मनसुनमा मनाङ

काठमाडौँ — कसोकसो कछुवाकै गति भए पनि झन्डै ९ घन्टाको यात्रापछि चामे पुगियो । मनसुनमा मन्द निदाएको गाउँ । सिमसिम पानी । कालो दाल, काउली र आलुको तरकारी । एक थाल भात सर्लक्कै सकियो । मनमा बुंङ, ताल गाउँ, च्याम्चे, तिमाङका झरनाको सम्झना बोकेर मस्त निदाइयो पनि । पहिला अत्यासलाग्दो थकाइ, पछि गहिरो निद्रा । सायद यात्राको मिठास नै यही होला ।



मनाङ घुम्न कहिले जाने ? धेरैको उत्तर दसैंतिहारताका हुन्छ । त्यति बेला तिलिचो चुम्ने र थोराङ्ला हुँदै अन्नपूर्ण सर्किट घुम्ने पर्यटकको लर्कोले काठमाडौं असनको झल्को दिन्छ । यसपालि मेरो यात्रा भने बेमौसमी रहयो, साउनको झरीमा । पदमार्गमा पर्ने पिसाङ, भ्राका र मनाङ गाउँमा सिंचाइसम्बन्धी अनुसन्धानमा सघाउनु मुख्य काम थियो । साथमा थिए एरिजोना विश्वविद्यलय अमेरिकामा विद्यावारिधि गर्दै गरेका गाउँले दाइ जगदीश पराजुली । उनी व्यवस्थित सिंचाइ प्रणालीका बारेमा अनुसन्धान गर्दै थिए । नयाँ ठाउँ घुम्ने, नयाँ मान्छे भेट्ने र कथा लेख्ने हुटहुटी मनमा कुद्दै थियो । यही हुटहुटीसँगै सुरु भयो मनाङ यात्रा । समय दुई साता, गत साउनको दोस्रो साता ।
पानीको कहर 
हामीले टेक्दा बेसीसहर शान्त थियो । त्यहाँबाट चामेका लागि बिहान ११ बजे छुटेको जिपका ड्राइभर थिए, चितवनका कृष्ण गुरुङ । ठूला पहाड खोपेर बनाइएको ६५ किमिको कच्ची सडक । गर्जेको मस्र्याङ्दी छेउछाउको यात्रा । बीचमा तर्नुपर्ने केही थान काठेपुल । अनि पुलैबिना तर्नुपर्ने म्यार्दी र तिमाङ खोला । पहिरोको उच्च जोखिम रहेको सडकमा ६ घन्टाभन्दा बढीको यात्रा । लमजुङ र मनांङका पहाडभन्दा त्यसलाई सहज पार गर्नुपर्ने चुनौतीको पहाड ठूलो लाग्यो मलाई ।


‘बर्खाको बेला कहाँ के हुन्छ भन्न सकिन्न,’ चालक गुरुङले भने । त्यसैले समूहमै यात्रा गर्नका लागि हाम्रापछि दुई र अघि दुई जिप कुद्दै थिए । चालकसहित ७ जना चढेको जिप, केही थान औषधि । केही सिमेन्टका बोरा । बिजुलीको सामान, रासनपानीसमेत गरी झन्डै आठ क्विन्टलभन्दा बढी सामानले भरिभराउ थियो । यसरी धेरै सामान र केही यात्रु बोकेर कुद्ने जिपहरू ६० भन्दा बढी रहेको सोही रुटका अर्का जिप चालक सुदीप तामाङले बताए । सडक आएपछि, प्रतिकेजी लगभग २० देखि २५ रुपैयाँ कम ढुवानी खर्चमा पिसाङ, भ्राका, मनाङका गाउँलेले बेसीसहरबाट रासन भित्र्याउन पाएका रहेछन् । यससँगै सरर सडक हुँदै मनाङ पुग्ने पर्यटक पनि बढेका छन् । यसले पैदलमार्गको व्यापारलाई हिउँले छाडेको हिमालजस्तो बनाइदिने डर पनि बढ्दै गएको छ । अझ गाडीको यात्रामा धेरै उचाइ केही क्षणमै कट्ने भएकाले उचित जानकारीको अभावमा पर्यटकहरू लेकको सिकार पनि भएका छन् । सडकले थपेको चुनौती त छँदै छ, यसले पुर्‍याएको सहजताको पनि लामै लिस्ट छ । अझ मनसुनमा यात्राको मज्जै बेग्लै ।

