Skip to main content

टेम्पुले ह्विलचियर तानेपछि...

म स्कुटरमा माइतिघरबाट कोटेश्वर तर्फ जाँदै थिएँ । बिजुलीबजारको पुल आएपछि स्पिड निक्कै कम गरेँ । मलाई देब्रेतिरबाट एउटा टेम्पुले उछिन्यो । त्यो टेम्पुमा हातले समाएर एक जना दाई ह्वीलचियरमा कुद्दै थिए । टेम्पु सडकको छेउछेउबाट अघि बढीरहेको थियो । ह्वीलचियरमा बस्ने दाई निक्कै खुसी मुद्रामा थिए । मैले हतार हतार आफ्नो स्पीड बढाएँ र केही अघिल्तिर पुगेपछि साइड लगाएँ । हतारमै पन्जा खोलेँ अनि मोबाइल निकालेर यो दृश्य कैद गर्ने तरखर गरेँ ।

मोबाइलको मेसो मिलाउँदा मिलाउँदै टेम्पुले फेरि मलाई उछिन्यो । मैले तस्बिर लिनै पाइन् । मलाई यो दृश्य यति धेरै मन परेको थियो कि तस्बिर नलिइकन मनै मानेन् । मैले पुनः स्कुटरको स्पिड बढाएँ र अझ धेरै अगाडी गएर मोबाइलको क्यामेरा तयार पारेँ । त्यती बेला सम्म म लगभग होटल एभरेष्ट अघिल्तिर पुगिसकेको थिएँ । टेम्पुले फेरि मलाई क्रश गर्यो । मैले हतारमा एक क्लिक हान्न भ्याएँ । त्यो पनि पछाडीबाट ।

फेरि स्कुटर बढाएर अघि लागेँ । बानेश्वर चोकको जाम खुलिसकेको थियो । टेम्पु म भन्दा केही अगाडी थियो । अल्लि अघि हिड्दै आउँदै गरेका कलेजका केटाकेटीले मुस्कुराउँदै ती टेम्पुचालकलाई बुढी औंला देखाएर ‘थम्स अप’ दिएको दृश्य निक्कै रोमान्चक थियो ।

बानेश्वर चोकमा आइसकेपछि टेम्पु बिस्तारै रोकियो । मैलेपनि स्पिड कम गरेर उनीहरूकै छेउछेउमा पुगेँ । टेम्पु बिस्तारै रोकियो । ह्विलचियरमा हुने दाईले बल्ल टेम्पुबाट हात छाडे । बिस्तारै टेम्पुको अघिल्तिर पुगेर चालकलाई निक्कै खुसी भएर हेरे । एउटा हात उठाएर मिठो मुस्कुराउँदै धन्यवाद दिए । कोही यति धेरै खुसी मैले कमै देख्न पाएको छु ।

केहि वर्ष अघि नयाँ वानेश्वरबाट म हिड्दै थापाथली जाँदाको क्षण सम्झेँ । त्यती बेला एकजनादाई निक्कै गाह्रो गरि ह्विलचियर गुडाउँदैै थिए । उनी सिहदरबार तिर जाँदै रहेछन् । मैले सघाउँछु भने । उनी खुसी भए । बानेश्वरबाट हामीसँगै कुरागर्दै गयौं । उनी पनि खुसी भए म पनि खुसी ।

टेम्पु चालकले यतिका बाटोमा सघाएकोमा मैले यी दाईको पनि त्यस्तै खुसी देखेँ । यो खुसी नजिकैबाट कैद गर्न मन थियो । पछाडीबाट आएको नगरबसले चर्को हर्न बजाएर मलाई अघि नबढी सुखै दिएन । तस्बिर लिन नपाएर मन निक्कै थकथक भयो । तर आँखामा कैद भएको त्यो क्षणले मलाई अझै पनि आनन्द बनाइरहेको छ । हामी खुसी खोज्दै दशदुनियाँ भौतारिन्छौं । लाग्यो, जिन्दगीमा खुसीहरू यस्तै यस्तै क्षणबाट सँगाल्ने हो । खुसी बाँडे बढ्छ, दुःख बाँडे घट्छ ।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?