Skip to main content

ठूलो काम गर्यो भनेर फुलमालै लगाइदिए

वैशाख १२ गते मेरो मोबाइलमा खबर आयो, घर भत्कियो । यो खबर मेरो लागि पहिलो भुइँचालो भन्दा पनि ठूलो धक्का थियो । म्याग्दीको तातोपानी नजिक रहेको बेनी नगरपालिकाको १३ नम्बर वडामा पर्ने मेरो घर अब खण्डहर बनिसकेछ । त्यहाँ मैले आफ्नै रेखदेखमा मेरा ठूलोबालाई राखिराखेको थिएँ ।
 म बाह्र वर्षको छँदा चिनेजानेको आफन्तको साथ लागेर काठमाडौं आएको थिएँ । यो २०५० सालको कुरा हो । त्यती बेलामा मेरो घरमा बा, ठुलोबा, एकजना बोल्न नसक्ने फुपुदिदी र हजुरआमा हुनुहुन्थ्यो । बा आमाको म एक्लो सन्तान थिएँ, हजुरआमाको प्यारो नाती ।
म राजधानी आएपछिभक्तपुरको एउटा गेष्टहाउसमा काम गर्न थालेँ । पहिलो वर्षमा नै बुबा बितेको खबर आयो । आमा अर्कैको साथ लागेर जानु भो । हजुरआमाले मलाई बाबाआमाको कमि महसुस हुन दिनुभएन् ।उहाँले उताबाट माया पठाउनुहुन्थ्यो ।आर्थिक अवस्था कमजोर भएकाले हजुरआमा, फुपुदिदी, ठुलोबा सबैलाई खर्चपर्च यहाँबाट मैले पठाउन थालेँ । गेष्टहाउसमा ३ वर्ष काम गरेपछि केही वर्ष गार्मेन्टमा त केही वर्ष पत्रिकाको वितरणमा पनि काम गरेँ । टेक्सटाइलमा एक वर्ष । दुई तीन वर्ष जति प्रेसमा । यसैबीचमा सहकारीबाट ऋण लिएर मैले बंगुरपालन पनि सुरु गरेँ । विहान बेलुका दाना ओसार्ने दिउँसो अफिसको काम । तर ब्याज पनि चर्को भएकाले काम राम्ररी फस्टाउन सकेन । म झन झन् डुब्न थालेँ, ऋणमा । जग्गा धनिले पनि ठाउँ छाड्न दबाद दिए । आखिरमा फर्म बन्द भयो, जागिरकै भरमात्र रह्यो ।
५८ सालमा मैले बिहे गरेँ, उदयपुर गाइघाट ससुराली । अब झन् पारिवारीक जन्जालमा फसियो भन्ने भो । कहिले बेनी त कहिले काठमाडौं । घरखर्च नपुगेर तीन वर्ष जति मैले टंगालको फुटपाथमा तरकारी, साग पनि बेचेँ । होलसेलमा ल्याएर फुटपाथमै कपडा, जुत्ता मोजा पनि बेचेँ । दिउँसो अफिस बिहान बेलुका फुटपाथ, बाल्यकाल देखिनै जिम्मेवारीपुर्ण मेरो दैनिकी निक्कै व्यस्त थियो । यसबीचमा हजुरआमा बित्नुभयो । फुपुपनि बित्नु भो । घरमा ठुलोबा मात्र बाँकी हुनुहुन्थ्यो । मेरो जिम्मेवारी झन् बढेको थियो । म बेलाबेलामा घर गएर ठूलोबाको साथी बन्थेँ । खेतीपाती घरव्यवहार मिलाउँथे । ऐले ललितपुरको हरिसिद्धीमा भाडामा बस्दै छु । साथमा एक श्रीमती र दुई छोरीछन् । धेरै पढेर भन्दा पनि परेर जानेको मान्छे म । राजधानीकै एक संस्थामा सानो काम गर्छु ।

