Skip to main content

घरमा जहान केटाकेटी छन् सर...


गएको महिना । बिराटनगरबाट काठमाडौं फर्कने क्रममा हाटबजार पसेँ । मलाई हाट बजारको माहोल निक्कै मन पर्छ । स्थानीय उत्पादन, आहा मन यसै लोभिन्छ । कतै साग त कतै काउली । लोकल माछाहरू बाँटाको थोरै पानीमा पनि उफ्रिरहेका थिए ।
बुढाबुढी तरुण तन्नेरी । केटाकेटी पनि केही न केही सामान बेच्न बसेका थिए, ‘लौं लैजानुस् है, सस्तो सस्तो ।’ पहाडमा हुर्केको यो मन, यसै हरर हुने, तराईको हाट चाहर्दा ।

फटाफट एउटा झोला पनि किने, हाटबजारे झोला । प्रायका हातमा त्यस्तै झोला थिए, हरियो चेक भएको, पोलिथिनको धागोको, ६० रुप्पेँ जाने । कोसेली नै हुन्छ,  त्यहाँबाट अदुवा, लसुन, केरा, मसला, बेसार यस्तै खत्राङखुत्रुङ किने । सबै मानिस हत्तारिँदा बजार चाहर्दै थिए । एरपोर्टको बाट केही परको बजार । मलाई जहाज छुट्ला भन्ने हतार पनि थियो । रिक्सा चढ्नुको बिकल्प थिएन । झ्याप्प पक्डिएँ, उनले पनि कुदाई हाले ।
चालकसँग सम्बाद सुरु भयो ।
‘तपाइ कहाँ जाने हो ?’

‘काठमाडौं’
‘काठमाडौं कहाँ ?’ पुरै चिने जस्तै गरि सोधे ।
इटहरीका रिक्सा चालक
‘नयाँ बानेश्वर’
‘म पनि काठमाडौं ११ वर्ष बसेँ’
‘कहाँ बस्नु हुन्थ्यो ?’
‘गौशला’
‘किन फर्कनु भएको त ?’
‘म खासमा कुमाले हुँ, इनार खन्ने काम गर्थेँ सर । धेरै पटक इनार खन्दा मान्छे मरेको सुनेको थिएँ । एक पटक ललितपुरमा मेरो चिनेजानेको मिल्ने साथी इनार भित्रै गुम्सिएर म¥यो ।’
‘ए च्च्...’
इटहरिका रिक्सा चालक
‘अब भने यस्तो ज्यान जाने काम गर्दिन भन्ने भो । अनि त सोझै पूर्व आएर रिक्सा दबाउन थालेँ ।’
‘ए...’
‘अझै पनि फोन आउँछ आउ भनेर...आउँदिन भन्याछु...बरु रिक्सा पेलिन्छ, त्यस्तो ज्यानको खतरा हुने काम कसरी गर्नु ? घरमा जहान केटाकेटी छन सर...’

***

उनको यत्ति थोरै वाक्यहरू भित्र पुरा संसार अडिएको थियो । म चुप भएँ । भर्खर भुइँचालो आएर मन हल्लाएँ झै भयो । सधैं झैँ, मेरो मनमा अनेक कुरा खेल्न थाले ।

रिक्सा चढेपछि जहिल्यै म मुन्टो तल झुकाउँछु र हेर्छु ।  थाहा छैन किन अमिलिन्छ मन् । मानिस एकै हो, तर फरक छन हाम्रा पाइतालाहरू । गहिरिएर हेर्छु । म आफूलाई सधैं अपुरो, अधुरो पाउँछु । सोच्छु, ‘के मैले उनीहरूको लागि केहि गर्न सकेँ ?’

(भवसागर, २०७१ फागुन ११)

मैले यी बिराटनगरका दार्इको तस्बिर लिन भने सकिन् । खै किन मनै मानेन । नेपालगञ्जका रिक्सा चालक (https://www.youtube.com/watch?v=-2YmhvhaBbA)

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...