Skip to main content

बिहारको माया हिमालमा


भवसागर घिमिरे
काठमाडौँ — गएको साल, दसैंको बेला  । मनाङबाट बिहारको बेतिया जिल्ला जान हिँडेका ४१ वर्षे मलख यादवलाई वीरगन्जमा सीमा प्रहरीले रोक्यो  ।

साथैमा हिँडेकी २७ वर्षे काली घलेलाई भारत बेच्न लागेको आरोपमा उनीमाथि केरकार सुरु भयो । गोरखाकी कालीले आफूहरू बिहे गरेर घर जान लागेको बताइन् । मलखले पनि सही थपे । भारतको कोठीमा सयौं नेपाली चेली बेचिएको परिवेशमा नेपाल प्रहरी सजिलै यो कुरा मान्न तयार भएन ।

चितवनमा रहेकी काली घलेकी फुपूलाई प्रहरीले झिकायो । गोरखामा रहेका बाबा आमासम्म पनि खबर पुग्यो । यता मलखको परिवार पनि बेतियाबाट वीरगन्ज आइपुग्यो र उनी निर्दोष भएको जिकिर गर्‍यो । केटीकी फुपू आएपछि भागी विवाह गर्न लागेकी कालीलाई फिर्ता लिएर गइन् । मलखको मन यतिबेला थुनामा लगाएको साँचोझैं कटक्क बन्द भयो ।
‘उनलाई लग्यो, मलाई थुन्यो,’ २७ वर्षदेखि मनाङ गाउँमा काठको काम ठेक्कापट्टा गर्ने मलखले भने, ‘के गरूँगरूँ टेन्सन भो ?’
यता मलखले दिएका तथ्यहरूबारे बुझ्न वीरगन्ज प्रहरीले मनाङ प्रहरीको सहयोग माग्यो । मनाङको प्रहरीले स्थानीयहरूसँग सोधखोज गर्‍यो । कुरो सही ठहरियो, ‘मनाङमा लामो समय काम गरेको सही हो,’ खबर वीरगन्ज पुगेपछि मलख त छुटे, त्यतिबेला उनकी जीवनसाथीलाई भने गोरखा घरतर्फ लगिसकिएको थियो ।