झरीको मौसम, पानीको उर्लदो रवाफ । पूरै पहाडलाई मोतीको मालाले बेरेको झैं लाग्ने च्याम्चेको झरना यात्राको मुख्य आकर्षण थियो । त्यहाँबाट केहीअघि लागेपछि लम्जुङ र मनाङको सिमानामा पर्ने म्यार्दी नदी तर्न भने हामी चढेको जिपलाई निकै सकस भयो । खोलाको बीचमा पुग्दा नै जिपभित्रै पानी पस्न थाल्यो । हाम्रा खुट्टा मात्र नभई सामान पनि भिजे । बल्लतल्ल खोला तरिसकेको के थियो, जिपका पांग्रा हिलोको दलदलमा गढ्न थाले । पछाडिका जिपमा रहेका साथीहरू पनि ओर्लेर जिप धकेल्न खोजे तर सकेनन् । धन्न बन्दै गरेको म्यार्दी पुल छेउमै डोजर थियो । फलामको लठ्ठाले जिपको पट्टा बाँधेर डोजरले तानेपछि मात्र दलदलबाट बाहिर निस्कियो । एउटा समस्याबाट पार नपाउँदै अर्को समस्या जेलिन आइपुग्यो, जिपको पट्टाको केही भाग भाँचियो । त्यही बेला पानी पनि पर्न सुरु भयो । थोरै तनाव, थोरै थकान, थोरै कौतूहल नभए यात्राको के मज्जा ?
पिसाङका मीतबा
तेस्रो दिन । हामी समुद्र सतहबाट लगभग ३३ सय मिटरको उचाइमा रहेको उपल्लो पिसाङ आइपुगेका थियौं । ७४ वर्षे याङ्दु गुरुङ आफ्नो ९७ वर्षे बालाई भेट्न बहिनीको घर जाँदै रहेछन् । यस्तो मौका दुर्लभ नै पाइन्छ । त्यसैमाथि एक दिनअघि मात्र तिब्बत घुमेर फर्केका थिए उनी । तिब्बतको कोसेली छुर्पी, मिठाई र खादा लिएर बा भेट्न हिँडेका उनकै पछि लागेँ म । केही बेरको हिंडाइमा बहिनीको घर पुगेपछि उनले बाबा डोली गुरुङलाई बोलाए । माने जप्दै आएका डोली ९७ त के ७९ वर्षका भन्न पनि नसुहाउने देखिन्थे । हात गोडा अझै तगडा । कान टक्लक्क सुन्ने । केही दाँत अझै बाँकी थिए । म महिना दिनपछिको बाउ–छोराको मिलन हेर्न लालायित भएँ । उमेरले मुहारमा जति धर्सो ताने पनि । बाबाआमाको अगाडि परेपछि जति बूढाबूढी पनि बच्चै देखिँदा रहेछन् । याङ्दुले बाबाको अघि शिर निहुराए आशीर्वाद थापे । बाबालाई तिब्बती गुम्बाबाट ल्याइदिएको खादा लगाइदिए । अनि कोसेली थमाए । डोलीले छोरालाई सुम्सुम्याएको माया मेरै आँखासम्म आइपुग्यो । युवा अवस्थामा गाउँ घुम्न आएका घलेहरूसँग याङ्दु र उन अन्य गुरुङका साथीहरूले मीत लगाएका रहेछन् । त्यसैले अहिले बुढयौलीमा मनाङ जिल्लाका धेरैले याङ्दुलाई पिसाङका मीतबाको नामले चिन्छन् । गाउँमा सामुदायिक भवन, झोलुं्गेपुल बनाउन अनि सडक ल्याउन सक्रिए भूमिका निर्वाह गरेका मीतबाको मनमा विकासको रहर अझै मेटिएको भने छैन । उनले गाउँभरि स्याउ फलाएर सहर पठाउने रहरको पोको फुकाइहाले । मीतबाले यसो भनिरहँदा उनका बाबा डोली टाउको हल्लाउँदै मज्जाले छुर्पी चुसिरहेका थिए ।

