Skip to main content

त्रिवि पनिकाले भुलेको पसिनाको मूल्य

-भवसागर घिमिरे

"वातावरण सफा राखी, सभ्यताको परिचय दिऔं’
 
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खु। गेटबाट भित्र पसेपछि देब्रेतिर उकालो चढ्दा झ्याल नम्बर ९ आउँछ। त्यो झ्यालको आडैमा लेखिएको भनाइ हो यो।
 
पढाउन सजिलो छ, आफै व्यवहारमा उतार्न गाह्रो छ भनेझै यो भनाइले नै पनिकालाई गिज्याइरहेको भान हुन्छ। 
 
एउटा ट्रान्स्क्रिप्ट निकाल्ने फारम भर्न, त्यहीँ भित्र रहेको ग्लोबल आइएमई बैंकको काउन्टरमा पुगेर भौचर काट्न, त्यसलाई दाखिला गरेर कार्यालयको अर्को रसिद बुझ्न अनि अन्त्यमा सबै कागजात बुझाउन कति समय लाग्ला?
 
फारम भर्न १० मिनेट। बैंक भौचर १० मिनेट। रसिद दाखिला र बुझाउन २० मिनेट। लगभग ४० मिनेट। चालीस मिनेटमा सकिनुपर्ने कामका लागि तपाईंको तीनदेखि चार घन्टा समय खेर जान्छ। देशको सबैभन्दा ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलय आफैं परीक्षामा ब्याक लागेर बसेजस्तो छ।


बैंक भौंचर भर्ने लाइन। त्यसको दाखिला गर्ने लाइन। दाखिला गरेपछि फेरि बुझिलिन बस्नुपर्ने लाइन। बुझेपछि फारम बुझाउन बस्नुपर्ने लाइन। तीन घन्टा समय त लाइन बसेर मात्र बित्छ। तपाईं मात्र हैन, तपाईंसँगै लाम लागेर, यो गर्मीमा चर्को घामको मज्जा लिँदै पसिनाको सावर बाथ गर्दै निरीह ठिंग उभिने दुई तीन सय अन्य साथीहरूको समय पनि यसरी नै खेर जान्छ। अझ ५० रुपैयाँ तिर्न दुई तीन घन्टा लाइन बस्नुपर्दा जो कोहीको मनमा ठूलो ढ्याग्रो बज्छ। यही लाइन बस्ने हुलका बीच धेरै प्रचलित भनाइ तपाईंका कानमा पनि पर्न सक्छ, ‘साला, यो त्रिविमा पढ्न र पास हुन भन्दा मार्कसिट निकाल्न गाह्रो छ।’
 
अझ गाह्रो त तपाईंलाई तब हुन्छ जब तपाईं आफूले गर्न आएको काम र प्रक्रियाबारे अनभिज्ञ हुनुहुन्छ। त्योभन्दा गाह्रो तब हुन्छ, जब तपाईंको मार्कसिटमा नाम बिग्रेर आउँछ, नम्बर तलमाथि पर्छ, जाँच दिएर पनि एब्सेन्ट आउँछ, रजिष्ट्रेसन नम्बर गडबड हुन्छ। त्रिविकै गल्ती हो भनेर तपाईं छाती नफुलाउनु होला, यता दौडदा उता दौडदा, निवेदन लेख्दा वातावरण यस्तो बन्छ, गल्ती त्रिविको भए पनि त्यसको सारा अपजस तपाईंले व्यहोर्नुपर्छ। 
मैले भोगेका धेरै समस्यामध्ये एउटा सामान्य उदाहरण। मेरी बहिनीले कास्कीबाट बिबिएस दोस्रो वर्षमा दिएको एउटा परीक्षामा रिजल्ट एब्सेन्ट आयो। अब के गर्ने? जाँच दिएपछि पनि कसरी गयल आउँछ? जाँच दिँदा गरेको हाजिरी उतारेर कास्कीबाट काठमाडौंसम्मको यात्रा एक वर्षअघि गरेपछि थाहा लाग्यो जसले कम्प्युटरमा फारम इन्ट्री गर्छ उसले गल्ती गर्देछ, अर्कैको नाम हाल्देर। बल्खुकै पनिका कम्प्युटर सेक्सनमा पुगेर आफैले देखेको तथ्य हो यो।
 
