हामी के फर्सी हो ?

Photo : Tek Narayan Bhattrai

साइकलमा उँधो मुन्टाइएका
ब्वाइलर कुखुराहरु झै भएका छौं
कौसीमा झुण्डाइएका पाकेका
फर्सीहरु झै भएका छौं
बोटको टुप्पोमा फलेका
दिन पुगेका मेवाहरु झै भएका छौं
भिर भिरै खेद्दै कुदाइएका
अबोध भेडाहरु झै भएका छौं
साइकलबाट झर्न सक्छौं
कौसीबाट खस्न सक्छौं
बोटबाट गिर्न सक्छौं
भिरबाट लड्न सक्छौं
ए ड्राइभरहरु हो झ्याप्प ब‍े‍क नहान गाडीको
हाम्रो जिन्दगीमा ब्रेक लाग्न सक्छ

ट्युव भर्नका निम्ति बनाइएका
हावा झै भएका छौं
ढुङ्ग्रोमा कोचिनका लागि बनाइएका
गुन्द्रुकहरु झै भएका छौं
मिक्स्चरमा पिसिनका लागि बनाइएका
गोलभेडाहरु झै भएका छौं
कोलमा थिचिनका लागि बनाइएका
निबुवाहरु झै भएका छौं
ट्युव फुट्न सक्छ
ढुङ्ग्रो चिरिन सक्छ
मिक्स्चर टुट्न सक्छ
कोल फुट्न सक्छ
ए खलासीहरु हो नधकेल
हामीलाई भित्र भित्रै
हाम्रो उमेर धकेलिन सक्छ

लट्टाई अरुको हातमा सुम्पेर उड्ने
चङ्गाहरु झै भएका छौं
बिजुली जोडेपछि मात्र चल्न सक्ने
पङ्खाहरु झै भएका छौं
बाध्यताले पहरामा चढ्न खोज्ने
लहराहरु झै भएका छौं
सबै खाँबाहरु मकाएका
पुराना टहराहरु झै भएका छौं
धागो चुँडिन सक्छ
बिजुली छुट्टिन सक्छ
लहरा बजारिन सक्छ
टहरा भत्किन सक्छ
ए खलासीहरु हो
नखाँद हामीलाई भित्र भित्रै
मृत्यु भित्र हाम्रो
जिन्दगी खाँदिन सक्छ ।

पिठ्युमा पहाड बोकेर
विद्यालयतिर लम्किरुका हुन्छौं हामी
हातमा ढड्डा बोकेर
अड्डातिर तम्सिरहेका हुन सक्छौं हामी
कोही केटाकेटी कोही बूढाबूढी
यात्रामा तरुण तन्नेरी थरिथरिका
सबै एकोहोरो टोलाएर आ-आफ्नै संसार
कल्पिरुका हुनसक्छौं
पिठ्यु लस्किन सक्छ
हात मर्किन सक्छ
सास हराउन सक्छ
संसार बिलाउन सक्छ
ए ड्राइभरहरुहो तिब्र गतिमा
नचलाउ गाडीहरु
हाम्रो जिन्दगीको गति रोकिन सक्छ


(भवसागर घिमिरे 2065)

Comments

  1. यथार्थको मार्मिक चित्रण |

    ReplyDelete

Post a Comment