वैशाख १२ को ठूलो भुकम्पपछि घर पुगेँ । बस्न मिल्ने अवस्थामा थिएन । विद्यालयमा ५ कक्षा मात्र पढेको भएपनि हेरिहेरि खेलिखेली कम्प्युटर सिकेको थिएँ । फेसबुकमा मैले दुखी हुँदै मेरो भत्केको घरको तस्बिर राखेँ । केही वर्ष अघि काम गरेको अफिसको दाई आलोक तुम्बाहम्फेले लेख्नुभो, ‘मलाई भेट ।’ उहाँ ऐले बालबालिका तथा युवा प्रथम भन्ने संस्थामा काम गर्नु हुन्छ । काठामाडौंमा आएर भेटेपछि उहाँले राहत सामाग्री जुटाइदिन सक्ने कुरा गरेपछि मलाई मेरो गाउँका २०, २५ घरको याद आयो । यि सबैको हालत मेरो जस्तै बिजोग थियो । मैले उहाँकै आग्रहमा स्थानीय आमा समुह र स्थानीय प्रहरी चौकीबाट भत्केका घर र तिनका घर धनीको नाम नम्बर काठमाडौ मगाएँ । साथीहरूले त्यो पठाउन सघाए । २४ घर भत्केको नामावली लिष्ट हामीलाई प्राप्त भएको थियो । आलोकदाइबाट त्रिपाल ३० थान, ब्लांकेट ३० थान, कम्मल ३० थान उपलब्ध गराइदिनु भयो । मैले काम गर्ने संस्थाका युवाकरदाईको सल्लाहमा काठमाडमौं न्युरोड बस्ने अर्को दाई आलोक सिद्धि तुलाधर र सुनिता तुलाधर दिदीलाई पनि भेट्न पुगेँ । पहिला म उहाँहरूकै घरमा सघाउने काम गर्थें । मेरो पिडा सुनेपछि उहाँहरूले ३५ हजार सहयोग गर्नु भो ।
सबै पैसा र सामाग्री लिएर म पोखरा हुँदै बेनी पुगेँ । सबैको सल्लाहमा मैले चामल २४ बोरा, नुन २४ केजी, दाल ४८ केजी राहत किने । त्यसपछि सोझै जलमाइ भगवती आमा समुह भवन तातोपानी पुगेँ । त्यहाँको स्थानीय प्रहरी चौकी, तातोपानी कुण्ड समिती खुशी भई स्वागत र फुलमाला कार्यक्रम सम्म गरे । सबै घरलाई एक चरणको राहत वितरण हुँदा धन्यवादको चाङ पाएँ । ‘न आमाको काख न बाउको साथ, टुहुरोबालखाले नि यस्तो ठूलो काम गर्यो भनेर फुलमालै लगाइदिए,’ आत्मसन्तुष्टिले मेरो मन निक्कै चंगा भयो ।
अझै पनि मेरो घरको अवस्था उस्तै छ । तत्कालको लागि राहत पाएपनि अरुको घरको अवस्था पनि उस्तै छ । मेरो ठुलोबाबा अर्कैको घरमा एक घण्टा दुरीमा पुगेर शरण दिनु भएको छ । घर भत्केपनि मन भत्केको छैन । आफू जस्ता धेरैलाई सघाउन पाउँदा मेरो खुशीको सिमाना छैन । वर्ष दिनमा जेनतेन गरेर भत्केको घर बनाउने बीचारमा छु । मिल्यो भने अरुको घर बनाउन पनि सघाउँछु । विपत्ति जसलाई पनि आइपर्न सक्छ । मेरो घर भत्केको भएपनि मेरो मन भत्केको छैन् । अरुलाई खुशी बाँड्न पाउँदा मलाई निक्कै खुसी लागेको छ ।
(भवसागर घिमिरेसँगको कुराकानीमा आधारित)
http://www.ekantipur.com/earthquake/detail.php?lang=np&token=43ec517d68b6edd3015b3edc9a11367b

June 1, 2015

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...