मनाङे ‘मा’
चामेमाथि लागेपछि । मनाङका केही गाउँमा अचम्मको चलन छ । जिल्ला बाहिरका मानिससँग जग्गाको कारोबारै हुँदैन । जिल्ला बाहिरकाले यहाँका चेली बिहे गर्न भने पाउँछन् । बिहेपछि यहीँ बसेर व्यवसाय तथा घरजम गर्न भने समुदायलाई केही रकम जरिवानास्वरूप तिर्न पर्छ । ‘गाउँठाउँअनुसार रकम फरक छ’, पिसाङका मीतबाले भने, ‘पछिल्लो पटक तीन लाखसम्म तिरेका छन् ।’ यसरी यहीँका चेली बिहे गरेर यतै व्यापार गरेर बस्नेहरू ओखलढुंगा, काभ्रे, गोरखा, धादिङदेखि पोखराकासम्मका मान्छेहरू छन् । उनीहरूलाई यहाँको भाषामा ‘मा’ अर्थात् ज्वाइँ भनिन्छ । पिसाङ गाउँमा मात्र मनाङे ज्वाइँ ८ भन्दा बढी भएको होटल मनाङ मस्र्याङ्दीका याम घलेले बताए । गोरखाका उनी आफंै पनि मनांङे ज्वाइँ हुन् । बन तथा बन्यजन्तु संरक्षण गर्ने अभियानमा सक्रिय उनी उपल्लो पिसाङमा होटल व्यवसाय गरेर बस्छन् । टयांकी मनाङमा पनि ५ जना यतै घरजम गरेर बसेका व्यक्ति रहेको स्थानीय कान्छा लामाले बताए ।
किकीमा ‘कें’ 
हामीले छाड्ने दिनदेखि नै पिसाङमा पिकनिङ सुरु भएको थियो, चार दिनका लागि । स्थानीय भाषामा यसलाई किकी अर्थात् ‘मीठो कुरा’ भनिँदो रहेछ । वर्षको एक पटक । प्राय: साउन महिनामा । गाउँअनुसार एकदेखि सात दिनसम्म चल्दो रहेछ किकी । पिसाङको किकीमा कालो याक ढालिएको थियो । कोही पकाउन व्यस्त, कोही नाच्न त कोही तास खेल्न । बाघ, पारा, कौडाका जुवा खाल पनि उस्तै जम्दै थिए । केही युवाहरू धनुष र वाण बोकेर तारो हान्दै थिए । साना केटाकेटीहरू फुटबलमा झुम्दै । मौका कसरी चुकाउनु ? जंगली लसुन र गोलभेंडाको चटनी । याकको मासु अनि कें अर्थात् भात ।

खुला चौरमा बसेर, फूलेको फापरबारी नियाल्दै, हामीले पनि मज्जा लियौं । यो मौकाले हामीलाई अर्को गाउँ भ्राकामा पनि पच्छयायो ।

