Skip to main content

मन लोभ्याउँने ल्वाङ्ग


—भवसागर घिमिरे

‘हामी जिन्दगीबाट भाग्नको लागि यात्रा गर्दैनौं, बरु जिन्दगीकोलागि नै गछौं ताकी यसले हामीलाई  छाडेर नभागोस् ।’ यस्तै प्रचलित भनाई अनि यात्रीहरूको यात्रा कथाले नै हामीमा नयाँ ठाउँ घुम्न जाने रहर जन्माउँछ । नयाँ साथी भेट्ने अनि खानाका नयाँ परिकारको स्वाद लिने इच्छाको टुसो जब मनमा पलाउँन थाल्छ तब पाइलाहरू मन जितेर अघि सर्छन् । दशैंको लामो विदा सायद यसैको लागि भएको होला, हाम्रो सानो टोलीले अन्नपुर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको ल्वाङ्ग गाउँ जाने सपना बुन्यो ।

गुडिरहेको बोलेरो जिपको छतमा थियौं हामी, जुका झै टाँसिएर बसेका । पोखराको हेम्जा मिलनचोकबाट छुटेको जीपले पौने घण्टा हाराहारीमा फेरि ब्रेक लगाएपछि हामीले थाहा पायौं खोरामुख आइपुगेछ । छतबाट फाल हाल्ने बित्तिकै सुरुमा मेरो नजर उसैमाथि गयो । उ अर्थात खैरो कुकुर । उ हामीलाई एक टकले हेर्दै थियो, लाग्थ्यो स्वागत गर्न कुरिरहेको छ । चिल्लो र सर्लक्क परेको उसको जिउ । छोडुवा भन्दा पनि पाल्तु जस्तो देखिन्थ्यो । आफूलाई सानैमा कुकुरले झम्टेको भएर होला बिना परिचयको यो प्राणीलाई ध्यान दिनु ठिक लागेन ।


‘तीन सय बीस भयो,’ ड्राइभर भाईले चारजनाको भाडा मागेपछि मेरो ध्यान भंग भयो । होमनाथले खनखनी पैसा निकालेर तिरे । होमनाथलाई यो एक रात दुई दिनको यात्रा सुरु हुनु अघि नै सबैले केही पैसा उठाएर दिएका थियौं । त्यसैले यो यात्रामा उनको नयाँ नाम न्वारन भैसकेको थियो, ‘ठेकदार’ । यात्रामा म र होमसँगै त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दाका दुई सहपाठी थिए, सुरेश र जय । यात्रामा अर्का एक सहपाठीलाई अघिल्लो साल झै चाहेर पनि ल्याउन सकिएन, नरेन्द्र ।

खोराको मुखबाट ल्वाङ्गतिर अघि बढ्नु पहिले थोरै पछि फर्कौं । पोखराको हरिचोकबाट हामीले हेम्जा मिलनचोकको लागि पहिलो गाडी पक्डेका थियौं । आधा घण्टामै हामीले मिलनचोकबाट लुम्री जाने जीप समात्यौं जसले हामीलाई ल्वाङ्ग हिड्ने दोबाटो अर्थात खोरामुखसम्म लगिदिने भयो । जीप भित्रको सिट भरिभराउ थियो । ‘अर्को अब चार बजेमात्र आउँछ, त्यसको सिट पनि पहिल्यै प्याक छ,’ दिनको १ बजे ड्राइभरभाईले यस्तो वातावरण बनाएर भनेकी हामीलाई जीपको छतमा नउक्लि सुखै दिएनन् । एक त गत दशैंको भोलिपल्ट । त्यसमाथि निक्कै कम यातायात चल्ने रुट । खोरामुखपछि जंगलको बाटो हिड्नु नै थियो, त्यसैले मिलनचोकबाटै हिड्ने आँट गरिएन । छतको जोखिम यात्रामा बाटोभरि सुरेश थकथक गर्दै थिए, ‘भर्खरै ढाडको दुखाई सन्चो हुँदै थियो, फेरि बल्झिने भयो ।’ यात्रामा अनपेक्षा गरेको कुराको अपेक्षा गर्नु राम्रो हुन्छ । सायद हाम्रो लागि यहि नै यात्राको रोमाञ्चक पक्ष थियो । पानीमा पौडदा ज्यान भिजेजस्तै यात्रामा निस्कँदा ढाड, कम्मर, खुट्टा दुख्नु स्वभाविक हो । त्यसमाथि हामी जस्ता रामापिथेकशहरूको ज्यान जो दिनुहँ ल्याप्टपमा अविकशित मानव झै जिउ कुप्रोपारेर किबोर्डको गिट्टी कुट्छौं । खोरामुखमा चियाको चुस्की तानेपछि भने ज्यान अल्लि हल्का भयो । त्यसपछि मात्र हाम्रो टोली उकालो लाग्यो, ल्वाङ्ग तर्फ ।

