्यका बारेमा उनीसँग मकालु खबरले गरेको कुराकानी :- बालबालिकाका लागि पठन संस्कृतिको कुरा गर्दा नेपाली भाषामा कोर्सबाहिरका पुस्तक खासै छैनन् र भएका पनि सामग्री र गुदीका हिसाबले गतिला (गुणस्तरीय) छैनन् भन्ने गरिन्छ । अवस्था यस्तो हो र ? यो प्रश्नको उत्तरअघि म के भन्छु भने ‘विज्ञको हिसाबमा म यी कुरा गरिरहेको छैन । छोटो समयको अनुभवको आधारमा मेरा विचारहरू पस्किँदैछु । सिकाइ कहिल्यै सकिँदैन र म हरेक दिन सिकिरहेको छु ।’ तपाईँले भनेको कुरा केही हदसम्म सत्य छ । यद्यपि नेपालमा सबै उमेर समूहका बालबालिकाका लागि पाठ्यपुस्तक नै कम छ भन्न मिल्दैन । प्राथमिक तहका लागि धेरै नै प्रकाशन भएका छन् । केही कमीकमजोरी होलान् तर कम/बढी, गतिलो/अगतिलो भन्ने पक्षहरू तुलनात्मक कुरा हुन् । हाम्रा पुस्तक कुनसँग दाँज्ने ? हामीभन्दा धेरै राम्रो पठन संस्कृति भएका अमेरिकी, युरोपेली मुलुकसँग दाँज्ने कि, हामीसँगै काँध मिलाउँदै विकासमा अघि सरेका, उही अर्थतन्त्र भएका देशसँग दाँज्ने भन्नेमा भर पर्ला । हामी बिस्तारै सिक्दै र सिकाउँदै अघि बढ्दैछौँ भन्छु म । हाम्रोजस्तो पठन संस्कृतिले गति लिन थालेको धेरै समय नभएको देशमा प्रत्येक टोलमा बरु १० वटा रक्सी पसल भेटिएलान् तर केही थान पुस्तक पसल भेट्न अलिक राम्रै हिड्नुपर्ने अवस्था छ । अझ पुस्तकालय धाउन त गाडी नै चढ्नुपर्ला । त्यसमाथि बालबालिका र उनीहरूको पठनपाठनका बारेमा छलफल‚ विचार‚ विमर्श नै कम हुने गर्छ । यस्तो बेलामा पनि धेरै प्रकाशन गृह छन्‚ जसले बालपुस्तक प्रकाशनलाई संख्यात्मक र गुणात्मक रुपमा अघि बढाउँदैछन् ।
अभिभावकले निर्वाह गर्ने जिम्मेवारीमा मूल समस्या छ जस्तो मलाई लाग्छ । छोराछोरीलाई समय दिने, पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढाउने र त्यसका बारेमा छलफल चलाउने चलन निक्कै कम छ । बजारमा भएका पुस्तकहरूको सदुपयोग कत्तिको भएको छ त ? यो प्रश्नको उत्तरबाटै हामी हाम्रो जिम्मेवारीबाट कति पर छौं भन्ने थाहा हुन्छ । यसो हुनुमा हाम्रा राजनीतिक, आर्थिक र वैचारिक कारणहरू पनि हुन सक्छन्‚ त्यतातिर नजाऔंँ । नेपाली भाषामा उमेर समूहलाई हेर्दा किशोरकिशोरीले पढ्ने पुस्तक भने आवश्यकताभन्दा कम छन् भन्नेमा सहमत हुन सकिन्छ । साना भाइबहिनीभन्दा उनीहरूको विचार, हुर्काइ, आवश्यकता फरक छन् । उनीहरूको उमेर समूहलाई हुने पुस्तकहरू थप लेखिनुपर्छ । लेखाइनुपर्छ । साना भाइबहिनीभन्दा उनीहरूको विचार, हुर्काइ, आवश्यकता फरक छन् । उनीहरूको उमेर समूहलाई हुने पुस्तकहरू थप लेखिनुपर्छ । लेखाइनुपर्छ । लेख्ने कुरा एकातिर छ, अभिभावकले मात्र हप्तामा तीन दिन एक एक घण्टामात्रै भएपनि छोराछोरीसँग बसेर साहित्यका पुस्तकका बारेमा कुरा गर्ने, पढाउने र उनीहरूका विचार सुन्ने‚ आफ्नो अनुभव सुनाउने गरेमा