न धनी न गरिब । के बच्चा के बूढाबूढी । सबै जातजातिसँगै बसेर पकाउने खाने र रमाइलो गर्ने । यस्तो माहोलले हामीलाई पनि स्थानीयजस्तै बनायो । नाचियो, गाइयो अनिसँगै खाइयो पनि । ‘उहिले उहिले खुब रमाइलो हुन्थ्यो, आफैं गाउने आफैं बजाउने,’ टयांकी मनाङका भुजुङ गुरुङले भने, ‘अहिले त ठूला ठूला स्पिकर घन्कन्छन्, रमाइलो घटिसक्यो ।’ हुन पनि उमेरले पहाड चुमेका बूढाबूढीलाई भने किकी कम रसिलो हुन थालेको प्रस्टै देखिन्थ्यो । सायद हराउँदै गएको आफ्नोपनले मनाङलाई मात्र हैन पूरै नेपाललाई दुखाएको छ ।
एक्ला यात्री
यात्रामा मैले केही यस्ता विदेशी पात्र भेटेँ जो एक्लै नेपाल चहार्दै थिए । एक थिए भर्खरै २० टेकेका स्पेनका ठिटा जेभिएर । मेडिकल इन्जिनियरिङमा स्नातक पढ्दै गरेका उनी पिसाङको पिकनिकमा गाउँलेसँगै घुलिसकेका थिए । अघिल्लो रात नै पिसाङ आइपुगेका उनी तिलिचो हुँदै थोराङला पास गर्ने योजनामा रहेछन् । उता मेड्रिड सहर गर्मीले काकाकुल भइरहेको बेला उनी भने मनाङमा चिसोको मज्जा लिँदै थिए । भारतको केरला, मुम्बै, गोवा, तामिलनाडुका विभिन्न गाउँ दुई महिना घुमेर स्थलमार्गबाट नेपाल आएका उनको आनीबानी हेर्दा वर्षौंदेखि नेपाल बसिरहेको झैं लाग्यो ।

यस्तै अर्का एक अमेरिकीसँग पिसाङमा कुराकानी हुन पायो । कबिरमान सिंङ हेमसाथ । एन्थ्रोप्लोजीका प्राध्यापक । साधारण भएर हिंड्न रुचाउने उनी नेपाली थोरै बोल्थे अनि धेरै बुझ्थे । नाम अलि अनौठो लागेर मैले थप जान्न खोजेँ । उनकी आमा भारतीय मूलकी रहिछन् ।

बाबा अमेरिकन । नाम दुवैको फयुजन । गज्जबको कुरा उनले बिहे भने काठमाडौंकी नेवार केटीसँग गरेछन् । उनका ससुराचाहिं नेपाली नै भए पनि सासू भने इरानी मूलकी रहिछन् । यसैले भनिएको होला, देशहरूबीचमा लगाइने राजनीतिक पर्खाललाई बलिया सम्बन्धका बलले तहसनहस बनाइदिन सक्छ ।

यात्रामा यस्ता धेरै पात्र भेटिन्छन् जसले हामीमा यात्रा गरिरहने ऊर्जा थप्छ । भ्राकाको बाटोमा मैले भारतीय मूलकी एक युवती भेटेँ । अग्ली र पातली । जंगलको बीचैबीच उकालो चढ्नुपर्ने लगभग चार हजार मिटर उचाइमा रहेको मिलारेपा गुफा जाने बाटो खोज्दै थिइन् । मलाई गुफा रहेको पहाडको उचाइभन्दा उनको साहसको उचाइ ठूलो लाग्यो । बाटो बिराएकी उनलाई मैले गुफा जाने बाटो देखाइदिएँ । ‘थेङ्क्यु सो मच’ यति भनेर उनले दुवै हातमा समातेका लौरीहरू सरासर अघि बढाइन् । लाग्यो यिनीहरू थोरै केही पात्रहरू हुन् जो आफ्नै निम्ति बाँच्दै छन् । अनि यस्तो खुला विश्वविद्यालयमा पढ्दै छन् जहाँ पाठयक्रम आफैं बनाउँछन् । परीक्षा आफंै दिन्छन् । कहिल्यै फेल हुँदैनन् । कि जित्छन् कि सिक्छन् ।


पाइलैपिच्छे जिन्दगी
अध्ययनका सिलसिलामा पानीको मुहानमा पुग्नु । त्यसको भौगोलिक नाप लिनु पनि जिम्मेवारी थियो । यसका लागि हामी ३५ सय मिटरभन्दा बढी उचाइमा रहेका पिसाङको सांके खोला, भ्राकाको घट्ट खोला अनि ट्याङी मनाङको स्याङ्तान खोलाको मुहानमा पुग्यौं । यी तीनै मुहान पुग्न डरलाग्दो भीर छिचोलेर जानुपथ्र्यो ।

