यसैले म गाउँ फर्केिएँ...

तल्लो गह्रामा चिटिक्क मिलाएर ढुंगाको गाह्रो लगाइएका दुई तले बाख्राको खोर थियो। आफू बस्ने घर माथिल्लो गह्रामा थियो, एक तले टिनले छाएको। उनको घर पुग्नु अघि नै परैबाट नीलो बोर्डमा सेता अक्षरहरू देखिन्थ्यो, ‘भुमेश्वारा बाख्रा पालन फर्म।'
पोखराबाट लगभग एक घण्टाको बस यात्रा र आधा घण्टाको पैदल यात्रामा कास्की घाचोकका पदमराज लम्सालको यो फर्ममा पुगियो। शंकरको नामले धेरैले चिन्ने लम्सालको फर्ममा पुग्दा उनी भर्खरै ब्याएको बाख्रा सम्हाल्दै थिए। उनकी श्रीमती भान्छा तयार पार्दै थिइन् भने ७१वर्षे बा आँगनमा बसेर घाम ताप्दै थिए। केराका बोटहरूले घेरिएको उनको घर टाढैबाट टक्लक्कै चिनिन्थ्यो। ‘दुई पाठो पाएको छ' पाठाहरूलाई दूध तान्न सिकाउँदै लम्सालले भने, ‘भोलि दिउँसो सम्म आफै सक्ने भैहाल्छन्।'
१६ वर्ष सम्म तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा भाँडा पसल गरेर बिताएका लम्साल २०७० साल सुरु हुन नपाउँदै बजारमा देखिन छाडे। आम्दानी राम्रै थियो। तनहुँ बजारमै घर किनेर आफ्ना तीन छोरी र एक छोरा पनि हुर्काउँदै थिए उनी। बाबा, आमा र एक श्रीमती सहितको परिवारलाई तनहुँ बजारमा स्थापित गर्न उनले घाचोकमा रहेको आफ्नो पुख्यौंली घर बेचिसकेका थिए। घाचोकको लस्ती खोलापारी रहेको  केही टारी खेत भने बाँकी थियो। फेरि उहि थातथलो खोज्दै १६ वर्ष पछि २०७० सालको नयाँ वर्ष पारेर उनी गाउँ फर्के, त्यो पनि बाख्रा पालनको योजनासहित। उनी शहर छाडेर किन गाउँ पसे? पशुपालन पेशा नै अंगाल्ने किन रहर भयो? यहि जान्ने इच्छा यो लेखकलाई थियो।
***
माओवादी जनयुद्ध सुरु भएको धेरै भएको थिएन। २०५४ सालको कुरा। दुई दिदी बहिनी बीचको घरको एक मात्र छोरा उनी। २०५१ फागुनमा बिहे पनि गरे। त्यसपछि बिस्तारै उनलाई व्यवहारले किच्न थालेपछि जागिरको खोजीमा लागे। विश्वविद्यालयका ठेली गुल्टाएका पनि बेरोजगार बसेका ठाउँमा एसएलसी पासमात्र गरेका उनले भनेको जस्तो, खोजेको जस्तो जागिर पाउने कुरै भएन। उनलाई व्यापार गर्ने सुर आयो। ‘म कास्कीबाट तनहुँ पुगेँ, भाँडा पसल गर्न,' उनले भने, ‘ बिस्तारै बजार बढ्दै गयो मेरो व्यापारले पनि आकार बढाउँदै गयो।' आमा बाबा यता गाउँमा आफू उता शहरमा। व्यवहारीक धेरै खालका कठिनाइ परे। त्यसै बीचमा, २०६० माघमा उनले त्यहीँ घर किनेर स्थाई भएर बस्ने सोचे। गाउँको घरको धेरै मुल्य पर्दैन्थ्यो। कच्ची सडकले बल्ल छोएको अवस्था थियो। नियमित सार्वजनिक सवारी चल्दैन्थ्यो। थोरै