खड्गमायादेखि मनमायासम्म

Bhabasagar Ghimire's picture
घुर्बिसे पन्चमी पाँचथरको आफ्नै सानो होटलमा उनी चिया पकाउँदै थिइन् । चिया पिउन आएकाहरुसँग ठट्टा पनि गर्दै थिइन् । मनमायाको कथाका लागि कलाकार खोज्दै पाँचथर पुगेको म उनैको पसलमा बसेर तीनै खड्गमाया दिदीलाई नियाली रहेको थियो । उनी पसलमा उधारो खाएकालाई पैसा तिर्न कराउने मात्र हैन सधैं आइरहने ग्राहकलाई रमाइलो व्यवहारले आइरहने बनाउन तल्लित थिइन । यीनै खड्गमायालाई नाटककी हठ्ठी मनमाया बनाउने सोच मेरो मनमा त्यसै बेला आयो । उनी कथा मिठो सारङ्गीको नियमीत सुन्ने गर्छिन भन्ने थाहा पाएर मेरो आत्मविश्वास झन् बढ्यो । 'दिदी यो कथा मिठो सारङ्गीको नाटक खेल्नु हुन्छ, ' मेरो प्रश्न सुन्ने बित्तिकै उनी अलमलमा पर्दै भनिन् 'आम्मै काँ सकुँला र ?'


तर सबै कुरा बताएपछि भने उनी कलाकार छनौटमा भाग लिन राजी भइन् । 'मैले नाटकमा अभिनय गर्नेबारेमा सोचेकै थिइन्', ४२ वर्षे खड्गमायाले भनिन्, 'एकाएक कसरी खेलेँ थाहै पाइन् ।' गत फागुन महिना उनले नाटक खेल्नका लागि ८ दिन पसल छाड्नु पर् यो । उनको पसलमा कहिले श्रीमान त कहिले बहिनी बसेर व्यापारमा सघाएछन् । नाटक बज्न थालेपछि भने उनका पसलमा आउने मान्छेको चाप बढे । 'जो पसल अघिको बाटो भएर हिड्थे मकहाँ नपसी छाड्दैनथे', उनले भनिन् 'कोही मेरो अभिनयको प्रशंशा गर्थे त कोही क्यारीकेचर गरेर जिस्काउँथे ।'



यसरी एकाएक आफ्नो प्रशंसक बढेपछि मनमाया दंग छिन् । स्थानीय सुमात्लुङ्ग र इगल एफएमबाट फिदीम आएको बेला अन्तर्वार्ताका लागि आफूलाई निम्तो पनि आएको उनले बताइन् । पहिलो पटक जीवनमा नाटकका खेल्दाको अनुभव साट्दा उनी निक्कै उत्साहित भएकी थिइन् । उनका श्रीमान ज्यामी कामका लागि दैनिक गाउँघर डुल्ने गर्थे ।
एक दिन त उनकै साथीहरुले मनमायाको कथाका बारेमा कुरा गरे रे । 'फाक्थेपकै छोरी मान्छेले खेलेको अरे त्यो मनमाया बनेर को रहेछ,' यस्तै छलफल साथीमाझ भैराखेको बेलामा उनका श्रीमानले मुख खोलेछन्, 'मेरै बुढी हो त्यो त ।' यसरी श्रीमानले पनि आफू माथि गर्व गर्ने ठाउँ पाए पछि उनी झन् मख्ख छिन् । 'तँलाई त पसलको धन्दा गर्न र रेला ठट्टा गर्न मात्र आउँछ भनेको त नाटक पनि खेल्न आउँदो रहेछ' नाटक सुनेपछि उनका श्रीमानले यसै भन्दै बधाइ दिए रे उनलाई ।


कोही गाउँलेले रेडियो सुन्दा यो त खड्गमाया जस्तो छ भन्ने अड्कल काटेका थिए रे । पछि उनकै पसलमा आएर होकी हैन भनि पक्को कुरा पनि सोधे रे । केही ले त काँ खड्गमाया हुनु त्यो पसल चलाउनेले खुबै बिबिसिको नाटकमा भ्याउँछे होला भन्ने अड्कल पनि काटे रे । पछि हो भन्ने थाहा पाएपछि उनीहरु पनि आफू जस्तै दंग परेको उनले सुनाइन् ।

छिमेकी गाविस चिलिङ्गदेनकी माया नेम्बाङले मात्र हैन आफ्ना साथीहरु तारा चेम्जोङ्गले पनि फोन गरेर आफूलाई बधाइ दिएको उनले बताइन् । 'आफू मात्र सुटुक्क खेल्नेहामीलाई भन्न पर्दैन 'साथी ताराले ठट्टा गर्दै भनेको कुरा उनी अझै सम्झन्छिन् । सारङ्गीको भलाकुसारीमा गाएको पालाम सुनेर उनलाई काठमाडौंमा रहेका केरसिङ चेम्जोङ लगायतका आफन्तहरुले पनि फोन गर्न भ्याए । नाटकको कथाबस्तुले गाउँको बास्तवीकता बोकेको र सबैलाई सहि काममा लाग्न प्रेरण दिएको भन्दै स्थानीय लघुबित्तमा काम गर्ने बसन्त लिम्बु र अनिला चेम्जोङले पनि उनलाई बधाइ दिन भ्याए । आफूलाई यति धेरै प्रतिकि्रया आउँदा खड्गमाया निक्कै मख्ख छिन् । 'मैले त नसोचेको कुरा भयो' खड्गमायाले भनिन्, 'मनमाया भएपछि मेरो मनको प्रतिभा बाहिर निस्कन पायो । यसका लागि विविसि वल्र्ड सर्भिस ट्रष्टलाई धेरै धेरै धन्यवाद ।'
http://www.bbcnepalidrama.com/main/node/157

Comments

  1. ल मनमायालाइ मेरो पनि बधाई सुनाइदिनुहोस ।

    ReplyDelete
  2. तपाइको बधाइ मनमायालाइ पुर्याए है मैले काँइला जी ।

    ReplyDelete

Post a Comment