त्यसले नेपालको बालपुस्तक प्रकाशनमा धेरै ठूलो असर पार्छ भन्ने लाग्छ । हरेक अभिभावकका सामाजिक सञ्जालका अकाउन्ट छन् । दैनिक दशौँ स्टाटस लेख्नेहरूले नानीबाबुका पुस्तकका बारेमा प्रकाशन गृह वा लेखकलाई सञ्जालमा प्रश्नहरू खासै गरेको पाइँदैन । यदि प्रश्न गर्ने चलन बढ्यो भने त्यसले गुणात्मक पुस्तकको मागलाई बढाउँछ र प्रकाशक तथा लेखकलाई माझिन सघाउँछ । बालबालिकाका लागि विद्यालयको कोर्सबाहिरका (साहित्य वा अरु विधाका पनि) पुस्तक पढ्नु वा नपढ्नुले खास के अर्थ राख्छ ? बाहिरी पुस्तक पढ्नुले ज्ञानको धरातल फराकिलो पार्छ । उनीहरूले सोच्ने तरिका, उनीहरूको व्यवहारमा निक्कै फरक पाउनुहुनेछ । जस्तै: नेपाल के हो भन्नेबारेमा अझै पनि धेरै बालबालिकाको सोचाइ साँघुरो छ । कालो वर्ण देख्यो भने भारतीय भन्ने र थेप्चो नाक र मंगोलियन अनुहार देख्दा चाइनीज भन्ने सोच हाम्रा नानीबाबुमा यसै आएको होइन । हामी अभिभावकले कस्ता पुस्तक पढायौँ र के सिकायौँ त्यसले फरक पार्ने कुरा हो । केही समयअघि एक मधेसी महिलाले काठमाडौँमै आफूले छोरालाई धेरै स्कुल सार्नुपरेको तीतो यथार्थ पोखेकी थिइन् । कालो वर्ण र उसको लवजकै कारण उसलाई भारतीय भन्ने साथीहरू धेरै थिए । हेपाइको वातावरणमा नानीबाबुले सिक्न सक्दैनन् । उल्टै विद्यालयप्रति वितृष्णा पलाउँछ । नेपाल के हो ? हामी कस्ता कस्ता मान्छे छौं नेपालमा ? कुन कुन क्षेत्र छन् ? त्यसबारे चिनाउने पुस्तक त्यो पनि कथात्मक, कवितात्मक शैलीमा पस्किन सक्यौं भने यसले उनीहरूको सोचलाई पनि फरक पार्छ । मनाङमा जन्मिएकी नानीले जनकपुरको मैथिली समुदायका बारेमा ज्ञान राख्न अनि सप्तरीको एक कुनामा जन्मेको भाइले सिन्धुलीका डाँडाकाँडाको संस्कृतिका बारेमा चासो राख्न पुस्तकले सघाउन सक्छ । यसले भोलिका दिनमा समुदाय-समुदायबीचमा द्वन्द्वको सट्टा आत्मियता बढाउन सघाउँछ । बिस्तारै त्यो तहमा बाल साहित्य अघि बढ्नु जरुरी छ र बढ्दैछ भन्ने अपेक्षा छ । हाम्रोमा धेरै विद्यालयमा पुस्तकालय छैनन् । जहाँ समयमा पाठ्यपुस्तक पनि पुग्दैनन् । फेरि बालबालिकाले सानैदेखि घरायसी काम पनि गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरुले बाहिरी किताब पढ्नै पाउँदैनन् । यो अवस्थाको अन्त्य कसरी गर्न सकिएला ? राज्यका जिम्मेवार निकायको भूमिका यहाँ कमजोर देखिएको भने पक्कै हो । आफ्ना सन्तान राम्रो निजी विद्यालयमा पढाएपछि सरकारी तथा सामुदायिक विद्यालयलाई राजनीतिको मैदान बनाएकाले धेरै समस्या आइरहेका छन् । यसले ‘हुँदा खाने’ र ‘हुनेखाने’बीचको खाडल झन् बढाएको छ । बालबालिकाको पढाइलाई पनि नराम्रोसँग गिजोलेको छ । राजनीतिक र आर्थिकसँग गाँसिएका ठूला ठूला मुद्दा समाधान नगरी यी मुद्दाहरू सुल्झाउन गाह्रो छ । साँझको खाना कमाउनका लागि गाई चराउन जाने कि भोलिपर्सिका