अभिभावकलाई बालसाहित्य


–भवसागर घिमिरे

राजधानीको थापाथलीमा चलेको पुस्तक बिक्रिकक्ष । एक आमा आफ्नो त्यस्तै ९ वर्षे छोरा बल्ल तल्ल मनाउने प्रयासमा थिइन्, नेपाली बाल पुस्तक किन्नको लागि । उनको हातमा छोराले नै छानेका तीन अंग्रेजी बालपुस्तक पहिल्यै थिए । बजारमा के कस्ता पुस्तक आएका छन् ? जान्नका लागि केही घण्टाअघि देखि ¥याकहरू चाहर्दै गरेको मेरो ध्यान त्यो दृश्यले खिच्यो । आखिरीमा एक मात्र नेपाली बाल पुस्तक जबरजस्ती किनेर उनी छोरासहित बाहिरिइन् । उनीहरू गएपछि मेरा आँखामा पुस्तक कम प्रश्नहरू बढी नाँच्न थाले । किन त्यो बालकलाई नेपाली पुस्तक मन परेन ? के हामीले मन छुने सिर्जना पस्कन सकेनौं ?  कि अभिभावकले नै नेपाली बालसाहित्यलाई बुझ्न सकेनन् वा छोराछोरीलाई बुझाउन् सकेनन् ? प्रकाशन गृहहरूको लगानीमा कमजोरी रह्यो कि ? यी प्रश्नहरूबारे छलफलको ढोका उघार्ने प्रयत्न यहाँ गर्नेछु ।
हामी कस्ता लेखक
चालिसको दशक । दिदी र दाइ कक्षा चढेपछि । किताबको गाता झरेपछि मात्र मेरो हातमा स्कुले पाठ्यपुस्तक पर्थे । बाल साहित्य भनौ वा विश्व विज्ञान । हाम्रा निम्ति ति सबथोक थिए । पछिल्लो एक दशकमा भने बालसाहित्यमा पुस्तकको संख्या ह्वात्त बढ्यो । अहिलेसम्म तीन हजारभन्दा बढी संख्यामा प्रकाशित भैसकेका बाल पुस्तकमध्ये प्राथमिक तहका चित्र कथाको संख्या बढी छन् । माथिल्लो कक्षाका लागि उपन्यास र च्याप्टर बुक कम छन् । मातृभाषाका पुस्तक नगण्य छन् ।