नै मुल्य लिएर भएपनि उनले घरबारी बेचे। आफूसँग भएको केहि पैसा थपेर तनहुँ दुलेगौडामै घर किने। ‘बाबाआमालाई पनि उतै लगेर बस्न थालेँ,' लम्सालले भने, ‘ अब भने एक सुरले व्यापार तिर लाग्न थाले।' व्यापारसँगै सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिए भएर लागे। खैरेनी जिल्ला नागरिक समाजको सचिव र तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाइको सभापति बनेर सामाजिक काम पनि अघि सरे।



कास्की घाचोकमा खाइखेलि हुर्केका उनलाई गाउँघरकै सम्झाना धेरै आउन थाल्यो। मर्दा,पर्दा रितिरिवाजमा उनी तनहुँबाट बेला बेलामा गाउँ फर्किरहनु पर्थ्यो। सधै भ्याइदैन्थ्यो पनि। कहिले काही त मनले नमानी नमानी छुट्नु पनि पर्थ्यो। ‘घर सरे पनि मेरो मन सर्न सकेन' उनले भने, ‘बिस्तारै दुलेगौडा पनि भिडभाड बढ्न थाल्यो।' उनका बुबालाई दमको रोग देखियो। आमा पनि बेलाबेलामा बिरामी पर्न थाल्नु भयो। श्रीमतीलाई खुट्टादुख्ने, सुन्नीने जस्ता समस्या आउन थाल्यो। ‘मेरो त ह्वात्तै पेट बढ्यो,' उनले हाँस्दै भने, ‘पैसा त्यस्तै हो, शहरमा कमाउने भनेको पेटै रहेछ।'

बुबालाई मासिक रुपमा पोखरा जँचाउन ल्याउनु पर्थ्यो। बेलाबेलामा चाप्यो भने अक्सिजन लगाउनु पर्ने। ‘मैले तिनवटा सिलिन्डर राखेको थिए अक्सिजनको' लम्सालले बाख्रालाई घाँस हाल्दै भने, ‘पालो पालो गरेर खाली भएपछि पोखरा साट्न आउनु पर्थ्यो।' पहिलो र दोस्रो छोरी, तेस्रो छोरा अनि चौथो छोरी। उनीहरू पनि पढ्दै अनि बढ्दै गएपछि व्यवहारले लम्साल दम्पत्तीलाई च्याप्दै गयो। परिवारका सदस्यको स्वास्थ्यमा बेलाबेलामा समस्या आउन थाल्यो परिवार बिरामी हुन थालेपछि मानसिक तनाव उत्तिकै बढ्ने। आफू हुर्केको समुदायबाट टाढिनु र चाडबाडमा छुटिनुको पिडा बेग्लै थियो। शहरमा बढ्दै गएको कोलहाल र कामको प्रेसर। उता पुर्खाको नाममा रहेको थोरै पाखोबारी, सामुदायीक जंगल छेवैको चिसो बतास खेल्ने ठाउँ। त्यो पनि खेति गर्ने मान्छे नपाएर यसै बाँझो भइराखेको थियो। उनको मन यता शहरमा रम्न छाड्यो।
***
२०६९ फागुनमा उनी काम विशेषले घाचोक आएका थिए। बाबुबाजेको पुख्यौंली थलो, टारी रखेत बेहाल भएको देखेर उनको मन त्यस्सै सकसक भएर आयो। अब यहिँ फर्केर केही गरौं भन्ने सोचे। बाख्रा पाल्ने योजना सहित फागुनमै बन्दिपुर पुगे। त्यहाँ पुगेर बाख्रा फर्मबारे सल्लाह पनि गरे। अन्य केही किसानसँग भेटघाट पनि बढाए। कास्की मौजाका दुर्गा गुरुङसँग यसै बीच भेट भयो। गुरुङ पनि बाख्रा पालनमा लागेका