Skip to main content

छोरी निदाइन्...

हाम्रो देखासिकीमै। दुई वर्ष पुग्दा नपुग्दै छोरीले कलम समाउन थालिन्। उनको रूची देखेर, मैले उनलाई बाह्र रंगका कलमहरू ल्याइदिएँ। ती सबै कलम एकैपटक समाएर सेतो पानामा घेरो बनाउँदा रंगिन इन्द्रेणी बन्यो। छोरीले खुशीहुँदै ताली बजाईन्। कापीमा कोरिन्। किताबमा कोरिन्। भुइँ, भित्तामा कोरिन्। अनि रंगहरूसँग खेल्दा खेल्दै रंगको बट्टानै च्यापेर मस्त निदाइन्।
उनी निदाउँदा उनी मात्र निदाइनन्, मेरा निम्ति सारा संसार निदायो। आडैको उनको गुडिया निदायो। उनले खेल्ने बल निदायो। अनि निदायो उनले सुम्सुम्याउँने भाँडाकुटीहरू। लाग्यो रुखहरूले पात हल्लाउन बिर्से। हिड्दै गरेका मान्छेहरू टक्क अडिए। घुम्दै गरेको पृथ्वीले थकाइ मार्‍यो। मैले लामो सास फेरेँ। उनले च्यापेका रंगहरू बिस्तारै झिकेर सिरानी पछाडि राखिदिएँ। उनलाई पातलो पच्छ्यौरा ओढाइदिएँ। बिरालो चालमा कोठा बाहिर आएँ। दिनको हल्लाखल्ला बीच मनमनै प्रार्थना गरेँ, ‘छोरी निदाईन्, कसैले हल्ला नगरून्।’ तै पनि आजकल  शहरमा धेरै हल्ला हुन थालेको छ। छिमेकमा बन्दै गरेको घर। काठमा खुर्किन सकिनसकि कुद्दै गरेको मेसिनले उनलाई केही बेरमै उठाइदियो। उठ्ने बित्तिकै उनले फेरि उही रंगहरू खोजिन्।

