Skip to main content

‘समाज सेवाले मीठो निद्रा”

 -भवसागर घिमिरे
बेलायती सैन्य सेवामा लगभग साढे चार दशक बिताएका ७२ वर्षे मेजर चन्द्रबहादुर पुन सन् २००१ मा नेपाल फर्के । विश्वका ठूलाठूला युद्ध साम्य पारेर थकाइ मार्न उनी देश फर्कंदा नेपाल भने ‘जनयुद्ध’मा फसिसकेको थियो । सशस्त्र द्वन्द्वको भु्रंगोका बीच भएको
दरबार हत्याकाण्डले देशको राजनीतिक माहोलमा यति धेरै नैराश्य मिसाइदिएको थियो कि देश फर्कनेभन्दा बिदेसिनेको लर्को बढ्दो थियो । लामो समयको विदेश बसाइ । त्यसमाथि विश्वका विभिन्न देशमा सैनिक सेवा गर्दाको अनुभव । बेलायती सैनिकमा गोर्खालीले पाउने माथिल्लो स्तरको पद, मेजरसम्म पुगेका पुन जीवनको पछिल्लो अध्याय विदेशमै विलासी जीवन बिताउन पनि सक्थे । तर उनी नेपाल फर्के अनि यहाँ सामाजिक सेवामा रमाउन थाले । पोखरामा सामाजिक क्षेत्रमा ऐले बिस्तारै चम्कन थालेका मेजर पुनलाई के कुराले बेलायतबाट नेपालतर्फ फर्कायो त ? जिज्ञासा मेट्न म उनलाई उनकै घरमा भेट्न पुगेँ ।

*** 
सन् १९५८ । बेलायती सैनिक जाँचपासका निम्ति उनी म्याग्दी जिल्लाबाट भारतको गोरखपुर पुगेका थिए । सात दिनको यात्रापछि त्यहाँ पुगेका उनी छनोटमा पर्न पनि सफल भए । छनोटपछि कोलकाताबाट उनी मलाया (मलेसिया) पुगे । गुरिल्ला युद्धका कारण त्यसबखत त्यहाँ संकटकाल लागू गरिएको थियो ।  ‘नेपाली टिचरले रोमनमा दिनको दुई पिरियड गोखार्ली भाषा पढाउँथ्यो,’ मेजर पुन सम्झन थाले, ‘स्कुलको नाममा मैले त्यत्ति हो किलास लेको ।’ मलायापछि सन् उनी १९५९ सालमा सिंगापुर पुगे, तालिमका लागि । सन् १९६२–६७ सम्म ब्रुनाईको संकटमा, सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच भएको फल्कल्यान्ड युद्धमा पनि उनी होमिए । अहिले विकसित भनिएका देशहरू अभावमा छटपटी रहेको बेलामा नेपालमा भने उनको बस्ने घर र वर्षभरि आनन्दसँग खान पुग्ने गरी उब्जाउ हुने खेतबारी थियो । अविकसित भनिएका देशहरूले छोटो समयमा विकासमा फड्को मारे । नेपाल उँभो नलागेको देखेर भने उनको मन दुखेछ । ‘समाजमा चेतना छर्छु, विकासका लागि कराउँछु अनि आँचलका केटा’टीले संस्कृति भुल्दैछ, त्यसलाई ताजा बनाउँछु भन्ने मेरो मनमा आयो,’ उनले भने, ‘यी तिनटा कुरा बोकेर म नेपाल फर्कें ।’ 
फर्केको केही समय उनी पारिवारिक र केही सामाजिक कामहरूमा भुल्न थाले । वार्षिक पाउने पेन्सन रकमको ६० प्रतिशत (८ लाखसम्म ) सामाजिक काममा खर्चने योजना तयार पारे । काम कहाँबाट सुरु गर्ने त ? मनमा उनलाई आफू हुर्केको गाउँको झल्को आइहाल्यो । म्याग्दीको बेनी बजारबाट ९ किलोमिटरमाथि दाइनी तिब्लेमसम्म बाटो पुगेको थियो । त्यहाँबाट १० किलोमिटर पर पर्ने उनको गाउँ हिस्तान टिकोट जान भने भीरको बाटो हिँड्न पथ्र्यो । ‘२०६७ सालको कुरा, मैले ३ लाख हाल्ने भनेपछि अरूले थप्न सुरु गरें,’ उनले भने । विभिन्न व्यक्ति र संघसंस्थासमेत गरी उठेको ७२ लाख रकमबाट कच्चीबाटो ६ महिनामै तयार भयो ।
  