थिए। सबैसँग कुरा बुझेपछि उनले बाख्रा पाल्ने योजना बुने। ‘एक साँझ मैले परिवारमा तनहुँ छाडेर फेरि कास्की फर्कने योजना सुनाएँ,' लम्सालले भने, ‘ कसैले बाट पनि सुरुमा सकारात्मक कुरा आएन।' बिस्तारै पारिवारीक मेसोमेलो मिलाएर उनी २०७० को वैशाख ११ गते पुख्यौंली थलो घाचोक आइपुगे। घरबारी बेचेपनि बाह्र रोपनी रहेको पाखाखेतमा उनले बाख्रा पालन सुरुवात गर्ने मेलोमेसो सुरु गरे।
बाख्रा र आफ्नो बास बनाउन तिन महिना लाग्यो। गत साल असार १९ गतेबाट त बाख्रा पालन नै सुरु गरे उनले। ‘सुरुमा तनहुँ भुजिकोट, कास्की मौजा र केही घाचोकमै गरि २४ वटा माउपाठाबाट सुरु गरेको हुँ,' लम्सालले भने, ‘अहिले सम्म बाख्रा र तिनका पाठापाठी गरेर ८६ वटा छन्।' ती मध्ये प्राय सबै खरी र खपारी जातका छन्। २०७० देखि अहिले सम्म आउँदा उनले २१ वटा बोका बिक्रि गरिसकेका छन्। बाख्रा चराउनको लागि नजिकै चरन क्षेत्र छ। वार्षिक चरण शुल्क तिरेर उनी एक्लै सबै बाख्रा लिएर विहान नौ दश बजे उता लाग्छन्, साँझ फर्कन्छन्।
घोडा चढ्ने लड्छ। नचढ्ने झन धेरै लड्छ। काममा समस्या त आइनै हाल्छ। सामुदायीक बनको नजिक भएकाले वन्य जन्तुको डर उत्तिकै छ। ‘दिउँसै बाघ लाग्छ,' उनले भने, ‘दुईवटा त खाइसक्यो।' एक्लै यतिका धेरै बाख्रा लिएर चरन लैजादा उनलाई बाघबाट बाख्रा जोगाउने चुनौती दिनहुँ रहन्छ।
मानिसहरू सोखिन भए, खेतीपाती गर्न छाडे। बनमा दाउरा ढलेर कुहिएर खेर गइराख्दा, घरमा इज्जतको लागि भएपनि ग्याँसचुल्होमा ट्याक्क ट्याक्क लाइटर ठोक्नै पर्ने जमाना आयो। तर हामीले भुल्नु हुँदैन, मुखमा लगाउने माड नै हो, पैसाको बुझै कोचेपनि मान्छे अघाउँदैन। त्यसैले खेतीपाती नै जाती हुन्छ। तर चरनमा एक्लै हुँदा कहिले काही डर पनि लाग्छ उनलाई। त्यतीबेला बाघ धपाउन घण्ट बजाउने गर्छन उनले। ‘केही बाख्रालाई घाँडो (घण्ट) पनि लगाइदेको छु,' उनले भने, ‘ बाघ यसको आवाजले डराउँछ।'
बाख्राहरू बोलाएपछि उनको पछिलाग्छन्। तीनका विभिन्न नाम छन्।  सेतो रौभएकोलाई सेते, गेटमा गएर बसिरहनेलाई चौकीदार, सिंङ नभएकोलाई मुडुली, कालो मुन्टो भएकालाई कलमुन्टे जस्ता विभिन्न नामहरू राख्दिएका छन्। ध्वाँसे, तारे, माले, माइली, कान्छी, जेठी, राते पेटारे यस्ता धेरै नाम सुनेपछि उनका बाख्राहरू कान चनाखो पार्दै म्याँ म्याँ गरेर नजिकीन्छन्। ‘सकेसम्म नजिकै नजिकै आफ्नै वरपरै हुने गरि चराउने अनि चनाखो हुने नै बाघबाट जोगिने उपाए छ ऐलेकेा लागि' लम्सालले बाख्राको टाट्ना सफा गर्दै भने। बिस्तारै अहिलेको क्षेत्र बिस्तार गरेर उनले आफै घाँस उत्पादनमा लाग्ने बिचार गरेका छन्।