लागि अहिले पढ्ने भन्ने प्रश्नले धेरै समुदायका बालबालिकालाई सताउँछ । तैपनि खाजा दिएर, शुल्क नलिएर (नाममा मात्र निःशुल्क हुने गरेका पनि छन्) हुन्छ वा छात्रवृत्ति, लुगाफाटो दिएर भएपनि विद्यालयसम्म ल्याउने वातावरण बनाउनु स्थानीय, प्रदेश र केन्द्र सबै सरकारको दायित्व हो । अझ बढी त स्थानीय सरकार नै अग्रसर हुनुपर्ने देख्छु म । यसरी विद्यालयलाई राजनीतिबाट टाढै राख्नु पहिलो काम हो भने त्यसपछि हरेक विद्यालयमा छुट्टै पुस्तकालय अनि तालिका बनाएर ती पुस्तकमा बालबालिकाको पहुँच बढाउन र रस बसाल्न सिकाउनुपर्छ भन्ने लाग्छ । पुस्तकालयहरुमा पनि बालबालिका सम्बन्धि (उनीहरुका रुचीका) किताबहरु खासै पाइँदैनन् । हामीले बालबालिकालाई हेपेर वा कम वास्ता गरेर यस्तो भएको हो ? र यो अवस्था कसरी हटाउन सकिएला ? यतिबेला एउटा अध्ययन सम्झन मन लाग्यो । बाल शिक्षामा कार्यरत ‘रुम टू रिड’ले संस्थालाई प्राप्त २ हजार हाराहारीका बाल साहित्यका पुस्तकमाथि एक अध्ययन गरेको थियो । अध्ययनअनुसार कुल पुस्तकमध्ये स्वैरकल्पनामा ३४ प्रतिशत र गैरआख्यानमा ३२ प्रतिशत पुस्तक प्रकाशित रैछन् । लोककथाका २८ प्रतिशत अनि १ प्रतिशतमात्र विज्ञानका कुराहरू रहेछन् । ह्युमर तथा एडभेन्चरस् विधाको हालत नि उस्तै कम रहेछ । हामी अर्तिउपदेशका कथामा बढी रुमलियौँ कि भन्ने प्रश्न यस नतिजाले उब्जाउँछ । बालसाहित्यका पुस्तकमा हामीले अब साना साना विषय केलाएर लेख्नुपर्ने बेला भने आएको हो । एकातिर हामीजस्ता लेखकका कमजोरी भएका छन् । अर्कोतर्फ व्यवस्थापनको कुरा आउँछ । यहाँ त बिडम्बना के छ भने मन्दिर बनाउन लाखौँ उठ्ने देशमा पुस्तकालय र विद्यालय सुधारका लागि रकम उठ्न कठिन छ । विद्यालय व्यवस्थापनका कमजोरीहरू पनि धेरै छन् । तर समग्रमा भन्नु पर्दा विद्यालय, अभिभावक र स्थानीय निकायको समन्वय धेरै हुनु जरुरी देख्छु म । यससँगै लेखकहरूको लागि पनि उत्साह र उत्प्रेरणा बढाउनुपर्ने देखिन्छ । पाँच हजारमा त्यो पनि कर काटेर बिना रोयल्टि पुस्तक लेखाउने प्रकाशन गृहहरु पनि छन् । यस्तो अवस्थामा कसरी गुणमत्मक पुस्तक आउला ? जब अन्य साहित्यका पुस्तकजस्तै बालसाहित्यमा पनि प्रतिस्पर्धाको बजार बन्छ तब बिस्तारै सबै सुधार हुँदै जाला । साहित्यकारहरूले पनि बाल साहित्यमा कम रुची राखेको जस्तो लाग्छ । नेपालमा बालसाहित्यको अवस्थाचाहिँ कस्तो पाउनुहुन्छ तपाईँ लेखकका रुपमा ? प्रतिष्ठा भनेको कमाउने कुरा हो कसैले दिने/नदिने कुरा होइन जस्तो लाग्छ । जसलाई जेमा रुची हुन्छ‚ त्यसमै कलम चलाउने हो । शायद हामी बाल साहित्यका लेखक, प्रकाशकमै केही कमिकमजोरी भए कि ! जसले अहिले बालसाहित्यलाई अझ उठाउन गतिलो टेको दिन सकिएन । अन्य विधामा नाम चलेका लेखकहरूले बालसाहित्यका पुस्तक नै नलेखेका भने होइनन् । जस्तैः