मलाई यात्रा सुरुवातकै बेलामा एउटो कुरो मनमा खड्केथ्यो, त्यो गाउँको नाम ल्वाङ्ग कसरी रह्यो ? के त्यहाँका हरेक मान्छेले भात खाने बित्तिकै ल्वाङ्ग खान्छन् ? वा भात खाएपछि ल्वाङ्ग दिन्छन् ? कोलम्बसले अमेरिका पत्ता लगाए भने म बबुरोले यति जाबो कुरो कसरी पत्तो नपाउँला । यसबारे सोधखोज गर्ने बिचार गरेँ । यात्रा सुरु गर्न पाएको छैन, अचम्म भयो । अघिको खैरो कुकुर पनि हामीसँगै पछि लाग्न थाल्यो । ‘यसको घर पनि यहि नजिकै होला,’ होमनाथले अड्कल काटे, ‘केही बेरमा हाम्लाई छोड्छ ।’ उनको अड्कल बिपरित बस्ती सक्किएर जंगल सुरु हुँदा पनि उ हाम्रै पछिपछि लागेर उक्लन थाल्यो । अब भने हाम्रो टोलीमा नयाँ सदस्य थपियो । हामीले ठट्टैठट्टामा उसको नाम पनि न्वारन गरिदियौं, नरेन्द्र (छुटेको साथी) । हुन पनि कुकुर अचम्मैका थियो, ‘नरेन्द्र भन्नासाथ पुलुक्क टाउको उठाएर जिब्रोलाई मुखबाट लत्राउँदै हेरिहाल्थ्यो ।’ हामी खित्का छाडेर हास्थ्यौं । उ साँच्चैको साथी झै प्यारो देखियो । उसले हामीलाई किन पच्छ्यायो ? उसको घर कहाँ होला ? के अबको डेढ घण्टाको उकालोमा उसले हाम्रा पाइला टेक्दै अघि बढ्ला ? मनमा प्रश्नहरूले जरो गाड्न थाले ।

हामी उक्लिँदै गर्दा आकाशको निलो रंग कालो बादलले ओगट्न थाल्यो । हाम्रो साथमा ओत दिने न कुनै प्लाष्टिक थियो न छाता नै । साथमा भएको मोबाइल जोगाउने उपाए पनि थिएन । यस्तो अवस्थामा माछापुच्छे्र काखको मौसम थियो हामीसँग जहाँ खानेपानी आउँने धारा प्राय सुख्ख हुन्थ्यो तर आकाशले धर्ति भने भिजाइरहन्थ्यो । यात्रामा कौतुहल्ता, हतास, थोरै डर, अलिकति खुशी अनि रोमाञ्चकता भएन भने यात्रा रमाइलो पनि हुँदैन । पानी भिजिन्छ भन्ने डरलाई हामीले पैताला मुनी राख्यौं र त्यो पैतालाको गति भने अल्लि बढाउँन थाल्यौं ।