कास्कीदेखि काठमाडौंसम्मको प्रक्रिया पूरा गर्न कति आर्थिक र मानसिक तनाव खेप्न पर्यो त्यसका बारेमा कुनै नयाँ महाभारत लेखौंला र सुनाउँला। वा तपाईंले कालिकोटदेखि काठमाडौंको चक्करमा परेका कोही भेट्नुभयो भने त झन् दुईवटा महाभारत सुनाइदिन सक्छन्।
 
सबै प्रक्रिया मिलाएपछि ट्रान्स्क्रिप्ट  झिक्न जाँदा माथि भनेझैं लाइन नै लाइनको चक्करमा परियो। अझ तपाईं पनि मजस्तै कुनै कार्यालयबाट एक घन्टा खाजा खाएर आउँछु भन्दै भाग्नुभएको छ भने बुझ्नुहोस् तपाईंले खाजा त खान पाउनुहुन्न नै फर्केपछि साँझ कार्यालयमा गाली चाहि पक्कै खानुहुनेछ।
 
अचम्मको कुरा त के छ भने बैंक भौंचर काट्न यति धेरै संख्यामा विद्यार्थी आउँछन् भन्ने त थाहा नै हुन्छ। साधारण बुद्धिले भेउ पाउने कुरा, काउन्टर थप्न सकिन्न र भन्या? बल्खुबाट दस मिनेट दुरीमा रहेको ग्लोबल बैंककै टियुगेट काउन्टर धेरैजसो खाली रहन्छ। तर तपाईंलाई यति सूचना दिने पनि कोही हुँदैन र व्यर्थै २ घण्टाको चोखो लाइनमा उभिनुपर्छ पनिका बल्खुमा। 
 
 
सँगै लाइनको लाममा भेटिएका साथीहरूका रिजल्ट बिग्रेका, मार्कसिट बिग्रेका, रजिष्ट्रेशन नचढेका जस्ता त्रिविका त्रुटीपूर्ण कहानीहरूका ठेली सुनाउन अर्को रामायण लेख्न पर्छ। त्यसैले ‘बेरोजगार विद्यार्थीहरूका टाउकोमा त्रुटिका ठेली बोकाएर पनिका कसरी हाइ काढ्दै आफ्नो रोजगार सिर्जना गरिरहेको छ’ यसको कुरा पछि गरौंला। टचस्कृनको दुनियाँमा टाइपराइटरमा चलेको जस्तो लाग्ने यो कार्यलयमा बल्ल तल्ल मैले ट्रान्स्क्रिप्टका लागि फारम बुझाउने काम सफलतापूर्वक सम्पन्न गरेँ। त्यो प्रिन्ट गरेर मलाई दिन पनि दस दिनको समय दिए। मैले फेरि १० दिनपछि तारिख धान्न जानुपर्ने भयो। समयमा काम भयो भने त देश बनिहाल्छ। मैले सोचेरै १६ दिन पछि जाँदा उनीहरू भन्छन्, ‘पेन्डिङमा छ, फारममा लेखेको सिम्बोलन नम्बरमा पास छैन।’
 
लामो न लामो लाइन बसेर झ्यालमा पुगेपछि तपाईले यस्तो सुन्नु भयो भने के होला ? टाउको हद भन्दा बढी दुख्यो नी। अचम्म लाग्दो कुरा त जसले मलाई फेल छ भनिराखेका छन १६ दिन अघि उनैले हेरेर ट्रान्स्क्रिप्ट निकाल्न मिल्छ पास छ भनेका थिएँ। मैले यही बिन्ती उहाँ वरिष्ठसँग बिसाएपछि उहाँले झर्किदै फेरि कम्प्युटर हेर्न सोझिनुभयो र भन्नु भयो, ‘ए ठिक रैछ अब एक हप्तामा आउनुहोस्।’
 
अब भन्नुहोस्, यस्तो सुन्दा तपाईंलाई कस्तो लाग्छ ? हलुवा खाँदा बालुवा मात्र हैन गिट्टी पनि निलेजस्तो हुन्छ। यस्तो लाग्छ, यो पनिकालाई कुनै ऐतिहासिक म्युजियममा लगेर राखौं ताकि हामीसँग यस्तो कार्यालय पनि थियो भन्ने भोलिका पुस्तालाई थाहा दिन हुन्छ। मेरो आक्रोशपछि कर्मचारीले अझ चर्को स्वरमा थपे, ‘गोप्यबाट बल्ल हिजो मात्र नम्बर आछ तपाईंले भनेको बेलाँ काम काँ हुन्छ ?’ 
 