घट्ट खोला मुहान छिचोल्ने भीर । चार हातखुट्टा टेकेर आफैं बाटो बनाउँदै उक्लनुपर्‍यो । तब मन खंग्रङ्ग भयो जब बीचैमा न चल्ने ठाउँ पाइयो न राम्ररी अडेसाउने ढुंगो । हातगोडा फतक्कै गले । भीर पनि जहाँ टेक्यो त्यहाँ फुसफुस गेगर निस्कने । तल हेर्‍यो दाँत उदयाएर बसेका चट्टान अनि उर्लेको भेल । भर्खरै गएको पहिरोले पानीको पायप मात्र छाडेर हिंड्ने बाटो बोकेर कुदेछ । पहिरोले ताछिएको भीरमा पाइला चाल्दा दुई पटकसम्म खुट्टा लस्किएपछि एकै छिन त यता न उताको भइयो । मैले ६ सय वर्ष पुरानो भ्राका गुम्बाको बुद्धलाई सम्झेँ । बाटोमा ढुंगा चढाएका छोर्तेनहरूलाई सम्झें । अनि विभिन्न रङका तोरन जस्ता तर्नासँगै सल्लाको डन्डीमा उभिएर फर्फराउँने थोच्र्योलाई सम्झेँ । यससँगै मैले परिवार अनि आफन्तहरूलाई पनि सम्झेँ । जिन्दगी जब धारमा हुन्छ, तब हामीसँग सम्झनाका निम्ति अनेकौं यादहरू फनफनी आँखाअघि नाच्दा रहेछन् । अब भने जीवनलाई आफ्नै पाउमा नबिसाई सुखै भएन । मैले बिस्तारै फेरि पहिलो पाइला चालें, लगत्तै दोस्रो तेस्रो गर्दै झन्डै भीर काटियो । त्यसपछिका साना ठूला भीरमा डरलाई पैतालामुनि बिसाएर हिंडियो । एक दुई ठाउँमा चिप्लियो, पछारियो तर ज्यान सम्हालियो । जाबो एक छिनको, एक दिनको यात्रामा त पाइलामा जिन्दगी बोकेर हिंड्नुपर्छ । नार, फुलगायत मनाङमा यस्ता ठाउँहरू छन् जहाँ हरेक दिन पाइलामा जिन्दगी बोकेर गोठालाहरू भेडा र चौरीका पछि कुद्छन् । यसरी आफूले पहिलो पाइला चालेर हजारौं पदयात्रीहरूका लागि यात्राको चिह्न छाडिदिने सबैलाई नमन गर्न मन लाग्यो ।
जाँदा खोला, आउँदा पुल
दुई सातापछि । मनाङमा स्थलगत अनुसन्धानको काम सकियो । मनाङ गाउँबाट सदरमुकाम चामे फर्कने तरखर थियो । लटरम्मै फूलेको फापरबारी । उर्लेका झरनाले सिँगारेका हरिया पहाड । सस्तिएको बजार भाउ र स्वादिलो खाना । अनि झरीले बिगारेका बाटोका मीठा चुनौतीहरू । मनसुनमा मनाङका यस्तै सुन्दर तस्बिरहरू मनमा थिए । म गाडी पाइन्छ कि भनेर खोज्न निस्केँ । यात्रु खोज्न निस्केका गाडी चालकसँग भेट भयो । के चाहियो, लागियो गुटुटु । मनमा भने आउँने बेलामा अड्काएको म्यार्दी खोलाले तर्साइरहेको थियो । त्यहाँ पुग्दा भने अचम्मै देखियो । गएको दुई साता मात्र पुगेको थियो, खोलामाथि बेलिब्रिज बनिसकेछ । भलै अरूले यो पुल तर्न वर्षौं कुर्नुपर्‍यो । हामीले भने दुई सातामै विकासले फड्को मारेको अनुभव गरियो । साँच्चै नै यति चाँडो विकास हुन पाए त मनाङसँगै देशले पनि कोल्टो फेथ्र्यो कि ?
twitter@bhabasagar
असोज १३ २०७५ मा  कान्तिपुर कोशेलीमा प्रकाशित ।
https://www.kantipurdaily.com/koseli/2018/09/29/1538192229143667.html

Comments