उनकी जेठी छोरी अहिले एसएलसी दिँदै छिन्। माईलि छोरी, आठमा, छोरा सातमा र कान्छी छोरी ४ कक्षामा पढ्दैछिन्। तत्कालको लागि दुई वर्षे योजना बुनेका छन् उनले। अब सबै परिवार यतैतिर बस्ने, तनहुँ छाड्ने। दुई वर्षपछि वार्षिक एक सयवटा बोका उत्पादन गरेर बेच्ने योजना उनले सुनाए। त्यसका साथै यहाँ संकलन भएका बाख्राका जुतोको धेरै भन्दा धेरै सदुपयोग गर्न केरा, सुन्तला तथा बिस्तारै तरकारी खेती पनि गर्ने उनको सोचछ। यसबारेमा आफूले अझै धेरै बुझ्नै बाँकी रहेको उनले बताए।
‘बिहेको मौसम, चाडबाडमा त बोका खोज्न खोरैमा आउँछन्,' उनले भने, ‘६ महिना भन्दा लामो समयसम्म बोका खोरमा रहन्न।' त्यसैले ऐले साना पाठापाठी र बाख्राको संख्या धेरै भएको उनको भनाइ छ। ऐले उनको फार्म सम्म पानीको लागि धारा छ। तरकारी खेती पनि सुरु गरियो भने डेढ किलोमिटर टाढा पानीको मुहान छ, त्यहाँबाट अल्लि ठूलो पाएपमै पानी ल्याउने उनले सोचेका छन्।
एक्लैले गर्दा पनि सकिँदो रहेछ त है काम? मेरो प्रश्न सुन्ने बित्तिकै उनले भने, ‘बाबा,आमा श्रीमीती,छोराछोरी सबैले सघाइराखेका छन्।' उनी श्रीमती र बाबासँग गाउँमै छन् भने आमा र छोराछोरी भने ऐले तनहुँमै बसेका छन्। बिस्तारै अब सबै यतै सर्ने योजना गर्दैछौं उनले भने, ‘ परिवार सबैको सहयोग भएर नै मैले यतिको गर्न सकेँ।' आफै उपस्थित भएर गर्ने सहयोग एक ठाउँमा छ, मानसिक रुपमा गर्ने सहयोगले पनि ठूलो काम गर्ने उनको अनुभव छ।
बाख्राको संख्या बढ्दै जाँदा परिवारले मात्र सबै कुरा भ्याउन गाह्रो हुन्छ। कामको लागि कामदार राख्न पनि उनले नसोचेका होइनन्। तर तत्कालै तलब दिएर राख्ने सामार्थ्य नभएपछि उनी र श्रीमती आफै रातोदिन स्याहारसुसारमा खट्टिएका छन्। ‘कहिले काही आपद पर्दा मान्छे बेलाउँदा पनि हत्तपत्ती आउन हिच्किचाउँछन्,' उनले भने, ‘शहरमा भए स्टाफ भन्थेँ होला यहाँ भने अर्काकहाँ गएर गोठाला बस्या छ भन्दिने भएकाले लाजैले भएपनि आउनै मान्दैनन।' विदेशमा जस्तो काम गरे पनि लाहुरे भएर आउन पाइन्छ, यहाँ खेतमा काम गरे सानो भइन्छ भन्ने नेपाली सोचाई नै गलत भएको उनले बताए।
