Sunday, June 14, 2015

बाढी कुर्दै त्रिपालमुनि

-बालिका चौधरी

बर्दियाको चेपाङ गाउँमा राखिएको साइरन एकोहोरो कराइराखेको थियो । लाग्थ्यो, ठूलै बाढी आउँदैछ । बबई नदी आज बहुलाउँदैछे । गत साल साउन अन्तिम साता । बिहानै जिल्लाको एक बैठकमा पुगेको थिएँ, द्वन्द्वपीडित महिलासम्बन्धी । नदीको अवस्था अलि जटिल भएपछि, समय अघि नै बैठक टुंग्याएर सीडीओ निस्किए । बबईको बबन्डर बुझ्न म जिल्ला रेडक्रस कार्यलय पुगेँ । ‘कृष्णसार क्षेत्रमा बाढी आइसक्यो, अब तुलापुरमा पनि खतरा छ,’ रेडक्रसको गोविन्द सरले भन्नुभयो । म हतार हतार निस्केँ । केही समस्या पर्न सक्छ भन्ने सोचेर चिनेजानेको भाइ निराजन चौधरीलाई पनि लिएर गएँ । केही बेरमै तीन किलोमिटर टाढाको म बस्ने घर तुलापुर पुग्यौं । कहिलेकाहीँ भलपानी बगेर आउने घर नजिकैको बुढी नदी चुपचाप थिई । आफ्नै सुरमा बग्दै थिई, मन्द मन्द । 

गुलरियाको हुलाकी सडकबाट ५० मिटर तल छ मेरी दिदीको घर । जहाँ मसँगै दिदीका तीन छोरीहरू थियौं । १७ वर्षीया सुनिता, १५ वर्षीया ममता र १२ वर्षीया मालती । भिनाजु दुबई हुनहुन्थ्यो, दिदी शिवपुर गाउँमा थिइन् । छोरीहरूको अभिभावक म नै थिएँ । स्थानीय रेडियोमा बबई बहुलाएको समाचार छ्पाछ्याप्ती थियो । यही हल्ला सुनेर होला सायद, नानीहरू छतमा बसेर रमाइलो हेर्ने सुरमा थिए । निराजन हातमा क्यामेरा बोकेर दृश्य कैद गर्ने सुरमा थिए । म छिटोछिटो घरको छतमा पुगेँ । टाढा टाढासम्म आँखा फैलाएर हेरेँ । 

हरियालीले हराभरा खेत । भर्खरै माटो समाउन सिकेका धानका बेर्नाहरू । हावाको संगीतसँगै नाच्दै थिए । सुस्त चलेको बतासले कुनै गर्जन बोकेको थिएन । मन दोधारमा राखेर म फेरि छतबाट तल ओर्लिएँ । चारकोठे घर । घरसँगै जोडिएको कुखुराको खोर । त्यहाँ भर्खरै हालिएका ८ सय जति साना चल्लाहरू चिर्बिराउँदै चर्दै थिए । घरबाट सय मिटर अघि अर्को खोर थियो । त्यहाँ हजार हाराहारीमा ठूलाठूला कुखुराहरू थिए, बेच्न तयार भएका । घर आडैमा केही बाख्राहरू उघ्रारहेका थिए । पाठापाठी वरपर बुर्कुसी मार्दै थिए । छिमेकी गोविन्द सर दौड्दै आए । भने, ‘बाढी आउँदैन भनेर ढुक्क हुनु भएन ।’ सबैजना मिलेर धान उनकै छततिर ओसार्न थाल्यौं । उनको घर हाम्रोभन्दा अग्लो थियो । फटाफट बाटाले बोरामा खन्याउँदै लैजान थाल्यौं । गोविन्द सरकी आमा वृद्धा थिइन् । हामीले उनलाई उचालेर बाटोपारि मन्दिरतिर अग्लो ठाउँमा लग्यौं ।
फेरि आफ्नै घरको छतमा पुगेर नियालें । अब भने मेरा आँखा ठूला ठूला हुन थाले । छाती ढक्क फुलेर आयो । देखेँ, बुढी नदी उर्लंदै थिई । उसको यस्तो रूप मैले कहिल्यै देखेको थिइनँ । बिस्तारै आफ्नो डिल मिच्दै ऊ हामीतिर तन्किँदै थिई । म आत्तिँदै तल झरेँ । 
बिस्तारै भेल खेततिर आउन थाल्यो । अनौठो कोलाहाल सुनेर बाख्राहरू चिच्याउन थाले । मैले तिनका डोरी फुकाइदिएँ । त्यसपछि उनीहरू दौडिहाले । पाठापाठीहरू आमाकै पछि गए । कुखुराको खोरको ढोका खोलेँ । चल्लाहरू हुर्रिएर निस्कन खोजे । बाटोपारिको छिमेकीहरू सघाउन आइपुगे । सकेसम्म चल्लाहरू छिमेकीका घरको अलि अग्लो कोठामा ओसार्न थाल्यौं । खोर घरनजिकै र चल्लाहरू साना भएकाले ओसार्न सजिलो भयो । त्यसपछि पर खोरबाट ठूला कुखुरा बोक्न थाल्यौं । घर के उक्लँदै थियौं, पानी आँगननेरै आइपुग्यो । म हान्निँदै, घरको मूलढोका लगाउन पुगेँ । पानी भित्रै पस्यो ।
चामल राख्ने ड्रम, थाल, अन्नका पोका, ओछ्यान, तकिया र भर्खरै खनेर भित्र्याइएका बेसारका सुठाहरू सबै पानी पानी हुन थाले । त्यही बेला कोठाभित्रै सर्प पस्यो । पानीदेखि नै डराउने मलाई त्यो दिन सर्पदेखि पनि डर लागेन । मैले धपाएर बाहिर निकालेँ । फेरि भित्र पस्यो । सोचेँ, उसको पनि बास डुबेको छ, आस खोजेको छ । फेरि धपाउन मन मानेन । मेरा किताब र जितेका प्रमाणपत्रहरू पानीमाथि तैरिन थाले । के समालुँ ? के नसमालुँ ? भक्कानिँदै फेरि बाहिरिएँ ।

