Skip to main content

आँशुले पखालेको विमानस्थल

साउन ५, बुधबार। त्रिभुवन विमानस्थल, समय रातको ८ देखि ९:१५।
दृश्य १ :
वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरूको प्रस्थानद्वार। साउदी अरब जान लागेका मेरा एक दाजुलाई मैले बिदा गरेँ। झन्डै दुई दसक त्यहाँ मजदुरीमा बिताएका उनले बिदाइका बेला भने, ‘यो अन्तिम पटक हो। अबको दुई वर्षपछि नफर्कने गरी आउँछु ।’ मैले मुन्टो हल्लाएँ। उनी मलिन अनुहार लिएर भित्र पसे। केहीबेरमै खादा, टिका र माला लगाएका पढेलेखेकै देखिने एक जना पहाडी मुलका युवा हतारिँदै बाहिरिए। उनको अँध्यारो मुहारबाट प्रष्ट हुन्थ्यो कि केही गडबड भयो। उनी प्रवेश ढोकामा रहेका प्रहरीसामु पुगे।
प्रहरी : के भो?
केटा : साँझ दस बजे भनेको थियो, बिहान दस बजेको फ्लाइट रै’छ। बर्बाद भो।
प्रहरी : (टिकट हेर्दै) खै...ए बिहानको रै’छ, पहिल्यै हेर्न पर्दैन त?
केटा : अब टिकट काट्दिनेले साँझ भन्यो सोझै आको। अब के गर्ने?
प्रहरी : अब टिकट काट्नेलाई नै भन्नू।
(भर्खरै बिदावारी भएर फर्केका केटाका आफन्त दगुर्दै आइपुग्छन्। सायद, उनीहरूबीच मोबाइल फोनमा यसअघि नै कुरा भैसकेको छ। आफन्त हतास मुद्रामा नजिकै आउँछन् र केटाको लगेज बोकेर गुनगुन गर्दै छेऊ लाग्छन्।)
दृश्य २ :
केही महिला एक-अर्कालाई अंगाल्दैछन्। त्यसमध्येकी एक जना हातमा पासपोर्ट र टिकेट बोकेर प्रस्थान ढोकामा पुग्छिन्। उनलाई परैबाट हात हल्लाएर साथीहरूले बिदा गर्दैछन्। उनी श्रम कक्ष (हालसालै मुल ढोकानजिकै राखिएको) को काम सकेर त्यहाँ भन्दाभित्र सामान चेकजाँच गर्ने कोठातिर पस्न थाल्छिन्। उनका साथीहरू दौडँदै नजिकैको सिसाले घेरिएको भित्तासम्म आउँछन् र सिसामा ढकढकाउँछन्। विदेशिन लागेकी ती अधवैंशे महिलाले पत्तै पाउँदिनन् र सरासर भित्र जान्छिन्।
‘लौं गै हाली’ भन्दै उनीहरू फर्कन्छन्। त्यही ढोकामा एकैछिनमा मधेसी समुदायका एक साना, दुब्ला भाइ देखिन्छन्। उनका पाँच जना आफन्त (तीन महिला, दुई पुरुष)ले उनलाई ढोकैमा बिदावारी गर्न आएका छन्। बिदा हुने बेला आफन्तहरूको रुवाबासीले उसलाई पनि रुवाइछाड्यो।
रोजगारीको लागि विदेशिन लागेको उसलाई हेरेर यस्तो लाग्थ्यो, छानोमुनि कलम समाउने बेलामा उसले खुला आकासमा फलाम समाउन गैराखेको छ। जाने बेलामा एक बृद्ध बुबाले विदेशिने भाइको हातमा हजार रुपैयाँ नेपाली पैसा हाल्दिन्छन् (नेपाली पैसा किन हातमा हाल्दिए खै कुन्नी?)।
रुँदै उसले त्यो पैसा हातमा लियो र सोझै भित्र जान खोज्यो। प्रहरीले उसलाई रोक्दै पहिला श्रम कक्षमा जान भने। ऊ हतार-हतार श्रमकक्षमा पुग्यो। सुकसुकाउँदै तीनै महिलाहरू र एक बृद्ध बा ढोका आडैमा बसे र धमिलो सिसाको पर्दाबाट उसलाई परसम्म हेर्न खोजे। श्रमकक्षमा केही समयको जाँचपछि आँशु पुच्छ्दै विदेशिन लागेको सानो भाइ पछाडि पनि नफर्की त्यहाँबाट अलप भए।
दृश्य ३ :

