Skip to main content

के गर्नु सर म्यानेज्मेन्ट नै यस्तै छ...

भवसागर घिमिरे
नेपाल इन्भेष्टमेन्ट बैंकको लाजिम्पाट शाखामा (नारायणहिटीको उत्तर ढोका तर्फ) पैसा जम्मा गर्न केहि दिन अघि पुगेको थिएँ। सोच्नुहोस् त, हरेक बैंकमा पुग्ने बित्तिकै डिपोजिट फर्म भर्नु अघि तपाईलाई के कुराको हतार हुन्छ ? हो मलाई पनि त्यही कुराको हतार भयो, पालो लाग्ने नम्बरको लागि कुपन लिने। यता खोज्छु छैन, उता खोज्छु छैन। ‘छैन हो, लाइनमै बस्नु पर्छ’ गार्डले नै यसो भनेपछि मैले लाइन तिर हेरेँ। पुरै लामो छ त।
यस्तो चल्ति शाखा। त्यो पनि प्राइम लोकेशनमा। यो कुन युगको बैंकमा आएछु भन्दै थकथक लाग्यो। फर्म भरेर लाइनमा ठिंग उभिएको मैले पालो पाउँन ठ्याक्कै २५ मिनेट लाग्यो, १३ जनापछि। तपाई भन्नु होला, तेलको लाईनमा तीन दिन बस्न सक्छस्, ग्याँसको लाइनमा दुई रात खप्न सक्छस्, बैंकको लाइनमा जाबो २५ मिनेट बस्दा तेरो के ढाड खुस्कियो ? हैन मेरो त खुस्केन तर यो बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ पाएको हो भन्ने थाहा पाउनु भयो भने तपाईको चाहि फुस्कन सक्छ, हाँसो।
बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा इन्भेष्टमेन्टलाई यो वर्षको सर्वोकृष्ट नेपाली बैंक घोषणा गरेको हो। अर्को कुरो सुन्नुहुन्छ ? यो सहित यस बैंकले यहि अवार्ड पाँचौ पटक हात पारिसकेको छ। छैन त रमाइलो?
हुन त बैंकको यो शाखामा कुनाकाप्चा तिर बस्नको राम्रो व्यवस्था नभएको हैन। तर तपाई जस्तो हट्टाकट्टालाई कुनामा बसेर मेरो लाईन त्यहाँ छ है भन्न कहाँ सुहाउँछ र हैन ? छन त यहाँ कोठा पनि निक्कै चाक्लो छ, ठूलै फुटसल ग्राउण्ड जत्रै। अनलाइन सेवा चलाउने बैंकले नम्बर ओकल्ने एउटा डिजिटल मेसिन राखिदिएको भए, दुई चार कुर्चि थपिदिएको भए उभिने धेरैले राहत पाउँथे कि ? नरिसाउँनु ल तपाईको आफ्नै बैंक पर्‍यो भने। के गर्ने सेवाग्राही न परेँ, छुच्चो मुख त गर्नै पर्‍यो नि हैन ? फर्कनु अघि सानो गुनासो कसलाई भनौं भनौं भयो। हिड्ने बेलामा त्यहाँको एक कर्मचारीलाई नै भनेँ, ‘हजुरकहाँ पालो लाउँने डिजिटल मेसिन छैन भन्या ? २५ मिनेट ठाडै उभिन पर्‍यो ?,’ उनले पनि आफै दुखि भएझै गरे, ‘के गर्नु सर यहाँको म्यानेज्मेन्ट नै यस्तै छ।’
सेतोपाटीमा प्रकाशित ।
http://setopati.com/blog/59096/

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?