बुद्धिसागर, नयनराज पाण्डे, आन्विका गिरीलगायतका धेरै साहित्यका सर्जकहरूले बालबालिकाका लागि पनि लेख्नुभएको छ । यहाँ त बिडम्बना के छ भने मन्दिर बनाउन लाखौँ उठ्ने देशमा पुस्तकालय र विद्यालय सुधारका लागि रकम उठ्न कठिन छ । लेखनकै कुरा गरौं, लेखकले पाउने पारिश्रमिकको कुरा पनि उठ्छ । लेखेरै बाँच्ने भन्ने त औँलामा गनिनेमात्र होलान् । आफ्नो अन्य मूल जागिरसँगै बालसाहित्यमा कलम चलाउनेजस्तो अवस्था छ । यसले पनि लेखकलाई त्यसमा लागिरहन, लेखनकै अनुसन्धानका लागि घुम्न‚ डुल्न र समय छुट्ट्याउन गाह्रो बनाइरहेको छ । अर्को भनेको वितरणको कुरा पनि हो । कहाँ वितरण भइरहेका छन्, कस्तो प्रतिक्रिया छ भन्ने थाहा पाउन सहज छैन । मलाई लाग्छ, मिडियाले पनि बालसाहित्यलाई त्यति स्थान दिइरहेको छैन । अन्य पुस्तकका बारेमा पूरा पेज खर्च गर्ने धेरै मिडियाले बालपुस्तकका समाचारलाई छोटकरीमा राख्न पनि कञ्जुस्याइँ गरेको पाइन्छ । जसरी अन्य पुस्तक प्रकाशन भएपछि त्यसका बारेमा पत्रपत्रिकामा चर्चा परिचर्चा गर्ने, प्रदेश प्रदेशमा लन्च गर्ने गरी एउटा महोत्सव झैँ गरिन्छ‚ बालसाहित्यमा भने त्यस्तो नगण्य नै हुने गरेको छ । अर्को कुरा, बालबालिका भनेका केही नजान्ने हुन्, उनीहरूलाई सिकाउनुपर्छ भनेर अर्तिउपदेश दिनेखालका पुस्तक रचना पस्किने प्रवृत्ति हामीमाझ धेरै छ । यहि समाजको एक हिस्सा भएकाले म आफैँमा पनि त्यो कताकताबाट निस्केको पाउँछु । मेरो चुनौति भनेकै मेरा आफ्ना त्यस्तै उपदेशी विचारहरू हुन् । शायद धेरैको त्यही होला । हामी साथी भएर कम लेख्छौँ कि भन्ने लाग्छ । यो पनि अहिलेको बालसाहित्यको मूल समस्या हो । धेरै समस्या भए पनि साहित्यको यो बाल पाटो बिस्तारै अघि बढ्दैछ झैं लाग्छ । बाल साहित्य समाज होस् वा बालबालिकामा काम गर्ने रुम टू रिडलगायत अन्य संस्थाहरू सबैले केही न केही प्रयास गरिरहेका छन् । अब यहि बजेटमा प्रतिबद्धता जनाएअनुसार नेपाल सरकारले बाल प्रज्ञा प्रतिष्ठान पनि छुट्टै स्थापना गर्दैछ । यसले पनि केही ऊर्जा थप्ला कि ! तपाईँलाई चाहिँ बालबालिकाका लागि पुस्तक लेख्न के कुराले प्रेरित गर्छ ? संसारमा प्रकृतिको सबैभन्दा सुन्दर रचना केही छ भने त्यो बालबालिका नै हुन् । उनीहरूका लागि लेख्न निक्कै आनन्द लाग्छ । अभिभावकले पनि बालबालिकालाई कुनै पर्व‚ उत्सव वा खुशीयालीमा धेरैजसो खेलौना, लुगाफाटो, खानेकुराजस्ता उपहार दिने गरेको पाइन्छ । बालबालिकाका लागि पुस्तक उपहार दिन सकिँदैन वा यो बानी बसाउन आवश्यक छैन ? एकदमै जायज कुरा । बर्थडेमा पुस्तक दिने वा कुनै विद्यालयका लागि पुस्तक दान गर्ने चलनमात्र चलाउन सके धेरै राम्रो हुन्थ्यो । बालबालिकालाई साहित्यसँगै सिकाइका पुस्तक पनि आवश्यक छ । सिकाइ केन्द्रित पुस्तकहरू नेपालमा र नेपालीमा एकदमै कममात्र पाइने