कति लगानी गर्नु भयो त? यो सुन्ने बित्तिकै एकैछिन उनी घोरिए। जग्गा आफ्नै थियो। सुरुमा आफ्नो र बाख्राको बास निर्माण गर्दा ८ लाख हाराहारीमा उनले खर्च गरेका थिए। बाख्राको खोर निर्माण गर्दा स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनको धेरै प्रयोग गरेका छन्। ‘ढुंगा, बाँस, काठ गाउँकै हो। टिन, काँटी र जाली बाहेक अन्य कुरा बाहिरबाट ल्याउन परेन,'उनले भने। खोर भित्र एकातिर बाख्रा र ठूला पाठापाठीको लागि ठाउँ बनाइएको छ भने अर्को तर्फ ठूला बोकाका लागि ठाउँ बनाइएको छ। दश वटा सम्म भर्खरै जन्मेका वा साना पाठापाठी राख्न मिल्ने छुट्टै खोर पनि बनाएका छन्।  बाख्राको टाट्ना मुनि डेढमिटर उचाई राखिएको छ। ‘जुतो सोझै भुइँमा जम्मा हुन्छ,' उनले बाँसको चरबाट तल देखाउँदै भने, ‘ यसलाई उठाएर बारीतिर लैजान्छौं।'
आफ्नो फर्ममा उत्पादन गरेर फाइदा लिने बेला भैनसकेको उनले बताए। औंला भाँच्दै उनले भने, ‘ दुई लाख रुपैयाँ हाराहारी माइनस मै छु।' हातमा नगदै नभएपनि बाख्राको संख्या बढ्दै गएकाले आफूले गरेको लगानी बिस्तार हुँदै गएको उनको भनाइ छ।
सरकारी सहयोग के छ त? केन्द्रीय भेडाबाख्रा प्रवर्द्धनबाट युवा स्वरोजगार कार्यक्रम अन्तर्गत रकम पाउनको लागि कास्कीबाट ५ जनाको नाम सिफारिस भएकोमा उनको पनि नाम परेको थियो। ‘त्यती बेला पाएको ५० हजार रुपैयाले भने मेरो धेरै काम बन्यो, ' उनले भने, ‘ बिउँ पुँजीले केही राहत भने भयो।' जिल्ला पशु सेवा कार्यलय अर्न्तगत पशु सेवा केन्द्र घाचोकको प्राविधीक सहयोगलाई भने उनी सम्भि्करहन चाहन्छन्। त्यसँगै फोनबाटै भएपनि गाह्रोसाह्रो पर्दा निरन्तर सल्लाह सुझाव दिनुहुने जिल्ला पशु कार्यलय कास्कीका पूर्व प्रमुख डा. प्रकाश श्रेष्ठलाई पनि सम्झन चाहन्छन्।
तर आफूले समाचारमा सुनेको जस्तो सरकारी सहयोग भने पाउन नसकेकोमा दुखी छन्। ‘ खै ६ पर्सेन्ट ब्याजमा ऋण पाइन्छ भन्थे, अझ २ प्रतिशत भन्ने पनि सुनिएको थियो, त्यस्तो केही अत्तोपत्तो छैन,' उनले भने। निशुल्क औषधी पाइन्छ भनेर कहिलेकाही पशु कार्यलय जाँदा कहिले टेन्डरको प्रक्रिया नै भएको छैन दुई महिना पछि आउनुहोस् भनेर पठाइदिने गरेको उनले दाबी गरे। ‘ए अर्कोले आएर लगिसक्यो तपाई ढिलो आउनु भएछ्,' कहिले काही यस्तै हन्डर पनि खानु परेको दुःख उनले सुनाएँ। यस क्षेत्रमा अझ धेरै सरकारी चासो र सहयोग बढ्यो भने अझ धेरै काम गर्न सकिने उनको अनुभवले बताउँछ।
ऐले प्रजनन्को लागि बिटल जातको १ बोका थियो उनको फर्ममा। त्यही बोका लगाएर उत्पादन भएका पाठापाठी राम्रो र तन्द्रुस्त भएको उनको अनुभव छ। ‘बाख्राले बोका खोज्ने भन्ने पनि सिजन हुँदो रहेछ,' उनले हाँस्दै भने, ‘एउटै बोकाले भ्याउन गाह्रो हुने भएकाले बोयर जातको अर्को एक बोका भर्खरै स्याङ्जा वालिङबाट ल्याएका छु।' तीन महिनाको पाठोलाई १८ हजार हालेर ल्याएको उनले बताए।
