Skip to main content

घान्द्रुक गाउँ : हिमाल मुनी हिमादिदीको होमस्टे



बिदाको समय सदुपयोग गरेर घुम्नको लागि कास्की जिल्लाको घान्द्रुक गाउँ निक्कै रमाइलो ठाउँ हो । अन्नपुर्ण पदमार्गमा पर्ने यो गाउँको दुई दिने यात्रालाई चार बुँद्धामा यस लेखले समेट्न खोजेको छ ।                     १. केहि वर्ष अघिसम्म पोखराबाट लगभग दुई घण्टाको बस यात्रा र ५ देखि ६ घण्टाको पैदल यात्रामा बल्ल मुख्य गाउँ टेक्न सकिन्थ्यो । ऐले भने पोखराको टुँडिखेल, हरिचोकबाट सोझै जिप चल्छ, घान्द्रुक वडा नम्बर २ किम्चेसम्म । प्रतिव्यक्ति तीन सय रुपैयाँमा जीपमा लगभग ३ घण्टामै त्यहाँ पु¥याउँछ । त्यहाँबाट सरदर एक देखि डेढघण्टाको उकालो पैदल यात्रामा हामी घान्द्रुकको मुख्य वस्ती भएको गाउँमा पुग्न सक्छौं । यदि तपाईसँग दश जनाको टोली भयो भने जिप नै तपाईका साथीहरूले भरिन सक्छ । यात्राभर गीत गाउँदै रमाइलो गर्नुको मज्जा बेग्लै । किम्चेपुगेपछिको पैदल यात्रामा तपाईले ठूला ठूला झरना, गाउँको हरियाली र घान्द्रुक पारीको गाउँ लान्द्रुकजस्ता
परपरका गाउँका मनोरम दृश्यको मज्जा लिन सक्नुहुनेछ । यदि तपाई जाँदा र आउँदा हिडेरै मजा लिन चाहनुहुन्छ भने पोखरा पृथ्वीचोक, जिरोकिलोमिटर,  बाग्लुङ बसपार्क, हरिचोक हुँदै सुविधायुक्त बस पनि संचालनमा आएको छ । प्रतिव्यक्ति १ सय १० रुपैयाँ भाडामा तपाईलाई नयाँ पुलसम्म यी बसले डेढ देखि दुई घण्टा हाराहारी मै पु¥याइ दिनेछन् । नयाँ पुलबाटै तपाईको पैदल यात्रा सुरु हुनेछ ।

२. स्वागत द्वारमा राखिएका सूचना अनुसार घान्द्रुकमा ५० देखि ५५ वटा धेरै तहका होटलहरू छन्, महंगो देखि सस्तोसम्म । तपाईको बजेट र चाहना अनुसार सेवा सुविधा लिन सक्नुहुनेछ । मुख्य बजारबाट १० मिनेटको उचाई तिर लाग्यो भने तपाईले गुरुङ होमस्टे पनि भेट्न सक्नुहुनेछ । होमस्टे अन्य होटलमा भन्दा केही सस्तो हुन्छ । साथै तपाईे त्यहाँ घरेलु वातावरणमा गाउँबारे बुझ्न र रमाइलो लिन सक्नुहुनेछ । होमस्टेको राम्रो पक्ष भनेको तपाइले खर्च गरेको पैसाले सोझै कुनै परिवारको आर्थिक अवस्था सुधार्न मद्दत गर्नेछ ।

