Skip to main content

बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?

बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?’ पाँच वर्षे छोरीको यो प्रश्नले मलाई निक्कै हल्लायो। गत सालको कुरा हो। एकाबिहानै उनले यो प्रश्न सोध्नु अघिल्लो रात हामी साउथ इन्डियन फिल्म हेरिरहेका थियौं। प्राय दक्षिण भारतीय फिल्ममा केटा मान्छेलाई अथाह बलियो मान्छेको रूपमा प्रस्तुत गरिन्छ। अनि केटीलाई निरीह पात्रका रूपमा। हामीले फिल्म हेर्दा छोरी आडैमा खेलिरहेकी थिइन्। हामीसँगै उनीले पनि हेरिरहेकी छिन् भन्ने ख्यालै गरेनौं। यो प्रश्नले बिस्तारै धेरै प्रश्नहरू जन्मायो। हामीले केकस्ता भिडियो उनीसँग बसेर हेर्छौं? छोरीले ग्याजेटमा आफैं कस्ता भिडियो हेर्छिन्, स्कुलमा के पढ्छिन्? साथीहरूसँग उनका के कुरा हुन्छ? हामीले कस्ता पुस्तक र फिल्म तयार पारिरहेका छौं? सुरूआतमा फिल्मका कुरा गरौं, उनले हेर्ने धेरै जसो फिल्ममा केटालाई प्रमुख पात्रका रूपमा उभ्याइएको थियो। केटी पात्रलाई कतिपय अवस्थामा सामान्य त कतिपयमा निरीह नै बनाइएका हुन्थे। उनलाई मनपर्ने भारतीय कार्टुन ‘छोटा भिम’ मा भिम भन्ने पात्र शक्तिशाली थिए। उनकी साथी चुट्की भिम जति शक्त्तिशाली थिइनन्। जब उनी अप्ठ्यारोमा पर्थिन्, भिमलाई गुहार्थिन्। अन्य कार्टुन पनि थिए जहाँ केटी पात्र गुडियासँग मात्र रमाउँथे। केटा पात्रहरू बलका काम गर्थे। उनले यो कार्टुन साढे तीन वर्षदेखि साढे चार वर्षको उमेरसम्म हेरिरहेकी थिइन्। हामीले धेरैपछि मात्र यसमा भएका समस्या देख्न थाल्यौं र बन्द गरायौं। यसबारे खोज्दै जाँदा सन् २०१९ मा #MakeChutkiStronger अभियान नै चलेको पनि थाहा पाएँ। केटी पात्रलाई लैंगिक हिसाबले कमजोर देखाएको कार्टुन हेरिरहँदा उनको बालामनले के सिक्यो होला भन्ने थकथक लागिरह्यो। बाल मस्तिष्क विकासको महत्वपूर्ण समयमा छोरीले हेरेको यो कार्टुन लैंगिक हिसाबले पुरातनवादी सोचमै अडिग रहेको भन्दै सोधपत्र नै तयार भएको रहेछ। द विमेन विश्वविद्यालय मुल्तान, पाकिस्तानकी अस्मत ए शेखले तयार पारेको यो सोधपत्रले कसरी कार्टुनबाट बालबालिकाले आफ्नो सामाजिक भूमिकाबारे गलत सोचको विकास गर्छन् भन्ने खुलाएको छ।
महिलाले चिया ल्याउने, तरकारी काट्ने, भात पस्कने, भान्छा सम्हाल्ने लुगा धुने यस्ता धेरै भूमिकाहरू हामी आफैंले हेर्ने फिल्ममा पनि देख्दै आएका छौं। हामीले यसको मज्जा लिइरहँदा हाम्रा छोरीहरू मात्र हैन, छोराहरूले पनि आफ्नो भूमिका के हो र आफ्नो आमा, बहिनी, दिदी र केटी साथीहरूको भूमिका के हो भन्नेबारे गलत धारणा बनाइरहेका हुन्छन्। छोरीका पुस्तक र उनले लेखेका मसिना अक्षरतिर यतिबेला म फर्किन चाहेँ। ‘माइ मदर कुक्स फुड’, ‘माइ फादर इज रिडिङ अ बुक’, ‘पोलिसम्यान क्याचेज थिफ’ ...यस्ता धेरै उदाहरण भेटिएका छन् जसले मस्तिष्क विकासका दौरान उनको दिमागमा कब्जा जमाइरहेका हुँदा रहेछन्। सेल्सम्यान, पोस्टम्यान, म्यानपावर यस्ता धेरै शब्दले अहिले मेरो र छोरीका बीचमा बालमैत्री छलफल चलाइरहेको छ। के महिला प्रहरी हुँदैनन्? के पोलिसम्यानको सट्टा पोलिस अफिसर भन्न सकिन्न? पोष्ट अफिसमा केटीहरूले काम गर्दैनन्? यस्ता प्रश्नका उत्तर खोज्दै भिडियो र फोटो देखाउँदै गर्दा उनको सिकाइको आकाश फराकिलो हुँदै गएको पाएको छु। यस्ता विषयमा बुझाउन कुराकानी मात्र अपर्याप्त हुन्छन्। एकदिन उनीसँगै स्कुटरमा जाँदै गर्दा मैले महिला ट्राफिकको अघि लगेर साधन टक्क रोकेँ। काठमाडौंको मैतिदेवी चोकमा उभिएकी उनले छक्क परेर हामीलाई हेरिन्। ‘छोरीलाई तपाईंसँग भेटाउन मन लाग्यो,’ मेरो कुराले उनी खुसी भइन्। छोरीसँग कुराकानी गरिन्। हात मिलाइन्। यो प्रसंग