श्रम भिसाबाहेकका अन्य यात्रु जाने दक्षिणतर्फको ढोका। यहाँको माहौल अलि भिन्दै छ। हिँड्ने पेटीमा ठूलो–ठूलो झुन्ड बनाएर मानिसहरू गफ गर्न अनि फोटो खिच्न मस्त छन्। एक खिप्लिक्क परेका पहाडी मुलका बुढा हजुरबासँग एक खाइलाग्दो केटोले सेल्फी लिँदैछन्। हजुरबा गिजा देखाएर हाँस्छन्। बाँकी रहेकाहरूको हाँसो गुन्जिन्छ।
केटो सुटकेशसहितको ट्रली गुडाएर अघि बढ्न लाग्दा हातमा कफीसहितको गिलास बोकेर आएका एक युवासँग उनी झन्डै ठोकिन्छन्। ‘आई एम सरी’ ऊ फिस्स हाँसेर माफी माग्छ। कफीवाला केटो ‘इट्स् ओके’ भन्दै अघि बढ्छ। एकाएक पानी दर्किन्छ। पर–परका मानिसहरू ओत लाग्न आएपछि भीड अझै बढ्छ।
दृश्य ४ :
होचो कदका एक पहाडी युवक वैदेशिक रोजगारीमा जाने यात्रु पस्नेद्वारमा उभिरहेका छन्। उभिइराखेका छन् त के भन्नु हल्लिरहेका छन्, मकैका पातझैं। उनको हातमा पासपोर्ट र टिकट छ तर लाग्छ उनी हातमा गह्रौं झोला उचालिरहेका छन्। रक्सीले झुलुम भएका उनलाई द्वारका प्रहरीले सम्झाउँदैछन्, ‘यसरी उभिनै नसक्ने गरी पिएर आउने हो?’ युवक आफूलाई जोगाउन लरबरिएको स्वरमा केही भन्दैछ। प्रहरीले ‘जानुस् फ्रेस भएर आउनुस्’ भन्दै उनलाई फर्काइदिन्छन्।
युवाक पछाडि के फर्कन लागेका थिए धानिन नसकेर त्यहीँ लड्छन्। आडैमा भित्र पस्ने बाटो छुट्याउनका लागि राखिएका डोरीसहितका डन्डी पनि पल्टिन्छन्। प्रहरी र केही युवा मिलेर उनलाई उचाल्छन् र छाड्छन्। उभ्याउन नपाई ऊ फेरि त्यहीँ लड्छ। अरुले उभ्याइदिन सघाउँदा पनि ऊ लडेको लड्यै गर्छ।
‘यस्तैले गर्दा हो नेपाली दाजुभाइको इज्जत जाने विदेशाँ,’ एक व्यक्ति रिसाउँदै उसलाई गाली गर्दैछन्।
‘एक बाल्टी पानी खन्याइदेऊ, ठिक हुन्छ, दुई घन्टामा फ्लाइट छ यसको,’ अर्को युवकले जुक्ति निकालेझंै गर्छ।
‘उसलाई पानीमै भिजाइदियो भने ठिक हुन्छ,’ झुन्डबीच आएको सुझावमा सबैको सहमति भएझैं देखिन्छ। उसलाई उचालेर ओत नभएको ठाउँमा राखिन्छ। केही बेरअघि दर्केको पानी सिमसिम मात्र हुन सुरू भएको छ। ऊ आफूलाई बेलैमा जहाजमा पुर्याइदिन भन्दै हात जोड्दैछ। केही मानिसले बोटलमा पानी ल्याएर उसको टाउकोमा खन्यादिन्छन्। केहीले पानी ल्याएर पिउन पनि दिन्छन्। घरबाट फोन आएपछि ढिलो भयो भन्दै म बाइक पार्किङस्थलतर्फ दगुर्छु।
दृश्य ५ :
बाइक पार्किङस्थल। नयाँ ठेक्दारले ठेक्का हात पारेपछि मिलेमतोमा पार्किङ शुल्क दोब्बर गरिएको छ। पहिला १० थियो, ऐले २०।
‘भाइ नच्यात्तिएको चिट ल्याऊ,’ हातमा धुजा परेको चिट परेपछि मैले अर्को मागेँ।
‘छैन त्यही हो,’ भाइले कुरो छोट्याउन खोज्यो।
‘काँ हुन्छ, नच्यात्तिएको ल्याऊ,’ यति भनेपछि उसले पाइन्टको खल्तीमा हात हाल्यो र नयाँ चिर्कोट दियो। म चुपचाप २० रुपैयाँ बुझाएर घर सोझिएँ।
दृश्य ६ :
रातको ९:१५ बजे घर फर्कँदै गर्दा। बाटोभरि सोचेँ। जहाज छुटाएको केटोले के गर्यो होला? छोरो उडाएर फर्केका मधेसी आमै र बाबै आज राति के सोच्दै सुते होलान्? सोचेँ, अघि गेटमा रक्सीले गुल्टिएको साथीले जहाज भेट्यो कि भेटेन होला? पार्किङ शुल्कजस्तै ठेकदारका धेरै मनोमानीहरू कहिले रोकिने होला? यस्तै प्रश्नहरूले घर पुगेपछि पनि धेरै समयसम्म मनमा घोचिरहे। त्यस रात उठेर यो कविता नलेख्दासम्म निद्रा परेन।
फरक आँशु
हरेक दिन
त्रिभुवन विमानस्थल
आँशुहरूले भिज्छ
विदेशिने र उनीहरूलाई
हात हल्लाउनेका आँशुहरू
बिदामा देश टेक्ने र उनीहरूलाई
कुरिबस्नेका आँशुहरू
कफिनभित्र गुम्सिने र त्यसलाई
गुडाउनेका आँशुहरू
यी सबै आँशुहरूले नै पखालेको छ
विमानस्थलका चिल्ला सडक
जहाँ गुड्छन्
चिल्ला गाडीहरू
सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति
विदेशिनेका दुःखमा उनीहरूले पनि
बगाउने गर्छन् आँशुहरू
उही गोहीका आँशुहरू...।

प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३ १०:३५:४८

http://setopati.com/blog/50459/

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...