केही माथि पुगेपछि थकाइमार्ने चौतारो पायौं हामीले । चौतारो यस्तो थियो, बटुवा नआएको जुगौं भएजस्तो । चौतारो कुरेर बसेको रुख पनि राम्ररी सप्रेको थिएन । आडैमा एउटा जिर्ण मन्दिर थियो, लाग्थ्यो भक्तजन नआएको दशकौं भैसक्यो । हातमुख जोर्ने युद्धमा होमिन गाउँदेखि शहर अनि शहर देखि रहर बोकेर विदेशीनेको लर्कोले गाउँका देउताहरूले पनि दुःख पाउँन थालेछन् । उकालोमा बाटो चिनाउँन बनाइएका ढुंगाका छपनीहरू नाप्दै । खुट्टामा सुम्सुम्याउँन आउँने उन्युका मुन्टाहरू पन्छाउँदै । अनि बाटो छेउछाउ जंगलमा फूलेका अपरिचित निला र सेता फूलका रंगहरूले आँखाका नानीहरू रंगाउँदै हाम्रो यात्रा लगालग अघि बढ्यो । जहाँ बाटो अलमल परिन्थ्यो खैरे साथी फटाफट अघि लागेर बाटो चिनाउँथ्यो । हामी उसैको विश्वासमा अघि बढ्थ्यौं । धन्न, लगभग दुई घण्टाको हिडाइमा ल्वाङ गाउँ सुरु भयो । खैरे साथीले पनि पच्छ्याइ नै रह्यो । बेसी देखि पच्छ्याएको प्रतिकुल मौसमले भने पानी घोप्टाइदियो । हामी ओत लाग्न पहिलो घरको पिढीँमा पुग्यौं, खैरेसँगै । लामो समयसम्म परेको पानीले एक्कासी चिसो बढायो । पाहुना बनेका हामीले मकै र चियाको स्वागत पायौं ।

पानीकै बीचमा विदेशी पर्यटकको एक हुल भिज्दै उकालो लाग्दै थियो । उनीहरू यहि रुट हुँदै अन्नपुर्ण बेस क्याम्प जाँदै रहेछन् । साथमा १० वर्षका जस्ता देखिने उनीहरूका बाबुनानीहरू पनि थिए । भारी बोक्ने भरियाका साथ लागेर उकालो लागेका । यात्राका निम्ति उनीहरू सातसमुन्द्र पारीबाट यहाँसम्म होमिएका थिए, हामी नजिकै भएर पनि आजसम्म एक दिन छुट्टाउँन सकेनछौं भन्ने थकथकी मनमा लाग्यो । पानीले थोरै बिश्राम लिएपछि भने हामी फटाफट ‘होमस्टे’ खोज्दै उकालो लाग्यौं । बाक्लो गुरुङ बस्ती सुरु भयो । साघुरा गल्लिहरू हुँदै पुग्यौं होमस्टे नम्बर ५, हिम कुमारी गुरूङको घरमा । यसरी बास दिने १३ घरहरू ल्वाङमा छन् जसलाई व्यवस्थापन गर्न अन्नपुर्ण क्षेत्र  संरक्षण परियोजना         (एक्याप) र राष्ट्रिय प्रकृती संरक्षण कोष (एनटिएनसी) ले सघाएका रहेछन् ।

हिमकुमारी आमैको स्वागतले नै हामीलाई लोभ्याइसकेको थियो । ‘चिया पिउनुहोस्, जाडो छ,’ नयाँ पाहुना हामीलाई आफ्नै घर जस्तो पो लाग्न थाल्यो । ‘साँझ सादा खाना, भोलीपल्ट विहान खाजा र दिउँसो खाना गरेर एक जनाको जम्मा आठ सय हो’ उनले भनिन्, ‘बासको खर्च पनि यसभित्रै आउँछ, सस्तो छ बाबु ।’ कमेरो र रातो माटोले पोतेर रंगिन बनाइएको । पुरानो डिजाइनको लाम्चो घर । छानामाथि माहुरीको घार । ठूलो पिढीँमा पाहुनालाई बस्न गुन्द्र ओच्छाइएको । शौचालय पनि चिटिक्क पारिएको । घरभित्र पसेपछि सफा बिस्तारा, अनि कौशीबाट देख्न पाइने फाँटहरू अनि त्यसैमाथि डुलेका मसिनो कुहिरो । यस्तो व्यवस्था, सस्तो दरमा पाएपछि मन नलोभिने कुरै भएन । पोखराबाट छ जना विद्यार्थीको समुह पनि त्यस रात त्यही बास बस्न आइपुग्यो । एक्कासी झल्यास्स भएँ, ‘घरसम्म हाम्रो साथी भएर आएको खैरो कुकुर हामीसँगै थिएन ।’ त्यती लामो बाटो साथी भएर आएको कहाँ गयो होला त ? कौतुहलता बढ्यो । यताउता चाहर्दा पनि भेटिएन । यात्राभरी हामीसँगै थकाई मार्ने अनि हामीसँगै उकालो काट्ने साथी हाम्रो यात्राकै अंश भएको थियो । यात्रा हो भेटिने र छुटिने भैहाल्छ, मन बुझाएँ । त्यस रातको बास त्यही बसेर रमाइलो ग¥यौं । विहान अण्डा र चिया खाएर चियाबगान हेर्न उकालो लाग्यौं । १ सय १४ जना किसानको समुहले दुई दशक अघि रोप्न सुरु गरेको अन्नपुर्ण चियाको बगानले अहिले ल्वाङ गाउँलाई नै मिनि इलाम बनाइदिएको रहेछ । समुन्द्र सतहबाट १६ सय ३० मिटर उचाईमा रहेको बगान पुग्न होमस्टेबाट हामी लगभग आधा घण्टा उक्लियौं । त्यहाँबाट सुन्दर हिमश्रृखलाको मज्जा पनि लिन पायौं ।