गाउँसम्म बाटो त राम्रो बन्यो । स्थानीय टिकोट माविको अवस्था राम्रो थिएन । विद्यालयको नयाँ भवन बनाउन बेलायती गोर्खा सैनिकबाटै रिटायर्ड भएका उनका भाइ हर्कबहादुर पुनले पहिल्यैबाट प्रयास थालेका थिए । त्यसै प्रयासमा उनी लागिपरे । उनीहरूको प्रयासमा विभिन्न संघसंस्था तथा देश विदेशमा रहेका आफन्तहरू पनि सरिक भए । उनले आफैंले २० लाख दान गरे । भाइ हर्कबहादुरले १० लाख । सरकारी २३ लाख । ‘बाँकी गाउँलेमध्ये केहीको चन्दा रकम तथा जनश्रमदानबाट १६ कोठे विद्यालय भवन निर्माण सकियो र प्रयोगमा ल्याउन सुरु गरेका छौं,’ टिकोट माविका प्रधान अध्यापक प्रदीप पुनले भने, ‘विद्यालयको नयाँ भवन बनेपछि अहिले निकै व्यवस्थित भएको छ ।’ यसअघि नै मेजर पुनको सक्रियतामा हिस्तान गाउँमा बास्केटबल खेल्ने मैदान पनि तयार भइसकेको छ । ‘उहाँहरूको प्रयासले गाउँलाई नयाँ रूप दिएको छ,’ प्रअ पुनले भने, ‘अरूलाई पनि सामाजिक सेवामा लाग्ने प्रेरणा मिलेको छ ।’  मेजर पुन चन्दा दान गरेपछि आफैं काममा पनि खट्टिन्छन् । ‘रे, रे’ भन्ने कुरामा विश्वास गर्दै जाँदा गुरुङ मगर जातिमा धेरैले दु:ख पाएको अनुभव उनी सुनाउँछन् । ‘बिनाकागजपत्र समाजमा काम गर्छन् त्यो राम्रो हैन,’ मेजर पुन भन्छन्, ‘हरेक कुरा रिटर्नमा राख्ने बानी छ मेरो, सबै क्लियर भएकैले होला धेरैले मन पराउँछन् ।’ 


सामाजिक सेवाको शृंखला सडक, शिक्षा हुँदै गाविसको स्वास्थ्य सेवातर्फ उनले डोर्‍याए । उनको गाविसको पहिलो ५ वटै वडामा स्वास्थ्य चौकी सुविधा थिएन । विद्यालयको नयाँ भवन बनेपछि पुरानो भवन प्रयोगमा ल्याउने नयाँ जुक्ति निस्कियो, मर्मत गरेर स्वास्थ्यचौकी बनाउने ।  यस्ता सामाजिक संस्था खुलेर बन्द भएका धेरै उदाहरण थिए । दीर्घकालीन रूपमा सञ्चालन गर्न निरन्तर स्रोत चाहिन्थ्यो नै । उनले फेरि आफ्नै पेन्सनबाट ९ लाख, छोराछोरीबाट ८ लाख, भाइबाट २ लाख र दाइका छोराछोरीबाट ३ लाख गरेर २२ लाखको अक्षयकोष हेल्थपोस्टकै नाममा जम्मा पारे । ‘मेरो बुबा नैनासिंहको सम्झनामा बनेको हेल्थपोस्ट २०६८ बाटै सञ्चालनमा छ,’ मेजर पुनले खुसी हुँदै सुनाए । त्यसमा सीएमए अध्ययन सकेका स्थानीय दुई युवतीले पनि रोजगारी पाएका छन् । ‘चार वर्षअघिबाट हेल्थपोस्ट सुरु भएको छ,’ उनी भन्छन्, ‘अक्षयकोषको ब्याजले धेरै सघाको छ ।’ 
सन् २००७ मा म्यागासासे पुरस्कारबाट सम्मानित भएका महावीर पुनले यस हेल्थपोस्टमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न सघाइरहेका छन् । बिरामीले यहाँबाट सोझै काठमाडौंको मोडल अस्पतालका डाक्टरहरूसँग समस्या सुनाउन र उपचार लिन पाउँछन् । ‘रिटायर्ड भएपछि कति लाहुरेहरू पारिवारको हेरचाहमा लाग्छन् त कति नयाँ कामको खोजीमा हुन्छन्,’ महावीर पुनले भने, ‘चन्द्रबहादुरजस्तो सामाजिक काममा लाग्ने मानिस निकै कम भेटेको छु ।’ गाउँबाट सुरु समाज सेवाको अभियानलाई मेजर पुनले पोखरामा पनि निरन्तरता दिन थाले । उनकै अध्यक्षतामा बनेको उद्यान निर्माण समितिले पोखरा–३ नदीपुरमा ६ लाख हाराहारीको चन्दा रकमबाट प्रकृति उद्यान निर्माण सकेको थियो । १३ वर्षअघिको उनको यो कामकै कारण टोलमा धेरैले उनलाई चिने । 