३. केहि साता अघि हामी ५ जना साथीहरू (सुरेश, होमनाथ,टिकाराम, जय र म ) यात्राको क्रममा घान्द्रुक ३ कोटगाउँमा रहेको सुपर भ्यु होमस्टेमा पुगेका थियौं । प्रेम बहादुर र हिमा गुरुङको यो होमस्टेमा २० देखि २५ जनासम्म अट्न सकिँदो रहेछ । महिला र पुरुषको निम्ति छुट्टाछुट्टै कोठाको व्यवस्था समेत छ । सुतेको बेड चार्ज १ सय, सादा खानाको ३ सय, चियाको ३० रुपैयाँ लाग्छ । बिहानीको घरेलु खाजा खाना तपाईकै इच्छा अनुसार तयार हुन्छ । भैसीको घिउ दलेको सुख्खा रोटी प्रत्येकको ३० रुपैँया, तरकारी एक प्लेटको ३० रुपैयाँ । लोकल कुखुरा खानुहुन्छ भने तपाईले अर्डर गरेर पकाएको समेत गरि २ हजार देखि ३ हजारसम्मका कुखुराहरू घरमै रोजेर काट्न लगाउन सक्नुहुनेछ । तपाईको अर्डर अनुसार ब्रोइलर कुखुराको मासु पनि बजारमा किनेर पकाइदिनेछन् । तपाईलाई लोकल रक्सी चाख्न मन छ भने प्रति गिलास ३० रुपैयाँको दरमा पाउनु हुनेछ । बियर, वाइन, हार्डड्रिंक्स खान मन भए मुख्य बजारबाट किन्नु पर्ने हुन्छ । ती बजार भाउ भन्दा केही महंगो पर्न जान्छ । बियरमा प्रति बोतल एक देखि डेढसय फरक पर्छ । किम्चेबाटै खच्चडमा बोकाएर लैजानु पर्ने भएकाले खाने र पिउने कुराको भाउ केही बढी छ । यदि गाडीमा जाने भए तपाईले पोखराबाटै पेय पदार्थ झोलामा बोकेर पनि लैजान सक्नुहुनेछ । खानामा लोकल साग, बारीकै तरकारी, गुन्द्रुक भट्टको अचार, घरकै चामलको मज्जा लिन सक्नुहुनेछ । घर भित्र वा बाहिर साँझ दाउरा बालेर साथीभाई आगो ताप्दै कुराकानी र खानपानमा मस्त हुन पनि सक्नुहुनेछ । गुरुङ बुढाबुढीको ठट्टाले तपाईको समुहमा अझ रमाइलो थप्नेछ । विहान सबेरै उठ्नु भयो भने घरको आँगनबाट माछापुच्छ्रे, अन्नपुर्ण हिमालका श्रृंखला आकाश खुलेको दिनमा मज्जैले देख्न सक्नुहुनेछ । विहानी पख चियानास्ता पछि गाउँ घुम्ने मज्जा लिन नभुल्नु होला ।

(हिमा/ प्रेम गुरुङ, ९८२५१०४७६८/९८४६३२४७२६)

४.
गाडी चल्न थालेपछि गाउँमा चहलपहल त बढेको छ तर यसले अर्को दुःखको पाटो पनि जन्माएको छ । किम्चेसम्मै गाडी चल्न सुरु गरेपछि पैदल यात्रामा पर्ने बीचका बस्तीको व्यापार स्वाट्टै ओरालो लागेको छ । पैदल मार्गका धेरै होटलहरू सुनसान भएका छन् भने केही पुर्ण बन्द छन् । सुभरभ्यु गेष्ट हाउस संचालन गर्ने एक महिलाका अनुसार ७५ प्रतिशत व्यापार घटेको छ । 

हुन त दुख बिमार पर्दा, दुर्घटना तथा गर्भवती अवस्थामा चाँडो भन्दा चाँडो अस्पताल पु¥याउनको निम्ति बाटोले धेरै सुविधा दिएकोछ । पुर्वाधार विकासको सुखद पाटो यो भएपनि दुखद पाटो भने यसले पैदल मार्गका व्यवसायलाई पुरै सुकाइदिएको छ । मार्गमा पर्ने केही होटलहरू भग्नावशेष मै परिणत भएको देख्न सकिन्छ । यद्यपी जम्मा ५ घण्टाको पद यात्रामा मात्र गाडी चल्ने हुनाले हिडेरै यात्रा गर्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या पनि उलेख्य भेटिन्छ । केही पर्यटक जाँदा गाडीमा र आउँदा हिडेर यात्रा गर्ने गरेको पनि पाइन्छ ।


लेखक : भवसागर घिमिरे
twitter@bhabasagar
facebook.com/bhabasagar









Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...