के पाउनु भो त यो पेशाबाट? एकपछि अर्को प्रश्न सुन्ने बित्तिकै उनी एकैछिन सोच्थे। ‘सबै भन्दा फाइदा त आफूले अहिले अपनाएको जिवनशैलीबाट पाएको छु,' उनले हाँस्दै मुख खोले, ‘भुँडी लागेर टुनटुन थियो, ऐले तेह्र केजी घटिसकेको छु।' बुबालाई पनि गाउँमै ल्याएर राखेपछि अक्सिजनको मात्रा कमि भएर महिनै पिच्छे अस्पताल जानु पर्ने समस्या छैन। यो साल नै एघार महिना पछि एकैपटक डाक्टरकहाँ बुबाको बारेमा सल्लाह गर्न पुगेका थिए उनी। ‘बुबा अझै हुनुहुन्छ र?' डाक्टरले भनेको वाक्य सुनाउँदै उनी हाँसे। आशै नगरेको कुरा, बुबाको स्वास्थ्यमा सुधार आएको खबरले पछि डाक्टर पनि निक्कै खुशि भएको उनले सुनाए।
श्रीमतीको खुट्टादुख्ने, झमझमाउने रोगले पनि छाडेको छ। उनी खुसी हुँदै भन्छन्, ‘पहिला मलाई बेसीबाट यहाँ सम्म आउन लगभग एक घण्टा सम्म लाग्थ्यो, ऐले २० मिनेटमा आइपुग्छु।' आफूलाई टन्सिल भएकाले चार वर्ष सम्म सुन्तला नखाएको अनुभव उनी सुनाउँछन्। ‘डाक्टरले नै नखाभनेपछि मैले सुन्तला खान छाडेँ, ' उनले हाँस्दै भने, ‘ऐले त्यो समस्या पनि रहेन।' आफूले घिउ खायो कि अमिलो चुक आउने र पेट ढुस्स हुने समस्याले उनलाई सताएको थियो। ‘ऐले एक चम्थे घिउ पाएपनि स्वाट्टै पार्छु,' उनले पाठापाठी मुसार्दै भने, ‘यहि भएर त म गाउँ फर्के र बाख्रा पालनतिर लागेँ।'
कृषि विकास मन्त्रालयको एक तथ्याङ्कले आर्थिक वर्ष २०७०/७१ मा २५ अर्बको मासु आयत हुने अनुमान गरेको थियो। आर्थिक वर्ष २०६९/७० मा यो १६ अर्ब मात्र थियो। देशलाई नै चाहिने मासुमात्र उत्पादन गर्न सके देशको २५ अर्ब रुपैयाँ बिदेशिन पाउँदैन्थ्यो। पैसा कमाउन युवाहरू विदेशिन पनि पर्दैन्थ्यो। लम्साल पनि युवाहरू यस क्षेत्रमा धेरै भन्दा धेरै आउन भन्ने चाहन्छन्। काम गर्ने जाँगर र तौरतरिका युवामा नयाँ हुन्छ। आउनु अघि केही तालिम लिएर आउन उनले सुझाव छ। ‘सुरुका दिनमा दबाई ख्वाउन पनि समस्या भयो आफूलाई,' उनले भने, ‘कसरी ख्वाउँने, कति कति साइजको लाई कति कति ख्वाउँने भन्ने नै थाहा थिएन।' उनले नजिकैको पशु सेवा केन्द्रबाट त्यसबखत सेवा लिएको बताए। खट्टिनु पर्ने बेला पनि त्यही भएपनि कम्तिमा दुई वर्ष बाख्राबाट आम्दानी लिन नसकिने उनको भनाइँ छ। ‘धैर्यता भयो भनेमात्र व्यवसाय गर्न सकिन्छ,' उनले भने, ‘ परिश्रम उत्तिकै चाहिन्छ, गर्न सकिने ठाउँ धरै छ। म गरिरहेकै छु।'
(भवसागर घिमिरे, http://setopati.com/blog/25991/ )

Comments