यसरी रंगहरूसँग उनी रमाउँन थालेको पनि वर्ष दिन पुगिसक्यो। यो एक वर्षमा उनले धेरै कागजहरूमा रंगहरू भरिन्। घना जंगलमा देखिएका रुखका पातहरूजस्तै। आकाश गंगामा छरिएका ताराहरू जस्तै। घण्टाघरले देख्ने काठमाडौंका सडकहरू जस्तै। उनले केरेका पानाहरूमा मैले विभिन्न आकृतीहरू पाएँ। उनले कलम समाएदेखि ‘क’ लेख्दासम्म मैले उनका मसिना औला निक्कै पटक सुम्सुम्याएको छु।
मैले कहिल्यै पनि नबनाएको आफ्नो अनुहार उनको अनुरोधमा धेरै पटक कापीमा बनाएँ। हात्तीको जस्तो कान। ऊँटको जस्तो खुट्टा। बाँदरको जस्तो पुच्छर पनि बनाएँ। उनले भनेका रंगहरू भरेँ। छोरी रमाइन्। म रमाएँ। सकियो। र आज पनि उनी सुत्नेबेला रंगहरू च्यापेर निदाउन मन पराउँछे। र आज पनि मलाई लाग्छ उनी निदाएपछि चराहरूले पनि आराम गरून्। आकाश पनि नगड्गडाओस्। मन्दिरमा कसैले घण्टि नबजाओस्। अनि यो शहरमा, कसैले काठमा रन्दा नधसोस्। मेसिन चलाएर फलाम नकाटोस्। छिमेकीले छेउको भित्तामा किल्ला नठोकुन्। क्यासेट नघन्काओस्। झिंगाहरू नभुन्भुनाउन्। कुकुरहरू नभुकुन्। म चाहन्छु मेरी सानी छोरी जब निदरीको काखमा पुग्छे, मस्त। निर्धक्क। निस्फिक्री निदाउन पाउनुपर्छ।
तर, आजकल, जब छोरी निदाउँछिन् तब म छातिमा हात राखेर। शिरानीमा शिर अडेसाएर। कोठाको छत तिर हेर्छु। फाल्न नभ्याएको माकुराको मसिनो जालो। जालोमा अल्झिरै सुकेको मसिनो भुसुनो किरो। एकोहोरो टोलाउँदा त्यही जालोसँगै मेरा मनमा अनगिन्ती समाचारहरूको जालोले ताना बुन्न आउँछन्। ती समाचार जो हरेक बिहान कहालिलाग्दा हेडलाइन भएर आउँछन्।
प्रत्येक दिन औसतमा तीन महिलाको बलात्कार। प्रत्येक दुई दिनमा १० वर्ष मुनिका एक बालिकाको बलात्कारको तीतो तथ्य। यति बेला एउटी सानी बचरीको बाउ हुनु। सन्तानको माउ हुनुको पीडाले मन कुँडिन्छ। सोच्छु, के भोलि पनि यो देशमा मेरी छोरीले मस्त निदाउन पाउँलिन्? के उनी हुर्कने आँगन। पढ्ने स्कुल। खेल्ने चौर। सुस्ताउने चौतारो। रमाउने बजार। यात्रा गर्ने बसहरूमा उनी आफूले मन पराएका रंगहरू भेटाउँलिन्? के हरेक दिन उनी हिड्ने बाटोहरूमा इन्द्रेणीले आफ्नो रंगहरू बिच्छ्याउँला ?
छोरी सुतिरहँदा। उनले कोल्टो फेर्दा। यस्तै प्रश्नहरूका गाडी चढेर आजकल मेरो निन्द्राले अन्तै डेरा सर्छ। उनी उठ्दा, खेल्दा र हाँस्दा। मेरो एकोहोरोपनले धेरै तीता खबरहरू गमिसकेको हुन्छ। हामीले के सिक्यौं? हामीले के सिकायौं? हामी कति जिम्मेवार भयौं? यस्ता प्रश्नहरूले घोच्छ, मनैभरी।
सायद यसैले होला, म हिड्दै गर्दा आजकल धेरै पटक टक्क रोक्किने गर्छु। फरक्क फर्कने गर्छु। कोही सानो नानी रोएको आवाजले। मलाई आफ्नै छोरी रोएकी पो हो कि भन्ने भान गराउँछ। मकै पोल्ने आमा छेउ बसेका नानीहरू। बाको धुजा धुजा परेको मैलो दौराको फेरो समाएर। बाले गुडाउने ठेलाकोपछिपछि खाली खुट्टा कुद्ने नानीहरू। गिट्टी कुट्दै गरेकी आमासँगै गोट्टा खेल्दै गरेकाहरू। जंगलको बाटो स्कुल हिड्दै गरेकाहरू। एक मुठी घाँस खोज्न। एक मुठी सासलाई पटुकामा बाँधेर भीरमा अडेसाएकाहरू। यी सारा नानीहरूमा म मेरी छोरीको अनुहार देख्छु। के यो देशमा। यिनीहरूले हरेक दिनको घाम उस्तै न्यानो भएको महसुस गर्न पाउँलान्? के हरेक रातको जूनलाई जहाँबाट पनि निडर भएर नियाल्दै हिड्न सक्लान्? म आजकल यस्तै प्रश्नमा अल्झिन्छु।
प्रश्नै प्रश्नले घेरिरहँदा। मैले यो लेखिँरहँदा। अहिले मेरी छोरी आडैमा मस्त निदाइरहेकी छिन्। अझै पनि उनले निदाउँदा हातमा रंगहरू समाउन छाडेकी छैनन्। यो देशमा। म चाहन्छु, मेरी छोरीले सधैं यसैगरि मस्त निदाउन पाउन्। यो शान्ति बिथोल्न कसैले पनि हल्ला नगरोस्। उनले समाएका रंगहरू खोस्न कसैले पनि छुरा नचलाओस्।

https://setopati.com/blog/165548

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...