बाल शिक्षामा कार्यरत ‘रुम टु रिड’ले संस्थालाई प्राप्त २ हजार हाराहारीका बाल साहित्यका पुस्तकमाथि एक अध्ययन गरेको थियो । अध्ययन अनुसार कुल पुस्तकमध्ये स्वैरकल्पनामा ३४ प्रतिशत र गैर आख्यानमा ३२ प्रतिशत पुस्तक प्रकाशित रैछन् । २८ प्रतिशत लोककथाका अनि एक प्रतिशत मात्र विज्ञानका रहेछन् । विज्ञानका कथाले बाल मनमा नयाँ खोजी गर्न भोक जगाउँछ । ‘प्रयोग र प्रमाणमा’ विश्वास गर्ने विज्ञानका विषयमा लेखकका कलम कम चलेको छ । ह्युमर तथा एडभेन्चरस् विधाको हातल नि उस्तै छ । हामी अर्तिउपदेशका कथामा बढी रुमलियांैकि भन्ने प्रश्न यस नतिजाले उब्जाउँछ । 
कहिले काही फर्केर हेर्छु । मेरा पुस्तकमा पनि कमजोरीहरू छन् । रुम टु रिडबाटै केहि वर्षअघि माछा र बकुल्ला पुस्तक प्रकाशित भयो । कसरी माछाहरू बकुल्लाबाट बच्न सफल भए भन्ने यसमा चित्रकथा छ । थोरै विज्ञान, थोरै स्वरैकल्पनाको समिश्रण रहेको कथाको अन्त्यमा माछाहरूको जित हुन्छ । जितेपछि उनीहरूले बकुल्लाहरूको प्वाँख काटिदिन्छन् । ऐले लाग्छ, मैले किन कथाबाट बालबालिकामा प्रतिशोध सिकाएँ ? पराजितमाथि यस्तो व्यवहार सहि हुँदै होइन् । मानौ, विद्यालयमा दौड जितेकाले हारेको साथीको सर्ट च्यातिदिँदा उसको मनमा के गुज्रेला ? यसैले हामीले ‘कति कृति लेख्यौं भन्दा पनि कस्ता कृति लेख्यौं’ले बढी महत्व राख्छ । हरेक कमजोरी परिमार्जन गर्ने तथा नव सिर्जना नयाँ शिराबाट सुरूगर्ने हुटहुटी जागिरहनु नै असली लेखक हुनु हो ।
मध्यप्रदेश भारतको एक कुनामा आधार बनाएर तयार पारिएको पुस्तक ‘द जंगल बुक’ ले विश्वको ध्यान खिच्यो । हाम्रो देशमा पनि सर्लाही देखि सोलुखुम्बु अनि जनकपुर देखि जाँजरकोटसम्म कथाको कमि त पक्कै छैन । लाग्ला हाम्रो भाषा विश्वव्यापी भएन । सिन्ड्रेला, स्नो ह्वाइट लेख्ने ग्रिम्स ब्रदरले ‘परिका कथाहरू’ सुरुमा जर्मन भाषामा जम्मा पारेका थिए । द इम्पेरियर्स न्यु क्लोथ लेख्ने ह्यान्स क्रिष्चियन एन्डर्सनले यो पुस्तक डेनिस भाषामा लेखेका थिए । उनीहरूका पुस्तकहरू पनि विश्वव्यापी भए । यी सबै कथाहरूमा एउटै समानता छ, ‘मानविय संवेदना’ । संसारको सबै भन्दा ठूलो भाषा नै यहि हो । यहि सम्वेदनाको चाबीले पुस्तक बिक्रि कक्षमा भेटिएको बाबु जस्ता नयाँ पुस्ताको मनको ढोका खोल्नु नेपाली बालसाहित्य सर्जकका निम्ती अवसर र चुनौती दुबै हुन् । अवसर अंगाल्न अनि चुनौती सामाना गर्न भोलीका दिनमा हामी कस्ता लेखक बन्ने ? यि प्रश्नको उत्तर खोज्न, हामीले आफ्नै अनुहार पनि ऐनामा हेर्नु पर्छ ।

हामी कस्ता अभिभावक
छोराछोरीलाई पुस्तकालय लगेर किताब छान्न सघाउने माथिकी आमा जस्ता अभिभावक हामी माझ कम छन् । मध्यम र निम्न बर्गियको बर्चस्व छ । पुस्तक गन्नु भन्दा पेट भर्नु उनीहरूको मुल प्राथमिकता हो । उनीहरू मध्ये पनि थोरै छन् जसले पुस्तक किन्ने सोच्छन् । तर पचासौं पटक सोच्छन्, ‘केटाकेटिका लागि किताब किन किन्ने ?’ यहि प्रश्नको उत्तर हाम्रा पुस्तकहरूले धित मर्ने गरि दिन नसकेको तितो यर्थाथ हो ।
मार्था क्रिपेनको ‘द भ्यालु अफ चिल्ड्रेन लिटरेचर’ लेखका अनुसार बाल साहित्यले बालबालिकालाई सहित्यका बारेमा रुची बढाउन मात्र नभई सम्बन्धीत विषयमा आफ्नो धारण विकास गर्ने मौका दिन्छ । पुस्तकले उनीहरूलाई आफु र अरुको समाज अनि संस्कृतिको बारेमा सिक्ने र बुझ्ने बाटो खुलाइदिन्छ । ंसंस्कृतीहरूको बारेमा सकारात्मक धारणको विकास गर्नु बालबालिकाको व्यक्तिगत तथा सामाजिक विकासको लागि निक्कै महत्वपुर्ण छ । अनओटा रिडिङ जर्नलमा प्रकाशित क्रिपेनको यो लेखमा बालसाहित्यले मनोरञ्जनसँगै बालबालिकामा संवेदनशिलता तथा नैतिकताको विकास गर्न सघाउने कुरा उल्लेख छ । यी क्षमताहरू उनीहरूले साहित्यका पात्रहरूबाट प्रभावित भएर नजानिँदो रुपले सिकिरहेका हुन्छन् ।
हामीसँग सन्तानले पढेनन्, नेपाली जानेनन् भन्ने गुनासोको भारी मात्र ठूलो हुन्छ । के हामीले छोराछोरीका निम्ति पुस्तक पढेर सुनाएका छौं ? कसरी पढेर सुनाएका छौं ? पढेपछि सम्बन्धीत विषयमा छलफल गरेका छौं ? यसमा पनि घोत्लिनु पर्छ । बच्चाहरूले नेपाली भाषामा चासो नराख्नुमा हामी अभिभावक पनि उत्तिकै जिम्मेवार छौं । एक प्लेट मःम भन्दा कम पैसाको नेपाली बाल पुस्तक किन्न हाम्लाई ज्वोरो आउछ । अन्य विधा र बाल साहित्यका पुस्तक बीचको भिन्नताका बारेमा बेलायती उपन्यासकार रोल्ड डालको भनाई यतिबेला सम्झनु उपयुक्त हुन्छ । उनका अनुसार बालबालिकाले एउटै पुस्तक दोहो¥याइ तेह¥याइ पढ्नु बाल साहित्यको सुन्दर पक्ष हो । उनीहरू धेरै पटक एउटै कृतिमा रमाउन सक्छन् । यसरी एकै खर्चमा बाल मनलाई धेरै पटक कल्पनाको संसारमा सयर गराउने पुस्तकमा लगानी गर्न चुकचुकाउने हामी कस्ता अभिभावक ?