गरेको पनि अभिभावकको गुनासो छ नि ? संसारमा यतिधेरै विषयहरू छन् । अभिभावकका चाहनाहरू पनि धेरै खालका छन् । फरक फरक विषयमा लेखिएका रचनात्मक बाल पुस्तकहरू पाउन मुस्किल भएको कुरा सत्य हो । जस्तै उदाहरणका लागि‚ माहुरीले कसरी मह पार्छ ? कमिलाले पातै पातको घर कसरी बनाउँछ ? पृथ्वीले कसरी सबै वस्तुलाई आफूतिर तान्छ ? जस्ता मसिना बाल प्रश्नहरूका लागि नेपालीमा पुस्तक खोज्न गाह्रो हुनसक्छ । ‘साझा शिक्षा ई-पाटी ई-लाइब्रेरी’बाट पनि धेरै बाल पुस्तकहरूमा केही बालबालिकाको पहुँच पुगेको देखिन्छ तर प्रचार भने कमै छ । नेपाल सरकारसँगै अब प्रकाशन गृहले पनि यसमा काम गर्नुपर्ने देख्छु । अर्को उमेर अनुसारको बाल मनोविज्ञानका बारेमा पुस्तक पनि छुट्ट्याएर लेखिएका कम छन् । जस्तैः भाइ पाएपछि मलाई माया कम भयो भन्ने बाल मनोविज्ञान । ‘के म दाइभन्दा कमजोर छु ?’ भन्ने छोरीको मनोविज्ञानलाई लिएर लेखिएका पुस्तक । रमाइलो गणित, विज्ञानका पुस्तक । अपांगता र ब्रेल लिपीका बालपुस्तक भनौँ । यसअघि भनेको जस्तो उमेर समूहअनुसार किशोर किशोरीका साना उपन्यासहरू । यसरी केलाएर खोज्यो भने पुस्तक पाउन गाह्रो होला । हाम्रो देशमा यस्ता केलाइएका मसिना विषयहरूमा लेख्ने र प्रकाशन गर्ने समय बिस्तारै आउँदैछ भन्ने लाग्छ । समयको मागलाई पक्कै पनि बाल साहित्यको माहोलले सम्बोधन गर्ने नै छ । अब त सिकाइ पनि डिजिटल प्ल्याटफर्ममा जान थाल्यो । यसबारे पनि हामीले खासै सोच्न सकेको जस्तो देखिँदैन । यो हाम्रो सन्दर्भमा कत्तिको जरुरी, कत्तिको सम्भव र कत्तिको ध्यान दिनुपर्ने विषय हो ? निक्कै नै । बिस्तारै संसार इन्टरनेटको युगमा डुबुल्की मार्दैछ । हामीले स्नातकोत्तर हुँदा बल्ल टुकटुके मोबाइल छुन पाएका थियौँ । आजकलका केटाकेटीले जन्मेको ६ महिनामै फोन चलाउँदैछन् । त्यो पनि डिजिटलवाला । तर पनि हातले छोएर पढ्ने पुस्तकको छुट्टै महत्व र फाइदा छन् । शायद डिजिटलमा उपलब्ध धेरै सामग्रीहरू अंग्रेजी र हिन्दी भएकाले बालबालिकाको नेपाली मोह कमजोर हुँदै गएको छ । डिजिटलमा मात्रै ध्यान दिँदा किताब प्रकाशन र पठन संस्कृतिमा मात्रै होइन‚ बाल स्वास्थ्यमा पनि धेरैखाले चुनौतीहरू आउँछन् । त्यसैले म त दुवैतिर उत्तिनै हात चल्नुपर्ने देख्छु, प्रकाशन र डिजिटलाइजेसन । लकडाउनले पनि ईपुस्तकालयको सोचलाई थप मलजल गरेको छ । ‘साझा शिक्षा ई-पाटी ई-लाइब्रेरी’बाट पनि धेरै बाल पुस्तकहरूमा केही बालबालिकाको पहुँच पुगेको देखिन्छ तर प्रचार भने कमै छ । नेपाल सरकारसँगै अब प्रकाशन गृहले पनि यसमा काम गर्नुपर्ने देख्छु । साथै लेखकले पनि पुस्तक लेखेपछि यसलाई कसरी सबैखाले पाठकमा पुर्यापउने भन्नेबारेमा सोच्ने बेला आएको छ । 2078-04-16 shorturl.at/qrzFT

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...