गोप्य शाखा भन्ने शाखाको बखान पनि यहाँ नगरौं। कुनै दिन तपाईं जानुभयो भने गोप्यको अतिगोप्य हैरानी पनि भोग्नु नै हुनेछ। तथ्य कुरा यहाँ के छ भने गोप्यबाट दुई वर्षअघि एब्सेन्ट हैन भन्ने कागजातका साथ सारा प्रक्रिया पूरा गरेर म आफैंले नम्बर मिलाइसकेको थिएँ। दोस्रो वर्षको परीक्षा पास भएको भन्दै गोप्यले अब सोझै तेस्रो वर्ष पास भएपछि ट्रान्स्क्रिप्ट निकाल्नु भन्ने आदेश मलाई दिएको थियो। अहिले फेरि एक हप्तामा बोलाउने वरिष्ठ सरको गल्ती बुझ्न गाह्रो थिएन। उनले चेक गर्दा गरेको सानो गल्तीले म फेरि एक हप्तापछि पनिका कार्यलयमा तारिख धाउनु थियो। एक हप्तापछि पुगेर नै मैले साढे दुई घन्टाको चोखो लाइन बसेर ‘ट्रान्स्क्रिप्ट’ नामको एउटा कागतको खोष्टो लिँदा मलाई उकालो काटेर थानकोट पुगेको ट्रकले सास फेरे जस्तो लाग्यो।
 
बजेट बेलैमा खर्च हुन नसकेर फिर्ता हुने देश मेरै हो। यहाँ बजेट पुगेन, यस्तो भएन र उस्तो भएन भनेर हाइकाढ्नेहरू धेरै छैन। सेवाग्राहीलाई दुःख दिन्न भन्ने सोचको लागि पैसा हैन म केही नयाँ काम गर्छु भन्ने इच्छाशक्ति चाहिन्छ जसलाई पनिकाले पूरै लत्याएको छ। कुन दलको झण्डामुनि टाउको लुकाउने भनेर रातोदिन सोच्नेहरुले कुपन सिस्टम मात्र गर्दिएको भए धेरै विद्यार्थीले घाममा हैन शितलमा टाउको लुकाउन पाउँथेँ। 
 
त्रिवि पनिकाको वरिष्ठ कुर्चीमा बसेर त्यहाँको प्रकाशनको वरिष्ठ व्यक्ति हुँ भन्नेलाई मेरो सानो अनुरोध, ‘विद्यार्थीलाई सहज हुने सिस्टम बसाउनुहोस्।’
 
मेरो काम भयो कि भएन भनेर बुझ्ने हटलाइन बनाउनुहोस्। पासपोर्ट आयो कि आएन भनेर जिल्लामा बुझ्न मिल्ने फोन सेवाजस्तो। यसो गरेमा कम्तीमा कामै नबनेकाले त्यहाँ पुगेर हजुरलाई नमस्ते गरिराख्न पर्दैन।
 
कम्तीमा एसएलसीको जस्तो रिजल्ट अनलाइनमा हेर्न मिल्ने र मार्कसिटको नक्कल पनि हेर्न मिल्ने बनाउनुहोस्। फोटोकपीले काम चल्नेहरू ओरिजिनल नचाहिएसम्म हजुरको दैलोमा लाइन बस्नु पर्दैन।
बैंकको काउन्टर बढाइदिनुहोस्, ताकि लामो लाइन लागेका विद्यार्थीका नुनिला पसिनाले त्यहाँका कलिला दुबोहरू नमरुन।
 
गर्न सकिने धेरै काम छन्। सबै सुनाउने हो भने तपाईंको टाउको पनि दुख्न सुरु होला। थोरै नै सुरुवात मात्र गर्यो भने पनि पनिका बल्खुको वातावरण सफा राख्न मद्दत गर्छ।
 
हैन भने झ्याल नम्बर ९ मा आडैमा लेखेको ‘वातावरण सफा राखी, सभ्यताको परिचय दिऔं’ भन्ने बोर्ड उप्काएर फाल्दिनुहोस्। भोलि कुनै दिन तपाईंलाई पनि नयाँ सिस्टमले उप्काएर फाल्नेछ।
http://setopati.com/blog/49047/

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...