Skip to main content

‘ट्याक्सी मिटरमा जान्छ ?’



सामान्यतया छ घण्टा लाग्छ । गत बिहिबार १२ घण्टाको बस यात्रामा बल्ल तल्ल काठमाडौं आइपुगियो पोखराबाट । एसी सुविधा सहितको टुरिष्ट बस गोल्डेन ट्राभल्सले एसिको चिसो त पुरा यात्रामा जम्मा आधा घण्टा मात्र चखायो त्यो पनि सबैले झपार्न थालेपछि मात्र । वाइफाइ त कहाँ पाउँनु । यसै पनि धेरै बसमा वाइफाइ लेखिएको पढ्न पाइन्छ चलाउँन पाइँदैन । एकै सिट भिन्न यात्रुहरूको नाममा बुकिङ गर्देकाले अर्को तनाव भयो । आधा घण्टा भन्दा बढी दोबाटो मै बस रोकियो । केही विदेशी पर्यटकले आफू बसिरहेको सिट गुमाए र अन्त सर्नु प¥यो । यस्तो बेला हरियो प्लेट लगाउँने बसलाई नै लाज नलागेपछि के गर्नु ? 

अझ बसको ढोका बिग्रेको रैछ पुरै दाम्लो लगाएर बाँध्न र खोल्न पर्ने । बस हिडिरहँदा पनि धेरै पटक डोरी फुस्केर ढोका अटोमेटिक खुल्थ्यो । यात्रा भरी ढोका झर्ला कि झै गरी बजेको कर्कश संगीतले पनि पार्नु पा¥यो । सानी छोरीको हैरानी हेर्दै, दोब्बर समय लगाएर, कलंकी झरेको छैन ट्याक्सीवालाको मनोमानी सुरु भयो ।


सामान्यतया ३ सय रुपैयाँमा कलंकीबाट नयाँ बानेश्वर आइपुगिन्छ मिटरमै । एक त मिटर लगाउँने कुरो गर्दा कानै नसुने झै गर्छन् । अर्को कोट्याइ कोट्याइ सोध्दा ५ सय घट कसैले भन्या हैनन । सोच्छु, यो शहरमा ट्याक्सी चढ्दा जाने ठाउँका बारेमा मात्र कुरा हुनै पैसाको बारेमा कुरै गर्न नपर्ने कहिले होला ? पैसा त खास ट्याक्सीको मिटरले बोल्न पर्ने हो तर यहाँ त्यो भन्दा पहिला चालकको मुखको मिटर चल्न सुरु गर्छ । अझ मिटर जाउँ भन्ने बित्तिकै केहीले भने मीठो कथा बुन्दा रैछन्, ‘जान्थेँ हेर्नु न अर्को मान्छे कुरिराछु ।’

लामो यात्राले प्रेसर परेको टाउकोमाथि ट्याक्सीवालाको मनोमानीले गर्दा कुकरको झै सिठ्ठी बज्न सुरु ग¥यो । सहनुको पनि हद हुन्छ । कलंकी मकालु पेट्रोल पम्प अघिको धुलाम्य सडकमा झोलाको चांङ अनि श्रीमती र छोरीलाई छाडेर म सरासर कलंकी चोकजाँदै गर्दा ट्राफिकलाई भेटेँ । ‘दिक्क बनाएँ, कोही मिटरमै जान मान्दैनन, पैसा पनि कम भन्दैनन,’ मेरो कुराले भन्दा पहिला ट्राफिक प्रहरीलाई जामले तनाव दिइसकेको रैछ । उनी पनि जंगिँदै भनेँ, ‘त्यसको आज दिन बिग्रेछ कुन हो देखाउँनुस् त ।’
यति धेरैसँग रिक्वेस्ट गरेको थिएँ । कोही चिनिएनन । कोही तितरबितर भैसकेको थिए । अन्तिमको एक ट्याक्सी वालासँग भने अल्लि विवादै भाथ्यो ।
‘नयाँ बानेश्वर जानुहुन्छ ?’
‘कति दिनुहुन्छ ?’
‘मिटरमा जाउँ’
‘सामान छ ?’ उनीले टार्ने हिसाबले भने ।
‘दशैंमा घरबाट आएको मान्छेको झोला हुँदैन ?’ मैले आफूसँग सामान्य झोला भएको खुलाएँ ।
‘मिटरमा मिल्दैन, मिलार दिनुस्’
‘के मिलाउँने ? मिटरमा जानै नमिल्ने भए ३ सय उठ्ने हो त्यही दिन्छु’ मैले मुख फोरे ।