हुन त पुस्तक किनेर दिँदैमा अभिभावकको कर्तव्य सकिँदैन । बुझ्नु पर्छ, राम्रा बाल पुस्तकले सबै प्रश्नहरूको उत्तर दिँदैन । बरु बालबालिकाको मनमा प्रश्नहरू उब्जाउँछन् । उत्तर खोज्दै गर्दा अभिभावक र सन्तान बीच छलफलको ढोका उघारिन्छ । उदाहरण मानौं, एक बाल पुस्तकको एउटा पृष्ठमा ‘डम्म हुस्सुका बीच तराईको एउटा घर छ । घरअघि एउटा सानी नानी छिन् । नानीको काखमा सानो पाठी छे । पाठीले स्वेटर लगाएकी छे ।’ यो एउटा चित्रले बाल मस्तिस्कमा सयौं प्रश्न उब्जाउन सक्छ । नानीको काखमा के होला ? बाख्राको पाठीले पनि स्वेटर लगाउछे र ? कसले लगाइदियो ? यो ठाउँ कहाँ हो ? तराई भनेको के हो ? यस्तै यस्तै । मात्र एक चित्रबाट जन्मेको छलफलले बाल मस्तिस्कमा हिमालदेखि तराइसम्म फैलिएको नेपालको विशाल नक्सा कोर्दिन सक्छ । थेप्चो नाक र राता गाला देख्दैमा ‘भोटे’ अनि कालो अनुहार देख्दैमा ‘धोती’ भन्न सिकाउने हाम्रो सामाजिक सोचबाट थोरै बाहिर निकालेर ‘नेपाल के हो र नेपाली को हो ?’ सम्म पनि बुझाउन सकिन्छ । मोबाइलको साटो पुस्तक कै सहि यसले उनीहरूलाई नयाँ संसारबारे सोच्न र बुझ्न त मद्दत गर्छ । संसार बुझ्ने यो यात्रामा उनीहरूलाई समय दिएर सघाउनु । बालसाहित्यलाई नजिकबाट नियाल्नु, प्रश्न गर्नु र निखार्न सघाउनु सबै अभिभावकको कर्तव्य हो । किनकी बालसाहित्य, बालबालिकाको मात्र विषय हैन अभिभावकको पनि उत्तिकै हो ।