पछिल्लो समयमा सरकारी विद्यालयको खस्कँदो हालतले उनको मनमा अर्को चिन्ता थपिदिएको थियो । ‘सरकारीमा पढ्न आउने भनेको धेरै त गरिबका छोराछोरी मात्र छन्,’ उनले भने, ‘अनुदान भनेर कम्प्युटर त दिइएको हुन्छ तर त्यस चलाउने, पढाउने शिक्षक शिक्षिकाको राख्द्या हुँदैन ।’ अवस्था सुधार्न सघाउने हेतुले नदीपुरमै पर्ने ज्ञानभूमि मावि, बालमन्दिर उच्चमावि, कन्या माविजस्ता विद्यालयको व्यवस्थापन समिति, भवन निर्माण समितिमा रहेर उनले काम गरे । ‘चन्दा दान त गर्नुहुन्छ नै त्यसबाहेक परेको बेला उहाँले आफ्नै खल्तीको पैसा उधारोको रूपमा हालेर पनि चलाउनुहुन्छ,’ ज्ञानभूमि मावि प्रधानअध्यापक गोविन्दप्रसाद पौडेलले भने, ‘उहाँजस्तो निस्वार्थ काम गर्ने मान्छे मैले भेटेको छैन ।’ यी विद्यालयबाहेक मेजर पुन स्थानीय धेरै संघसंस्थामा सक्रिय छन् । आफूले आजसम्ममा सामाजिक कामहरूका लागि ७१ लाख रुपैयाँ दान गरिसकेको उनले बताए । ‘दिस इज  कम्प्लिट्ली माई पर्सनल,’ उनले भने, ‘हिसाब किताब र कामको मामलामा म क्लियर छु । पाटी फंसन गरेर खानेलाई मैले रातो पैसा (कौडी) पनि दिन्नँ ।’  विद्यालय भवनका ढलानमा पानी हाल्न होस् या बगैंचा सफा राख्न नै किन नहोस् । उनी साबेल चलाउन पनि अघि सर्छन्, कलम चलाउन पनि । 
सन् १९८३–८४ ताका बेलायतमा रोयल फेमिली गार्डको रूपमा काम गरिसकेका उनको नियममा चल्ने स्वभावलाई धेरैले मन पराउँछन् । ‘ठीक बजेट मिलायो भने लाख रुपैयाँले पनि ठूलो काम हुन्छ,’ अनुभवले खारिएका मेजर पुन भन्छन्, ‘मान्छेले पब्लिक पैसालाई पनि माया गरेर खर्चने बानी बसाए धेरै गर्न सकिन्छ ।’ पछिल्लो समय सबै जुटेर कसरी अघि बढ्नेभन्दा पनि जातभातको नाममा समाज फुट्न थालेको उनलाई मन परेको छैन । ‘नेवार, बाहुन, गुरुङ, क्षत्री, मगर, दलित सबै एकै फेमिली हो भन्ने माइन्डको मान्छे हो म,’ उनी सैनिक शैलीमा कड्किंदै गर्दा अचानक नरम भए, ‘यसले नै सबैलाई मिलाएर लैजान सघाएको छ ।’ बाँकी जीवन सामाजिक सेवामै बिताउने उनको सोच छ । ‘पैसाको पछि दौडनेहरूलाई निद्रा पर्दैन रे,’ उनले अन्त्यमा हाँस्दै भने, ‘सामाजिक कामले भने मीठो निद्रा पर्छ ।’
(कान्तिपुर कोशेली 
वैशाख १८, २०७३)
http://kantipur.ekantipur.com/printedition/news/2016-04-30/20160430104206.html

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