हुन त यसरी सोझै रकम भन्न नहुने हो । तर हाम्रो सिस्टम यस्तो बसेको छ कि ‘मिटर’ भनेर अड्डी लिइरहन सकिन्न भन्ने तितो सत्य मैले स्विकार्नु पथ्र्यो । यहाँ त मैले ३ सय भनेपछि ती चालक बोल्न छाडे । मुन्टो अर्को तर्फ फर्काएर बसे । मैले जाने हैन भनेर सोधेँ । उनी केही बोलेनन् । टाउको मात्र हल्लाए । उनको यो पाराले दिनभरीको भडाँस मेरो मुखमा आइसकेको थियो ।
मैले अल्लि नजिक गएर चर्को स्वरमा भनेँ, ‘क्या हो ? बोल्न पनि आउँदैन ? कति लिनुहुन्छ ?’
‘पाँच सय घटी हुँदैन’
यि पनि अघिका ट्याक्सीवालाकै कित्तामा गए । न ढुंगा हाल्नु न ट्याक्सी धकेल्नु । के गरुँ र कसो गरुँ भन्दै भुटभुटीँदा हामी जस्ता यात्रु यतिखेर आफू आफैलाई निरिह महसुस गर्दा रहेछौं । त्यसमाथि लामो यात्राबाट काठमाडौं झरेकालाई त झन्, रिसको पारोले थर्मोमिटर फुटाल्छ ।

‘५ सय घटी जान्न, मिटरमा त मिल्दैन’ भन्दै उनले हाक्कै मुख फोरेका थिए । मैले ट्राफिकलाई सोझै उसैतर्फ देखाइदिएँ । प्रहरी सो ट्याक्सीसम्म पुग्नु अघि नै उनले अर्कैसँग बार्गेनिङ गर्न भ्याइसकेका रैछन । कुलेश्वर जान खोजेका एक दाई रिसाउँदै थिए, ‘हद हुन्छ नी यार के भन्या त्यस्तो ?’
त्यसै बेलामा प्रहरी सरासर गए अनि ड्राइभर सिटको ढोका खोलेर कागजपत्र माग्न थाले । उनले पनि ‘के भो र ?’ भन्दै चोखिन खोजे ।
‘मिटरमा जान नमान्ने ?’ प्रहरी कड्किए, ‘खै कागजपत्र निकाल्नुस् ।’
‘को सँग मानिन ?’ उनी हल्का रुपमा प्रस्तुत भए । प्रहरीको अघि सरासर गएर म उभिएँ ।
‘वाँले बोरा छ भनेर लैजान मिल्दैन भनेको, मिटरमा जान्छु त भनेकै छु,’ हत्तनपत्त चालकको बोली फेरियो ।
मैले यस्तो कुरै भएको छैन भनेर अड्डी कसेँ । यात्रु र अन्य केही ड्राइभर जम्मा भए । यात्रुहरूले मेरो सपोर्ट लिए । ट्याक्सी चालक एकादुईले उनको सपोर्टमा मुख खोले । केही बेर बाझाबाझ भयो ।

आखिरमा झुठ बोलेका उनी नै निहुरिए । ट्राफिकले भनेपछि मैले ट्याक्सीको ढोका खोलेर सामान फटाफट हालेँ र हामी छोरी सहित ट्याक्सी चढ्यौं । ति ड्राइभरले मिटर अन गरे । ‘बाटोमा केही लफडा झिके भने तुरुन्त १०३ मा कल गर्नुहोला,’ ट्राफिकको कुराले धेरै ढाडस दियो । मिटरमै भनेकै रकम बासस्थानसम्म आइयो । सोझै ट्राफिक प्रहरी वा १०३ मा कम्प्लेन गरेको यो पहिलो पटक भने थिएन ।

यसअघि मैले धेरै ट्याक्सी चालकसँग यात्रा गरेको छु जसलाई मिटरमा जाउँ भनेपछि सोझै हुन्छ भनिहालेका छन् । धेरै त्यस्ता पनि भेटेको छु जसले ‘मिटर’को नाम सुनेपछि आफ्नो मुन्टोको घण्टा सुई तीन बजेबाट सोझै ९ बजे तिर फर्काउँछन् । नाक हल्का खुम्च्याएर निधारमा चार लेनको बाटो बनाउँछन । यस्तो अवस्थामा हामीले आफ्नो कन्चटको नसा पिलिक्क पिलिक्क टन्केको महसुस गर्न पाउँछौं ।

प्राय अरु बेलाको ट्याक्सी यात्रा भन्दा बिलकुलै फरक ट्याक्सी चालकसँग रमाइलो गफगाफ नगरी ‘तै चुप मै चुप’ को अवस्थामा सरासर डेरामा आइयो । झर्ने बेलामा ट्याक्सीको फोटो पनि खिच्न भ्याएँ । खासमा मलाई १२ घण्टाको पोखरा—काठमाडौं यात्रा भन्दा कलंकीका लफडाले धेरै थकायो । सम्झदा पनि मन खिन्न भएर आउँछ, हामीले कस्तो शहर बनायौं, मिटरवाला ट्याक्सीमा मिटर चलाएर यात्रा गर्न पाउँदा युद्ध जितेको अनुभव हुने ।


http://kantipur.ekantipur.com/news/2017-10-07/20171007153333.html

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...