तपाई कस्तो प्रकाशक
हामी बाँच्नका लागि लेख्छौं कि लेख्नका लागि बाँच्छौं भन्ने प्रश्न अरु साहित्य जस्तै बाल साहित्यमा ठूलो छ । ‘अब कस्ता पुस्तकहरू लेखिनु पर्छ ?’ केहि हप्ताअघि ‘रुम टु रिड’ले यस विषयमा राजधानीमा छलफल डाकेको थियो । जम्मा भएका दश लेखकहरू कोही विद्यालय छुट्टि लिएर आएका थिए, कोही कार्यलयबाट भागेर । खासमा घरको अन्नपानी आउने ठाउँलाई केहि बेर बुझो लगाएर गएका थिए ।  एउटा बाल पुस्तक बजारमा आउनु अघि लेखकले धेरै ठाउँमा यस्ता बुझो लगाएका हुन्छन् जसलाई लेखकले मात्रै राम्ररी बुझ्न सक्छन् ।
तीन वर्षअघिको कुरा । म बेरोजगार थिएँ । एक प्रकाशन गृहमा मैले पुस्तकका निम्ति कथा बुझाएँ । ‘प्रक्रियामा जानुअघि छलफल गरौं है’ भनेको पनि थिएँ । केहि महिनासम्म थाहापत्तो भएन । धेरैपछि फोन गर्दा ‘चित्र बन्दैछ चाँडै प्रेसमा जान्छ’ भन्ने खबर आयो । ‘मैले लेखकको रूपमा के पाउने ?’ कुनै सम्झौता भएको थिएन । यहि प्रश्न राख्दा, उनीहरूले संस्थाको नियम सुनाए, ‘पुस्तक छापे बापत पाँच वटा पुस्तक अनि ५ हजारमा ट्याक्स काटेर जम्माजम्मी ४२ सय ५० रूपैयाँ पाउनु हुनेछ ।’
काठमाडौंको कहलिएको एउटा प्रकाशन गृहले बालसाहित्य सर्जकलाई गर्ने व्यवहारको एक उदाहरण हो यो । आफ्नो रचना छोराछोरी जस्तै प्यारो हुन्छ सर्जकको लागि । आर्थिक पक्ष त टाढाको कुरा, आत्मसम्मान पहिला आउछ । मौखिक नै किन नहोस्, स्विकृती वा सम्झौता बिना नै पुस्तकलाई छाप्ने प्रक्रियामा लैजानु सर्जकको ठूलो अपमान हो । मैले तत्कालै कथा फिर्ता लिएँ । जुनिभर पुनः छाप्न र बेच्न पाइने एउटा पुस्तकको लागि सिर्जेको सिर्जना थियो त्यो । त्यसबापत लेखकले आर्थिक रूपले पाउने त्यत्ती नै हो भने बाल साहित्यकार किन लेख्नका लागि बाँच्छ ? यद्यपी सबै तिर अवस्था उस्तै भने छैन । उमेर र कक्षा अनुसारका पुस्तकहरूको प्रकाशन गर्ने । डिजाइन, चित्र अनि मार्केटिङमा मेहनत गर्ने । अन्य केहि प्रकाशकहरूले यस्ता नयाँ अभ्यास पनि सुरु गरेका छन् । पुस्तक बिक्रेताबाट पैसा सजिलै नउठ्ने बाध्यता पनि छ प्रकाशकका । तै पनि केहि वर्ष यता रोयल्टि वा एकमुष्ठै भएपनि थोरै राम्रो रकम जुर्न थालेको छ बालसाहित्यमा । यसले ‘लेख्नको लागि बाँच्न’ सर्जकहरूलाई प्रेरित गरेको छ । लेखक, प्रकाशक र अभिभावक सबैले आफ्ना कमिकमजोरी निखार्नु नै बालसाहित्यलाई माथि उठाउने दह्रिलो काँध हो । यसो भएमा मात्र माथिको पुस्तक बिक्रि कक्षमा भेटिएको सानो बाबु लगायत आम भाइबहिनीले नेपाली बाल पुस्तक आफै खोजी खोजी पढ्न थाल्ने छन् ।

twitter@Bhabasagar

https://ekantipur.com/koseli/2019/12/14/157630111225972514.html?author=1

Comments