बारीमा पानी लगाउने पानी तान्ने मेसिन सम्झेँ । कुखुराको दाना पिस्ने मेसिन सम्झेँ । यी दुवै पानीभित्रै बिलाइसकेका थिए, सार्न खोज्दाखोज्दै नभ्याएपछि । मैले हरेक दिन मुसारेर हुर्काएका ९ सय जति ठूला कुखुरा मेरै अघि पानीले प्याक्या प्याक्या भएर खोरमै सिध्दिएँ । त्यो पल न मैले बाढीको पानी रोक्न सकेँ, न आँखाको आँसु । 

यी मेरा वशका कुरा थिएनन् । पानी बढ्दै जान थालेपछि हिँडडुल गर्न गाह्रो हुन थाल्यो । हामी सबैजना छतमा गएर बस्यौंं । कतै धानको टुप्पो देखिन्छ कि भन्दै, परपरसम्म आँखा तन्काएर हेरेँ । सबैतिर सम्मै थियो, पानीको सतह । त्यही पानी पसेपछि, घरको सेफ्टी ट्याङ्की बुझिएर बाहिर आएछ । घरमा, न जाने कतै ठाउँ थियो, न खानेकुरा । रातभर छतमै बस्यौं । बिहान पानीको सतह घटिसकेको थियो । छिमेकीहरू सघाउन आए । कोही हिलो सोहर्न थाले । कोही बचेखुचेका भाँडाकुँडा सम्हाल्दिन थाले । केही दिनसम्म बिरामी पनि परेँ । सामान्य अवस्थामा आउन तीन महिनाभन्दा बढी लाग्यो मलाई ।

वर्ष बित्न लाग्दा पनि मलाई त्यो पलले अझै मनैदेखि हल्लाउँछ । त्यो बाढीले धेरै मान्छे बेपत्ता बनायो । बर्दिया बबईको बबन्डरले जिल्लाका सयौं घरको उठिबास भयो । दसैं खर्च, पुनस्र्थापना खर्चजस्ता नाममा सरकार आयो । दुई चरण गरी परिवार संख्याअनुसार ३ हजारदेखि बीस हजार हाराहारीको रकम राहत सहयोग गर्‍यो । केही दाल चामल दियो । बाँकी प्रतिबद्धताहरू सबै कागजमै रहे । घरै बगाएका, बगर बनाएकालाई केही त्रिपाल बाँड्यो । त्यो पनि आन्दोलन गरीगरी । सरकारसँग लड्दा लड्दै थाकेका लगभग ४३ बेघर परिवार नगरपालिकाका विभिन्न चौरमा अझै त्रिपालपुनि छन् । यो वर्ष बबई रिसाइन् भने उनीहरूसँग त्रिपाल पनि बाँकी रहँदैन ।

(चौधरीसँग भवसागर घिमिरेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: २०७२ जेष्ठ ३० ०९:३६
http://www.ekantipur.com/kantipur/2072/2/29/full-story/348385.html

No comments:

Post a Comment