उनले मन पराएकी काली घले चार वर्षअघि मात्र यार्चागुम्बा टिप्न मनाङ आएकी थिइन् । यार्चाको सिजन सकिएपछि पनि उनी कामको खोजीमै मनाङ बसिन् । गाउँकै गुम्बामा खाना पकाउने काम गर्न थालिन् । कहिलेकाहीं गुम्बामै काठको काम गर्नुपर्थ्यो मलखले । कालीले पकाएको खाने मेसो पनि पर्‍यो । उमेरले २७ कटेकी कालीले जीवनमा नयाँ रङ थप्न खोज्दै थिइन् । केही वर्षअघि रोगले श्रीमतीलाई चुँडेर लगेपछि मलखको मन पनि एक्लै भौंतारिरहेको थियो । उमेरको अन्तरलाई मनको दूरीले जितेपछि उनीहरू विवाह गर्ने निर्णयमा पुगे । पोखरा पुगे । बिन्दवासिनी मन्दिरमा विवाहको रीत पूरा गरे । एकपटक घर पुगौं भनेर त्यसपछि नै उनीहरू भारत जान वीरगन्ज लागेका थिए । वीरगन्जको घटनाले उनीहरूको प्रेमकथामा नमीठो पटकथा थपिदियो । प्रहरीबाट छुटेर भारत घर पुगेका मलखलाई लाग्यो, खोला तरियो, लौरो बिर्सियो । ‘दस दिन बेतिया बसेँ,’ उनले भने, ‘त्यहाँ मन मानेन, त्यसपछि फेरि मनाङ आएँ ।’
बिहारको चर्को गर्मीबाट मनाङका हिउँमा कुँदिएका उनका कथाभित्र पनि धेरै हरफहरू छन् । ७ वर्षको उमेरमै काम खोज्दै मलख बिहारबाट कास्कीको पोखरा आएका थिए । घान्द्रुक, पोखरा र आसपासका गाउँमा ७ वर्ष काठको काम सिके । ‘मनाङमा काम धेरै पाइन्छ भनेपछि यता आएँ,’ उनले सम्झे, ‘सुरुमा यहाँ आइपुग्न डुम्रेबाट ५ दिन हिँड्नुपर्थ्यो ।’
हिमाली क्षेत्रका घरहरूमा एक त न्यानोका लागि काठको प्रयोग बढी हुने । त्यसमाथि पर्यटकले बिस्तारै पाइला टेक्न थालेको
गाउँ । काठको काममा सिपालु मलखलाई आएदेखिबाटै कामको चापले दौडाउन थाल्यो । वर्षैपिच्छे तिहारमा घर जाने र जाडो
समयको ३, ४ महिना बिहारमा बिताउन थाले ।
‘पहिला त डुम्रेबाट हिंड्थेँ, पछि बेसीसहरबाट,’ उनले बाटोतिर देखाउँदै भने, ‘अहिले त यहीँसम्म जिप आइपुग्छ ।’ काठको काम गर्नेको माग बढेपछि अहिले उनको समूहमै १० जना विहारका साथीहरू छन् । अन्नपूर्ण पदमार्गमा पर्ने पिसाङ, भ्राका, मनाङ, खाङ्सारमा लगायतका ठाउँमा काठको काम गर्ने ५० भन्दा बढी विहारका कर्मीहरू छन् । घर तथा गुम्बाको डिजाइनमा काम गर्ने, काठ काट्ने, चिर्ने, खाट, दराजलगायत विभिन्न काठका सामान बनाउने र कला भर्ने काममा उनीहरू प्रायः
व्यस्त हुन्छन् ।
दसैंलगत्तै बेतियाबाट फर्केका मलख यादवको मन भने काममा रम्न सकेन । यतिका वर्ष मनाङ बस्दा उनले गुरुङ भाषा पनि सिकिसकेका थिए । थोरै नै भए पनि दोहोर संवाद गर्न सक्थे । आफ्नो उमेरको साढे तीन दशक नेपाल बिताएका उनलाई लाग्यो, यहाँ काम त जित्न सके तर अझै मन जित्न सकिनँ ।
एक दिन उनलाई कालीले फोन गरिन्, ‘चित्त नदुखाऊँ, बाबा आमालाई सम्झाउँछु र फेरि आउँछु ।’ नभन्दै एक महिनापछि उनी फेरि मनाङ आइन् । केही महिनामै दुवै जना फेरि सँगै वीरगन्ज गए । मलखले उताबाट भाउजूलाई नेपाल बोलाए । ‘ल भाउजूसँग पारि जानु, कसैले केही सोधे सामान किन्न हो भन्नु,’ मलखले कालीलाई सम्झाए । बिहान उनीहरू ढुक्कैले पारि पुगे, दिउँसो मलख पनि गए । बेतियामा दुई महिना बसे अनि दुवै मनाङ फर्के ।
‘खर्चपर्च दिएर दुई पटक माइत पठाइसकेँ,’ मलखले हाँस्दै भने, ‘ज्वाइँ ससुराली आउने हैन भन्दै अहिले बल्ल फोन आउन थालेको छ ।’ उनले यसो भन्दा काठको काममा सघाइरहेकी काली पनि मुख छोपेर हाँस्न थालिन् । ‘सुरुमा त बाआमाले निकै गाली गर्नुभो,’ उनले भनिन्, ‘अहिले मान्नुभएको छ ।’
गएको दसैंमा गोरखा ससुराली पुग्ने र गुरुङकै चलनअनुसार विवाह गर्ने सोच मलखले गर्दै थिए । ‘बिहारदेखि मनाङ त आइसकियो, गोरखा के टाढा भयो र ?’ उनले श्रीमतीलाई भनेको अझै सम्झिरहेको छु । साँच्चि, ससुराली गए कि गएनन् होला ? जान्नका लागि दसैंलगत्तै बीचबीचमा धेरै पटक उनीसँग फोन सम्पर्क गर्ने प्रयास गरेँ तर सफल भएन । उनी ससुराली पुगे पनि नपुगे पनि उनीहरूबीचको प्रेमकथा मनाङ गाउँका धेरै घरमा पुगिसकेको छ ।
twitter@bhabasagar

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...