मेरी छोरीले सधैं सम्झिन्छिन्। मलाई विश्वास छ उनको भित्रि मनमा यो सुन्दर सम्झना धेरै वर्ष रहिरहनेछ र उनलाई मनैदेखि बलियो बनाउन सघाउनेछ। आर्मी, लेखक, चित्रकार, अग्नि नियन्त्रक, खेलाडी धेरैभन्दा धेरै महिला पात्रलाई भेटाउने, चिनाउने वा मोबाइल स्क्रोल गर्दै देखाउने मेरो प्रयास निरन्तर छ, रहिरहनेछ। घरकै भान्छाको कुरा गरौं। बाबाले पकाएको चनाको सुप अनि भुटेको आलु खाँदै गर्दा उनले होमवर्कमा ‘बाबा खाना पकाऊ, आमा अफिस जाऊ, भाइ कुखुरालाई दाना देऊ’ लेख्न जानेकी छिन्। लैंगिक समानताका कुरा आजको भोलिमै आउँछ भन्ने छैन। परिवर्तन ल्याउन हाम्रो प्रयास निरन्तर छ कि छैन भन्ने महत्वपूर्ण हुँदो रहेछ। हामीले नजानेर वा जानेर नै यस्ता व्यवहार गरिरहेका हुन्छौं जसले असमानतालाई मलजल दिन्छ। अंग्रेजीमा कारको वाक्य बनाउँदा सोझै ब्वाइ (केटा) को चित्र दिमागमा आउनु, जस्तै ‘माइ ब्रदर इज ड्राइभिङ अ कार’ अनि टोय (खेलौना) को वाक्य बनाउँदा केटीको चित्र दिमागमा आउनु, जस्तै ‘सि इज प्लेइङ टोय'। यी दुवैमा हाम्रो पूर्वनिर्धारित मनस्थिति सक्रिय हुन्छ। अर्थात हामीलाई वर्षौंदेखि जे रटाइएको छ, त्यो नै दिमागको कुनामा जमेर बसेको हुन्छ र त्यही नै व्यवहारमा चाँडै आउँछ। केटीले गाडी चलाएको देख्दा टक्क अडिने। केटाले कपाल पालेको देख्दा छक्क पर्ने बानी अझै पनि हामी बीचमा होला। त्यसलाई चिर्न पनि हामीले सानैदेखि लैंगिक समानताको पढाइ घर, समाज र विद्यालय सबैतिर पढाउनु र अभ्यास गराउनु जरूरी छ। हामीले जति गरिरहेका छौं, ती निकै कम छन्। अपर्याप्त छन्। सडकमा हिँड्दा होस् या ग्याजेट दुनियाँको यात्रा गर्दा, छोरीका आँखाअघि आउने हरेक दृश्यले उनलाई भित्रैदेखि बलियो बनाओस्। म पनि समान हुँ भन्ने सिकाओस् भन्ने लाग्छ। केही समयअघि चलिरहेको फुटबल खेलकै कुरा गरौं। संसारसँगै हामी युरोकपमा रोनाल्डो, थोमस मुलर, ग्रिजम्यान र पोग्बाको जादुमा चुर्लुम्मै डुबिरहँदा छोरीले खेलकै बीचमा प्रश्न सोधिन्, ‘बाबा केटीहरूलाई फुटबल किन नखेला’को?’ सायद तपाईंका छोरीलाई पनि यस्तैलाग्दो हो, नसोधेका पनि हुन सक्छन्। के तपाईंले कहिल्यै छोराछोरीलाई सोध्नुभएको छ त्यहाँ किन केटी खेलाडी नदेखिएका? छोरीको प्रश्नले मलाई एकपटक साँच्चै हल्लायो। उनको प्रश्नपछि केटीहरूको वर्ल्डकप फुटबल पनि हुन्छ भन्ने तथ्य कुरा मैले उनलाई सुनाएँ। दुई वर्षअघि अमेरिका र नेदरल्यान्ड्स बीच भएको वर्ल्डकप फाइनल फुटबल म्याचमा हामीले आँखा पुर्‍यायौं। महिलाहरूले फुटबल त्यहाँ मात्र हैन, नेपालमा पनि खेल्छन् भन्दै राष्ट्रिय फुटबलर सावित्री भण्डारीले गरेको पाँच उत्कृष्ट गोल हेर्‍यौं। मज्जा आयो। छोरीसँगै बसेर मीना कार्टुन, मुलान, गुञ्जन सक्सेना, दंगल अनि स्केट गर्ल हेर्दा उनको मनमा उर्लिएको उत्साह म आँखामा देख्न सक्थेँ। यीमध्ये केही चलचित्र उमेरका हिसाबले प्रश्नवाचक हुन सक्छन् छ वर्षे छोरीका लागि। तर संघर्षको मैदानमा महिला पात्रको प्रयास, नेतृत्व अनि सफलतालाई लिएर बनाइएका यस्ता चलचित्र साना नानीबाबुका लागि यथेष्ट पाइँदैन। नेपाली भाषामा त झनै खडेरी छ। नयाँ र सन्तुलित सोचसहित थप सामग्री आउनु अति आवश्यक छ। आगामी दिनमा छोराछोरी अघि बढून् र समानताका विषय सिकून् भन्ने तपाईंलाई पनि पक्कै लाग्दो हो। हो भने, हाम्रा छोराछोरीले दैनिक रूपमा हेर्ने, पढ्ने र सुन्ने दृश्यहरूमा ख्याल गरौं। म चाहन्छु भोलिका दिनमा अलमल हुँदै हाम्रा छोरीहरूले फेरि यो प्रश्न नसोधून्, ‘बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?’ Follow @Twitter@bhabasagar https://www.setopati.com/blog/247593

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...