ल्वाङको अर्को आकर्षण भनेको यहाँको झरना हो जसमा स्थानीय युवाले क्यानोइङ सुरु गरेका छन् ।
‘अब खाना खाएर क्यानोइङ हेर्न जान पर्छ,’ जयले कुरा उप्काइहाले । ‘दैलो अघि आएर घर नपसी कहाँ हुन्छ त ?’ मैले पनि उसको कुरामा सहि थपेँ । जुत्ता फुकाल्दै जुका फाल्दै हामी हतारहतार तल झ¥र्यौं । गुरुङ होमस्टेमा स्वादिलो खानाको मज्जा लिएपछि हामी सबैलाई माला र टिका लगाएर हिम कुमारी आमैले बिदा दिनु भयो । भाग्य भनौं, ड्रिमल्याण्ड क्यानोइङका बोनी गुरुङसँग बाटैमा भेट भयो । उनीबाटै थाहा भयो, गाउँमा पहिला एउटा बडेमानको ल्वाङ्गको बोट थियो रे, त्यसैबाट यो गाउँको नाम जुरेको रहेछ, ‘ल्वाङ्ग’ । गाउँको नामको अर्थ लगाएपछि उनी आफैले हामीलाई क्यानोइङ देखाउँन लगे ।

बस्तीबाट लगभग १५ मिनेटको दुरीमा रहेको यो क्यानोइङ ७० मिटर उचाईको छ, झर्नासँगै झर्न पाइने कत्ति रमाइलो । ‘आफ्नै गाउँमा केही गरौं भनेर सरकारबाट यसको आधिकारीक लाइसेन्स पनि लिइसकेको छु,’ उनले भने, ‘बिस्तारै यसको प्रचार प्रसार बढाउँदै छौं ।’ बोनी गुरुङ जस्ता युवाको उत्साह अनि गाउँले आमाहरूको स्वागत सत्कारले एक रात दुई दिनको ल्वाङ बसाई निक्कै अविस्मरणीय रह्यो । जीप पक्डिन खोराको मुखसम्म आइपुग्दा मनमा एउटा कौतुहलताले निक्कै डेरा जमाइरहेको थियो, ‘खैरे साथी कहाँ गयो होला ?’ अचम्मको संयोग, भरिभराउ जीपभित्र कोच्चिनु अघि झुलुक्क उसलाई त्यही ठाउँमा फेरि देख्न पाइयो । उ हाम्रो पछि लागेर किन माथि गाउँसम्म गयो ? कोसँग पछि लागेर कतिखेर यहाँसम्म आइपुग्यो ? मनमा प्रश्नहरूले भैरव नृत्य गर्न थाले । हामीलाई उसले जीप छुट्ने बेलासम्म एक टकले हेरिरह्यो, पुरानो साथी छुटिन लागे झै । यात्रामा छुटिनु भनेको फेरि भेट्ने बाचा कस्नु हो रे । सायद फेरि उसँग भेट होला । ल्वाङ गाउँसँगै उसको पनि मीठो सम्झना बोकेर हामी घर फर्कियौं । मनमा नयाँ रंगको उर्जा थपिए झै लाग्यो, थोरै जिवन्त भए झै । प्रचलित भनाइ जस्तै, ‘हामी जिन्दगीबाट भाग्नको लागि यात्रा गर्दैनौं, बरु जिन्दगीको लागि नै गछौं ताकी यसले हामीलाई छाडेर नभागोस् ।’
कान्तिपुर कोशेलीमा प्रकाशित ।
http://kantipur.ekantipur.com/printedition/news/2017-12-09/20171209091144.html

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