गत शनिबार दिउँसो २ः३० बजे । पोखराको एक कार्यक्रममा पुग्न निक्कै हतार थियो । केही अतिआवश्यक खर्चपर्च पनि झिक्न पर्ने थियो । NABIL BANK को चिप्लेढुंगा स्थित एटिएम मेशिनमा पुगेँ । तिन तिन पटक प्रयास गर्दा पनि मेसिनबाट पैसा निस्केन । 'आज शनिबार छुट्टी भएर पैसा नै हालेछैन होला,’ आडैमा उभिएका एक जनाले भने । एटिमलाई शनिबार लाग्नु भनेको निदाएको बेलामा श्वास नफेरि आराम गरौं भनेको जस्तै हो । दिक्क पर्दै पुनः नबिल बैककै कार्यलय रहेको सभागृह चोक नजिक पुगेँ । कार्यलयको मुल गेटसँगै रहेको एटिम मेसिनको सटर बन्द थियो । आपद परेको बेलामा झोकै चलेर आयो, ‘क्या हो माथिको मेसिनमा पैसा छैन, याँको बन्द छ के हो ताल ?’ कोही नभेटेपछि सेक्युरिटी गार्डको अघि रिस पोखेँ । उनले उत्तर दिए, ‘यहाँको मेसिन बिग्रेको छ सर, के गर्ने सबै जना पिकनिक जानु भएको छ ।’
प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?

Comments
Post a Comment